प्रदेश सांसद निर्मला क्षेत्रीको जीवन : स्कुलबाट भागेर नेविसंघको कार्यक्रममा जाँदा शिक्षकबाट रामधुलाइ
‘
जनप्रिय नेता बन्ने लोभ छ,’ प्रदेश सांसद निर्मला क्षेत्रीको मान्यता छ, ‘पार्टीले योग्यता र क्षमता मूल्यांकन गरी ५ नम्बर प्रदेश सांसदको जिम्मेवारी दिएको छ । पाएको जिम्मेवारी इमानदारपूर्वक निर्वाह गर्दै जाने हो ।’
राजनीति भनेको समाजसेवा हो । बाँचुन्जेल असल र सबैको भलो हुने काम गर्नुपर्छ । त्यस्तो काम गर्न सके मृत्युपछि पनि बाँच्न सकिन्छ भन्ने प्रदेश सांसद निर्मला क्षेत्रीसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश ।
मेरो खाना
सामान्यतः दालभात र रोटी मन पर्छ । त्यसो भन्दा अन्य खाना मन पर्दैन भन्न खोजेकी होइन । खानेकुरा मन नपर्ने हुँदैहुँदैनन् । खानकै लागि रेष्टुरेन्ट धाउने बानी छैन । रेष्टुरेन्ट पुगिहाल्दा प्राउन र चिप्स माग्न छुटाउँदिनँ । पकाउने रुचि असाध्यै छ ।
मेरो पोसाक
विशेषतः सारी र ब्लाउज लगाउने गरेकी छु । सालिन्दा १० हजार रुपैयाँको कपडा किन्छु । रातो रङका कपडा रोजाइमा पर्छन् । प्रायः नेपाली कपडा नै मन पर्छ ।
मेरो फिटनेस
समय अनुकूल हुँदा योगा गर्छु । मर्निङवाक निस्कन्छु ।
मेरो अध्ययन
हिजोआज संघीय संरचनाबारे अध्ययन गरिरहेकी छु । बीपी कोइरालालगायतका जीवनी अध्ययन गर्न जाँगर पर्छ । फुर्सद पाइहालेमा पत्रपत्रिकामा आलेख लेख्ने गर्छु । मेरो निजी पुस्तकालयमा ३ सय ३५ जति पुस्तक छन् ।
मेरो घुमफिर
नयाँ–नयाँ ठाउँ घुम्न असाध्यै मन पर्छ । संगठनका गतिविधिक्रममा ७१ जिल्ला पुगेकी छु । भारतका विभिन्न राज्य टेकेकी छु । घुमेकामध्ये नयाँदिल्ली मन पर्यो ।
मेरो फुर्सद
राजनीतिककर्मी भएका कारण फुर्सद त्यति हुँदैन । एकप्रकारको दौडधुप छ । दौडधुप भए पनि थकाइ अनुभूति हँुदैन । फुर्सद हुँदा परिवार र आफन्तसँग रमाउँछु । परिवारलाई नै पहिलो प्राथमिकता दिन्छु ।
मेरो खेलकुद
मलाई ब्याडमिन्टन मन पर्छ । ब्याडमिन्टनको सामान्य खेलाडी हु“ । रेस्लिङचाहिँ मन पर्दैन । फुटबलमा थ्री स्टार र क्रिकेटमा चितवन टाइगरको पक्षपाती हुँ ।
मेरो मोबाइल
आइफोन प्रयोग गर्दै आएकी छु । यसको ५७ हजार रुपैयाँ परेको थियो । काम लागिन्जेल मोबाइल सेट प्रयोग गर्छु । आफूलाई आवश्यक मोबाइलका एप्लिकेसन सदुपयोग गरेकी छु मोबाइलमा गेम खेल्ने बानी छैन ।
मेरो टेलिभिजन
टेलिभिजनमा समाचार र ‘टक शो’ प्राथमिकता हेर्छु । टेलिशृंखलामा बालिकावधु मन पर्छ । बिहान र बेलुका टेलिभिजन हेर्ने साइत जुर्छ । घरमा एलजीको ३२ इन्चको टेलिभिजन छ ।
मेरो चलचित्र
चलचित्र हेर्न आक्कल–झुक्कल हलसम्म पुग्छु । फुर्सद हुँदा टीभीमा चलचित्र हेर्छु । हेरेकामध्ये चलचित्र बाहुबली, छक्कापञ्जा र कोहिनूर असाध्यै मन पर्यो । नायक राजेश हमालको अभिनय जीवन्त लाग्छ ।
