मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ग्यास छैन, ‘नो टेन्सन’, अब सोलारबाट चल्छ किचन

मङ्गलबार, १८ वैशाख २०७५, १२ : ३१
मङ्गलबार, १८ वैशाख २०७५

सामाजिक सञ्जाल फेसबुकमा कवि तथा लेखक बुद्धिसागर चपाईंले लेखेका थिए, ‘बत्ती आए पनि, बत्ती गए पनि कुलमानकै सम्झना ।’

नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि काठमाडौं उपत्यकावासीले लोडसेडिङको चर्को समस्याबाट राहत पाए । पाइरहेका छन् । लोडसेडिङको चर्को समस्यामा परेकामध्ये कतिपयले ‘सोलार सिष्टम’ प्रयोग गरेका थिए । लोडसेडिङ कम हुँदै गएपछि ‘सोलार सिष्टम’ किन चाहियो भन्नेहरू छँदै छन् । उनीहरूकै बाहुल्य छ । तर, यसको फाइदाबारे कमैलाई थाहा होला । 

‘सोलार सिष्टम’ को फाइदा के–के होलान् ? ‘सोलार सिष्टमले वातावरण स्वच्छ राख्छ । खाना पकाउने ग्यास प्रयोग गर्दा कहिलेकाहीं विस्फोट हुन्छ । विस्फोट हुँदाको क्षति रोक्न सकिन्छ,’ डा. तुम्ला लाकोल शाहले सुनाइन्, ‘वातावरण प्रदूषित हुँदा लाग्ने रोगबाट बचाउँछ । खाना पकाउने ग्यासबाट फोक्सोको रोग लाग्न सक्छ । सोलार सिष्टम प्रयोग गर्दा फोक्सो रोगबाट बच्न सकिन्छ ।’ करेन्ट लागेर मानिसले ज्यान गुमाइरहेका हुन्छन् । हामीले प्रचलनमा ल्याएको सोलार सिष्टम हाइभोल्टेज हुनसाथ आफैं निभ्ने भएकाले करेन्ट लाग्नबाट समेत जोगिने डा. शाहले प्रस्ट्याइन् । 

अन्य फाइदा पनि छन् । के होला त्यस्तो फाइदा ? ‘संसारभरि सोलारपावरमोह बढिरहेको छ,’ सोलार एन्ड पावर कम्पनी सहायक कार्यकारी निर्देशकसमेत रहेकी शाहले भनिन्, ‘घर–घरमा विद्युत् उत्पादन गर्न सके देश धनी हुन्छ । घरमै उत्पादित विद्युत्ले खाना पकाउन सकिन्छ । बत्ती बाल्न सकिन्छ । रेफ्रिजिरेटर चलाउन सकिन्छ । पानी तान्ने पम्प प्रयोग गर्न सकिन्छ । यति साधन प्रयोग गर्दा पनि आधा कम बिल उठेपछि भएन त फाइदा ?’ आफूले सोलार पावर जोडेपछि बत्तीको बिल आधा कम आएको उनको भनाइ छ । 

त्यसो भए सोलार एन्ड पावर कम्पनीद्वारा उत्पादित सोलार जोड्न कति रुपैयाँ लाग्ला ? ‘पहिले जोड्दा अलि धेरै लगानी लागेजस्तो लाग्न सक्छ,’ उनले थपिन्, ‘सर्वप्रथम तपाईं कति केभीको सोलार पावर जोड्दै हुनुहुन्छ । प्रस्ट हुनुपर्छ । प्रस्ट भएपछि प्यानल, ब्याट्री, इन्भटर जोड्नुपर्यो । जति धेरै सामान प्रयोग गर्छौं, त्यति धेरै केभीको सोलार पावर आवश्यक हुन्छ ।’

फाइभ केभीको चार लाख ७५ हजार, थ्री केभीको दुई लाख ८० हजार र वान पोइन्ट सेभेन केभीको सोलार पावर जडान गर्न एक लाख ८० हजार रुपैयाँ पर्छ । थ्री केभीले खाना पकाउने, टीभी हेर्न, आइरन, फ्यान र पानी तान्ने पम्प चलाउन सकिन्छ । तर, सबै एकैपटक चलाउन सकिँदैन । सबै एकैपटक प्रयोग गर्नलाई फाइभ केभीमाथिको सोलारपावर चाहिन्छ । कहिलेकाहीं हप्तौं घाम लागेन भने के गर्ने होला ? ‘त्यसका लागि ?’ उनले सुझाइन्, ‘नो सनलाइट डेको समेत सुविधा छ । यो सुविधा लिनेले दुई लाख रुपैयाँ थप्नुपर्छ ।’

त्यत्रो खर्चेर सोलार पावर जडान गर्नेले कति वर्षसम्म प्रयोग गर्न सक्लान् ? कौतूहल लाग्नु अस्वाभाविक होइन ।

सोलार प्यानल २५ र ब्याट्रीको आयु १० देखि १५ वर्षको हुन्छ । लिड एसिड ब्याट्री भएकाले यसको आयु सामान्य ब्याट्रीभन्दा धेरै हुन्छ ।

त्यतिमात्रै होइन, घाम लाग्दा ब्याट्री थु्र इनर्जी जाँदैन । प्यानलबाट जति इलेक्ट्रिसिटी जेनेरेट हुन्छ, सिधै बत्तीमा जाने भएकाले ब्याट्रीको आयु ५० प्रतिशत बढी हुन्छ ।

सोलार एन्ड पावर कम्पनीमा अमेरिकाबाट इलेक्ट्रिकल इन्जिनियरिङमा पीएचडी गरेका सरोजकृष्ण जोशी र इन्जिनियरद्वय नारायण ताम्रकार र मधुकर अमात्य पनि छन् । जोशी, ताम्राकार र अमात्य अमेरिकामा बसोबास गर्छन् । कम्पनीले अमेरिकी सोलार प्रणालीलाई नेपालमा प्रयोगमा ल्याएको हो ।

अमेरिकामा रहेका तीनैजना इन्जिनियरले सोलार एन्ड पावर कम्पनीलाई प्राविधिक सहयोग गर्दै आएको छ । 


काठमाडौंका १३ घरमा यो सेवा जडान गरिएको छ । यो सेवा बुटवल, पोखरामा विस्तार गरिँदै छ । चिकित्सक शाहले जानकारी गराइन्, ‘बुटवलका १० इन्जिनियर र इलेक्ट्रिसियनलाई तालिम दिँदै छौं । यसलाई राष्ट्रव्यापी बनाउँदै लैजानेछौं ।’ 

विद्युत् नपुगेको ठाउँ यो सेवा त्यत्तिकै उपयोगी मानिनेछ । विद्युत् सेवा लिन त्यति सजिलो छैन । तर, सोलार पावर जोड्न सहज छ । ‘हाम्रो कम्पनीले विद्युत् सेवा नपुगेका ठाउँलाई प्राथमिकता दिनेछ,’ उनले गर्व गरिन्, ‘सोलार सिष्टरबारे अवारनेस गराउँदै दक्ष जनशक्ति उत्पादन गर्ने योजना वृहत् बनाउनेछौं । त्यसका लागि सरकारसँग सहकार्य गर्ने प्रयत्नमा छौं । यसो गर्न सके झन् प्रभावकारी हुन्छ ।’ 

कौसीमा सोलार लगाउने, बिजुली बेचर पैसा कमाउने !

पेसाले चिकित्सक भए पनि डा. तुम्ला लाकोल शाह सोलार पावरसम्बन्धी काम गर्न जागरुक छिन् । जिम्मेवार नागरिकले देशका लागि चिन्ता लाग्नु अस्वाभाविक होइन । जिम्मेवार नागरिक भएकाले उनी सोलार पावरसम्बन्धी जनचेतना बढाउँदै प्रयोगलाई व्यापक बनाउन लागिपरेकी छन् । 

कुनै पनि काम थाल्नुअघि सम्बन्धित विषयमा प्रस्ट अवधारणा चाहिन्छ । सोलार एन्ड पावर कम्पनीको अवधारणा अमेरिकानिवासी सरोजकृष्ण जोशीको हो ।

जोशी नेपाल आउँदा लोडसेडिङको चर्को समस्या थियो । जोशीका बुवाले उनलाई तिमी इलेक्ट्रिकल इन्जिनियर हौ । नेपालका लागि के गर्न सक्छौ ? भनेर सोधेपछि जोशीको घरबाट सुरु भएको सोलार सिष्टमले व्यापकता पाउँदै गएको छ ।

तीन करोड ८० लाख अमेरिकी डलरमा बन्ने नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास

एकपछि अर्कोले सोलार पावर प्रयोग गर्दै गएका छन् ।

कम्पनीको बोर्डमा रहेका चिकित्सक, व्यवसायी र इन्जिनियरले त्यत्तिकै व्यापक बनाउन उत्साहित भएर लागिपरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप