दोहोरी साँझमा मुनाको पीडा
काठमाडौं– सिन्धुपाल्चोकी मुना बराल काठमाडौं आएको ३ वर्ष भयो ।
अहिले उनी लालिगुराँस दोहोरी साँझमा काम गर्छिन् ।
२ वर्षदेखि उनी यही काम गरेर जीवन चलाइरहेकी छिन् ।
यो दुई वर्षमा धेरैको मुखबाट धेरैथरी कुरा सुनिन् उनले ।
विदेश जाने पैसा कमाउने एउटा धोका थियो ।
छोरीलाई राम्रासँग पालपोषण गर्ने र शिक्षा दिने सपना थियो ।
विदेश यत्तिकै जाने कुरा भएन ।
कहिले के कहिले के नमिल्ने ।
अन्ततः उनी विदेश जान पाइनन् ।
हुन त उनी विदेश जाने झोकमा काठमाडौं आएकी थिइन् ।
तर, काठमाडौँको बसाइ सजिलो थिएन।
यहाँ हरकोही अभावले भौंतारिन्छ । मुना पनि यस्तैमा परिन् ।
विदेशको सपना पूरा भएन ।
दैनिक जीवन धान्नका लागि उनलाई निकै मुस्किल पर्न थाल्यो ।
एक दिन सडकमा हिँडिरहेको बेलो उनको आँखा टक्क लालीगुराँस दोहोरी साँझमा पुग्यो ।
जहाँ भित्तामा कर्मचारी आवश्यकता लेखिएको पर्चा थियो ।
उनलाई यहाँ जागिर पाइन्छ जस्तो लाग्यो ।
भित्र गइन् ।
तर, उनलाई दोहोरी साँझबारे केही थाहा थिएन ।
त्यहाँ सञ्चालकसँग कुरा भयो ।
सञ्चालनकले पनि उनलाई काम दिन तयार भए ।
काम त पक्का भयो ।
तर जागिरको समय सहज थिएन ।
साँझको ६ बजेदेखि रातको १२ बजेसम्म काम गर्नुपर्ने ।
त्यहीँ पनि उनले जीवन चलाउन काम थालिन् ।
रातको समय ।
१ घण्टाको बाटो हिँडेर घर जान निकै समस्या हुन्थ्यो ।
साथमा ३ जना अरू साथी हुन्थे ।
तर, मध्यरातमा बाटोमा पुरुष हिँडिरहेका हुन्थे ।
उनीहरूले महिलादेखेपछि अनावश्यक शब्द प्रयोग गर्थे ।
तर अभाव जिन्दगी चलाउँदाको पीडा भोगेकी मुना यस्ता पुरुषको भनाइबाट डराइनन् ।
निरन्तर काम गर्ने अठोट बनाइन् ।
पैसा देखाउँदै अनावश्यक बोल्छन्
मुनालाई दोहोरी साँझबाट परिचयपत्र दिइएको छ ।
नियुक्ति पत्र भने दिइएको छैन ।
६ हजार मासिक तलब छ ।
कमिसन गर्दा झण्डै १२ हजार जति महिनाको कमाइ हुन्छ ।
‘इमानदारितापूर्वक काम गरेपछि दोहोरी साँझमा काम गर्ने भनेपछि नराम्रो दृष्टिले नै हेर्नेहरू धेरै हुन्छन् ।’ मुनाको गुनासो छ ।
मुनालाई पैसाका लोभ देखाएर धेरैले थरीथरीका अफर गर्छन् ।
भन्छिन्– ‘हाम्रो कामलाई हेर्ने कुरामा धेरैमा समस्या छ । काम गरेर खाने मान्छे जस्तो पनि ठान्दिनन् ।’
कतिपयले चरित्रमाथि पनि प्रश्न उठाउँछन् ।
‘पैसा कमाउन अर्कै बाटो रोज्छौ भनेर मलाई धेरै पटक भनेका छन् ।’ मुनाले दोहोरी साँझ आउने ग्राहकले भनेको सुनाइन् ।
उनले भनिन्, ‘रोजगारी छैन । परिवार धान्न दोहोरी साँझमा काम गर्नु मेरो बाध्यता हो । तर हामीलाई ग्राहकहरूले गलत ढङ्गबाट बुझ्छन् ।’