मेरो स्वास्थ्य
अहिलेसम्म स्वस्थ छु । आजसम्म दीर्घरोगले समातेको छैन । सालिन्दा ‘होलबडी चेकअप’ गराउँछु । रक्तचाप सामान्य छ । खानपानमा ध्यान, सकारात्मक सोच र तनावरहित जीवन जिउन सके सधैं स्वस्थ रहन सकिन्छ ।
मेरो भाषणशैली
राजनीतिक नेता भएपछि भाषण गरिरहन पर्छ । आफूले आफ्नो भाषणशैली मूल्यांकन गर्दा सरल र प्रस्ट लाग्छ । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । समय–सन्दर्भअनुसार भाषण गर्न सक्छु । भाषण गरेकै आधारमा विवादमा तानिएको छैन । भाषण गर्नअघि विषयवस्तुबारे अध्ययन गर्ने गर्छु ।
मेरो मापसे
मादक पदार्थ स्वास्थ्यका लागि हानिकारक छ । म कहिल्यै मादक पदार्थ खान्न । नखाने भएकाले यसबारे जानकारी छैन ।
मेरो संगीत
गीत–संगीत मन नपराउने, नसुन्ने को होलान् र । तसर्थ, म पनि फुर्सदमा गीत–संगीत सुन्ने गर्छु । सबै गायक–गायिकाप्रति उत्तिकै सम्मान छ । र पनि, नाम लिनैपर्दा राधिका हमाल, विमल क्षेत्री र कमल सौरागको आवाज कर्णप्रिय लाग्छ । गाउन अलि–अलि आउँछ ।
मेरो भूल
मानिस भएपछि जान–अन्जानमा जोकोहीबाट गल्ती हुन्छ । त्यो अस्वाभाविक होइन । तर, आजसम्म पश्चाताप लाग्नेगरी गल्ती गरेकी छैन । स्कुलबाट भागेर नेविसंघको कार्यक्रममा जा“दा शिक्षकको कुटाइ खाएकी थिए“ ।
मेरो घर
पुख्र्यौली घरमै बस्दै आएकी छु । घरमात्रै नभएर पुख्र्यौली सम्पत्ति पनि छ । आफैंले आर्जेको सम्पत्ति पनि नभएको होइन । घर पुरानै डिजाइनको हो । घरको वास्तुशास्त्र मिलेकै छ । घर बनाउँदा कति खर्च लाग्यो थाहा भएन ।
मेरो राशी
मेरो राशी वृश्चिक हो । ग्रहदशा ठिकै होला किनकि प्रदेश सांसद भएकी छु । आजसम्म ग्रहशान्ति गराएको छैन । हातमा सामान्य औंठी लगाएकी छु । ग्रह, नक्षत्रभन्दा कर्ममा विश्वास गर्छु ।
मेरो सौन्दर्यचेत
कपालमा सामान्य तेल लगाउँछु । फेसियल गर्ने बानी छैन । घामबाट बच्न ‘सनब्लक’ र ‘लोसन’ प्रयोग गर्छु । पफ्र्युम प्रयोग गर्ने बानी छैन । साउना बाथ, स्टीम लिएकी छैन । बडिमसाज पनि गराएकी छैन ।
मेरो प्रेम
मैले प्रेमविवाह गरेकी हुँ । जोसँग प्रेम भयो, उहाँसँगै विवाह गरेकी हुँ ।
मेरो सपना
शान्ति र समृद्धिमा डोरिएको मुलुक बनाउने सपना देखेकी छु । जनप्रिय नेता बन्ने लोभ छ । काँग्रेसले योग्यता र क्षमताअनुसार मूल्यांकन गरी ५ नम्बर प्रदेश सांसदको जिम्मेवारी दिएको छ । पाएको जिम्मेवारी इमानदारपूर्वक निर्वाह गर्दै जाने हो । प्रदेश नम्बर ५ लाई देशकै नमुना प्रदेश बनाउन कुनै कसर बाँकी राख्ने छैन ।
मेरो मृत्यु
मानिस जन्मेपछि मर्न पर्छ । यो ध्रुवसत्य हो । मृत्युसँग भाग्न सकिँदैन । तसर्थ, मृत्युसँग डराइरहन आवश्यक छैन । बाँचुन्जेल असल र सबैको भलो हुने काम गर्नुपर्छ । त्यसो गर्न सके मृत्युपछि पनि बाँच्न सकिन्छ । त्यसो भए मृत्युपछि सबैले सम्झिरहनेछन् ।