सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धोका पाउँदा पनि छोड्न सकेको छैन– अभिनेता गजित

शुक्रबार, १४ वैशाख २०७५, ११ : २४
शुक्रबार, १४ वैशाख २०७५

‘सङ्कल्प र दृढ विश्वास’ले मनको चाहना पूरा गर्छ भन्ने पाठ अभिनेता गजित विष्टको सङ्घर्षशील जीवनले दिन्छ । स्कुल अध्ययन गर्दा साथीहरू इन्जिनियर र पाइलटलगायतका सपना सुनाउँथे । उनको हिरो बन्ने सपना सुन्दा हाँस्थे । हिरो बन्ने सपनाका कारण उनी शिक्षक र अभिभावक सबैको गाली राम्रै पाउँथे । यद्यपि हिरो बन्ने चाहना उनले कहिलै मर्न दिएनन् । बरु २०५८ मा बी.बी.एस. पढ्दै गर्दा हिरो बन्ने लक्ष्य लिएर काठमाडौं छिरे । त्यतिबेला हिरोको बन्न काठमाडौं छिरेका उनी अहिले हिरो मात्र होइन । राम्रो निर्मातासमेत भएका छन् । लामो सङ्घर्षपछि ‘मायाज बार’बाट अभिनयमा डेब्यु गरेका उनले थुप्रै चलचित्र अभिनयमार्फत आफूलाई हिरोका रूपमा स्थापित गरिसकेका  छन् । अहिले भने उनी अर्काे विधामा स्थापित हुने तरखरमा छन् । त्यो हो निर्माता । केही पहिले ‘लभ यु बाबा’ निर्माण गरेर दर्शकको माया पाउन सफल उनले निर्माण गरेको दोस्रो चलचित्र ‘हैरान’ प्रदर्शनको पालो कुरेर बसिरहेको छ । उनी अहिले यही चलचित्रको प्रचार प्रसारदेखि प्रदर्शनको तारतम्य मिलाउन व्यस्त छन् । हरेक खालका दर्शकको प्यास मेट्ने खालको चलचित्र हैरान रहेको बताउने उनै अभिनेता/निर्माता गजितसँग रातापोटीको दश प्रश्न ।

तपाईंको निर्माण अभिनय रहेको चलचित्र ‘हैरान’ प्रदर्शनमा आउँदैछ । दौडधूप त राम्रो होला नि ?

–हरेक चलचित्र रिलिज अगाडि प्रचारप्रसार लगायतका कामले दौडधूप त भइहाल्छ नि । तर हाम्रो चलचित्रको नाम ‘हैरान’ भएर हो कि के हो हरेक काममा एकदमै हैरान भोग्नुपरिरहेको छ, किन हो किन । चलचित्रको कुनै पनि काम एक चोटि वा दुई चोटिमा हुँदैहुँदैन । चलचित्र सुरु गर्नुभन्दा पहिले एक जोतिषले पनि भनेका थिए । तपाईंको चलचित्र रिलिज नभएसम्म ‘हैरान’को पराकाष्टा भोग्नुपर्छ भनेर । अहिले त्यस्तै भएको छ । रिलिजपछि पनि चलचित्र धेरै सफल हुन्छ । दर्शकको माया सम्हाल्दा सम्हाल्दै पनि हैरान हुनुहुन्छ भनेर पनि भन्नुभएको छ । 

चलचित्र कस्तो बनेको छ ?

– राम्रो नराम्रो निर्णय गर्ने दर्शकले हुन् । हामीले त राम्रो काम गर्ने मात्र हो । दर्शकका लागि हामीले सकेसम्म राम्रो चलचित्र दिने कोसिस गरेका छौं । यो चलचित्रको कथा तयार गर्न नै हामीले ७, ८ वर्ष लगाएका छौं । यसको हरेक पक्ष मिहिनेत गरिएको छ । हरेक प्रश्नको उत्तर नै चलचित्र ‘हैरान’ हो ।

रिलको हिरो, रियलमा हिरो देखाउन के–के गर्नुहुन्छ ?

– सौन्दर्यको कुरा गर्नुभएको होला । एउटा भनाइ मात्र हो हिरो भन्ने । मैले आफूलाई जहिले पनि हिरोभन्दा पनि कलाकार सम्झने गरेको छु । मेकअपको कुरा गर्ने हो भने कुनै कार्यक्रम सभा समारोहमा जानुपर्यो भने हल्का मेकअप गर्ने, कपालमा जेल, तेलतिर पनि ध्यान दिन्छु । अन्य समयमा म त्यतिकै रहन रुचाउँछु । कलाकारले जहिले पनि मेकअप गरेर हिँड्नु पर्ने रहेछ जस्तो लाग्छ । किनभने जुनै बेला पनि मिडिया फेस गर्नु पर्ने हुन्छ । 

फिट्नेसमा ?

– फिट्नेसमा म एकदमै कन्सियस छु । म कि डान्स कि जिम गर्छु कि जिम्न्यास्टिक । आफूलाई फिट राख्न यी नितान्त आवश्यक छ । यो हरेक व्यक्तिले गर्नुपर्छजस्तो मलाई लाग्छ । नियमित एक्सरसाइज गर्ने हो भने १०, १२ वर्ष आयु बढ्छ ।

फेसनतिर रुचि त होला हैन ?

–फेसनको धेरै ज्ञान छ मलाई । यो विषयमा अरूलाई पनि सिकाउँन सक्छु तर आफूले आफ्ना लागि भने लागू गर्न सकेको छैन । दौडधूपले होला । किनभने अहिले बसेर खाना खाने फुर्सद पनि छैन । यो समयमा फेसनतिर ध्यान दिन भ्याइन्न । टिपटप बनेर हिँड्न भने मन लाग्छ ।

अभिनयले खोसेको खुसी ?

–अभिनयमा आफ्नो खुसी त पाएको छु तर बुबाआमाको खुसी भने खोसिएको छ । बुबालाई बिजनेसतिर लागोस् भन्ने थियो । अभिनयमा मभेरो सङ्घर्ष अन्यको भन्दा लामो भयो । त्यो समयमा मलाई बुबाआमाको खुसी खोसेँ कि भन्ने लागेको थियो । तर आफूलाई डगमगाउन दिइनँ । मिहिनेत गर्दै गएँ । अहिले सफल भएको छु । 

सपना ?

सबैभन्दा ठूलो सपना भनेको अधिकांश नेपालीको मन जित्न पाऊँ भन्ने छ । विदेशमा जाऔं, विदेशीको मन जितौं भन्ने छैन । राम्रो राम्रो र इन्टे«सको काम गर्न सकांै । सबै नेपालीको मनमा बस्न पाऊँ यही नै हो । 

फुर्सदको समयमा के गर्नुहुन्छ ?

– म जहिले पनि कथाहरूमा निकै ध्यान दिन्छु । फुर्सदको समय पनि नयाँ नयाँ कन्सेप्ट सोच्ने, क्रिएट गर्नतिर लागिरहने । गुगलबाट नलेजका कुराहरू सिक्ने गर्दछु । कलाभन्दा बाहिर गएर म केही गर्न सक्दिन । 

आफ्नो खराब बानी ?

–सबैलाई माया गर्छु । जो कोहीलाई पनि विश्वास गर्छु । अरूबाट आसा बढी गर्छु । आफूले पोजेटिभ लिएको व्यक्तिले आफूलाई पनि पोजेटिभ लिएको छ भन्ने सोच्छु । ऊप्रति ढुक्क भएको छु । धेरै चोटि धोका पाउँदा पनि यो बानी छोड्न सकेको छैन । मेरो परिवार र साथीहरूले पनि यो बानी नराम्रो भन्छन् । 

मन पर्ने हिरोइन ?
अभिनयको हिसाबले भन्ने हो भने केकी नै हो । अन्यमा मनपर्ने धेरै छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप