काँग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङको जीवन : प्रेमप्रस्ताव राखेको चार वर्षपछि स्वीकार
‘प्रत्येक नेपालीले काम पाऊन्,’ काँग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले भने, ‘कामविहीन नहून् । श्रमको सम्मान होस् । प्रत्येक नेपालीले स्वाभिमानपूर्वक आयआर्जन गरेर बाँच्न पाउने अवसर पाऊन् ।’ सबै समुदायका नेपाली एकैठाउँ बसेर काम गर्ने अवसर सिर्जना गर्नुपर्छ ।
कुनै पनि देशका दुईदेखि तीन प्रतिशत नागरिकमात्रै सरकारी जागिरे हुन्छन् । बाँकीले स्वरोजगारमै निर्भर हुनुपर्छ । त्यसका लागि अवसर सिर्जना गर्नुपर्छ । प्रशासनमात्रै होइन, सार्वजनिक वित्तीय सुधार गर्न सके प्रत्येक नेपालीले स्वाभिमानपूर्वक बाँच्न सक्छन् भन्ने काँग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
सामान्यतः दातभात, तरकारी मन पर्छ । खानेकुरा नमिठो भन्ने हुँदैन । गाउँमा रेष्टुरेन्ट हुँदैनन्, सहरमा हुँदा कहिलेकाहीं रेष्टुरेन्ट पुग्छु । रेष्टुरेन्ट पुगिहाल्दा मःमः, चाउमिन र सुप माग्छु । भान्छामा पस्छु । खाइदिनेहरूका अनुसार मैले खसीको मासु मीठो पकाउँछु ।
मेरो पोसाक
सर्ट–पाइन्ट, कोट र ज्याकेट बढी लगाउँछु । गाउँमा रहँदा कुर्ता–पाइजामा र गम्छा लगाउने गर्छु । ‘सफ्ट कलर’ का कपडा रोजाइमा पर्छन् । मैले लगाउने कपडा ‘रेडिमेड’ र कपडा किनेर सिलाउने आधा–आधा हुन्छन् । विदेश जाँदा ‘ब्रान्डेड’ कपडा किने पनि नेपालमा किन्ने अधिकांश कपडा सामान्य हुन्छन् । कपडाको ब्रान्डबारे धेर–थोर जानकारी छ ।
मेरो फिटनेस
दैनिक एक घन्टाजस्तो मर्निङवाक गर्छु । डाइटिङ गर्दिनँ । कहिलेकाहीं योगा पनि गर्छु । जिम जाँदा ट्रेडमिलमा दौडिन्थें । हिजोआज दौडेको छैन ।
मेरो अध्ययन
हिजोआज म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यास पढिरहेको छु । पहिले हिन्दी भाषामा रहेको गोर्कीको ‘माँ’ पढेको थिएँ । त्यतिबेला आठ कक्षामा पढ्थें । यो संवत् २०४१ को कुरा हो । इतिहास, अर्थशास्त्र, राजनीतिशास्त्र, जीवनी, कथा र उपन्यास पढ्न जाँगर चल्छ ।
बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, पारिजात, श्रवण मुकारुङ, सुधीर शर्मा, नारायण वाग्ले, कृष्ण धरावासी, अमर न्यौपानेसम्म पढेको छु । पछिल्ला पुस्ताका लेखकको लेखन लोभलाग्दो छ । मैले ६ सयजति किताब संकलन गरेको छु । किताबमा सालिन्दा १२ देखि १५ हजार रुपैयाँसम्म खर्चन्छु ।
मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । नेपालका ७० जिल्ला पुगेको छु । अमेरिका, बेलायत र भारत पनि टेकेको छु । घुमेकामध्ये अमेरिकाको लसभेगासमा रहेको हुबर ड्याम मन पर्यो । पूर्वराष्ट्रपति रबर्ट हुबरद्वारा निर्मित ड्याममा संकलित पानीले अमेरिकाका चार राज्यलाई पुग्ने खानेपानी पुग्छ । नेपालमा पनि त्यस्तो ड्याम बनाएर खानेपानी समस्या समाधान गर्न सकिन्छ ।
घुमेकामध्ये इलाम, गढीमाई, जानकी मन्दिर, ओखलढुंगा, पाल्पा, लुम्बिनी, डडेल्धुरा, बैतडी, चाँदनी–दोधारा जोड्ने पुल असाध्यै मन परेका ठाउँ हुन् । जीवनमा एकपटक राराताल र स्वीट्जरल्यान्ड पुग्न पाए हुन्थ्यो भन्ने लागेको छ ।
मेरो फुर्सद
फुर्सद मिलाउने हो । तर, कहिलेकाहीं त मिलाउने प्रयास गर्दासमेत सकिँदैन । त्यसैले एकखालको दौडधुप छ । दौडधुप भएपछि थकाइ लाग्ने नै भयो । थकाइ लागे पनि मोबाइल ‘स्वीचअफ’ गरेर आराम गर्दिनँ । त्यसो गर्नुहुँदैन । तर, मोबाइल ‘साइलेन्ट’ मा राख्छु । ‘कल रिसिभ’ गर्न सकिनँ भने ‘कलव्याक’ गर्छु । नम्बर व्यस्त छ भने दोहोर्याएर ‘कलव्याक’ गर्दिनँ ।
किताब, पत्रपत्रिका पढेर फुर्सदको समय सदुपयोग गर्छु । केही नभए कपडा धोएर समय सदुपयोग गर्ने बानी छ । घरपरिवारलाई समय दिएको छु । परिवारसहित कहिलेकाहीं रेष्टुरेन्ट गएर खाने गर्छौं ।
मेरो खेलकुद
भलिबल, फुटबल र व्याडमिन्टन मन पर्छ । एसएलसीसम्म तीनवटै खेल खेलेको थिएँ । सबै खेलप्रति उत्तिकै सम्मान छ । भलिबलमा सशस्त्रको टिम, फुटबलमा थ्री स्टार र आर्मीको पनि राम्रो छ । क्रिकेटमा त्यत्तिकै लोभलाग्दो प्रगति छ । चर्चा नभए पनि व्याडमिन्टनमा पनि नराम्रो छैन ।
मेरो मोबाइल
आइफोन सिक्स प्लस प्रयोग गर्दै आएको छु । यो सेट उपहारस्वरूप पाएको हुँ । मोबाइल फेरि–फेरि बोक्ने बानी छैन । मोबाइलका एप्लिकेसन्समध्ये सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इमेल–इन्टरनेट र युट्युब पनि हेर्छु ।
मेरो टीभी
टेलिभिजनमा समाचार प्राथमिकतासाथ हेर्छु । समाचारसँगै प्रसारित रिपोर्ट हेर्न आनन्द लाग्छ । टीभी हेर्ने निश्चित समय छैन । जतिबेला अनुकूल हुन्छ, त्यतिबेला हेर्छु । मेरो घरमा १६ इन्चको एलजी टीभी छ ।
मेरो चलचित्र
पछिल्लो समय हलसम्म पुगेर चलचित्र ‘शत्रुगते’ हेरेको थिएँ । चलचित्र हलमै हेर्न आनन्द लाग्छ । हेरेकामध्ये ‘देवदास’, ‘माइतीघर’ र ‘दोस्ती’ मन पर्यो । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, करिश्मा मानन्धर, साहरूख खान र काजलको अभिनय जीवन्त लाग्छ ।
मेरो रोग
आजसम्म स्वस्थ छु । अहिलेसम्म ‘होलबडी चेकअप’ गराएको छैन । रक्तपरीक्षण गराइरहन्छु । रक्तचाप अलि बढी छ । खानपानमा ध्यान दिन सकियो भने स्वस्थ रहन सकिन्छ । साकाहारी खानाले जोकोहीलाई फाइदा गर्छ ।
मेरो भाषणशैली
राजनीतिक नेता भएपछि भाषण गरिरहनुपर्छ । आफ्नो भाषणशैलीप्रति सन्तुष्ट छु । म सुरुमा सानो स्वरमा भाषण गर्छु । बीचबीचमा बढ्दै जान्छ । बढ्दै गए पनि बीचमा पुनः आवाज घटाउँदै लैजान्छु । ‘रिदम’ मिलाउने प्रयत्न गर्दै छु ।
परिस्थिति हेरेर भाषण गर्न सक्छु । भाषण गरेकै आधारमा एकपटक विवादमा तानिएको थिएँ । त्रिवि कर्मचारीको पोखरा अधिवेशनमा स्ववियुमा आर्थिक चलखेल बढ्यो भन्ने चर्चा गरियो । विद्यार्थीलाई आर्थिक चलखेलबारे थाहा हुँदैन, गर्दैनन्, जबसम्म सम्बन्धित क्याम्पसका कर्मचारीले शुद्ध हुँदैनन् । त्रिवि, त्रिवि आंगिक र अन्य क्याम्पसका कर्मचारी शुद्ध हुने हो भने स्ववियुमा आर्थिक हिनामिना हुनै सक्दैन ।
त्रिविलगायत सबै क्याम्पसका कर्मचारीले भ्रष्टाचार नियन्त्रण गर्न सक्नुपर्छ भन्नेबित्तिकै हामीलाई भ्रष्टाचारी भन्ने भन्दै दुई/चारजना कराउन थाले । मैले भाषण गर्न रोकिनँ । त्रिविमा भ्रष्टाचार छ भने रोक्नुपर्यो भन्ने
मेरो भाषणको आसय थियो । सम्बन्धित क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थी मिलेर भ्रष्टाचार रोक्नुपर्छ भनेको थिएुँ ।
भाषण गर्नअघि सामान्य तयारी गर्छु ।
मेरो मापसे
पहिले मादक पदार्थ खान्थें । उच्चरक्तचाप भएपछि छाडें । त्यतिबेला बियरदेखि ब्लु लेबलसम्म खाएँ । तर, मात लाग्नेगरी कहिल्यै खाइनँ ।
मेरो संगीत
गीत–संगीत सुन्छु । नारायण गोपाल, रामकृष्ण ढकाल, कुन्ती मोक्तान, अञ्जु पन्त र ममता दिपबिमको आवाज कर्णप्रिय लाग्छ । गाउन नआए पनि गुनगुनाउँछु ।
मेरो भूल
मानिस भएपछि जान–अञ्जानमा जोकोहीबाट गल्ती हुन्छ । गरिन्छ । मैले पनि गरेको छु । त्यतिबेला त्रि–चन्द्र क्याम्पस स्ववियुमा थिएँ । क्याम्पसका प्राध्यापक, अध्यापक समयमा नआउँदा पढाइ प्रभावित हुन्थे । केमेस्ट्रीको प्रयोगात्मकको दिन ‘सिनियर टिचर’ गयल हुनुभयो । मैले उहाँको हाजिरीकापीमा रातो मसी लगाइदिएँ । उहाँले क्याम्पसप्रमुखलाई सिकायत गर्नुभयो । रातो मसी लगाउने मेरो क्षेत्राधिकार थिएन । क्याम्पसप्रमुखले मलाई शिक्षकको मर्यादा गर्नुपर्छ, रातो मसी लगाउने अधिकार स्ववियुलाई हुँदैन । यसको जथाभावी प्रयोग गर्नुहुँदैन भन्नुभयो ।
गल्ती गरेबापत सजाय नपाए पनि नगरीचाहिँ पाएको छु । त्यो सजाय अहिले पनि पाइरहेकै छु । अवसर, भूमिकाबाट वञ्चित हुनु भनेको गल्ती नगरी पाएको सजाय हो ।
मेरो घर
मेरो पुख्र्यौली घर महोत्तरी हो । यो घर हजुरबुवाले बनाउनुभएको हो । ८० वर्षअघिको घर काठ र सिमेन्टले बनेको छ ।
मेरो राशी
मेरो राशी मिथुन हो । ग्रहदशा हेराएको छैन । ग्रहशान्ति गराएको पनि सम्झना छैन । एकताका पत्थर र रुवि लगाएको थिएँ । पाँच महिनापछि लगाएपछि छाडें । ग्रह नक्षत्रको फलप्रति विश्वास छैन । अविश्वास पनि लाग्दैन ।
मेरो सौन्दर्यचेत
कपालमा तेल लगाउँछु । फेसियल नगरे पनि अनुहारमा क्रिम लगाउँछु । कहिलेकाहीं पफ्र्युम प्रयोग गर्छु । जिम जाँदा साउना बसेको हुँ ।
मेरो प्रेम
हाम्रो प्रेमविवाह हो । प्रेमप्रस्ताव मैले नै राखेको हुँ । प्रेमप्रस्ताव राखेको चार वर्षपछि स्वीकृत भयो ।
मेरो सपना
जोकोही नेपाली कामविहीन नहून् । श्रमको सम्मान होस् । श्रमअनुसारको आय हुनुपर्छ । प्रत्येक नेपालीले स्वाभिमानपूर्वक आयआर्जन गरेर बाँच्न पाउने अवसर पाऊन् । आफ्नो गाडी आफैंले सुरक्षितसाथ गुडाएर काममा जाने र कामबाट फर्कन सकून् । जोकोहीले मुलुकका लागि सोचून् ।
त्यो पूरा गर्न सम्भव छ । कसरी ? नेपालमा थुप्रै सम्भावना छन् । तर, सामन्तवादी व्यवस्थाले जातिवाद सिर्जना गरेको छ । मानिसबीच स्तर निर्धारण गरेको छ । सबै समुदायका मानिस एकैठाउँ बसेर काम गर्ने अवसर सिर्जना गर्नुपर्छ । सामन्तवादले जमिन, पुँजी, समाज र बैंक कब्जा गरेको छ । त्यसबाट मुक्त गर्न सकियो भने मानव संशाधनमा लगानी गर्न सकिन्छ । त्यसको प्रतिफल त्यस्तै पाइन्छ । तर, नेपालको ‘मनिटरिङ सिष्टम’ गलत छ । मौद्रिक नीतिमा सामन्वादी सोच हाबी छ ।
उदाहरणका लागि बैंकबाट कर्जा लिएको दिनदेखि ब्याज तिर्नुपर्छ । काम सुरु नभई ब्याज तिर्न परेपछि ऋणमा डुबिन्छ । कुनै पनि कामका लागि बैंकबाट ऋण लिँदा सम्बन्धित काम थालेको ६ महिनापछि ब्याज तिर्ने प्रावधान राखिएमात्रै उसले ब्याज तिर्न सक्छ । यस्तो सिष्टम बसाल्नुपर्छ । यस्तो व्यवस्था लागू गरियो भने सबैको भलो हुन्छ । त्यसपछि स्वरोजगार सिर्जना हुन्छ । कुनै पनि देशका दुईदेखि तीन प्रतिशत नागरिकमात्रै सरकारी जागिरे हुन्छन् । बाँकीले स्वरोजगारमै निर्भर हुनुपर्छ । त्यसका लागि अवसर सिर्जना गर्नुपर्छ । प्रशासनमात्रै होइन, सार्वजनिक वित्तीय सुधार नगरी जोकोही उँभो लाग्न सक्दैनन् । वित्तीय सुधान नगर्ने हो भने बैंक धनी बन्दै जाने व्यक्ति गरिब बन्दै जान्छन् । शिक्षा र स्वास्थ्य निःशुल्क बनाइनुपर्छ ।
महत्वाकांक्षी सपना देखेको छैन । आफूले पाएको भूमिका इमानदारपूर्वक निर्वाह गर्ने कोसिस गर्नेछु ।
मेरो मृत्यु
मृत्यु सत्य हो । योभन्दा अर्को सत्य छँदै छैन । मृत्युसँग डर लाग्छ । नडराउने को होलान् र । भाग्ने ठाउँ छैन । तसर्थ, अन्तिम सत्यलाई स्वीकार्नुपर्छ । जाडो समय थियो । खाली पेटमा रक्तदान गर्दा मृत्युनजिक पुगेको अझै बिर्सेको छैन । घाट होइन, अस्पताल लैजाने मानिस पाउनुपर्छ । हाम्रोमा अस्पताल लैजाने मानिस पाइँदैन तर घाट पुर्याइनेचाहिँ पाइन्छन् ।