सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डा. गोविन्द केसीविरुद्ध खुल्लामञ्चमा आमरण अनसन, यस्ता छन् ८ बुँदे माग

सोमबार, १७ वैशाख २०७५, १४ : ०५
सोमबार, १७ वैशाख २०७५

काठमाडौं–  अनसनको नाम लिने बित्तिकै धेरैले डा. गोविन्द केसीलाई सम्झिने गर्छन् ।  चिकित्सा क्षेत्रको बेतिथिको अन्त्यका लागि भन्दै केसी दर्जन बढी पटक अनसन बसिरहेका छन् ।  हालआएर उनै डाक्टर केसीविरुद्ध एक युवा आमरण अनसनमा बसेका छन् । 

राजधानीको खुल्ला मञ्चमा ‘हाम्रो पार्टी नेपाल’ नामक पार्टीको भातृ संगठन मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाका संयोजक ओखलढुङगाका २७ वर्षीय विजय थापा आमरण अनुसनमा बसेका हुन् । 

डा. केसीको आन्दोलनको बलमा मेडिकल शिक्षाका सम्बन्धमा राष्ट्रघाती सम्झौता भएको दाबीसहित उनी चिकित्सा क्षेत्रसँग सम्बन्धित ८ बुँदे माग राख्दै गत बैशाख १३ गते आमरण अनसनमा बसेका  हुन् । 

चिकित्साशास्त्र अध्ययनमा रहेको  सिन्डिकेट प्रथा खारेज गर्नुपर्ने,  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई मेडिकल विश्वविद्यालयको रुपमा परिणत गर्नुपर्ने, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ खारेज गरिनुपर्ने, डाक्टर गोविन्द केसी रसरकारबीच भएको सबै सम्झौता खारेज गरिनुपर्ने, नेपाली विद्यार्थीहरुलाई विदेश आपूर्ति गराउने विदेशीका कन्सल्टेन्सी तत्काल बन्द गरिनुपर्ने,  आईओएमका डिन जगदिश अग्रवालमाथि तत्काल छानबिन गरी कारबाही गरिनुपर्ने, गोविन्द केसीबारे नै पनि छानबिन गरिनुपर्ने र  एम.बी.बी.एस, एम.डी लगायतको मेडिकल शिक्षा अध्ययन गर्न नेपाली विद्यार्थीलाई विदेश जानैपर्ने बाध्यकारी  अवस्थाको अन्त्य गरिनुपर्ने जस्ता माग थापाको ८ बुँदेमा समेटिएको छ । 

तर, आमरण अनशनको आज ५ दिन बितिसक्दा  आफ्नो मागको सुनुवाईका लागि कुनै पहल नभएको उनले गुनासो गरे । तर पनि उनी ओठ,मुख सुकाउँदै अनशन बसिरहेका छन् । 

किन स्वास्थ्य क्षेत्रको विषयलाई लिएर अनसन बसेको भन्ने रातोपाटीको जिज्ञासामा थापाले भने ‘राजनितिक पार्टीमा आवद्ध व्यक्ति अनशन बसेपछि माग सम्बोधन हुन्छ भन्ने लागेकाले अनशन बसेको हो । ’ 
तर, उनको माग सम्बोधनका लागि अहिलेसम्म न कुनै सरकारी अधिकारी पुगेका छन् न कुनै संघसंस्थाका प्रतिनिधि नै । अनसनस्थलको  छेउमा २ जना प्रहरी देखिन्छन् भने  बिजयको सहयोगको लागि ३ जना  सो पार्टीकै कार्यकर्ता रहेका छन् । 

नेपालमा एमडी र  एमबीबीएस अध्ययनको लागि आवश्यक कोटा नभएको भन्दै थापाले इच्छुकले अध्ययन गर्न पाउनु पर्ने बातावरण सरकारले बनाउनु पर्ने बताए । तर डाक्टर गोविन्द केसीले उठाएको माग बाधक बनेको भन्दै चिकित्सा शिक्षा विधेयक २०७३ खारेज गरिनुपर्ने उनको अडान छ । 

गोविन्द केसीको माग राजनीति हाबी भएर  सम्बोधन भएको दाबी गर्दै उनले आफूहरुले पनि राजनीतिक रुपमा यसलाई  सल्ट्याउन चाहेको बताए । 

यसैबीच ५ दिनदेखि अनसनमा बसिरहँदा  थापाको  स्वास्थ्यमासमस्या देखिन थालेको छ । पेट पोल्ने, पिसाब नआउने जस्ता समस्याहरु देखिन थालेको  थापाको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप