सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

२०७४ सालमा केके गरे पूर्वराजा शाहले ?

शुक्रबार, ३० चैत २०७४, १३ : ४३
शुक्रबार, ३० चैत २०७४

काठमाडौं– नेपालको राजनीतिक परिवर्तनमा २०७४ साल महत्वपूर्ण रह्यो । २०७४ सालमै स्थानीय, प्रदेश र सङ्घीय संसदका निर्वाचन सम्पन्न भए । सङ्घीयता कार्यान्वयनका लागि यी चुनावहरू महत्वपूर्ण थिए । 
तर २०७४ सालमा भएका यी महत्वपूर्ण उपलब्धिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले भने घुमाउरो तरिकाले असन्तुष्टि व्यक्त गरे ।

विभिन्न अवसरमा पूर्वराजा शाहले जारी गरेका शुभकामना र सन्देशमा उनको असन्तुष्टि प्रष्टै झल्कन्थ्यो । योबाहेक पूर्वराजा शाहले यो वर्ष नेपालगन्ज र झापामा लामो समय विताए । त्यस्तै उनले २०७४ मा थाइल्यान्ड, उडिसा र लखनउ पनि ओहोरदोहोर गर्न भ्याए । 

गत डिसेम्बरमा नेपालगन्ज गएका पूर्वराजा त्यहाँ झण्डै एक महिना सपरिवार बसे । आफ्नै लगानी रहेको होटल सोल्टीको उद्घाटन गर्न नेपालगन्ज पुगेका उनी त्यहाँ रहँदा केही राजावादी र  आफूनिकट मानिएका राप्रपाका नेता कमल थापा, धवलशमशेर राणालगायतसँग पनि भेटघाट गरे ।

सोही क्रममा पूर्वराज शाहले धनगढी, दाङ र सुर्खेतका शक्तिपीठमा पुगेर पूजा आराधना गरे । नेपालगन्ज बसाइकै क्रममा पूर्वराजा शाह भारतको लखनउ पनि पुगे । लखनउमा उनले भारतीय योगी आदित्यनाथलाई भेट गरे । जुन भेटघाटप्रति नेपालका केही राजनीतिक दलहरूले पूर्वराजाले चलखेल गरेको भन्दै आपत्तिसमेत जनाए । आदित्यनाथलाई भेटेर शाह पुनः नेपालगन्ज फर्के । त्यसैक्रममा एक महिनापछि शाह सुर्खेत हुँदै पुनः काठमाडौं आए । 

फागुन २० देखि चैत २५ सम्म झापा
नेपालगन्जबाट काठमाडांै फर्केपछि पूर्वराजा शाह फागुन २० मा झापा पुगे । झापाको दमकमा रहँदा उनले उनकै शब्दमा ‘देश बचाउने उद्देश्य’का साथ विभिन्न पक्षसँग छलफल र परामर्श गरे । त्यसक्रममा उनले पूर्वपञ्चहरूको पार्टी भनेर चिनिएका तीनवटै राप्रपाका दोस्रो तहका नेताहरूलाई चैत ४ गते आफू बसेकै ठाउँमा बोलाएर भेटघाट र छलफल गरे । त्यसक्रममा  उनले आफ्नो प्रमुख उद्देश्य देश बचाउनु, धर्म जोगाउनु र राष्ट्रिय एकता कायम राख्नु रहेको बताएका थिए । उनी झापाबाट चैतको २५ गते मात्रै फिर्ता भए ।  झापा रहँदा सुनसरी र विराटनगरको दुई धार्मिक कार्यक्रममा सहभागी भए । 

शङ्कराचार्यको २५औं जन्मोत्सवमा सहभागी
त्यसअघि उनी भारतको जगन्नाथपुरीस्थित शङ्कराचार्यको २५औं  जन्मोत्सवमा सहभागी हुन त्यसतर्फ गए । सो कार्यक्रमबारे ज्ञानेन्द्रको सचिवालय औपचारिक विज्ञप्ति नै निकालेको थियो । पूर्वराजाका सहयोगी फणि पाठकका अनुसार जगन्नाथपुरीमा रहँदा शाह देशी गाईको संरक्षणसम्बन्धी कार्यक्रममा सहभागी भए । त्यसबाहेक शाहले पुरी मन्दिर पुगेर दर्शन गरेका थिए । त्यसबखत उनका गतिविधिप्रति भारतीय मिडियाले निकै महत्व दिएर समचार प्रकाशन तथा प्रसारण गरेका थिए । त्यहाँ शाहले सम्बोधन नै गरेका थिए । 

असन्तुष्टि व्यक्त गर्ने अवसर
गत वर्ष वैशाख १, विजयादशमी, पुस २७ र प्रजातन्त्र दिवसमा पूर्वराजाले विज्ञप्ति निकालेर सन्देश दिएका थिए । उनका ती सन्देशहरूमा असन्तुष्टिका स्वरहरू देखिन्थे । उनले विगतमा जारी गरेका शन्देशहरूमा कहीँनकहीँ असन्तुष्टिका स्वरहरू प्रकट गर्ने गरेका छन् । पाठक भन्छन्–‘असन्तुष्टि अझै छन् । चुनाव गराउनु मात्रै सफलता होइन । देश विखण्डनको बाटोमा नजाओस् भन्ने पूर्वराजाको जोड हो । निषेधको राजनीति नहोस् । सबै मिल्ने एउटा संस्थालाई मात्रै किन निषेध गरियो भन्ने हो ।’ 

त्यसो त पूर्वराजा शाह २०६३ साल वैशाख ११ मा दलहरूसँग भएको सम्झौता पालना नभएको आफ्ना अभिव्यक्तिहरूमा झल्काउने गर्छन् । ‘वास्तवममा त्यतिबेला सरकारले नछाडेको भए देश सिरियाजस्तो हुने थियो, जुन उद्देश्यले सत्ता छाडेको हो तर त्यो प्राप्त गरेजस्तो देखिँदैन’ पाठकको बुझाइ छ । स्मरण रहोस् तत्कालीन समयमा राजा र दलहरूबीच के सहमती भएको थियो भन्ने अहिलेसम्म बाहिरिएको छैन ।
पाठकका अनुसार पूर्वराजा राजनीति गर्ने पक्षमा भने छैनन् । पार्टी पनि खोल्दैनन् । ‘राष्ट्र नभए राष्ट्रियता रहँदैन । विखण्डनकारीलाई अगाडि बढ्न नदेऊ भन्ने मात्रै सरकारको जोड हो । धेरैले राजसंस्था चाहेका छन् तर पूर्वराजाको जोड भनेको चाहिँ देश बचाउने मात्रै हो, अरू केही होइन ।’ 

२०७४ पुस १३ :  २०७४ पुस १३ गते पत्नी कोमलसहित पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्ज पुगे । आफ्नो लगानीको सोल्टी होटल उद्घाटन गर्न भन्दै शाह त्यहाँ गएका थिए । 

२०७४ पुस २१  ः पश्चिम नेपालको भ्रमणकै क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह पुस २१ मा  दाङ पुगे । नेपालगन्जमा बस्दै आएका शाह  गाडीबाटै दाङ पुगेका थिए । दाङमा विभिन्न शक्तिपीठहरूको दर्शन गर्नुका साथै पूजाआजा र अन्य कार्यक्रममा पनि सरिक भएका थिए । नेपालगन्जबाट दाङ जाने क्रममा ठाउँठाउँमा उनको स्वागतमा बसेका स्थानीय समर्थकले ‘राजा आऊ देश बचाऊ’ भन्दै नाराबाजी गरेका थिए । त्यस क्रममा उनले घोराहीस्थित गोरक्ष रत्ननाथ मन्दिर र अम्बिकेश्वरी मन्दिर दर्शन गरे । त्यस क्रममा पूर्वराजाले पैदलयात्रा समेत गरेका थिए ।

२०७४ पुस २४ : नेपालगन्ज बसाइकै क्रममा पूर्वराजा शाह पुस २४ गते भारतस्थित उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्न लखनउ पुगे । नेपालगञ्जको सडक मार्ग हुँदै उनी लखनउ पुगेका थिए ।  त्यसक्रममा उनले मुख्यमन्त्री (उत्तर प्रदेश), गोरक्षपीठाधीश्वर, गोरक्षपीठ, सदस्य, विधान परिषद, उत्तर प्रदेश, पूर्वसांसद (लोक सभा) गोरखपुर, उत्तर प्रदेशका  मुख्यमन्त्री योगी आदित्यनाथसँग  पुस २४  गते नै भेटघाट र भलाकुसारी गरेका थिए ।

मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नै सरकारी निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्दै  भेटघाटपछि  पुस २४ गते  नै ट्विटरमा पूर्वराजा र आफ्नो फोटो राख्दै लेखेका थिए, ‘आज लखनउस्थित सरकारी आवास पर नेपाल के पूर्व नरेश श्री ज्ञानेन्द्र वीर विक्रम शाहजी ने भेंट की, उन्हें अंग वस्त्र व कुम्भ का लोगो भेंट किया ।’

माघ ३ मा सुर्खेत
पूर्वराजा ज्ञानेन्द्र शाहले गत माघ ३ सुर्खेतको प्रसिद्ध तीर्थस्थल देउतीबज्यैको दर्शन गरे । उनले बिहान ११ बजे उनले मन्दिरमा पूजाआजा गरेका हुन् । देउती बज्यै मन्दिर दर्शन गर्न नेपालगन्जबाट स्थलमार्ग हँुदै सुर्खेत पुगेका पूर्वराजा शाहलाई  फूलमालसहित स्थानीय र शुभचिन्तकले स्वागत गरेका थिए । पूजापाठ शाहले त्यसबेला पछि स्थानीय होटलमा आफ्ना समर्थकहरूसँग भेटघाटसमेत गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप