सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भर्ना अभियानले नछोएकाहरू जो सिंहदरबार नजिकै बस्छन्

सोमबार, १७ वैशाख २०७५, १४ : ००
सोमबार, १७ वैशाख २०७५

काठमाडौं । त्रिपुरेश्वरको बागमती नदीसँगै रहेको बस्तीमा बालबालिकाहरू सडकमा खेल्दै गरेका थिए । 

बागमतीको दुगन्र्धको वास्तै नगरी कोही बिनाचप्पल हिले सडकमा उफ्रिँदै थिए त कोही चिसो भुइँमा बसेर ढुङ्गाले माटो पिस्दै थिए । 

यो माटोको थुप्रोमा उफ्रिँदै गरेकी सुस्मिता माझी हुन् । 

५ वर्ष लागिन् । उनलाई खेल्नकै धुन छ । खुट्टामा चप्पल छैन । बसाइ देशकै राजधानीमा भए पनि सुस्मिताको दैनिकी कुनै विकट ठाउँको बालबालिकाको भन्दा कम छैन । हिलो, फोहोर सडकमा खेल्नु उनको दैनिकी नै हो । 

भर्ना अभियान देशभर चल्यो तर सिंहदरबार नजिकै रहेको बागमतीको किनारमा बस्ने सुस्मितालाई यो अभियानले छुन सकेन । 

उनको स्कुल जाने उमेर त भयो तर उनलाई विद्यालयमा भर्ना गरिएको छैन । 

बागमतीको किनारमा बस्दै आएका माझी परिवारलाई दैनिकी धान्न नै निकै हम्मेहम्मे परेको छ ।  छोरीको भर्नाका लागि कहाँ पैसा पाउनु ।  

टिनको छानो, त्यसलाई अड्याउन बाँसको टेको लगाइएको, चिसो भुइँ, त्यसमा पनि अँध्यारो देखिने त्यो छाप्रोले नै माझी परिवारको अवस्था बताइरहेको थियो । 

सुस्मिताका बाबा काम गर्न गएका रैछन् । आमासँग हामीले कुरा गर्ने प्रयत्न ग¥यौं, बोल्न मानिनन् । आफ्नो पीडा अरूलाई किन भन्नु भन्ने सोचले पनि बोलिनन् होला । तर उनको झुपडीले सबै कुरा बताइरहेको थियो । 

गरिबीकै कारण छोरीलाई विद्यालय पठाउन नसकेको कुरा मुखले भन्न नसके पनि स्पष्ट देखिथ्यो ।

  शान्ता दर्जीका कक्षा ४ र कक्षा १० मा अध्ययन गर्ने दुईजना छोरी छन् । दुवै जना अहिले स्कुल गएका छैनन् । 

काभ्रे घर बताउने दर्जी विगत १० वर्षदेखि बागमती किनारमा बस्दै आइरहेकी छिन् ।  शान्ताका श्रीमानले ठेलामा मम बेच्न थालेको केही दिन भएछ । 

ज्याला मजदुरीबाट दैनिकी चलाउँदै आएकी शान्ताले आर्थिक अभावकै कारण भर्ना गर्न नपाएको गुनासो सुनाइन । 

सरकारले निःशुल्क भर्ना अभियान सञ्चालन गरेको छ भन्ने कुराको बारेमा शान्ताले पनि सुनेकी रैछिन् । 

तर कहाँ, कसरी भर्ना हुन्छ भन्ने बारेमा उनलाई थाहा छैन । २ जना छोरी भर्ना गर्नका लागि चानचुन ७ हजार लाग्ने शान्तले बताइन् । 

तर शान्तका लागि ७ हजार जुटाउन निकै मुस्किल छ । २ छोरी एक जना १३ महिनाको छोरा अनि श्रीमान/श्रीमती गर्दा खाने मुख नै ४ जनाको छ । 

काठमाडौं जस्तो ठाउँमा राम्रै काम गर्नेलाई त यति परिवार धान्न निकै सकस पर्छ भने शान्तालाई झन् कति गाह्रो भएको होला । छोरी पढ्ने विश्व निकेत विद्यालयमा वैशाख २६ सम्म भर्ना गर्ने समय छ रे । त्यो

समयसम्म ७ हजार जुट्यो भने शान्ताका दुई छोरीले पढ्न पाउने छन्, होइन भने उनीहरूको अध्ययन यहीँ पूर्णबिराम लाग्ने छ । 
 

यो गुलाबी कलरको टिसर्ट लगाउने उनै शान्ताकी छोरी सुजता हुन् भने अर्की अस्मिता नेपाली हुन् ।

सुजता नेपाली अहिले १० वर्षकी भइन् । यो वर्ष पास भएर विश्व निकेतन विद्यालयमा कक्षा ४ मा पुगेकी छिन् तर स्कुल जान सकिनन् ।  

सुजताले भनिन्– ‘सँगैको साथीको भर्ना गरेको छ, आफ्नो छैन ।’ 

भर्ना गरेका सबै साथीको हातमा नयाँ किताब छ, सुजताको हातमा छैन । 

किताब नहँुदा पढ्न नै गाह्रो हुने भएको हुँदा स्कुल नै जान छाडेको सुजताले बताइन् ।

उनको पनि आजकाल दैनिकी खेलेरै बित्छ ।  

सँगैका साथीहरू पास भएर नयाँ कक्षामा रमाउँदै स्कुल जान्छन् । 

सुजता भने भर्ना नगरेकै कारण स्कुल जानबाट वञ्चित भएकी छिन् । 

यस्तै अस्मिता ७ वर्षकी भइन् । उनी यो वर्ष पास भएर नर्सरीमा त पुगिन् तर स्कुल जान पाइनन् ।

अस्मिताले पनि भर्ना नगरेकै कारण स्कुल नगएको बताइन् । 

“हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा” भन्ने नाराका साथ वैशाख ५ गतेदेखि भर्ना अभियान सुरु गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ३ लाख बालबालिकालाई विद्यालय भर्ना गर्ने, त्यो पनि वैशाख १४ भित्रमै भनेका थिए । 

भर्ना सुरु भएको केही दिन त कसैलाई प्रधानमन्त्रीले बोके त कसैलाई शिक्षामन्त्री आफैले विद्यालय भर्ना गराए । यता महानायक राजेश हमालले पनि अविभावकको जिम्मेवारी लिँदै बालबालिकालाई विद्यालय भर्ना गराए । तर काठमाडौं र ललितपुरको सिमानामा पर्ने बागमती बस्तीको बालबालिकाको हकमा भने सरकारको नारा लागू हुन सकेन । 

कसकसले गरे अभिभावकत्व ग्रहण 

कर्णालीको राराबाट सुरु भएको भर्ना अभियानमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक बालिकालाई विद्यालय भर्ना गराउँदै अभियानको उद्घाटन गरेका थिए । यस्तै वैशाख ५ गते सिरहामा दुई जना बालबालिका,

वैशाख १ गते मुगुमा एक बालकलाई विद्यालय भर्ना गराएका छन् । 

वैशाख ५ गते नै शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले धुनषाका ४ बालबालिकालाई विद्यालय भर्ना गराई अभिभावकत्व ग्रहण गरेका थिए । 

प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, ३ नम्बर प्रदेशकै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर शाह, ४ नम्बर प्रदेशका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, महानायक राजेश हमाल, हाँस्य कलाकार केदारनाथ घिमिरे माग्ने बुढालगायतले २०७५ सालको भर्ना अभियानमा अभिभावकत्व ग्रहण गरेका छन् ।

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलको अनुसार भर्ना अभियान सञ्चालन भइरहेको हुँदा कति बालबालिका विद्यालय भर्ना भए भन्ने कुराको जानकारी नआएको बताए । 

हाल कक्षा १ देखि कक्षा ८ सम्म ३ लाख १३ हजार र कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने ८८ हजार बालबालिका विद्यालयबाहिर रहेको सरकारको तथ्याङ्क रहेको छ । 

यो पनि पढ्नुहोस्

राष्ट्रियसभा उपाध्यक्ष दाहालद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण

अभिभावक नभएकी सपनाको सहारा बने देव गुरुङ

शिक्षा सचिव बालकको अभिभावक

धुुर्मुस सुन्तली बने १२५ बालबालिकाको अभिभावक

प्रदेशमन्त्री र सदस्यद्वारा चेपाङ र शहीद बालबालिकाको अभिभावकत्व

दुई चेपाङ बिद्यार्थीका अभिभावक बने मन्त्री लामा

बुबा नभएका राजका अभिभावक बने राजेश हमाल

माधव नेपालले अभिभावक ग्रहण गर्दै दिएको रकम चोरियो

पूर्वगृहमन्त्री शर्मा बने १५ टुहुरा बालबालिकाका अभिभावक

प्रधानमन्त्री ओली बने रुपाकुमारी र पवनको अभिभावक

शीला र अभिषेकका अभिभावक भए मुख्यमन्त्री गुरुङ

प्रधानमन्त्रीद्वारा विद्यार्थी भर्ना र अभिभावकत्व प्रदान (तस्बिरसहित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप