वैदेशिक रोजगारीको अर्को पाटो : हुण्डीमार्फत् वार्षिक ३५ करोड रुपैयाँ मलेसिया जान्छ
स्पेसल इन्भेस्टिगेटिभ टिम
काठमाडौं– नेपालीहरूको रोजगारीको एउटा प्रमुख गन्तव्य मलेसियामा यतिबेला भिसा पाउने प्रक्रियाका लागि मात्रै कम्तीमा १८ हजार ६ सय ८० रुपियाँ बुझाउनुपरेको छ ।
विभिन्न शीर्षकमा विभिन्न स्थानमा पैसा असुलेर नेपाली कामदारहरूमाथि लुट भइरहेको छ । सरकारले फ्री भिसा र फ्री टिकट लागू गरी अधिकतम दश हजार रुपियाँ मात्रै लिन पाउने भने पनि मलेसिया जाने कामदारले म्यानपावर कम्पनीमा बुझाउने शुल्कबाहेक नै कम्तीमा १८ हजार ६ सय रुपियाँ तिरिरहेका छन् ।
माइग्राम्सका नाममा १ सय २५ रिङ्गेट मलेसियाली बैङ्कमा
अहिले मलेसिया जाने कामदारहरूले सुरुमै तिर्नुपर्ने रकम हो १ सय २५ मलेसियन रिङ्गेट ।
केही समयअघिसम्म यो रकम डलरमा तिर्नुपर्ने थियो । यसअघि प्रतिकामदार ३० अमेरिकी डलर बेस्टिनेट कम्पनीलाई बुझाउनुपथ्र्यो । तर हालसालै मात्रै ३० अमेरिकी डलरलाई रिङ्गेटमा परिवर्तन गरिएको छ ।
अहिले प्रतिकामदार १ सय २५ रिङ्गेट मलेसियन कम्पनीलाई तिर्ने गरिएको छ । वैशाख १७ गतेको रिङ्गेटको एक्सचेन्ज रेट हेर्ने हो भने १ रिङ्गेट बराबर २७ रुपियाँ हुन आउँछ ।
यसरी एक कामदारले माइग्राम्स रजिस्ट्रेसनका लागि ३ हजार ३ सय ७५ रुपियाँ बुझउनुपर्ने हो ।
यद्यपि रोजगारीमा जान चाहने युवाले म्यानपावर व्यवसायीलाई भने प्रतिव्यक्ति ३ हजार ५ सय नेपाली रुपियाँ बुझाउने गरेका छन् ।
बायोमेडिकल अथवा स्वास्थ्य जाँचका लागि भन्दै मलेसियाको बेस्टिनेट नाम गरेको कम्पनीको बैङ्क खातामा प्रक्रिया सुरु गर्नुभन्दा पहिले नै रकम जम्मा गर्नुपर्छ ।
मलेसिया जाने कामदारहरूले म्यानपावर कम्पनीहरूलाई माइग्राम्स रजिस्ट्रेसनका नाममा सुरुमै ३ हजार ५ सय रुपियाँ तिर्ने गरेका छन् ।
रोजगारीका लागि मलेसिया जान लागेका युवाहरूले तिरेको उक्त रकम काठमाडौंलगायत देशका अन्य भागमा रहेका म्यानपावर व्यवसायीले मलेसियाको मे बैङ्कमा जम्मा गर्ने गरेका छन् ।
मलेसियाको मे बैङ्कमा रहेको बेस्टिनेट कम्पनीको खाता नम्बर ७१४४७७००१७२३ मा प्रतिकामदार १ सय २५ मलेसियन रिङ्गेट डिपोजिट गरेपछि मात्रै नेपालमा मेडिकल रजिस्ट्रेसन हुने गरेको छ ।
नेपालमा युवाहरूसँग रुपियाँमा लिएको उक्त रकम म्यानपावर व्यवसायीले डलरमा साटेर फेरि मलेसियन रिङ्गेटमा परिवर्तन गरी मलेसिया पु¥याइरहेका छन् ।
वैदेशिक रोजगारीको स्वास्थ्य सिन्डिकेट यसरी तोड्दै छन् श्रममन्त्री
कसरी पुग्छ मलेसियामा नेपाली पैसा ?
अहिले देशबाहिर पैसा पठाउनका लागि नेपाल राष्ट्र बैङ्कको स्वीकृति लिनैपर्छ ।
राष्ट्र बैङ्कको नीतिअनुसार विदेशमा पठाउन परेमा राष्ट्र बैङ्कको स्वीकृति लिएर निश्चित राजस्व तिरेपछि मात्रै पठाउन मिल्छ ।
तर नेपाल राष्ट्र बैङ्कका अनुसार अहिलेसम्म माइग्राम्सका लागि भन्दै मलेसियामा पैसा गएको देखिएको छैन ।
बैङ्किङ च्यानलबाट नगए पनि मलेसियामा कामका लागि जाने प्रत्येक नेपालीबाट प्रतिव्यक्ति १ सय २५ रिङ्गेट मलेसियामा पठाइरहेकै छन् ।
बैङ्किङ च्यानलबाट मलेसियामा पैसा नगएको भए अब कसरी मलेसिया पुग्दै छ त पैसा ? माइग्राम्सको विषयमा सुरुवातदेखि नै आक्रामक देखिएका नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङ हुण्डीबाट मलेसियामा पैसा गइरहेको दाबी गर्छन् ।
कुन व्यक्तिको बायोमेट्रिक गराउनुपर्ने हो, त्यो व्यक्तिका नाममा माइग्राम्स रजिस्ट्रेसन गराएपछि मात्रै बायोमेडिकल गराउन मिल्छ ।
त्यो पैसा मलेसियन बैङ्कमै जम्मा गर्नुपर्ने हुन्छ । तर नेपालबाट सोझै मलेसियन बैङ्कमा रकम जम्मा गर्न नमिल्ने भएकाले व्यवसायीले हुण्डीमार्फत् मलेसियामा पैसा पठाउने गरेका छन् ।
यदि बैङ्कमार्फत् नै पैसा मलेसिया पठाएको भए सरकारलाई पनि राजस्व तिर्नुपर्ने हुन्थ्यो । त्यति मात्रै होइन, मलेसियामा पनि बेस्टिनेट कम्पनीले आफ्नो आम्दानी र खर्चको हिसाब त्यहाँको सरकारलाई बुझाउनुपर्ने हुन सक्थ्यो ।
तर सानो सानो रकममा कुनै व्यक्ति वा समूहले रकम जम्मा गर्ने भएकाले बेस्टिनेट कम्पनीले हुण्डीमार्फत् पैसा ल्याएर आफ्नो खाता भारी बनाएको छ ।
वार्षिक ३५ करोड रुपियाँ हुण्डीमार्फत् मलेसियामा
विगत ५ वर्षको तथ्याङ्क हेर्ने हो भने वार्षिक सरदर १ लाख नेपाली युवाहरू मलेसियामा रोजगारीका लागि जाने गरेका छन् ।
पछिल्लो समय साउदी अरब र कतारमा रोजगारीको सम्भावनामा कमी हुँदै जानु तथा सुरक्षा दृष्टिकोणले पनि सहज नभएकाले नेपाली युवाहरू पुनः मलेसियातर्फ आकर्षित भएका छन् ।
आगामी वर्षहरूमा मलेसिया जाने नेपाली कामदारहरूको तथ्याङ्कले अझै उचाइ छुने सम्भावना बढ्दो छ ।
रेमिटेन्स कम्पनीको भूमिका शङ्कास्पद
मलेसिया जाँदा एकै व्यक्तिले १ सय २५ मलेसियन रिङ्गेटका दरले माइग्राम्स रजिस्ट्रेसन गर्दा वार्षिक करिब ३५ करोड रुपियाँ अवैधरूपमा मलेसियामा पुगिरहेको छ ।
यसरी अवैधरूपमा यो पैसा मलेसिया पु¥याउनमा मलेसियामा रेमिटेन्सको काम गर्ने केही नेपाली रेमिटेन्स कम्पनीहरूको प्रत्यक्ष संलग्नता रहेको छ ।
एक म्यानपावर व्यवसायीका अनुसार मे बैङ्कको खातामा जम्मा गरिने उक्त पैसा नेपालमा रहेको रेमिटेन्स कम्पनीमार्फत् भुक्तानी हुने गरेको छ ।
मलेसियामा रहेका नेपाली कामदारहरूले आफ्नो घरमा पैसा पठाउनका लागि मलेसियामा रहेका रेमिटेन्स कम्पनीमा रकम जम्मा गर्ने गरेका छन् ।
कामदारले रेमिटेन्स कम्पनीमार्फत् नेपाल पठाउन भन्दै जम्मा गरेको त्यो रकमको केही हिस्सा भने माइग्राम्सका नाममा तिनै रेमिटेन्स कम्पनीमार्फत् भुक्तानी हुने गरेको छ ।
नेपालका म्यानपावर कम्पनीहरूले भने त्यो पैसाका सिस्टममा नदेखिने गरी नेपालका रेमिटेन्स कम्पनीहरूलाई बुझाउने गरेका छन् ।
थप पैसा असुल्न अर्कै नाम !
‘माइग्राम्स’ खासमा बायोमेडिकलकै एउटा पाटो मात्रै हो । यो बायोमेडिकल गर्नुभन्दा पहिले गर्नैपर्ने विषय नै होइन । तर मलेसियाको बेस्टिनेट नाम गरेको कम्पनीले बायोमेडिकलको सफ्टवेयर दिएबापत म्यानपावर व्यवसायीमार्फत् कामदारहरूबाट यो पैसा असुल गरिरहेको छ ।
यतिसम्म कि मलेसियाको बेस्टिनेट कम्पनीलाई सन् २०१५ को जनवरीमा मलेसिया इमिग्रेसनमा प्रतिबन्ध लगाइएको थियो । यद्यपि मलेसियाको इमिग्रेसनमा बेस्टिनेट कम्पनीलाई प्रतिबन्ध लगाएको भए पनि नेपालमा भने यही कम्पनीकै नाममा पैसा असुल भइरह्यो ।
सन् २०१५ को जनवरीमा मलेसियन सरकारले बेस्टिनेटलाई प्रतिबन्ध लगाए पनि नेपालमा भने यही कम्पनीकै नाममा माइग्राम्सदेखि अन्य सबै काम जारी नै रह्यो बेरोकटोक बेस्टिनेट कम्पनीको खातामा रकम डिपोजिट भइरह्यो ।
यद्यपि २०१७ को सुरुवातबाट भने मलेसिया सरकारले बेस्टिनेटमाथिको प्रतिबनध फुकुवा गरेको थियो र प्रमुख विपक्षी दलले यसको अझै पनि विरोध गरिरहेको छ ।
यसरी आवश्यक नै नभएको र कहीँ कुनै प्रयोगमै नआउने मात्रै होइन, मलेसियन सरकारको डाटा सेन्टरमा पहुँच नै नहुने माइग्राम्सका नाममा नेपाली कामदारहरूबाट पैसा असुल भइरहेको छ ।
नेपालमा बायोमेडिकल प्रणाली लागू गराउन मलेसियाको बेस्टिनेट नाम गरेको कम्पनीसँग तत्कालीन समयमा नेपाल स्वास्थ्य व्यवसायी महासङ्घले सम्झौता गरेको थियो ।
माइग्राम्स पनि यही बेस्टिनेट कम्पनीको बायोमडिकल अन्तर्गतकै एउटा पाटो मात्रै हो । हामीले माइग्राम्स कस्तो कार्यक्रम हो भनी नेपाल स्वास्थ्य व्यवसायी महासङ्घका उपाध्यक्ष जीवनकुमार केसीलाई सोधेका थियौँ ।
तर माइग्राम्स बायोमेडिकलको कार्यक्रम नै नभएको भन्दै पन्छिए महासङ्घका वरिष्ठ उपाध्यक्ष जीवनकुमार केसी ।
नेपालमा जुन संस्थाले मलेसिया जान बायोमेट्रिकको अनिवार्य व्यवस्था गरायो, त्यही संस्थाका जिम्मेवार पदाधिकारीले माइग्राम्सबारे थाहा छैन भन्दा यसमा ठूलै चलखेल र जालझेल भएको आभाष हुन्छ ।
किनभने माइग्राम्स पनि बेस्टिनेट कम्पनीकै एउटा अभिन्न अङ्ग र कार्यक्रम हो भन्ने कुरा माइग्राम्स र बेस्टिनेट कम्पनीको बेभसाइटमै उल्लेख छ ।
माइग्राम्सका विषयमा विभिन्न खाले विवाद आएपछि परराष्ट्र मन्त्रालयले मलेसियास्थित नेपाली राजदूतावासलाई पत्र लेखेर माइग्राम्स के हो भनी सोधेको थियो ।
जवाफमा मलेसियास्थित नेपाली राजदूतावासले मलेसियाको उपगृहमन्त्रीसँग कुरा गर्दा माइग्राम्स मलेसिया सरकारको कार्यक्रम नभएको भनी जानकारीमा आएको भन्दै नेपालको परराष्ट्र मन्त्रालयलाई जवाफ पठाएको छ ।
हेर्नुहोस् मलेसियास्थित नेपाली राजदूतावासले २०७३ साल मंसिर २३ गते नेपालको परराष्ट्र मन्त्रालयलाई पठाएको पत्र ।
यसरी अहिले माइग्राम्सका नाममा अनावश्यक रूपमा नेपाली कामदारहरूबाट प्रतिकामदार १ सय २५ मलेसियन रिङ्गेट उठाइरहेका छन् ।
नेपाल स्वास्थ्य व्यवसायी महासङ्घका अध्यक्ष कैलाश खड्का, पूर्वअध्यक्ष प्रवीन तिवारी लगायतका केही पदाधिकारी र सदस्यहरूको भूमिका शङ्काको घेरामा छ ।
यी समाचार नछुटाउनुहोस्