उनले बेला बेला ग्राहकसँग झगडा पर्ने गरेको पनि सुनाइन् । ‘मैले आफ्नो इज्जत जोगाउनको लागि ग्राहकहरूसँग झगडा नै गरेकी छु । हानाहान नै भएको छ । दोहोरी साँझमा आउने ग्राहकसँग अडर लिन जाँदा उनीहरूले अश्लीन शब्द प्रयोग गरे । त्यसपछि मैले उनीहरूलाई पिटे’ उनले भनिन्, ‘त्यसपछि झगडा पर्यो । मलाई दोहोरी साँझ सञ्चालनले पनि सहयोग गरेको थिए ।’
सँगै बसेर खाए पैसा आउँछ
दोहोरी साँझमा काम गर्ने कर्मचारीलाई ग्राहकसँग बसेर खाँदा छुट्टै पैसा कमाइन्छ । ‘कतिलाई त यो सजिलै पैसा कमाउने माध्ययम पनि बनेको छ । कतिले आफै ग्राहक बोलाउँछन् भने कति दोहोरी साँझमा आएपछि त्यहाँ काम गर्नेलाई खोज्छन् ।’ उनले भनिन्, ‘दोहोरी साँझमा काम गर्ने श्रमिकहरू पनि ग्राहकसँगै बसेर खाने हुँदा उनीहरूले सबै यस्तै हुन्छन् भन्ने ठान्छन् र सबै श्रमिकलाई एउटै व्यवहार गर्छन् ।’
श्रमिकको रूपमा राखिने दोहोरी साँझमा उमेर ढल्केपछि कि आफैले जानेर निक्लिनु पर्छ कि त निकालिन्छन् । आफ्नो उमेर पनि दोहोरी साँझमा श्रमिकका रूपमा बस्नका लागि धेरै नभएको कारण बढीमा एक ढेड वर्ष काम गर्ने मुनाको सोच छ ।
यो पेसामा लाग्नु मेरो बाध्यता हो
मुना अहिले ३० वर्षको भइन् ।
बाल्यकालमा आमा—बुबा गुमाएकी मुनाको विवाह १४ वर्षमा भएको थियो, त्यो पनि आफ्नो माइती भन्दा पनि निकै विकट ठाउँमा ।
विवाह भएको २ वर्षमा नै छोरी जन्मियो ।
अविभावक नभएकै कारण उनलाई श्रीमानको घरमा राम्रो व्यवहार गरिएन । सानो उमेर, बच्चाको साथमा घरपरिवारको अन्य सदस्य सहर काम गरे राम्रो हुने गाली खानुपथ्र्याे ।
यो जिम्मेवारी मुनाले पूरा गर्न नसक्ने हुँदा परिवारले उनलाई हेला गर्न थाले र मुना माइतीमा नै बस्न थालिन् ।
कक्षा ४ सम्म अध्ययन गरेर छाडेकी मुना माइतीमा बसेपछि फेरि विद्यालय भर्ना भइन् । मुना र उनकी छोरी एउटै विद्यालयमा पढ्न थालिन् । कक्षा ६ मा भर्ना भएकी मुनाको विद्यालय जानेक्रम एक वर्षसम्म चल्यो ।
तर आमा र छोरीको खर्च धान्नका लागि उनले पुनः विद्यालय छाड्नु प¥यो । कक्षा ७ मा अध्ययन गर्दा गर्दै बीचैमा विद्यालय छाडिन् ।
अहिले मुनाको छोरी १४ वर्षको भइसकेकी छिन् । उनलाई अध्ययनका लागि क्याप नेपालले सहयोग गर्दै आइरहेको छ ।
उत्ता गाउँमा भने उनको श्रीमानले दोस्रो विवाह गरिसकेका छन् ।
कान्छी श्रीमतीबाट दुई सन्तान भइसकेको छ । उनी भन्छिन्– ‘अब त विदेश पनि जान्नँ । विदेशमा कति मान्छे समस्यामा परेर फर्केका हुन्छन् । विदेशमा गएर फसेँ भने आफ्नो त फर्काउने पनि कोही छैनन् । के विदेश जानूँ ।’