सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ढुङ्गा खोपेर भविश्य कोर्नेको यस्तो छ सपना

आइतबार, ०२ वैशाख २०७५, १४ : ४१
आइतबार, ०२ वैशाख २०७५

काठमाडौं– हातमा हथौडा, ढल्कँदो उमेर, नाम चम्पा कुसुवाडिया । 
चावहिल चोकबाट चक्रपथतर्फ जाँदा गोपिकृष्ण नपुग्दै सडकमा बसेर बिहानदेखि बेलुकासम्म ढुङ्गा खोपेर गुजारा गर्ने धेरै भेटिन्छन् । 
यही भीडमा छिन् चम्पा (५५) कुसुवाडिया । चम्पा जस्ता धेरैको दैनिकी तिनै ढुङ्गा खोपेर सिलौटो, लोहोरो र जाँतो बनाउने हो । वर्षौंदेखि यही काम गरेर उनीहरूले आफ्नो गुजारा चलाएका छन् । यही काम ३५ वर्षदेखि चम्पा पनि गर्दै आएकी छन् । 

त्यसो त ढुङ्गा खोपेर लोहोरो र सिलौटो बनाउन त्यति सहज भने छैन । ‘आकार दिन निकै हम्मे पर्छ’, धेरैको गुनासो यही हुन्छ ।
त्यसमा पनि सडकमा बसेर काम गर्नुपर्दा बसले किच्ने र महानगर प्रहरी आएर धपाउने त्रास कायमै हुन्छ, उनीहरूलाई । चम्पालाई दिनभरीमा एउटा सिलौटो तयार गर्न हम्मेहम्मे पर्छ ।
यो उमेरसम्म पनि आराम गर्न, थकाइ मार्न कुनै दिन फुर्सद छैन ।

३५ वर्षदेखि यही काम गर्दै आएकी चम्पा राम्रोसँग आँखा पनि देख्दिनन् । उनलाई बाटोको धुलो सामान्य भइसकेको छ ।  ढुङ्गा खोप्दा ससाना टुक्रा र फलाम उनका आँखामा धेरै पटक पसिसकेका छन् ।  त्यही भएर आँखाले नजिकैका ससाना वस्तु पनि देख्न छाडिसकेको चम्पा बताउँछिन्– साथमा चस्मा छ तर लगाउन मन लाग्दैन’ चस्मा लगाउन उनलाई लाज लाग्छ । तर पनि चम्पा अन्दाजमै सिलौटा खोपिरहन्छिन् ।  
‘मैले १५ वर्षदेखि यो काम गर्न थालेको हुँ नानी अब त अन्दाजको भरमा काम गर्न सक्छु’, निर्धक्कसँग भनिन् । 

बुटवलबाट आएको बताउने उनी आफूलाई सुकुम्बासी भन्छ्नि । ‘कमाइ खाने जग्गा छैन, त्यसैले हामी यहाँ आएर यस्तो काम गर्छौं ।’
चम्पालाई थाहा भएसम्म ५ पुस्ताले यही पेसामा जिन्दगी बिताएछन् । उनी आफैले ३५ वर्ष बिताएपछि उनलाई आफ्ना पुस्तौनीले पनि यसैगरी जीवननिर्वाह गरेको भन्नेमा विश्वास छ । चम्पाका साथमा छोरा, बुहारी र एक नाति पनि छन् ।  उनीहरू पनि यही पेसामा छन् । चम्पाको श्रीमानको १० वर्षअघि नै मृत्यु भइसकेको छ ।   

आफ्नो पीडा सुनाउँदै चम्पाले भनिन्– ‘अरू त ठीकै थियो, महानगरले ढुङ्गा उठाएर लान्छ, लिन जाँदा पैसा माग्छ । पुर्जी काट्नु पर्ने रे, अरू धेरै कुरामा पनि पैसा खोज्छन् । हामी काम गरेर खान चाहने मान्छे, हाम्रा अरू सपना छैनन् । ढुुक्कसँग काम गर्न पाए हुन्थ्यो ।’

अर्जुनले बिताए ११ वर्ष 
अर्जुन कुसुवाडिया १९ वर्षका भए । धुलाम्य यही सडकमा ढुङ्गालाई घरायसी रूपमा प्रयोग गर्ने  विभिन्न सामानहरू बनाउन लागेको ११ वर्ष भयो । अर्जुनको परिवारको पनि यो पुख्र्यौली पेसा नै हो । 
अर्जुनले ८ वर्षदेखिक पढ्दै  सिलौटा खोप्न सिकेको बताए । 
उनी भन्छन्– ‘बुबाको त ढुङ्गा खोपेर नै उमेर बित्यो । त्यसपछि म परिवारको जेठो सन्तान भएका कारण मैले बुबाको कामलाई निरन्तरता दिएँ ।’
अर्जुनको बाबा र आमा डेरामै ढुङ्गा खोप्छन् भने उनी बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सडकमै बसेर खोप्छन् । एक दिनमा २ देखि ४ वटासम्म सिलौटा खोप्ने गरेको उनले सुनाए । ‘महानगर नआउने हो भने ४ वटा खोप्न सक्छु’ खुसी हुँदै उनले बताए ।

बुटवल ठेगाना बताउने अर्जुन पनि सुकुम्बासी नै हुन् ।
‘कक्षा ८ सम्म सरकारी स्कुलमा पढे । काम गर्दै स्कुल जानुपर्ने भएकाले स्कुल बीचमै छाडेँ । त्यसपछि बुबाको कामलाई पूर्ण साथ दिएँ’, हामीसँगको कुराकानीमा उनले भने– ‘ यहाँ ढुङ्गा पाइदैन, विरगञ्जबाट किनेर ल्याउनुपर्छ’, सामान्य ढुङ्गालाई ४ सय ५० उतै पर्ने उनले सुनाए । 
अर्की महिला माला कुसुवाडियाको पनि दैनिकी सिलौटा खोपेरै बित्छ । 
साथमा दुई जना छोरा लिएर उनी सडकमा ढुङ्गा बेच्नलाई बस्छिन् । 
बाटो हिँड्नेसँग दुई चार रुपियाँ माग्न पनि पछि पर्दिनन् उनी ।

 विरगञ्ज ठेगाना बताउने मालाको परिवारमा श्रीमान, दुई छोरा, दुई छोरी छन् ।
उनको श्रीमान डेरामै ढुङ्गा खोप्छन् भने उनी सडकमा ग्राहक कुरेर बस्छिन् । 
‘पहिलेभन्दा आजकाल महानगरले बढी नै दुःख दिन थालेको छ । ढुक्कसँग काम गर्न पाए राम्रो हुने थियो ।’  उनको पनि दुखेसो उस्तै छ ।

काम गर्न देऊ
उनीहरूको एउटै माग छ–  ‘सरकारले काम गर्ने ठाउँ छुट्याइदिनु पर्यो, होइन भने दैनिक दुःख दिन पाइँदैन ।’  यसरी ढुङ्गा खोपेर दैनिकी धान्नेहरू काठमाडौंका सडकमा धेरै छन् । त्यसको लेखाजोखा कसैसँग पनि छैन । उनीहरूको पेसालाई सुरक्षित गर्न स्थानीय निकायले पनि खासै चासो दिएका छैनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप