मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भूकम्पको इपिसेन्टर बारपाकमा बन्न थाले  करोडसम्मको  लगानीका  घर (भिडियो)

शनिबार, २४ असार २०७४, १५ : ०५
शनिबार, २४ असार २०७४

गोरखा–भूकम्पको इपिसेन्टर गोरखाकाे बारपाकका दुर्गाबहादुर घलेको परिवार भूकम्प गएको २६ महिना पछि पनि अस्थायी सानो घरमा बसिरहेकाे छ । भूकम्पले घर भत्काएको ठाँउ सडकको छेउमा थियो । बाटो बिस्तारका क्रममा पहिलेको घरको केही भाग अहिले बाटो बनेको छ । 


भूकम्प प्रभावितलाई सरकारले वितरण गरेको ५० हजार रुपैँया पहिलो किस्ताको अनुदान उनले पनि लिइसकेका छन् । तर उनले अझै घर बनाउने सुरसार  भने गरेका छैनन् । उनले भने–‘सरकारी इन्जिनियरले भनेजस्तो घर बनाउन ५० हजारले पुग्दैन । अब अलि केही समय पर्खने ।’ 


इन्जिनियरले भने जसरी घर बनाउँदा पनि छिमेकमा धेरैको घरको मापदण्ड नपुगेको उनले बताए । ‘सरकारले भनेजस्तो घर हुँदैन, नभए हामी हाम्रो आइडिया अनुसार घर बनाँउछौं, फेरी भूकम्प आँउछ आफ्नो सुरक्षा हुने घर बनाउनुपर्छ भन्छन्, आफ्नो धन छैन् । भगवानको कृपा हो भूकम्प आउने नआउने, अब राम्रै घर बनाउने ।’


उनका छोरा १२ लाख हाराहारी खर्च गरेर अघिल्लो बर्ष चैतमा बैदेशिक रोजगारीका सिलसिलामा बहराइन गएका छन् । बुहारी काठमाडौंमा नर्सिङ पढ्दैछिन् । 
छोराले पनि घर बनाउनका लागि केही सयम कुर्न भनेको उनले सुनाए । केही समय पर्खेर छोराले ऋण चुक्ता गरेर कमाई ल्याएको पैसाले भनेजस्तो घर बनाउने सपना छ दुर्गाबहादुरको । 


बारपाकबासीलाई सरकारको आस नभएर कसैले सामान्य त कसैले करोडसम्म लगानी गरेर आफैले घर बनाएको उनले बताए । सामान्य खेती किसानी गर्ने दुर्गाबहादुरले बारपाकमा गहुँ, मकै, जौ, कोदो, आलु, प्याज फलाउने गरेका छन् । उनले केही कुखुरा पनि पालेका छन् । 


गोरखाको सुलीकोट गाँउपालिका अन्र्तगत पर्ने गुरुङहरुको बस्ति बारपाकमा धेरैजसो स्थानीहरुले आफ्नो इच्छा अनुसारको घर बनाइरहेका छन् । सरकारले पहिलो किस्ताको रकम वितरण गर्नु अघि नै धेरैले घर बनाउन शूरु गरिसकेका थिए । राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले बारपाकलाई पनि एकीकृत नमुना बस्ति बनाँउने भने पनि यसको प्रक्रिया अझै अगाडि बढाउने सकेको छैन भने स्थानीहरुले आफ्नो क्षमता अनुसारको घर निर्माणको कामलाई पनि अघि बढाइरहेका छन् । 
गोरखामा बने ४ हजार ३ सय ५५ घर


भूकम्पले भत्काएका संरचनाको पुनर्निर्माणका लागि खडा गरिएको शहरी विकास मन्त्रालय अन्र्तगत केन्द्रीय आयोजना कार्यान्वन इकाईका अनुुसार गोरखामा हालसम्म ४ हजार ३ सय ५५ घर निर्माण भएका छन्  ।

बनेका अघिकांश घरहरु गैरसरकारी संस्थाको सहयोगमा निमार्ण भएका हुन् । घर बनाउनका लागि तेश्रो किस्ता अनुदान पाउनका लागि २ सय १० जनाले निवेदन दिएका छन् । यस्तै दोश्रो किस्ता अनुदानका लागि ६ हजार १५ जनाले निवेदन दिएका छन् ।  


गोरखामा पहिचान भएका ५८ हजार भूकपप्रभावित मध्ये १० हजार ६ सय ९२ घर निर्माणको प्रक्रिया शूरु भएको छ । 


हेर्नुहोस् भिडियोः 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप