सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चुनाव गराउने कांग्रेस–माओवादी, माला पहिरिने एमाले !

आइतबार, २५ असार २०७४, १३ : ३६
आइतबार, २५ असार २०७४

काठमाडौं– स्थानीय तह निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेसँगै राजनीतिक दलहरु आन्तरिक चुनावी समिक्षामा जुटेका छन् । माओवादी केन्द्र र चौथो राजनीतिक दल राप्रपाबाहेका प्रमुख दलहरुले औपचारिक रुपमा चुनावी समिक्षा बैठक भने बोलाइसकेका छैनन् । 


दलहरुमा हारजितको समिक्षा चलिरहेका बेला पहिलो र दोस्रो चरणमा सम्पन्न स्थानीय तहको घोषित निर्वाचन परिणाममा नेकपा एमालेले सवैभन्दा बढि तह जितेर पहिलो स्थान बनाउन सफल भएको छ । माओवादी केन्द्र र कांग्रेस नेतृत्वको सरकारले गराएको निर्वाचनमा एमाले पहिलो शक्तिका रुपमा उदाएपछि कांग्रेस र माओवादी केन्द्रलाई भने स्वाभाविक रुपमा टाउको दुखाईको विषय बनेको छ ।


पहिलो चरणको २८३ र दोस्रो चरणको ३३४ स्थानीय तहमध्ये एमालेले पहिलो चरणमा १२५ र दोस्रो चरणमा १४८ स्थानीय तह जित्दा जीतसंख्या २७३ पर्याउदै एमालेले अग्रता कायम गर्न सफल भएको छ  । 


दुवै चरणमा निर्वाचन भएका ६१७ स्थानीय तहमध्ये पहिलो चरणको भरतपुर महानगरपालिका र दोस्रो चरणमा निर्वाचन भएका तीन तहको अन्तिम परिणाम आइनसकेपनि संख्यात्मक रुपमा एमालेले जितेको संख्या भेट्टाउन अरु कुनैपनि दललाई मुस्किल हुने देखिएको छ ।


गणितिय हिसाबमा दुवै चरणको परिणाम जोड्दा दोस्रो स्थान बनाएको नेपाली कांग्रेस एमाले भन्दा ४६ स्थानले कम छ । उसले पहिलो चरणमा १०५ स्थानीय तह र दोस्रोमा १२२ तहमा जित हासिल गर्दा जम्मा २२७ स्थानीय तहमा आफ्नो झण्डा गाड्न सफल भएको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्र र पहिलो स्थान बनाएको एमालेबीचको स्थानीय तह संख्याको फरक १८९  हुन पुगेको छ । अर्थात् माओवादी केन्द्र भन्दा एमाले १८९ तह बढि जित्न सफल भएको छ । यो संख्याले तेस्रो चरणमा हुने स्थानीय तहको सवै संख्या मओवादी केन्द्रले जितेपनि एमालेलाई पछि पार्न नसक्ने पक्का छ । त्यस्तै कांगे्रस र माओवादीबीचको संख्या पनि फराकिलो नै छ । पछिल्लो परिणाम अनुसार मओवादी र कांग्रेसवीच पनि १४३ को फरक छ ।   
मुलुकका ७४४ स्थानीय तहमध्ये बाँकी आठ जिल्लाका १२७ स्थानीय तहको भने आगामी असोज २ गतेमात्रै निर्वाचन हुदैछ । तेस्रो चरणमा हुने निर्वाचनमा एमाले बराबर हुन अहिलेकै अवस्थामा पनि कांग्रेसले ४६ स्थान जित्नुपर्छ ।

तर, कांग्रेसले त्यतिका संख्यामा जित हासिल गर्दा एमालेले पनि थप संख्या बढाउने निश्चित नै छ । मधेसमा खासगरी चारपक्षिय नतिजा आउने अनुमान गरिएको छ । मधेसवादी दल राजपा, कांग्रेस, एमाले र माओवादीबीच तह बाडिँने भएकाले यो घाटा पुर्ति गर्न कांग्रेसका लागि कठीन छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप