नेपाल उद्योग परिसंघ उपाध्यक्ष कृष्णप्रसाद अधिकारीको जीवन : मृत्यु जित्ने होइन, आयु लम्ब्याउने कोसिस गर्नुपर्छ
‘अमेरिका र अस्ट्रेलियामा रहेका छोरालाई नेपाल बोलाएँ,’ नेपाल उद्योग परिसंघ उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले गर्व गरे, ‘छोराहरू नेपाल फर्के । उद्योग सञ्चालनमा सघाउँदै छन् । त्यही भएर नेपाल उद्योग संघको नेतृत्वमा रहेर काम गर्न सहज भएको हो ।
नेपाल उद्योग परिसंघले नेपालका ७० प्रतिशत औद्योगिक क्षेत्रको प्रतिनिधित्व गर्छ । संघले उत्पादनमा आत्मनिर्भरता, बेसाइ खाने मुलुकलाई गरिखाने मुलुकमा परिणत गर्ने ध्याउन्नमा छ । ‘आफ्नो देश आफैंले बनाउनुपर्छ,’ कृषि, भेटेरिनरी र प्लास्टिक उद्योगसँग सम्बद्ध नेपाल उद्योग परिसंघ उपाध्यक्ष अधिकारीले थपे, ‘पाँच वर्षमा नेपाल धनी नहोला तर हुन्छ भन्ने सन्देश दिन सक्यौं भने नेपालका लागि लाख हुन्छ ।’ आर्थिक गतिशीलताका लागि लागिपरेका नेपाल उद्योग परिसंघ उपाध्यक्ष कृष्णप्रसाद अधिकारीसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
नेपाली खानाको पारखी हुँ । दालभात, तरकारी, दूध र दही भएपछि अरू चाहिँदैन । सिमी त्यति मन पर्दैन । सकेसम्म घरकै खाना खान रुचाउँछु । कामविशेषले मात्रै रेष्टुरेन्ट पुग्छु । रेष्टुरेन्ट पुगिहाल्दा ब्रोइलर कुखुराको मासु रोजाइमा पर्छ । भान्छामा कमै पस्छु । तर, दालभात, तरकारी मीठै पकाउँछु ।
मेरो पोसाक
प्रायः सर्ट, पाइन्ट र कोट लगाउँछु । दौरासुरुवाल कमै लगाउँछु । कपडामा सालिन्दा एक लाख रुपैयाँ खर्च हुन्छ । पहेंलो रङको कपडा विशेष मन पर्छ । सकेसम्म कपडा किनेर सिलाउँछु । चितवनको जुली र काठमाडौंको मोनालिसामा कपडा सिलाउने गरेको छु । यही ब्रान्डको कपडा चाहिन्छ भन्ने छैन । टिकाउ र सुहाउँदिलो भए पुग्छ ।
मेरो फिटनेस
दैनिकजसो सात किलोमिटर हिँड्छु । योगा कहिलेकाहीं गरे पनि ‘मर्निङवाक’ ले नियमितता पाएको । ‘डाइटिङ’ छैन ।
मेरो अध्ययन
हिजोआज आर्थिक र उद्योग नीतिबारे अध्ययन गर्दै छु । त्यसैगरी, प्रेरणादायी किताब पढ्न जाँगर चल्छ । अब्दुल कलाम र नेल्सन मन्डेलाको लेखन असाध्यै मन पर्छ । आर्थिक नीतिबारे लेखिरहेको छु । केही समयपछि प्रकाशित हुनेछन् । मेरो संकलनमा पाँच सयभन्दा बढी किताब होलान् । सालिन्दा १५ हजारसम्मको किताब किन्ने गरेको छु ।
मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । नेपालका ६२ जिल्ला पुगेको छु । १२ देश घुमेको छु । घुमेकामध्ये दक्षिण कोरिया असाध्यै मन पर्यो । जीवनमा एकपटक स्वीटजरल्यान्ड र रसिया पुग्ने रहर छ ।
मेरो फुर्सद
फुर्सद निकाल्न गाह्रो छ । दौडधुप छ । दौडधुप भएपछि थकाइ लाग्ने नै भयो । तर, थालेको काम सकियो भनेचाहिँ थकाइ लाग्दैन । धेरै रातको अनिदो भए मोबाइल ‘स्वीचअफ’ गरेर आराम गरौं लाग्छ । त्यस्तो लागे पनि आजसम्म मोबाइल ‘स्वीचअफ’ गरेर आराम गरेको छैन ।
फुर्सद पाइहालेमा घरपरिवारसँग बसेर रमाउँछु । घरबाहिर हुँदा गाउँघर डुल्छु । गाउँघर डुल्दा साह्रै आनन्द लाग्छ, जति सहर घुम्दा लाग्दैन । १० वर्षयता घरपरिवारलाई समय दिन सकेको छैन ।
मेरो खेलकुद
खेलमा फुटबल मन पर्छ । म एथ्लेटिक खेलाडी हुँ । विद्यालयस्तरसम्म एथ्लेटिक खेलेको थिएँ । चार, आठ र पन्ध्र सय मिटर दौडमा लगातार तीन वर्ष नारायणी अञ्चल प्रथम भएँ ।
फुटबलमा नेपालको राष्ट्रिय टिम असाध्यै मन पर्छ । विदेशीमा अर्जेन्टिनाका खेलाडी मन पर्छ । खेल नै भए पनि रेस्लिङ हेर्न जाँगर चल्दैन ।
मेरो मोबाइल
सामसुङको एक मोबाइल सेट प्रयोग गर्दै आएको छु । यसको १८ हजार रुपैयाँ परेको थियो । काम नलाग्ने भएपछि मात्रै नयाँ मोबाइल किन्ने बानी छ । मोबाइलका एप्लिकेसनमध्ये सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इमेललगायत प्रयोग गर्छु ।
मेरो टीभी
टेलिभिजनमा समाचार प्राथमिकतासाथ हेर्छु । त्यसपछि ‘बिजनेस’ सम्बन्धी कार्यक्रम हेर्न जाँगर चल्छ । नेपालका वस्तुस्थितिसँग सम्बन्धित टेलिशृंखला हेर्न मन लाग्छ । चेतनामूलक हिन्दी टेलिशृंखलासमेत हेर्ने गरेको छु ।
घरमा सोनीको ४२ इन्चको टीभी छ । जतिखेर मेरो समय अनुकूल हुन्छ, त्यतिखेर टीभी हेर्छु ।
मेरो चलचित्र
हलसम्म पुगेर चलचित्र नहेरेको धेरै भयो । पछिल्लो समय चलचित्र ‘थ्री इडियट्स’ हेरेको थिएँ । हेरेकामध्ये ‘जीवनरेखा’, ‘वागबान’ र ‘थ्री इडियट्स’ मन पर्यो । नायक श्रीकृष्ण श्रेष्ठ, हास्यकलाकार हरिवंश आचार्य, नायिका करिश्मा मानन्धर र नाना पाटेकरको अभिनय जीवन्त लाग्छ ।
मेरो रोग
स्वास्थ्यकै कारण चिन्तित छैन । रक्तचाप र मधुमेहले समातेको छ । अहिलेसम्म १० पटक ‘होलबडी चेकअप’ गराएको छु । रक्तचाप र मधुमेहबाहेक स्वस्थ छु । मलाई रक्तचाप र मधुमेहले समाते पनि चिन्ता लाग्दैन । किनकि मानिस जन्मेपछि मर्ने निश्चित छ । निश्चित भइसकेपछि कहिले भन्नेमात्रै हो । अर्को खानपानमा त्यति मुख बार्दिनँ । मलाई मधुमेह भए पनि खान मन लागेको बेला रसबरी खान हिच्किचाएँ भने त्यो रसबरीले गर्ने असरभन्दा खान नपाएको तनावले बढी असर गर्छ । तसर्थ, आफ्नो स्वास्थ्य आफूअनुकूल बनाउने प्रयत्न गर्छु ।
मेरो भाषणशैली
उद्योगी भएपछि भाषण गरिरहनुपर्छ । आफूले गरेको भाषण आफैंले मूल्याकंन गर्दा सामान्य लाग्छ । अभिव्यक्ति कला नभए पनि उद्योगीको पीरमर्का सहज तरिकाले प्रस्तुत गर्न अप्ठ्यारो छैन । भाषण गर्दा कहिलेकाहीं ‘चाहिँ’ भन्ने थेगो प्रयोग हुँदोरहेछ । मेरो भाषण आक्रामक हुन्छ । भाषण गर्नअघि धेरै तयारी गरें भने झन् बिगार्दोरहेछु ।
मेरो मापसे
खानैपरे काल्सबर्ग र स्क्वच लिन्छु । खाँदा स्थान, समय र साथी रोज्छु । यस मामिलामा अहिलेसम्म सफल छु । दुईदेखि तीन पेगसम्म लिने गरेको छु ।
मेरो संगीत
गीत–संगीत असाध्यै सुन्छु । नारायणगोपाल, भक्तराज आचार्य, बिमाकुमारी दुरा, सर्मिला गुरुङ, बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपानेको आवाज कर्णप्रिय लाग्छ । मन लागे पनि गुनगुनाउने ढंग छैन ।
मेरो भूल
जान–अन्जानमा गल्ती गर्नु मानवीय स्वभाव हो । बोलिदिनुपर्ने समयमा नबोल्दा सम्बन्धित व्यक्तिलाई परेको असर सम्झँदा हिजोआज पनि पश्चाताप लाग्छ ।
रुद्र शर्मा मेरो गुरु हुनुहुन्थ्यो । कुनै समय मैले गरेको कमजोरी सुनाइदिनुभएपछि मेरी आमाले मलाई सजाय दिनुभएको थियो । त्यसपछि मैले गल्ती गर्नसाथ आमालाई सुनाउँथें । गल्ती नगरी सजाय पाउनसम्म पाएको छु ।
मेरो घर
मेरो घर चितवनमा छ । बनिबनाउ घर किनेको हुँ । तीन कठ्ठा जग्गासहित ६ कोठे घरको अहिलेको मूल्य चार करोड हो । यो आफ्नै आर्जनले किनेको हुँ । घरको डिजाइन सामान्य छ । सामान्यतः घरको वास्तुशास्त्र मिलेकै छ ।
मेरो राशी
मेरो राशी कन्या हो । चारपटक ग्रहदशा हेराएको छु । ग्रह नक्षत्रको फलप्रति त्यति विश्वास छैन ।
मेरो सौन्दर्यचेत
कपालमा सामान्य तेल लगाउँछु । घरमै सामान्य फेसियल गर्छु । अनुहारमा क्रिम लगाउँछु । पफ्र्युम प्रयोग गर्छु ।
मेरो प्रेम
हाम्रो मागीबिहे हो ।
मेरो सपना
कम्तीमा १० घन्टा काम गर्ने प्रत्येक नेपालीले आधारभूत आवश्यकताका लागि भौंतारिन नपरोस् । उनीहरूले सरल जीवनयापन गर्न सकून् । आधारभूत आवश्यकता पूर्ति गर्न खाडी मुलुकमा पसिना बगाउन नपरोस् । यस्तो दुर्दशा अन्त्य होस् ।
नेपालको हरियो राहदानी देख्नासाथ सगरमाथाको देश, गौतमबुद्धको देश, हिमाल, पहाड, तराईको देश भनेर संसारभरि सम्मान गरियोस् । मैले चाहेको नेपाल त्यतिमात्रै भए लाख हुने थियो ।
म उद्योग परिसंघ उपाध्यक्ष छु । म जुन भूमिकामा छु, यही भूमिकाबाट अर्थपूर्ण योगदान कसरी गर्न सकिन्छ भन्ने ध्याउन्नमा छु । तर, गाह्रो पनि छ । मैले मेरो उद्यम हेर्ने कि संघको नेतृत्व गरेर अघि बढ्ने भन्नेमा त्यति सजिलो छैन । संघमा रोलक्रमअनुसार अब बन्नुहुने अध्यक्षले मलाई नेतृत्व गर्न आग्रह गरिरहनुभएको छ । उहाँ आफ्नो व्यवसायलाई समय दिने सोचमा हुनुहुन्छ ।
मेरो मृत्यु
स्वाभाविक प्रक्रिया भएकाले मृत्यु सबैभन्दा ठूलो सत्य हो । जीवनमा मृत्यु नजिक–नजिक पुगेको घटना, दुर्घटना नभएका होइनन् । मृत्यु जित्ने होइन, आयु लम्ब्याउने कोसिस गर्नुपर्छ । मेरो मृत्युपछि परिवारले मलामी नकुरून् । मलामी कुर्न आवश्यक छैन । मेरो मृत्यु हुँदा केही गर्न खोजेका थिए, बितेछन् भन्दिए पुग्छ । बिरामी हुँदा उपचार पाइयोस् । तर, रोगले थलिनु नपरोस् । तर, आफूले कल्पना गरेजस्तो हुने होइन ।