सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पार्टी एकतामा ‘मनोवैज्ञानिक’ लडाइँ, वैशाख ९ मा एकता कठिन !

शुक्रबार, ३० चैत २०७४, ११ : २४
शुक्रबार, ३० चैत २०७४

काठमाडौं– सङ्गठनात्मक समायोजन, जनयुद्ध र निर्वाचन चिन्ह ।

यी तीनवटा विषयमा सहमति हुन बाँकी छ–एमाले–माओवादी पार्टी एकता घोषणाका लागि ।

यी तीनै विषयमा सहमति जुटाउनुपर्ने जिम्मेवारी एकता संयोजन समितिमा आइपुगेको छ ।

तर एकता संयोजन समितिको बैठक बस्न ढिलाइ भइरहेको छ ।

यी तीनवटा प्राविधिक विषय त ढिलोचाँडो हल होलान् तर एमाले र माओवादी नेताबीच बढ्दो अविश्वास चाहिँ पार्टी एकतामा जटिलता बनेर आउन थालेको छ । मिलेका मनमा फेरि शङ्का देखिन थालेको छ ।

माओवादी नेताहरू सरकार सञ्चालनमा प्रधानमन्त्रीको एकलौटी कार्यशैलीले प्रचण्डलाई शङ्का पैदा भएको उनीनिटक नेताहरू बताउँछन् । नेताहरूबीच अहिले मनोवैज्ञानिक युद्ध चलेको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओली भारत भ्रमणसकेर फर्केपछि उनी र प्रचण्डबीच एक पटक भेट भयो, तर, लामो कुराकानी भएन ।

त्यसबाहेक केन्द्रीय समितिमा सम्मानजनक सहभागिता खोजिरहेको माओवादीले एमालले चुनावी सिटका आधारमा जानुपर्ने दबाब बनाएको छ ।

एमाले र माओवादीबीचको एकतामा पछिल्लो समय प्रधानमन्त्रीको कार्यशैली पनि माओवादी नेताहरूले जिम्मेवार ठान्न थालेका छन् । यद्यपि उनीहरू यस विषयमा चाहिँ औपचारिक रूपमा भने बोल्न मान्दैनन् ।

‘सरकार जसरी गठन भएको छ र भविष्यमा पार्टी एकता हुँदैछ । यसविपरीत प्रधानमन्त्रीले सत्ता साझेदार शक्तिसँग परामर्श नगरी काम गरिरहनु भएको छ ।’ माओवादीका एक नेता भन्छन्, ‘एकतामा प्रक्रियामा यसले पनि शङ्का पैदा गरेको छ ।’

दुवै दलका शीर्ष नेता रहेको संयोजन समितिमा कार्यदलले दिएको प्रतिवेदन र मिल्न बाँकी विषयगत ज्ञान पनि लगभग सबै नेतालाई थाहा छ ।

तर, ती विषय कसरी सल्ट्याउने भन्ने उपयुक्त सूत्र चाहिँ फेला परेको छैन । जसले एकता संयोजन समितिको बैठक आज–भोलि गर्दै सर्दै गएको छ ।

मङ्गलबारबाट बुधबार हुँदै एकता समितिको बैठक अब कहिले बस्ने हो ? अत्तोपत्तो छैन । तर, नेताहरूले तयारी नभएकाले बैठक बस्न नसकेको बताउँदै आएका छन् ।

यसअघि दुई पटक पहिला चुनावलगत्तै र दोस्रोमा प्रधानमन्त्रीको भारतभ्रमण अगाडि एकता गर्ने उनीहरूको कार्यसूची सफल भएन ।

त्यसपछि उनीहरूले दुई पार्टीबीच वैशाख ९ गते पार्टी एकता गर्ने तयारी थालेका हुन् । चैत २२ गते बसेको एकता संयोजन समितिको बैठकमा कार्यदलले वैशाख ९ गते नै एकता घोषणा गर्न सुझाव दिएको थियो । जसमा शीर्ष नेता सहमत भएका थिए । वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवस भएकाले पनि यो दिन रोजेको नेताहरूले बताउँदै आएका छन् ।

चैत २२ को बैठकले वैशाख ९ गते हुने घोषणासभा भव्य पार्न दुवै दलले आ–आफ्ना कार्यकर्तालाई सुर्कुलर नै जारी गरिसकेका छन् ।

तर अड्किएको चुरो कुरो मिलाउन भने नेताहरूले खासै पहल गरेका छैनन् । अझ पछिल्ला दिनमा त्यसको गृहकार्य नै ठप्पजस्तै छ ।

चैत २२ गते बालुवाटारमा भएको एकता समितिको छलफल बमोजिम प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट फर्किएपछि दुवै (अध्यक्ष ओली र प्रचण्ड) नेताको सहमतिमा एकता संयोजन समितिको बैठक बोलाउने सहमति थियो ।

त्यही सहमतिअनुसार ओली भारत भ्रमणबाट फर्किएलगत्तै अर्थात् चैत २६ गते ओली र प्रचण्डबीच टेलिफोनमा कुरा भयो– चैत २७ गते एकता संयोजन समितिको बैठक बस्ने ।

अध्यक्षद्वयको सल्लाहअनुसार एकता संयोजन समितिका अन्य सदस्यलाई मङ्गलबार बैठक बस्ने खबर गरियो । तर बैठक बस्ने खबर अएको ८ घण्टा नबित्दै शीर्ष नेताको समय अभावले मङ्गलबारको बैठक स्थगित गर्दै बुधबार ५ बजे बेलुका बस्ने खबर पुनः दिइयो ।

बुधबार दिउँसोसम्म बेलुका बैठक बस्नेमा सबै नेताहरू ढुक्क थिए । तर, बुधबार १ बजेतिर नै बैठक स्थगित भएको समाचार आयो । कारण थियो– माओवादी अध्यक्षको स्वास्थ्यमा आएको गडबडी ।
त्यसपछि बैठक कहिले बस्ने अनिश्चितजस्तै छ । बैठक बस्ने समय नतोकिएपछि एकता संयोजन समितिका (अध्यक्षबाहेकका) नेताहरू बैठकबारे अनविज्ञ जस्तै छन् ।

माओवादीका नेता तथा राजनीतिक कार्यदलका सदस्य देवेन्द्र पौडेल भन्छन्– ‘तीनवटा विषयमा सहमति गर्ने तयारीपछि मात्रै एकता संयोजन समितिको बैठक बोलाउने मुड नेताहरूको हुनसक्छ । समय अझै बाँकी छ । त्यसकारण वैशाख ९ गते पार्टी एकता घोषणाको सम्भावना अझै कायमै छ ।’

नेता पौडेल दुई नेताबीच आन्तरिक संवाद भैरहेको दाबी गर्छन् । भन्छन्, ‘नेताहरूबीच अन्तरिक कुराकानी नै नभएको होइन, भइरहेको छ । बैठक राखेपछि केही न केहीमा सहमति गर्नुपर्ने भएकाले पनि बैठक बस्न समय लागेको हुन सक्छ ।’

प्रधानमन्त्रीको कार्यशैलीमा शङ्का

प्रधानमन्त्रीले केही मन्त्रालयका महत्वपूर्ण विभागहरू प्रधानमन्त्री कार्यालय मातहत लगेकोमा पनि माओवादी मन्त्रीहरूले असन्तुष्टि थियो ।

अध्यक्ष प्रचण्डको स्वास्थ्यलाई बहाना बनाइए पनि प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणको सम्मुखमा सचिवहरूको सरुवा गर्दा एकलौटी गरेकोमा माओवादी मन्त्री र नेताहरूलाई चित्त बुझेको थिएन ।

यसबारे माओवादी मन्त्रीहरूले अध्यक्ष प्रचण्डलाई भेटेरै असन्तुष्टि जनाइसकेका थिए । एकथरी नेताहरूले यही कारण पनि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच एकताबारे खुलेर छलफल हुन नसक्दा एकता समितिको बैठक बस्न ढिला भएको बताएका छन् ।

तर, माओवादी नेता नारायणकाजी श्रेष्ठ यो कुरा मान्न तयार छैनन् । उनी भन्छन्– ‘मलाई त त्यस्तो लाग्दैन जे गर्दा पनि उहाँहरूबीच सहमतिमै हुने गरेको हो ।’

सचिवको बदला आईजीपी

प्रधानमन्त्रीले सचिव सरुवा गर्दा एकलौटी गरेकोमा माओवादी असन्तुष्ट हुनु स्वभाविक हो । यही असन्तुष्टि कायमै रहेका बला सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख आईजीपी नियुक्त गर्नुपर्ने बाध्यता थियो ।

सशस्त्रको आईजीपीमा शैलेन्द्र खनाल निर्विविवाद थिए भने नेपाल प्रहरीको आईजीपी बन्न तीव्र प्रतिस्पर्धा थियो ।

सर्वेन्द्र खनाल, पुस्कर कार्की र रमेश खरेलमध्ये पुस्कर कार्की एमाले कोटाबाट आईजी बन्न चाहान्थे । प्रधानमन्त्री ओलीको चाहाना पनि त्यही थियो । तर, गृहमन्त्री रामबहादुर थापाले सर्वेन्द्र खनाललाई आईजीपी नियुक्त गर्नुपर्ने प्रस्ताव क्याबिनेटमा लगे ।

थापाको उक्त प्रस्तावमा मङ्गलबार बिहान बसेको क्याबिनेट बैठकमा प्रधानमन्त्री ओली सहमत भएनन् ।

जसले गर्दा मङ्गलबारै राति ८ बजेपछि दोस्रो पटक क्याबिनेट बोलाएर प्रधानमन्त्री ओलीले गृहमन्त्री थापाले गरेकै प्रस्तावअनुसार खनालाई आईजीपीमा नियुक्त गर्ने निर्णय सदर गरे ।

६ महिने गृहकार्य

चैत २८ असोज १७ पछि लगातार ६ महिना गृहकार्य गरेर पार्टी एकताको तयारी गरेका एमाले माओवादीबीच पार्टी एकताबारे कहिले धेरै चर्चा हुन्छ त कहिले सामसुम जस्तै हुन्छ ।

एकता प्रसङ्गमा नेताहरूको कहिले एकै मुख हुन्छन् त कहिले विपरीत । नेताको एकै मुख हुँदा एकता भैहाल्छ कि भनेर सोच्ने कार्यकर्ता विपरीत अभिव्यक्ति आउँदा ‘टर्यो कि ?’ भन्ने अनुमान लगाउँछन् ।

विगत ६ महिनाको अवधिमा दुई पार्टीले पार्टी एकताका लागि कार्यदल बनाएर राजनीतिक प्रतिवेदन र विधानको मस्यौदा नै तयार गरिसकेका छन् । पार्टी एकता गर्नेमा दुवै पक्ष सैद्धान्तिक रूपमा तयार पनि देखिन्छन् ।

तर केही प्राविधिक कुरामा सहमति भइनसकेको अवस्थामा सरकारका संरचना र संयन्त्र परिवर्तनमा देखिएको असमझदारीले के एमाले माओवादी एकता प्रकृया नै डिरेल हुने त हैन भन्ने प्रश्नसमेत उठ्न थालेको छ ।

तर, एमाले नेता सुवास नेम्वाङ सहमति जुटाउन केही ढिला भए पनि वैशाख ९ को डेडलाइनमै पार्टी एकता घोषणा हुने दाबी गर्छन् ।

नेम्वाङ भन्छन्, ‘यो बीचमा दुई पार्टीबीच केही असमझदारी जस्तो देखियो तर वास्तविकता त्यस्तो होइन  । सचिव सरुवा र आईजीपी नियुक्तिलाई कतिपयले मुद्दा बनाए पनि बाहिर आएका हल्लामा कुनै सत्यता छैन । मात्रै माओवादी अध्यक्ष प्रचण्ड अलि अस्वस्थ भएर समितिको बैठक बस्न नसकेको हो ।’

प्रधानमन्त्री र प्रचण्ड काठमाडौं बाहिर

प्रधानमन्त्री केपी ओली आज रारा जाँदैछन् । भोलि त्यहाँबाट उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसैगरी प्रचण्ड पनि हिजोदेखि नै गृहजिल्ला चितवन छन् ।

त्यसैले अरू दुई–तीन दिन यी नेताबीच भेट हुनेछैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप