सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाली हिरो : जसको चर्चा बढी उसकै फिल्म धेरै फ्लप

मङ्गलबार, १८ वैशाख २०७५, १३ : ५१
मङ्गलबार, १८ वैशाख २०७५

अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘ह्यापी डेज’ गत शुक्रबारबाट प्रदर्शनमा आएको छ । प्रियङ्का कार्कीसँग उनको रोमान्स रहेको यो ‘ह्यापी डेज’ले भने अनुमान गरेजस्तो दर्शक पाउन सकिरहेको छैन । दयाहाङ पछिल्लो समयका सबैभन्दा चर्चित र व्यस्त नायक हुन् भन्दा दुईमत रहन्न । चर्चा र व्यस्तता जति नै धेरै भए पनि उनको अभिनय रहेको धेरै फिल्मको लगानी सुरक्षित गर्न सकेका छैनन् । ‘दासढुङ्गा’पछि लगातार फिल्म अभिनय गरिरहेका दयाहाङका ‘लुट’, ‘कबड्डी’, ‘लुट–२’, ‘झोले’ व्यावसायिक सफल मानिएका फिल्म हुन् । 

सफल तुलनामा उनको व्यावसायिक असफल फिल्मको भने धेरै छन् । ‘सेतो सूर्य’, ‘तान्द्रो’, ‘झुम्की’, ‘कबड्डी कबड्डी’, ‘वीर विक्रम’, ‘पुरानो डुङ्गा’, ‘लालटिन’, ‘नेप्टे’लगायत अन्य केही पनि छन् । जुन असफल फिल्मको सूचीमा पर्छन् । उनी अभिनित समीक्षक तथा पत्रकार दीपेन्द्र लामाको फिल्म ‘घामपानी’ भने जसोतसो लगानी सुरक्षित गरेको फिल्ममा पर्छ ।

चर्चा र व्यस्ततामा अभिनेता सौगात मल्ल पनि दयाहाङभन्दा कम छैन । उनको हरेक नयाँ फिल्म प्रदर्शनको समयमा एउटा छुट्टै हुइमसमेत चल्ने गरेको छ । तर पनि उनका धेरै फिल्म बक्स अफिसमा असफल भएका छन् । 

‘कागबेनी’बाट फिल्म अभिनयमा देखिएका सौगातको ‘लुट’ र ‘लुट २’ सफल चलचित्र हो । ‘लुट’बाट ‘हाकुकाले’ परिचय बनाएका सौगात अभिनित ‘सुनगाभा’, ‘श्री ५ अम्बरे’, ‘फन्को’, ‘पञ्चेबाजा’, ‘लाजपुर्जा’, ‘झ्यानाकुटी’, ‘फाटेको जुत्ता’, ‘शब्द’, ‘संरक्षण’लगायत धेरै फिल्मले निर्माता डुबाएको छ ।

अहिले चर्चित र व्यस्त अभिनेतामा नाजिर हुसेनको पनि नाम लिनुपर्ने हुन्छ । पछिल्लो समय उदायका अभिनेतामध्ये नाजिर छोटो समयमा मनग्य चर्चा कमाउनेमा पर्छन् । उनको व्यस्तता पनि अहिले निकै बढेको छ । केही वर्ष अगाडि निर्माण भएको ‘होस्टल रिटन्स’ फिल्मको सहायक भूमिका मार्फत अभिनयमा देखिएका नाजिरको छोटै समयमा ‘गाँठो’, ‘जङ्गे’, ‘राजा रानी’, ‘पुन्टे परेड’, ‘वीर विक्रम’ र ‘तिमीसँग’ गरी आधा दर्जन बढी चलचित्र आए । नाजिरका जति पनि फिल्म आए ती सबैले निर्माता रुवाउने काम ग¥यो ।

‘माथा पन्चर’, ‘डिग्री माइला’, ‘चरमदास चोर’ जस्ता चर्चित नाटकसमेत अभिनय गरेका नाजिर पनि सौगात र दयाहाङ जस्तै रङ्गमञ्चबाट भित्रिएकाले फिल्मको असफलता पछि पनि व्यस्त रहन सफल भए । कामसँगै चर्चा त आइहाल्छ नि ।

‘होस्टल’बाट अभिनेता बनेका निर्देशक शोभित पुत्र सलोन बस्नेतको पनि चर्चा दिन प्रतिदिन चुलिँदो छ । बाल कलाकार हुँदै हिरोमा डेब्यु गरेका सलोनको अभिनय रहेका अधिकांश चलचित्र फ्लप भएका छन् । ‘एउटा साथी’, ‘आधा पेज’, ‘आभाष’, ‘मेला’, ‘लप्पन छप्पन’, ‘भिल्के’, ‘बाबुकान्छ’लगायत चलचित्र अभिनय गरेका सलोन अभिनित ‘ए मेरो हजुर–२’ले भने व्यवसाय गरेको बताइन्छ । तर सफलताको क्रेडिङ भने यस फिल्मका हिरो सलिमान बनिया र अभिनेत्री साम्राज्ञीले पाएका छन् । सलोनको अहिले ‘लम्फु’ प्रदर्शनको तयारीमा छ भने सुश्रीसम्पत्तिको भर्खर छायाङ्कन सकाएका छन् । राम्रो फिल्म छान्न नसकेका कारण पनि सलोन धेरै असफल फिल्मका हिरो बन्न पुगेका हुन् । 

‘हिरोहरू अभिनयको गुणस्तरभन्दा पनि चलचित्रको सङ्ख्या विस्तारमा लागि रहे’ लामाले भने ‘यसले हिरोलाई व्यस्तता र चर्चा त दिलायो । तर भनेजस्तो व्यावसायिक सफलता भने दिलाउन सकेन ।’ पैसा कमाउने उद्देश्यले आएका प्रायः सबै अफर स्वीकारेको कारण पनि हिरोहरूका फ्लप फिल्मको  सङ्ख्यामा वृद्धि भएको लामाको भनाइ रहेको छ ।

यही कुरा फिल्म निर्देशकसमेत रहेका समीक्षक दीपेन्द्र लामा बताउँछन् । ‘हिरोहरू अभिनयको गुणस्तरभन्दा पनि चलचित्रको सङ्ख्या विस्तारमा लागि रहे’ लामाले भने ‘यसले हिरोलाई व्यस्तता र चर्चा त दिलायो । तर भनेजस्तो व्यावसायिक सफलता भने दिलाउन सकेन ।’ पैसा कमाउने उद्देश्यले आएका प्रायः सबै अफर स्वीकारेको कारण पनि हिरोहरूका फ्लप फिल्मको  सङ्ख्यामा वृद्धि भएको लामाको भनाइ रहेको छ ।

समीक्षक तथा निर्देशक लामाको अन्य भनाइमा सहमती भए पनि ‘हिरोले पैसा कमाउन आएका अफर सबै स्विकारेका कारण फ्लप फिल्मको सङ्ख्य बढेको भनाइप्रति भने पूरै सहमती जनाउन सकिन्न । किनभने थोरै फिल्म अभिनय गरेका आर्यन अधिकारी, पल शाह, विनय श्रेष्ठ, पुष्पल खड्का, राज कटुवालजस्ता हिरोको पनि अधिकांश फिल्म असफल छन् ।

काका आकाश अधिकारीले बनाएको चलचित्र ‘के म तिम्रो होइन र ?’ बाट अभिनयमा डेब्यु गरेका आर्यनको अधिकारीले जम्मा ३ फिल्म अभिनय गरेका छन् । उनको दोस्रो फिल्म ‘बटरफ्लाई’ केही पहिले सार्वजनिक भएको थियो । यी दुवै फिल्मको प्रदर्शनका समयमा विभिन्न कोणबाट उनको चर्चासमेत भयो । केही मिडियाले आर्यन जस्तो हिरो अर्काे छैनसमेत भन्न पछि परेनन् । तर यी दुवै फिल्म उनको चर्चाका कारण मात्र बन्यो । निर्माताको आँशु टार्न सकेन । आर्यनको अर्काे फिल्म ‘करोडपति’ आउँदैछ ।

यस्तै भर्खर ४ वटा मात्र फिल्म खेल्ने अर्काे हिरो पल शाह पनि हुन् । ‘नाई न भन्नु ल ४’बाट डेब्यु गरेदेखि उनको चर्चा अहिलेसम्म सेलाएको छैन । तर पलको ‘नाइ न भन्नु ल ४’, ‘जोनी जेन्टलम्यान’ले बक्सअफिसमा पानी पिउन पाएन । उनको अभिनय रहेको ‘म यस्तो गीत गाउँछु’ले जिनतिन लगानी बचायो । यसको क्रेडित भने निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माले पाए । त्यसो त पल अभिनित अर्काे फिल्म ‘शत्रु गते’ले पनि अहिले राम्रो व्यवसाय गरिरहेको छ । केही साता पहिले रिलिजमा आएको यो फिल्म अभिनयबाट पलले भने न त तारिफ पाए न त व्यवसायको श्रेय नै । निर्माणको समयमा ‘शत्रु गते’का कारणले चारैतिर छाएका पलले फिल्म अभिनयका कारणले समीक्षकबाट गाली मात्र खाए । 

म्युजिक भिडियोका हिट हिरो पल फिल्ममा फिट भए पनि हिट हुन सकेनन् । केही अगाडि १० लाख पारिश्रमिक डिमान्ड गरेर आफूलाई महँगो हिरोमा उभ्याएर चर्चामा छाएका पलसँग अहिले कुनै पनि फिल्म छैन ।

पलझंै म्युजिक भिडियोमा हिट भए पनि फिल्म रोज्ने हिरो म्युजिक पुष्पल खड्का पनि हुन् । म्युजिक भिडियोमा हरहमेसा चर्चामा रहने पुष्पलले ‘दपर्ण छायाँ २’ फिल्मी यात्रा सुरु गरेका हुन् । पुराना निर्देशक तुलसी घिमिरेको निर्माण निर्देशन रहेको फिल्मबाट अभिनय डेब्यु गरेका कारण चर्चामा रहन सफल पुष्पलले ‘दपर्ण छायाँ २’बाट चर्चाको अलवा केही हात पार्न सकेनन् । पुष्पलको हालै ‘मङ्गलम्’ पनि आएको थियो । लगानी सुरक्षित गर्न सफल यो चलचित्र अभिनयका कारणले भन्दा पनि शिल्पाको जोडी बनेका कारणले पुष्पलले चर्चा पाए ।

धेरै पहिले निर्मित ‘फस्ट लभ’बाट अभिनयमा भित्रिएका अभिनेता विनय श्रेष्ठ लामो अन्तरलपछि  ‘रेसम फिलिली’मा देखिए । पहिलो फिल्म आएको धेरै समयपछि ‘रेसम फिलिली’मा देखिएका विनयको यसले पनि कमाल देखाउन सकेन । विनय अहिले ‘रोमियो एन्ड मुन्ना’ मार्फत दर्शकमा छाउने तरखरमा छन् । प्रदर्शन मिति सर्दै आएको यो फिल्मको एक कार्यक्रममा बिकनी गर्लसँग इन्ट्री मारेर विनयले चर्चा र आलोचना मनग्य पाए पनि ।

राज कटुवालको चर्चा कहिले फिल्म ‘लालटिन’ त कहिले पूर्वमिस मलिनाको जोशीको जोडी बनेको कारण भयो । ‘लिला’ फिल्ममा उनी मलिनाको जोडी बनेका थिए । ‘लालटिन’ र ‘लिला’ दुई मात्र फिल्म अभिनय गरेका राजको दुवै फिल्मले निर्माता रुवायो । 

हिरोले स्टारडम बनाउन नसकेका कारण पनि धेरै फिल्म सफल नभएको निर्माता तथा वितरक गोपाल कायस्थ बताउँछन् । ‘आफै लगानी गरेर हिरो बन्ने पनि धेरै छन्’– उनले भने– ‘लगानी गरेपछि चर्चा र फिल्म पाउन सकिन्छ । तर व्यवसाय हैन ।’ जो पायो त्यही हिरोका रूपमा भित्रिएका कारणले पनि उनीहरूको फिल्म असफल भएको कायस्थाको भनाइ रहेको छ ।

अभिनयमा भित्रिएको केही वर्ष भए पनि धेरै फिल्म खेल्न नसकेका अभिनेता नरेन खड्का पनि हुन् । बेलाबेलामा चर्चामा छाइरहने नरेनका पनि अधिकांश चलचित्र फ्लप छन् । रेखा थापाको ‘हमेसा’बाट डेब्यु गरेका नरेनको ‘मन्दिरा’, ‘ठमेल डटकम’ र भर्खर आएको फिल्म ‘स्वर्ग मेरो गाउँ’ प्रदर्शनमा आए गएको दर्शकले थाहा पाउन सकेनन् ।

हिरोले स्टारडम बनाउन नसकेका कारण पनि धेरै फिल्म सफल नभएको निर्माता तथा वितरक गोपाल कायस्थ बताउँछन् । ‘आफै लगानी गरेर हिरो बन्ने पनि धेरै छन्’– उनले भने– ‘लगानी गरेपछि चर्चा र फिल्म पाउन सकिन्छ । तर व्यवसाय हैन ।’ जो पायो त्यही हिरोका रूपमा भित्रिएका कारणले पनि उनीहरूको फिल्म असफल भएको कायस्थाको भनाइ रहेको छ । कायस्थाले थपे– ‘म पनि निर्माता वितरक, के म पनि हिरो खेलौं । मैले खेलेका फिल्म चल्ला त ?

निर्माता वितरक गोपाल कायस्थाको भनाइ पनि सही हो । लगानीको बलमा जो पायो त्यही हिरो बनेका छन् । लगानी भए पनि फिल्म बन्ने नै भयो । फिल्म बनेपछि चर्चा स्वभाविक हो ।
तर रहरले भित्रिएका र लगानीका हिरोका मात्र होइन, व्यावसायिक रूपमा नै हिरो बनेर फिल्म क्षेत्रमा भित्रिएका आर्यन सिग्देल, अपर्ण थापा, निखिल उप्रेती, किशोर खतिवडा, सविन श्रेष्ठ लगायतका पिल्म पनि धेरै असफल छन् ।

निखिल अरूकै लगानी रहेको फिल्मबाट हिरो बनेका हुन् । अभिनयमा सफलता हुँदाहँुदै पनि केही समय हराएका निखिलले केही वर्ष अगाडि  ‘भैरव’बाट पुनरागमन गरे । आफ्नै लगानी रहेको ‘भैरव’ फिल्म सफलताको श्रेणीमा दर्ज भएपछि निखिलका ‘लुटेरा’, ‘पिजडा ब्याक अगेन’, ‘रुन्द्र्र, ‘संरक्षण’लगायतका धेरै फिल्म आए । अभिनयका हिसाबले हरहमेसा चर्चामा रहेका एक्सन किङ निखिलको धेरै फिल्म व्यावसायिक असफल ठहरिनै रह्यो ।

हिरो आर्यन सिग्देल पनि अहिले आफैले निर्माण गरेको फिल्म ‘कायारा’का कारण चर्चामा छन् । पछिल्लो समयकी चर्चित हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाहसँग ‘कायरा’मा रोमान्स गरेका आर्यनको अहिले यही कारणले समेत चर्चामा छ । विदेशका कार्यक्रममा जाँदा उनको हर्कतको चर्चा पनि बेलाबेलामा सार्वजनिक भएकै विषय हो । ‘कसले चोर्यो मन’बाट अभिनयमा डेब्यु गरेका उनको ‘लज्जा’, ‘धुवा यो नसा’, ‘अलबिदा’ ‘नाइके’ लगायत अधिकांश फिल्म व्यावसायिक असफल छन् ।

किशोर खतिवडा पनि फिल्म अभिनयका कारणले मिडियामा छाइरहने कलाकार हुन् । ‘रावण’बाट डेब्यु गरेका किशोरको ‘काली’, ‘वृन्दावन’, ‘किस्मत–२’ लगायत धेरै फिल्म दर्शकको रोजाइमा पर्न सकेन । किशोर अहिले आइतबारबाट छायाङ्कन सुरु भएको फिल्म ‘डोली’ कारणले चर्चामा छन् ।

अभिनेत्री अनु शाहसँग कोर्ट म्यारिज गरेको हल्लाले हालै चर्चाको चुलीमा रहेका अभिनेता सविन श्रेष्ठका पनि धेरै फिल्मले निर्माता डुबायो । ‘रावण’बाट डेब्यु गरेका सविनको ‘फुलस्टप’, ‘लङ्का’, ‘हवल्दार सुन्तली’, ‘आधी बाटो’, ‘हमेसा’लगायत धेरै फिल्म असफल भएका छन् । उनको आफ्नै लगानी रहेको फिल्म ‘हिरो रिटन्र्स’ भने प्रदर्शनमा आउँदैछ । व्यवसाय के गर्छ हेर्न बाँकी छ ।

कलाकारितामा आफूलाई टिकाइरहन जस्तै भूमिका भए पनि अभिनय केही हिरो पनि छन् । ती हिरो मौका मिले लगानी र चाकडीसम्म गर्न पछि नपर्ने पुराना निर्माता सुशील पोखरेल बताउँछन् । दर्जनभन्दा बढी फिल्म निर्माण गरेका सुशीलको विचार दीपेद्रसँग केही मिल्दोजुल्दो पनि छ । उनी पनि हिरो पैसा मुखी हुँदा धेरै फिल्म असफल भएको दोहो¥याउँछन् । उनले भने– ‘राम्रो गर्नभन्दा पनि आफ्नो महत्वकाङ्क्षा पूरा गर्न फिल्म अभिनय गर्छन्’, निर्माता पोखरेले थपे ‘मुहूर्त र रिलजको समयमा गरिने प्रचार प्रसारले उनीहरू चर्चामा त रहन्छन् । तर फिल्मको व्यवसाय भने शुन्य ।’

निर्माता सुशीलले भनेझंै आफै लगानी गर्ने, जस्तो भूमिका भए पनि आफूलाई अभिनय क्षेत्रमा प्रस्तुत गर्ने हिरो पनि छन् फिल्म क्षेत्रमा । गौरव पहाडी, अनुप विक्रम, सुशील श्रेष्ठ, आकाश श्रेष्ठ, रोहित रुम्बा, अनुप बराल, अनुप विक्रम शाही, कर्मालगायत थुप्रै यो वर्गमा पर्छन् । यी अभिनेताको फिल्म र चर्चाको कुनै कमि छैन । तर फिल्मको सङ्ख्या भने हिटभन्दा फ्लप बढी छन् । ‘हरेक फिल्ममा बेस्ट दिने कोसिस गर्ने हो’ फिल्म फ्लप र हिट अर्काे पाटो हो । यीमध्ये अधिकांश अभिनेताले भन्ने शब्द हो यो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप