सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्ता छन् वर्षका १२ चर्चित चलचित्र

बुधबार, २८ चैत २०७४, १४ : ४०
बुधबार, २८ चैत २०७४

वर्ष ०७४ नेपाली चलचित्रका लागि खासै लाभदायक सिद्ध हुन सकेन । अघिल्ला वर्षको तुलनामा यो वर्ष नेपाली चलचित्र बजारमा निर्माणका हिसाबले निकै राम्रा चलचित्र देखिए पनि व्यवसायका हिसाबले भने खासै फड्को मार्न सकेन ।

विदेशी चलचित्रको नक्कल परिपार्टी भन्दा यो वर्ष अर्गानिक कथामा जोड दिएका चलचित्र बढी निर्माण भए । तर पनि प्रदर्शनमा आएका धेरै व्यावसायिक असफल, केहीले जिनतिन लगानी सुरक्षित गरे भने तीन, चारवटा चलचित्रले मात्र व्यावसायिक मुनाफा कमाउन सफल भयो । केही चलचित्रले भने चर्चा र व्यावसायिक नाफाले निर्माता रिझाए । तीन चलचित्र ‘घामपानी’, ‘लभ लभ लभ’ र ‘राधे’को प्रदर्शनसँगै सुरु भएको वर्ष २०७४ दुई चलचित्र ‘लिलिबिली’ र ‘नेप्टे’को प्रदर्शनसँगै सकिँदैछ । यो अवधिमा करिब ९० का हाराहारी चलचित्र प्रदर्शनमा उत्रिएका छन् । तर गीतसङ्गीत, व्यवसाय, कथा, निर्माण र कलाकार लगायत विभिन्न पक्षका हिसाबले कमै चलचित्र मात्र दर्शकको नोटिसमा पर्न सफल भए । विभिन्न कारणले चर्चामा रहेका वर्षका १२ चलचित्र  ।

‘कृ’
वर्षकै चर्चित चलचित्र भन्दा हुन्छ ‘कृ’ । अभिनेता अनमोल केसीका कारणले पनि यो चलचित्र धेरै चर्चामा रह्यो । प्रचारका लागि सार्वजनिक गरिएको चलचित्रको फस्टलुक, गीत सङ्गीत र ट्रेलरसमेत चर्चाको विषय बन्यो । २६ माघमा प्रदर्शनमा आएको यो चलचित्रमा अभिनेता अनमोल दुई अवतारमा देखिएका थिए । सुवास इन्टरटेन्मेन्टको निर्माणमा द सुपर काजोल फिल्मस्को प्रस्तुति रहेको चलचित्रमा अनमोल केसी, अदिती बुढाथोकी मुख्य भुमिकामा थिए । सुरेन्द्र पौडेलको निर्देशन रहेको र भुवन केसी र सुवास गिरी निर्माता रहेको चलचित्र कहिले अनमोल र केहीले गीत चोरी प्रकरणका कारण पनि वर्षभरी नै चर्चामा रह्यो । चलचित्रको चर्चाको विषय यसकी अभिनेत्री अदिती बुढाथोकीसमेत बनिन् । बलिउडबाट कलिउडमा भित्रिएकी अदिति र अनमोलको चर्चा बलिउडका केही मिडियाले समेत गरे । समीक्षकबाट तारिफभन्दा गाली धेरै खाएको यो चलचित्रको लागत २ करोड बढी बताइएको थियो । धेरै बजेट भएका कारणले चलचित्रले सार्वजनिक प्रदर्शनबाट लगानी सुरक्षित गर्न सकेन । 

‘ए मेरो हजुर २’
‘ए मेरो हजुर २’ अभिनेत्री झरना थापाको निर्देशनमा डेब्यु चलचित्र हो । करिब २ दशक अभिनयमा बिताएकी झरनाको यो चलचित्र गीत सङ्गीतका कारणले पनि चर्चामा रह्यो । ‘उकालीमा जाँदा जाँदै’, ‘किनिदेऊ न साइला दाइ’ लगायत केही हिट गीत रहेको यो चलचित्र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसमेत रहेकी कारणले पनि चर्चा पायो । साम्राज्ञीको यो दोस्रो चलचित्र थियो । यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेका सलिमान बानियाँ समेत हिट भए । थुपै्र अभिनय गरेका अभिनेता सलोन बस्नेतले  यो चलचित्र अभिनयबाट सबैभन्दा बढी चर्चा पाए । सुनिलकुमार थापाको निर्माणमा तयार भएको चलचित्र १६ भदौमा प्रदर्शनमा आएको थियो । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका झरना थापाको मुख्य भूमिका रहेको ‘ए मेरो हजुर’को सिक्वेलको रूपमा बनेको यो चलचित्रमा पत्रकार सामिप्याराज तिमिल्सिनाले लेखेका थिए ।

‘घामपानी’
सञ्चारकर्मी समीक्षक दीपेन्द्र लामाको निर्देशन रहेको ‘घामपानी’ अभिनेत्री केकी अधिकारी र दयाहाङ राई अभिनित चलचित्र हो । दुई दशक बढी समय पत्रकारितामा बिताएका दीपेन्द्रको यो निर्देशनमा डेब्यु थियो । सिनेमा आर्टस्को निर्माण, हाइलाइट्स नेपाल र टचलाइट प्रोडक्सनको प्रस्तुति रहेको १ वैशाख अर्थात नयाँ वर्षको दिन प्रदर्शनमा आएको चलचित्रले एउटै गाउँका २ फरक जातिका युवा र युवतीबीच प्रेम हुँदा दुई पक्षको पारिवारिक सम्बन्धमा पैदा हुने उतारचढावको कथा बुनेको थियो । दयाहाङ र केकीको साथमा बुद्धि तामाङ, अङ्कित खड्का, सिल्सा जिरेललगायतको पनि अभिनय चलचित्र थियो । ओम गुरुङ, शैलेन्द्रध्वज कार्की, रौनकविक्रम कँडेल, ओमचन्द रौनियार र विश्व गौचनको लगानी रहेको चलचित्र समीक्षक तथा दर्शकले दुवैले मन पराएका थिए । तर चलचित्रले बम्पर ब्यवसाय भने गर्न सकेन । जिनतिन लगानी भने सुरक्षा गर्न सफल भएको मानिन्छ ।

‘प्रेम गीत २’
१३ साउनबाट सार्वजनिक प्रदर्शनमा आएको ‘प्रेमी गीत २’ वर्षकै सबैभन्दा बढी चर्चित र व्यावसायिक सफल चलचित्र हो । ‘प्रेम गीत’को सिक्वेलको रूपमा निर्माण भएको यो चलचित्र सन्तोष सेनले निर्माण गरेका थिए । ट्रेलर, गीत सङ्गीत र थाइल्यान्ड छायाङ्कनका हिसाबले समेत चर्चाको केन्द्रविन्दुमा रहेको यो चलचित्रमा युवास्टार प्रदीप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा देखिएका थिए । थाइल्यान्डको प्रतिबन्धित अन्डरग्राउन्डमा खिचिएको एक्सन पाटो नेपाली चलचित्र इतिहासमा प्रयोग हुँदै आएको भन्दा पृथक देखिन्थ्यो । प्रचारप्रसार समेत राम्रो गरिएको चलचित्रका निर्देशक रामशरण पाठकका हुन् । चलचित्रपछि यसका अभिनेता प्रदीप सबैभन्दा महँगो अभिनेता ठहरिएका थिए ।

‘म यस्तो गीत गाउँछु’
सुदर्शन थापाको निर्देशन तथा निर्माण रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ पनि वर्षको चर्चित चलचित्र मध्ये एक हो । ‘भन्छु आज’ बोलको  सर्वाधिक चर्चित गीत रहेको यो चलचित्रले व्यावसायिक लाभ भने राम्रो लिन सकेन । जिनतिन लगानी सुरक्षित मात्र गरेको वितरकको भनाइ छ । अर्जुन पोखरेलको सङ्गीत रहेको चलचित्रको ‘म यस्तो गीत गाउँछु’ शीर्ष गीतले समेत चर्चा पाएको थियो । अहिलेसम्म अभिनयमा खासै सफलता पाउन नसकेका अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको प्रेम देखाइएको यो चलचित्रमा सरोज खनाल, रूपा रानालगायत कलाकारको समेत अभिनय देख्न सकिन्थ्यो ।

‘छक्का पन्जा २’
वर्षको सबैभन्दा सफल चलचित्रभन्दा फरक पर्दैन ‘छक्का पन्जा २’ । विजया दशमीको अवसर पारेर ११ असोजमा रिलिज भएको यो चलचित्र कलाकार समेत रहेकी दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । पछिल्लो समय चलेका कमेडियन कलाकारहरूको झुण्डले बनाएको चलचित्रको गीत ‘ए दाजु नसमाउ नाडीमा’ चोरी कान्डमा मुछिएको थियो । ‘छक्का पन्जा’को सिक्वेलको रूपमा निर्माण भएको यो चलचित्रले पहिलो सिक्वेल जस्तो व्यवसाय भने गर्न सकेन । करिब १२ करोड माथिको व्यवसाय गरेको बताइएको यो चलचित्रले केही हलमा भने ५१औं र ७५औं दिन  प्रदर्शनको रेकड बनायो । स्वस्तिमा खड्का, स्वरूप पुरुष ढकाल, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, गौरव पहारी, बुद्धि तामाङ, प्रियङ्का कार्की, किरण केसी, वर्षा राउत, निश्चल बस्नेत, आयुष्मान देशराज श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको चलचित्र दीपक–दीपाको प्रस्तुतिमा तयार भएको थियो । जितु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागार्इं, सुमन गिरीको चलचित्रमा लगानी छ । 

‘पर्व’
‘काले दाइ काले दाइ’ बोलको सर्वाधिक हिट गीत रहेको चलचित्र ‘पर्व’ले व्यावसायिक उडान भने भर्न सकेन । दिनेश राउतको निर्देशन गरेको यो चलचित्रको ‘काले दाइ काले दाइ’ बोलको गीतमा भने माला लिम्बु र निश्चल बस्नेतले देखिएका थिए । टिभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले मिलेर बनाएको यो चलचित्र १२ जेठमा रिलिज भएको थियो । सुवास गिरी र निकिता पौडेल निर्माता रहेको चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेविका कार्कीलगायत कलाकार मुख्य भूमिकामा थिए । अभिनेत्री नम्रताको कारणले पनि चलचित्र चर्चामा रहेको थियो । एउटा पर्वमा घटेको घटना र त्यसपछि एक पात्रमा उत्पन्न हुने उत्तेजनात्मक भावको कथा चलचित्रले प्रस्तुत गरेको थियो ।

ऐश्वर्या
गीतका कारण निकै चर्चा र प्रतीक्षित बनेको चलचित्र ‘ऐश्वर्या’ पनि सफल चलचित्रको सूचीमा पर्छ । ९ कात्तिकमा सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्र अभिनेता रमेश उप्रेतीले निर्माण गरेका हुन् । लामो समयपछि ब्रासलेटमार्फत अभिनयमा देखिएका उप्रेतीसँगै केकी अधिकारी, दिपिका प्रसाईं, प्रशान्त ताम्राकार, निर्मल शर्मा, केशव भट्टराईको समेत अभिनय रहेको थियो । ‘तिमी रोएको पल’ बोलको गीत हिट भएको थियो । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र समीक्षकले भने राम्रो भनेनन् । निर्मल शर्मा, अजुर्न श्रेष्ठ र किरण राना उप्रेतीको लगानी रहेको चलचित्रबाट अभिनयमा डेब्यु गरेका  प्रशान्त ताम्राकार र दिपिका प्रसाईंले निकै चर्चा कमाए । वैष्णोदवी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेल र विराज गौतमको सङ्गीत रहेको थियो । चलचित्रमा अभिनेता प्रशान्तले बोलेको मलाई ऐश्वर्या चाहियो डाइलग धेरैले थेगोसमेत बनाएका थिए ।
 
कान्छी
अभिनेत्री स्वेता खड्काले निर्माण गरेको यो चलचित्रले चर्चा र सफलता दुवै हासिल गर्यो । ४ फागुनबाट सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्रका निर्माता श्वेता खड्का र शैलेश खड्का हुन् । श्वेता आफैले चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । दयाहाङ राई, नीर शाह, अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरसिया, प्रज्ज्वल सुजल गिरीलगायतको समेत चलचित्रमा अभिनय रहेको थियो । आकाश अधिकारीको निर्देशन रहेको चलचित्र सुपरहिट हुने दाबी गरिएको थियो । तर भएन । दर्शकले चलचित्रको कथा मन पराए पनि निर्देशन पक्षको आलोचना गरे । सम्पूर्ण छायाङ्कन मुस्ताङमा गरिएको चलचित्रको ‘चरी चट्ट परी’ बोलको गीत हिट सावित भयो । काया फिल्म्स प्रालि र बुम रेमिटको ब्यानार निर्मित चलचित्रमा शम्भुजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको सङ्गीत रहेको थियो । 

मङ्गलम
नवल नेपाल निर्देशित यो चलचित्रमा पुष्प खड्का, शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईंको मुख्य भूमिका रहेको थियो । चलचित्रमा रहेको ‘पर्ख पर्ख मायालु’ बोलको गीत हिटसमेत भयो । त्रिकोणात्मक प्रेम सम्बन्ध देखाइएको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाहको समेत अभिनय देख्न सकिन्थ्यो । विजेन्द्र शाक्य, साकार शाक्य, ओम गुरुङ र छविराज ओझाको निर्माण रहेको चलचित्रमा अभिनेत्री शिल्पाको समेत लगानी रहेको थियो । २५ फागुनमा रिलिज चलचित्रमा गोविन्द फुयाँलको कथा, फुयाँल र नवल नेपालका संवाद थियो । दर्शक, समीक्षकले समेत मन पराएको चलचित्रले व्यवसाय पनि राम्रो गर्यो ।

शत्रुगते
‘शत्रुगते’ यो वर्ष बम्पर व्यवसाय गर्ने चलचित्र हो । ९ चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘शत्रुगते’ले पारिवारिक सम्बन्ध र युवा पुस्ताको प्रेमलाई मूल रूपमा उठाएको छ । पल शाह, आँचल शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, प्रियङ्का कार्की लगायतका कलाकारको दमदार अभिनय रहेको चलचित्रले अहिले प्रदर्शनको तेस्रो सातामा पनि राम्रो व्यवसाय गरिरहेको छ । प्रदीप भट्टराईद्वारा निर्देशित ‘शत्रुगते’ दुई गीत ‘रूपै मोहनी’ र ‘पिरतीको बर्को’ समेत हिट छ । ‘पिरतीको बर्को’ गीतलाई चोरीको आरोपसमेत लागेका थियो । मल्टिस्टारले भरिएको चलचित्र समीक्षले खासै मन नपराए पनि दर्शकले 

‘लिलिबिली’
दर्शकमा राम्रो क्रेज भएका अभिनेता प्रदीप खड्का अभिनित ‘लिलिबिली’ यही ३० गतेबाट प्रदर्शनमा आउने चलचित्र हो । प्रदीप र अभिनेत्री जसिता गुरुङ मुख्य भूमिकामा रहेको यो चलचित्र अहिले निकै चर्चामा छ । प्रियङ्का कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुवदत्त, रितेस चाम्स लगायतको समेत अभिनय रहेको चलचित्र स्कटल्यान्ड, नेपाल, लन्डन र टर्कीको स्तानबुल लगायत स्थानमा भएको हो । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’मा गोविन्द शाही, सुदीप खड्का र निर्देशक चाम्सको लगानी छ । ‘प्रेमगीत’पछि रातारात स्टार बनेका अभिनेता प्रदीप चलचित्र उत्कृष्ट भएको दाबी गर्छन् । प्रचारका लागि सार्वजनिक गरिएका चलचित्रका  गीत सङ्गीत र ट्रेलरले पनि दर्शकमा चलचित्रको क्रेज बनाउन सफल छ । यस चलचित्रबाट अभिनयमा डेब्यु गर्दै गरेकी अभिनेत्री जसिता गुरुङसमेत अहिले हिट भइसकेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप