सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौंमा यस्तो पनि छ : एक सय रुपैयाँमा स्वास्थ्य सेवा !

बुधबार, २८ चैत २०७४, १२ : १२
बुधबार, २८ चैत २०७४

काठमाडौं– भुइँतल्लाको घर । सबै ठाउँमा बाँसको प्रयोग ।

गुलाबी कलर गरिएको घर झ्ट्ट हेर्दा सजावटको लागि बनाइएको जस्तो लाग्छ ।

यही घरको कोठा नम्बर ४१, जुन गेट नजिकै छ ।

अस्पतालको गेट नजिकैको रहेको यो कोठामा भेटिइन् ४१ वर्षकी मैयाँ कार्की ।

सोमबार दिउँसो उनी भिडियो एक्सेरेका लागि आफ्नो पालो कुर्दै थिइन् ।

पाठेघरको मुखमा मासु पलाएको समस्या छ उनमा । विगत ४ वर्षदेखि मैयाँ पीडामा छिन् ।

उनी यही समस्या बोकेर समता अस्पताल आएकी थिइन् ।

सुनाइन्, ‘४ वर्षअघि जचाउँदा पाठेघरको मुखको मासु पलाएको थाहा भयो । अप्रेसन गरेर मासु त निकालियो । फेरि अहिले त्यही समस्या दोहोरियो ।’

समस्या देखिएपछि उनी अस्पताल धाउन थालिन् । काठमाडौं मात्रै नभएर नाम चलेका अरू अस्पताल पनि पुगिन् । तर सबैले पलाएको मासु शल्यक्रियामार्फत निकाल्ने बाहेकको अर्काे विकल्प देखाएनन् ।
त्यसपछि उनी अर्को चार वर्षमा समस्या दोहोरिन्छ भने किन शल्यक्रिया नगर्ने भन्ने सोचमा पुगिन् ।

तर उनले समता अस्पताल रोज्नुको पनि कारण छ । ‘मेरो छोरा समता स्कुलमै पढ्छ । उसले र छोरीले आफ्नो विद्यालयले सञ्चालन गरेको अस्पताल राम्रो छ भने । अनि म यहाँ आएँ ।’

यहीबीचमा बेन्चमा बसिरहेका थिए दुई वृद्ध ।

एकातिर गोविन्द ढकाल र अर्कोतिर मधुसुदन विष्ट ।

हुन त उनीहरूबीच लामो चिनजान होइन ।

उनीहरूबीच चावहिलको एउटा चिया पसलमा भेट भएको थियो । विष्ट सरकारी जागिरे हुन् भने ढकाल कृषि व्यवसायमा संलग्न छिन् ।

ढकाल जोरपाटीको नारायणटारदेखि चावहिलसम्म गाईको दूध बेच्न आउँछन् । विष्ट चिया पिउन पसल जान्थे ।

त्यही चिया पसलले यी दुई जना बीच सामान्य चिनजान गरायो ।

गोविन्द ढकालले चिया पसलमा समता अस्पतालको कुरा सुनेका थिए ।

त्यसपछि उनले विष्टलाई समता अस्पतालबारे जानकारी गराए र दुवै जना आफ्नो श्रीमतीको स्वास्थ्य परीक्षण गराउन समता अस्पताल आएका थिए ।

मघुसुदनकी श्रीमती लक्ष्मीको होल बडी चेकअप गर्नु थियो ।

गोविन्दकी श्रीमतीको पेट दुख्ने समस्या छ ।  ढकालकी श्रीमती उजेली दाहालले पनि ‘होल बडी चेकअप’ गरिन् ।

समता अस्पताल किन रोजे ?

मैया कार्की, गोविन्द ढकाल र मधुसुदन विष्ट घर नजिकका अरू अस्पताल छाडेर समतामा जानुको पनि कारण छन् ।

अस्पताल तुलनात्मक रूपमा सस्तो छ ।

सय रुपैयाँको विशेषता
एक सय रुपियाँमा बिरामीले पुर्जा काटेपछि ल्याबको सबै टेस्ट त्यही टिकटभित्र नै हुन्छ । सीभीसी, सीएसआर, एचआईभी, ब्लड ग्रुपलगायत जनरलबाट उपलब्ध गराइने सेवा एक सय रुपियाँमा नै गराइन्छ ।  

१५ सयमा होलबडी टेस्ट
१५ सयमा होलबडी टेस्टतर्फ पनि नागरिकहरूको चासो बढी नै देखिएको छ ।

महँगो मूल्य तिर्दा पनि सोचेजस्तो स्वास्थ्य सेवा नपाइँदा समताले भने १५ सयमा ‘होलबडी चेकअप’ गराउँछ ।

जसमध्ये अस्पतालमा उपलब्ध सेवा सबै पर्छन् । एक्सरे, भिडियो एक्से, मुटुको ईसीजी, इको लगायतको सेवा ‘होलबडी चेकअप’मा पर्छन् ।

‘होलबडी चेकअप’का लागि अन्य निजी अस्पतालले ५ हजारबाट सुरु गरेर १५–२० हजारसम्म शुल्क लिन्छन् ।

निःशुल्क सेवा
ज्येष्ठ नागरिकलाई पनि अस्पतालले निःशुल्क सेवा दिँदै आएको छ । ज्येष्ठ नागरिक परिचयपत्र ल्याएको खण्डमा सबै सेवा निःशुल्क गरिँदै आएको व्यवस्थापन समितिका कुमार बास्तोलाले बताए ।

अपाङ्ग, महिला, घाइते, वृद्धवृद्धाका लागि भने अस्पतालले विशेष छुट र आर्थिक अवस्था हेरेर सहुलियतको व्यवस्था गरेको जनाएको छ ।
हालसम्म यस अस्पतालमा कम्तीमा पनि २५ हजारले सेवा लिइसकेको प्रशासनको भनाइ छ ।

त्यसमा पनि ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष तथा बालबालिका पर्दछन् । महिलाका लागि राम्रो सेवा हुने भएले महिलाको सङ्ख्या बढिरहेको बास्तोलाले बताए ।

उपचारभन्दा पनि चार्ज देखेर डराउँछन्
अस्पतालले गरिब, निमुखाको सेवा गर्ने उद्देश्य राखेको छ । तर अहिलेसम्म कमैले मात्र विपन्न परिवार सेवा लिन आएको बास्तोलाले बताए ।

नयाँ सञ्चालन भएको अस्पताल त्यसमा पनि काठमाडौंको ठाउँमा उपचारभन्दा पनि धेरै खर्च लाग्ने डरले नै विपन्न परिवार अस्पताल आउनभन्दा रोग पाल्न तयार हुन्छन् ।

दैनिकी गुजार्नका लागि व्यस्त परिवार अस्पतामा जान नसकेको अवस्था छ । विपन्न नागरिक, सडकमा बस्ने नागरिकलाई सहुलियतमा उपचार गराउने समता अस्पताल प्रशासनको भनाइ छ ।

नयाँ वर्षमा एक सय बेड 
समता अस्पतालले एक सय शय्याको स्वीकृति पाएको छ । अस्पतालका अनुसार वैशाखको पहिलो हप्तामा नै सुरु गर्ने उद्देश्यले एक सय शय्या तयारी अवस्थामा छ ।  जसमध्ये २० वटा वृद्धावृद्धका लागि छुट्याइएको छ ।  
 

१ रुपैयाँमा नर्सिङ सेवा
समताले शिक्षासँग जोडिएको भएको कारण निकट भविश्यमा नै नर्सिङ, ल्याब, रेडियोलोजी, एचए विषयमा पनि अध्ययनका लागि सरकारी तहमा काम अगाडि बढिरहेको बास्तोलाले बताए ।
अर्काे वर्षदेखि एक सय रुपियाँमा नर्सिङ, एचए, बीएसी नर्सिङ पनि अध्ययन गराउने योजनामा अस्पताल रहेको छ ।

गिरिराजमणि पोखरेल स्वास्थ्यमन्त्री हुँदा एक सय रुपियाँमै स्तरीय उपचार सेवासहितको पीसीएल तथा बीएस्सी नर्सिङ सञ्चालन गर्ने उद्देश्यका साथ प्रस्ताव आएपछि विशेष प्रकृतिको अस्पतालका रूपमा जग्गा भाडामा लिई सञ्चालन गर्न स्वीकृति दिएको थियो ।
 
अस्पतालको सेवा
समता अस्पतालको रूपमानै सञ्चालन भएको २ वर्ष भयो । २०७३ साल असार २३ गते सञ्चालनमा गरिएको हो ।

विशुद्ध सामाजिक सेवाको उद्देश्यले सञ्चालन गरेको यस अस्पतालमा जनरल फिजिसियन, बालरोग, स्त्रिरोग, मुटुरोग, नशा तथा हार्डजोर्नी, छाला तथा यौन रोग, ड्रेसिङ, रेबिज, नाक—कान—घाँटी, मधुमेह,

मिर्गौला, एचआईभी, हेपाटाइटिस, कलेजो, प्याथोलोजी सेवा, फार्मेसी सेवा, दाँत, प्रसूति, ईसीजी, क्षयरोग, अल्ट्रा साउन्ड, एक्सेरे लगायतको सेवा सञ्चालन गरिँदै आइरहेको छ ।

अस्पताल व्यवस्थापन समितिका पदाधिकारी कुमार बास्तोलाका अनुसार यस अस्पातलमा मासिक ४ हजारभन्दा बढी नागरिकले सेवा लिइरहेका छन् ।

२०६८ सालमा क्लिनिक, २०६९ मा पोलिक्लिनिक र ०७३ सालमा अस्पतालका रूपमा सञ्चालनमा ल्याएको हो ।

अस्पताल नाफामूलक भन्दा पनि सेवामूलक भएको हुँदा आर्थिक अभाव भएकाहरूलेको साथी बन्न सक्ने विश्वास अस्पतालले लिएको छ । 

अस्पतालको अवस्था
व्यक्तिगत जग्गामा निर्माण गरिएको यस अस्पतालले जग्गाधनीलाई वार्षिक ७ लाख तिर्दै आएको छ ।

७ रोपनी जग्गामा निर्माण गरिएको समता अस्पतालमा हाल २५ जना विशेषज्ञ चिकित्सक रहेका छन् । ४ जना नर्स, एचए ४ जना, रेडियोग्राफर ४ जना, ल्याबमा ५ जना रहेका छन् ।

अस्पतालको संरक्षकका रूपमा हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप