पत्रकार किशोर श्रेष्ठको जीवन : मलाई मार्न पेस्तोल बोकेरै हिँड्ने पनि थिए
‘पञ्चायती व्यवस्थालाई धन्यवाद दिन्छु,’ प्रेस काउन्सिलको आफ्नै कार्यकक्षमा पत्रकार किशोर श्रेष्ठले सुनाए, ‘आठ कक्षा पढ्दा राजकाज मुद्दा लाग्यो । नौ कक्षा पढ्दा जेल परें ।’ जेलमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वमन्त्री आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत ५५ जना नेता थिए ।
सानैमा नेताको संगतमा पुर्याइदिए । त्यतिबेला गोरखापत्र दैनिक र रेडियो नेपालमात्रै थियो । जेलमा पुगेको गोरखापत्र पत्रकार श्रेष्ठले पढेर सुनाउँथे । गाउँको विद्यालयमा भित्तेपत्रिका सञ्चालन गर्नेले गोरखापत्र पढ्न पाउँदा खुसी नलाग्ने कुरै भएन । पठनसंस्कृति विकास भयो । बुवाको निधनपछि काजकिरिया गर्न जेलमुक्त भए ।
पेसागत कर्तव्य निर्वाह गर्दा मृत्युका नजिक–नजिक थुप्रैपटक पुर्याइएको थियो । उनलाई दुर्घटना गराएर मार्ने कोसिस नभएको होइन । मलाई मार्न पूर्वसेनापति प्रज्ज्वलशमशेरका छोरा प्रभासशमशेरले पेस्तोल बोकेरै हिँड्थे भन्ने प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष तथा जनआस्था साप्ताहिक सम्पादक किशोर श्रेष्ठसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
‘टिपिकल’ नेवार परिवारमा जन्मेको हुनाले नेवारी खानेकुरा र संस्कृतिसँग प्रभावित हुनु अस्वाभाविक होइन । तर, यो खानेकुरा मन पर्छ, त्यो मन पर्दैन भन्ने केही छैन । खानकै लागि कहिलेकाहीं रेष्टुरेन्ट पुग्छु । रेष्टुरेन्ट पुगिहाल्दा माछा माग्न छुटाउँदिनँ । म खाना कहिल्यै पकाउँदिनँ ।
मेरो पोसाक
पोसाकमा चुजी छैन । शरीर ढाक्ने पोसाक भए पुग्छ, जसले इज्जत बचाउँछ । मलाई औपचारिक पोसाक लगाउन मन पर्दैन । टाइसमेत लगाउन मन पर्दैन । अनौपचारिक पोसाक लगाउन मन पर्छ । पोसाकमा वार्षिक ३०÷४० हजार खर्च होला । हल्का आकाशे रङको पोसाक रोजाइमा पर्छन् । कपडा किनेर पनि सिलाउने गर्छु । त्यसो भन्दा ‘रेडिमेड’ किन्दै किन्दिनँ भनेकोचाहिँ होइन । कपडा सिलाउन परे काठमाडौंको पुतलीसडकमा रहेको पिटर इङ्ग्ल्यान्ड पुग्छु ।
मेरो फिटनेस
पहिले–पहिले ‘मर्निङवाक’ जान्थें । हिजोआज छुटेको छ । राति अबेरसम्म बस्ने भएकाले बिहान उठ्दा साढे ६ बजिसकेको हुन्छ । घरमै भएको ट्रेडमिलमा दौडिन्छु । योगाले समेत निरन्तरता पाएन । ‘डाइटिङ’ गर्ने बानी छैन ।
मेरो अध्ययन
हिजोआज पढ्न भ्याएको छैन । तर, चलचित्र हेरेर त्यसको पूर्ति गरेको छु । चलचित्र हेर्दा समयको बचत हुन्छ । जुन विषयमा बनेको हो, त्यो चलचित्र हेर्दा सम्बन्धित विषयको सिंगो इतिहास बुझ्न सघाउँछ ।
एउटा काममा केन्द्रित भएपछि नसकिन्जेल निद्रा लाग्दैन । प्रेस काउन्सिलद्वारा प्रकाशित संहिताको अंग्रेजी संस्करण तयार गर्दै छु । त्यससँग सम्बन्धित सामग्री जुटाउँदै छु ।
प्रतिष्ठित मानिसका जीवनी, कूटनीतिक व्यक्तिसँग सम्बन्धित किताब पढ्न जाँगर चल्छ । आफूलाई मन परेको लेखकका किताब पढ्न छुटाउँदिनँ । नेपालीको मुटु र माटो छुने विषय लेख्ने कथाकार भवानी भिक्षु र गुरुप्रसाद मैनाली मन पर्छ ।
हिजोआज लेख्नसमेत पाएको छैन । मेरो निजी पुस्तकालयमा नौ हजार किताब छन् । किताब र चलचित्रमा दिल खोलेर खर्च गर्छु । सालिन्दा किताब र चलचित्रमा ८० हजार रुपैयाँसम्म खर्च गरेको छु ।
मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । मजति घुम्ने र घुम्न मन पराउने मानिस कमै भेटिएलान् । नेपालका ६० भन्दा बढी जिल्ला पुगेको छु । ५० देश घुमेको छु । घुमेकामध्ये नेपालभन्दा राम्रो देश अरू लागेन । डोल्पाको शे–फोक्सुन्डो ताल र गोसाइँकुण्ड पुग्ने रहर छ ।
मेरो फुर्सद
फुर्सद निकाल्ने हो । निकाल्दा हुन्छ । फुर्सद पाएँ भने घरमै बसेर रमाउँछु । आठ÷नौ घन्टा हराउन सक्नेगरी घरको छतलाई सदुपयोग गरेको छु । त्यहीं पुस्तकालय छ । आवश्यकताका सबै चीज त्यहाँ राखेको छु । त्यहाँ चलचित्र हेर्न, किताब पढ्न, कम्प्युटरलगायत अन्य धेरै काम गर्न सकिन्छ ।
घरपरिवारलाई समय दिएकै छु । आमा बिरामी हुनुहुन्छ । उहाँले मेरो सामिप्यता खोज्नुहुन्छ । उहाँसँग नजिक रहेको मै हुँ । त्यसैले सकेसम्म छिटो घर पुग्ने कोसिस गर्छु । बिहान १० बजेभन्दा अघि निस्कन नपरे हुन्थ्यो भन्ने लाग्छ । बिहान, बेलुका आमासँगै खाना खान्छु । सुत्नअघि आमासँग गफगाफ गर्छु । उहाँ निदाउनुभएपछि ओछ्यान पस्छु ।
खानकै लागि परिवारसहित रेष्टुरेन्ट कहिल्यै गइएन । चलचित्र हेर्न जाने अवसर दुर्लभ नै पाइयो ।
मेरो खेलकुद
सानोछँदा डन्डिबियो, कबड्डी खेलेको थिएँ । शारीरिक व्यायामका लागि ब्याडमिन्टन ‘बेटर’ लाग्छ । ब्याडमिन्टन खेल्न छाडेको थुप्रै भयो । मैले जीवनमा गल्फ, हकी र क्रिकेट खेल्न कहिल्यै अभ्यास गरिनँ । बुझ्दा पनि बुझ्दिनँ । तर, फुटबलमा चाहिँ ‘एक्साइटमेन्ट’ हुन्छ ।
मेरो मोबाइल
हुवाईको मोबाइल प्रयोग गर्दै आएको छु । यो उपहार पाएको हुँ । काम नलाग्ने भएपछि मात्रै मोबाइल फेर्ने हो । आफूलाई चाहिने मोबाइलका एप्लिकेसन प्रयोग गर्छु । मोबाइलमा गेम खेल्ने बानी छैन ।
मेरो टेलिभिजन
घरमा सोनीको टेलिभिजन छ । बैंककबाट ल्याएको हुँ । तर, टेलिभिजन नहेरेको जुग भइसकेको छ । विदेश पुग्दासमेत होटलमा रहेको टीभी हेर्ने जाँगर चल्दैन ।
मेरो चलचित्र
विश्वभरिका पाँच हजार चलचित्र संकलन गरेको छु । ‘आर्ट मुभी टाइप’, ‘हिस्ट्री रिलेटेड’ र ‘थ्रिलर मुभी’ हेर्छु । अन्य चलचित्र हेर्दिनँ । चलचित्र ‘राजी’ आजभोलि नै हेर्नेछु । गत वर्ष चीन जाँदा ८० चलचित्र ल्याएको छु । त्यसमध्ये चिनियाँ, लिबिया, इरान, टर्की, रसियन मुभी छन् ।
चलचित्र ‘कभीकभी’ जीवनमा पहिलोपटक हेरेको थिएँ । बाल्यकालमा हेरेको चलचित्र ‘कभीकभी’ मन परेको थियो । त्यसपछि ‘मनको बाँध’ र ‘रोड होम’ चिनियाँ चलचित्र असाध्यै मन परेको थियो ।
मेरो स्वास्थ्य
शारीरिक रूपमा स्वस्थ छु । तौल घटाउने चिन्ता छ । आजसम्म तीनपटक ‘होलबडी चेकअप’ गराएको छु । म कुनै पनि कुरा लामो समय मनमा राख्दिनँ, चाहे त्यो सुख या दुःखको होस् । कसैप्रति लामो समय रिसरागसमेत राख्दिनँ ।
जोकसैले जतिसुकै चित्त दुखाए पनि उसप्रति वैरभाव राख्दिनँ । उसलाई सिध्याइदिनुपर्छ भन्नेतिर लाग्दिनँ । सामान्यतः म मुस्कुराइरहन मन पराउँछु । मन कुटुकुट भएर स्थिर भएन भने न रोगी हुने हो ।
मेरो भाषणशैली
चलचित्र सबै ‘हिट’ हुन्छन् भन्ने हुँदैन । कुनै ‘हिट’ होलान्, कतिपय फ्लप । भाषण पनि त्यस्तै हो । कहिलेकाहीं बोल्दा चित्तबुझ्दो हुन्छ भने कतिपय अवस्थामा त्यस्तो हुँदैन । बुँदा टिपेर बोल्न थालें भने विशृंखल हुन्छु । भाषण समय, सम्बन्धित ठाउँको वातावरण र श्रोतामा भर पर्दोरहेछ । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । कहिलेकाहीं आक्रामक भाषण गर्नुपर्ने बाध्यता हुन्छ । नत्र ठीकठिकै भाषण गर्छु ।
भाषण गर्न समस्या छैन । म १० वर्षको हुँदादेखि नै भाषण गर्दै हिँडेको हुँ । मलेखुमा ड्रममा चढेर पञ्चायती व्यवस्थाविरुद्ध भाषण गर्थें । संवत् २०३८ सालको त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन प्रचार गर्न धादिङबाट काठमाडौं आएको थिएँ । त्यतिबेला पनि भाषण बुलन्द गर्थें । मेरा भाषण सुन्नेमध्ये कोही सचिव छन् । कोही मन्त्री । भाषण गरेकै आधारमा विवादमा तानिएको पनि छु । भाषण गर्दा आफ्नैबारे कुरा राख्छु । विगतका गल्ती, कमजोरी कोट्याउँछु । यो कालखण्डमा यसो गरेको थिएँ, त्यो नगरेको भए हुन्थ्यो भन्छु । अरूले टिप्पणी गर्नअघि आफैंले आफ्नोबारे भनिदिन्छु । त्यतिबेला नभन्दिए हुन्थ्यो भन्ने पनि हुन्छन् । म औपचारिक हुन जान्दिनँ । कुरा लुकाउँदिनँ । जिब्रो चपाएर बोल्दिनँ ।
म राजनीतिक नेता होइन । म पत्रकारितामा छु । त्यहीसँग सम्बन्धित प्रेस काउन्सिलमा छु । मेरो अन्त्य पत्रकारिता गर्दागर्दै हुनेछ । त्यसो भएकाले मैले जिब्रो चपाएर बोल्नुपर्छ भन्ने लाग्दैन ।
मेरो मापसे
म ‘लिमिटेड ड्रिङ्क्स’ गर्ने मानिस हुँ । ‘सोसल ड्रिङ्कर’ हुँ । रक्सी खाएर गीत गाउँदिनँ । रुन्न । मानिस कुट्दिनँ । ‘बबाल’ गर्दिनँ । नालीमा जोतिन्न । शिष्टतापूर्वक रक्सी खान्छु ।
होमबार नभए पनि घरमा रक्सीको संकलन छ । साथीभाइले ल्याइदिएको रक्सी जीवनभरि खान पुग्छु ।
मेरो संगीत
गीत–संगीत सुन्नेमात्रै होइन, मज्जाले गाउँछु पनि । स्वर श्रवणीय नै छ । फत्तेमान, नारायणगोपाल, प्रेमध्वज प्रधानको आवाज कर्णप्रिय लाग्छ । सुरेश अधिकारी, बुलु मुकारुङ र राजनराज सिवाकोटीको संगीत त्यत्तिकै लोभलाग्दो छ । लोकलय टिपिएको र लोकधुन मिसिएको गीत–संगीत सुन्न मन पर्छ ।
मेरो भूल
मानिस भएपछि जान–अन्जानमा जोकोहीबाट गल्ती हुन्छन् । पेसागत कर्तव्य निर्वाह गर्नेक्रममा म पनि चुकेको छु ।
पहिलो– मलाई समाचार स्रोतले झुक्याइदियो । पूर्वसेनापति प्रज्ज्वलशमशेरलाई फ्रान्सको राजदूतका लागि एग्रिमो दिइयो । तर, समाचारमा दिएन भन्ने लेखियो । दोस्रो– राजाको बुद्धि भुटेर राम्रै लाभ लिएका एकजना महानुभावले आफ्नो स्वार्थ पूरा गर्न संविधानमा हुँदै नभएको धारा र उपधारा टिपाएर मेरो ‘क्रेडिबिलिटी’ माथि प्रश्नचिह्न खडा गरिदिएका थिए ।
तेस्रो– आरजु देउवा फेरि आमा बन्दै भन्ने ‘स्टोरी’ जनआस्थामा प्रकाशित भयो । देउवा तेस्रोपटक प्रधानमन्त्री बन्दाको प्रसंग हो । बालुवाटारमा दिनहुँ जिउँदो कुखुरा जान थाले । कोसेलीपात भित्रिन थाले । घ्यु, सुत्केरी मसला पनि जान थाल्यो । विदेशबाट समेत आउन थाले । ल यहाँ त मीठा–मीठा भोजन पाक्न थाले । पोसिला आहार आउन थाले भनेर स्रोतले जानकारी गराए ।
त्यसो भए आरजुको बुढेसकालमा सन्तानमोह भएछ भनेर समाचार लेखियो । तर, भएको अर्कै रहेछ । समाचार प्रकाशित भएपछि आरजुको फोन आयो । उनले फोन गरेर भनिन्, ‘किशोरजी म त बर्बाद भएँ । मलाई धेरैले बुढेसकालमा सन्तान पाउन लागेको भन्दै फोन गरेर बधाइ दिन थाले । त्यसो होइन के । मेरी बहिनीचाहिँ सुत्केरी हुन लागेकी हुन् । उनी यहाँ आएर बसेकी हुन् ।’ यसरी पनि म झुक्किइएको थिएँ । त्यो समाचार प्रकाशित भएपछि पूर्वप्रधानमन्त्री देउवाले यसले पो जानकारी गराएका हुन् कि भनेर चिया बोक्नेलाई कामबाट निकालिदिँदा मलाई पछुतो लाग्यो । विचरा चिया बोक्नेलाई त्यत्रो कुरा कसरी थाहा हुन्थ्यो र ।
मैले जीवनमा गल्ती गरें कि राम्रो गरें मलाई थाहा छैन । तर, मलाई गर्व लागेको छ– राम्रो काम गर्दागर्दै म बदनाम भएको छु । राजाको सैनिक सचिव विवेक शाहले ‘मैले देखेको दरबार’ मा लेखेका छन्, ‘तात्कालिक प्रधानसेनापति प्रज्ज्वलशमशेरले पत्रकार किशोर श्रेष्ठलाई पैसा खुवाउनुहुन्थ्यो ।’ मैले जनआस्थामा खण्डन गरेको छु । किशोर श्रेष्ठले राजा, युवराजालगायत सिंगो राजसंस्थामात्रै होइन, सेनालाई समेत आक्रमण गरिरहेको हुन्थ्यो ।
छुसुक्क हुनासाथ समाचार लेखिन्थ्यो । जानकारी पाएपछि नलेख्ने कुरै भएन । एमाले, माओवादी, काँग्रेसबारे पनि लेखियो । उमेरले मात्रै पाका होइनन्, मभन्दा अनभुवी तथा चर्चित दुई सम्पादकले जरुरी कुराकानी छ भनेर बोलाए । कमलादीको एक रेष्टुरेन्टमा भेट भयो । उनीहरूले सेनापतिले पठाउनुभएको यो ५० हजार रुपैयाँ लिइदिनुपर्यो भने । मैले उत्तर दिएँ, ‘तपाईंहरूले पत्रकार भएर सेनापतिको दलाली गर्ने हो ? सेनापतिले यो रुपैयाँ खल्तीबाट दिएका होइनन् । सिपाहीको गाँस काटेर दिएका हुन् । तपाईंहरूले कसरी ठान्नुभयो कि किशोर श्रेष्ठ पैसामा बिक्छ र सेनापतिबारे लेख्न छाड्छ ? तपाईं हाम्रो सम्बन्ध यथावत् रहन्छ । यो कारणले फरक पर्दैन । तर, आइन्दा किशोर श्रेष्ठलाई पैसामा किन्न नखोज्नुहोला ।’ उहाँहरू पत्रकारितामै हुनुहुन्छ ।
त्यो पैसा उहाँहरूले सेनापतिलाई फर्काउनुभएनछ । त्यसो भएपछि मेरो नाम रहने नै भयो । यदि किशोर श्रेष्ठले पैसा लिएको भए अर्को अंकदेखि सेनापतिको समाचार प्रकाशित नहुनुपर्ने हो नि । प्रज्ज्वलशमशेरबारे आजका मितिसम्म मैले समाचार लेखिरहेको छु । त्यसो भए मैले प्रज्ज्वलशमशेरले पठाएको पैसा भोगचलन गरें हुँला त ?
अनि ती विवेक शाह, राजाको सुरक्षाकर्मी, राजाको भित्री घेराभित्रका तीनतारे जर्नेल थिए । राजा पनि शाह । उनी पनि शाह । उनले पत्रकार र सेनापतिबारे सही र गलत सूचना राख्न सक्दैनथे भने त्यो दरबार कसरी सुरक्षित रहन्थ्यो ? कमजोर सूचना घेरामा बसेर दरबार कसरी सुरक्षित गर्नु ।
मलाई गर्व छ, ‘मैले आइस ब्रेक गरेको हुँ । त्यतिबेला दरबार र सेनाबारे लेख्ने प्रचलन थिएन । समाचार सकारात्मकमात्रै लेखिन्थ्यो । तर, राजाको शासनकालमा लेख्दा कतिपटक ‘भिक्टिम’ भएँ, भनिसाध्य छैन । जनआस्थाले लेख्न थालेपछि दरबार र सेना पनि बिट पत्रकारिताको विषय बन्यो । अकाट्य, अभेद्य पर्खाललाई आलोचना गर्ने ठाउँ रहेछ भनेर थाहा भयो । हामीले प्रमाणित गरेरै छाड्यौं ।
मेरो घर
अहिले म बस्दै आएको घर १८ वर्षअघि बनेको हो । म पाटनमै जन्मेको हुँ । मलेखुमा हुर्कें । पाँच दाजुभाइमध्ये मेरो बुवा रोगी हुनुहुन्थ्यो । तसर्थ, हजुरबुवाले बुवालाई अलि बढी सम्पत्ति राखिदिनुभएको थियो । ललितपुरको बी एन्ड बी अस्पतालअघि हाम्रा रोपनीका रोपनी जग्गा थिए । ग्वार्को चोकैमा अढाइ रोपनी जग्गा थियो ।
बुवाको ५१ वर्षमै निधन भयो । म जेलमा थिएँ । नौ कक्षामा पढ्थें । काजकिराया गर्न छाडिदिए । बुवा बित्नुभएपछि लथालिंग भयो । म पनि सानै । दुवै दिदीको बिहे भइसकेको थियो । तर पनि, म राजनीतिमा लागें । राजनीतिसँगै पत्रकारितामा जोडिएँ । पत्रकारिता गर्दाको पैसा जोगाउँदै गएँ । जग्गा किनें । मैले २४ लाख रुपैयाँमा नौ आना जग्गामा घर बनाएँ । त्यसमध्ये साढे ३२ वर्षे पत्रकारिता गर्दा पसिनाको कमाइ छ । विदेश घुमियो । पुरस्कार पाइयो । साथीभाइको सरसहयोग पनि पाएँ । साथीभाइलाई पनि गरियो होला । यसरी घर बनाएँ ।
एउटा परिवार बस्न मिल्ने घरको डिजाइन छ ।
मेरो राशी
मेरो राशी तुला हो । ग्रहदशा हेर्ने र ग्रहशान्ति गराउने बानी छैन ।
मेरो सौन्दर्य
कपालमा कहिलेकाहीं तेल लगाउँछु । फेसियल नगरे पनि कहिलेकाहीं अनुहारमा क्रिम लगाउँछु । यदाकदा पफ्र्युम प्रयोग गर्छु । कहिलेकाहीं साउनाबाथ र स्टीम बस्छु ।
मेरो प्रेम
हाम्रो पार्टीले ‘अर्गनाइज’ गरेको बिहे हो । स्कुलेजीवन दिदीकी साथीसँग प्रेम थियो । म ६ कक्षा पढ्थें । तर, नौ कक्षा पढ्ने दिदीको साथीसँग प्रेम भए पनि राजकाज मुद्दा लागेपछि भागेर हिँड्नुपर्यो । घरवास नभएपछि प्रेम टिकाउ हुने कुरै भएन । उहाँको परिवार पनि राजनीतिक नै थियो । दाइहरू जेलमा । कोही भूमिगत । म पनि त्यस्तो भएपछि यसले के गर्लान् र भन्ने भयो होला, त्यसपछि बाटो फाट्यो ।
मेरो सपना
म निर्णायक तहमा छैन । नेपालको पत्रकारिता मर्यादित होस् भन्नमात्रै सक्छु । विश्वमा चिनाउनलायक होस् । त्यो सपना देख्ने मलाई हक छ । तर, मेरो देशको राजनीतिक व्यवस्था यस्तै होस्, विकासनिर्माणले यस्तो बाटो लेओस् भन्न सक्दिनँ । सचेत नागरिकका हैसियतले यस्तो संघीयता टिकाउ हुँदैन भन्न सक्छु । दुई÷दुई सय किलोमिटरको दरले राज्य बन्ने संघीयता मुलुकको आवश्यकता हुँदैहोइन । घाँडोमात्रै हो । खर्च बढाउँछ । विकेन्द्रीकरणका नाम झगडामात्रै गराउँछ ।
चीन र भारतको बीचमा छौं । आर्थिक र सामरिक, सैनिक हिसाबले महत्वपूर्ण र बलियो देशको बीचमा छौं । उनीहरूको समृद्धिको कम्तीमा १ प्रतिशतमात्रै लाभ लिन सके मुलुक उँभो लगाउन सकिन्छ । तर, नीति निर्माण गर्ने तहको नेतृत्वले राम्रो ‘लिड’ गर्नेलाई हाम्रो पनि भरथेगचाहिँ हुन्छ । गर्छौं । गरेका पनि छौं ।
मेरो मृत्यु
मृत्यु सत्य हो । अवश्यम्भावी हो । ‘इकोसिष्टम’ को ‘पार्ट’ हो । मृत्युदेखि डर लाग्दैन । लाग्ने उहिल्यै पत्रकारिता छाड्थें । पटक–पटक मार्ने ‘थ्रेट’ आउँथे । मैले आगोसँग जुधेर गरेको पत्रकारिता हो । त्यो मेरो टिमले गरेको हो । मसँग त्यस्तो टिम थियो ।
म सही सयममा पत्रकारितामा जोडिएछु । पञ्चायत व्यवस्थालाई धन्यवाद दिन्छु । गाउँको विद्यालयको भित्तेपत्रिका चलाएका मानिसलाई नौ वर्षको उमेरमै जेलमा कोचियो । केपी शर्मा ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीको संगतमा पुर्याइदियो ।
पेसागत कर्तव्य निर्वाह गर्दा मृत्युका नजिक–नजिक थुप्रैपटक पुगेको छु । पूर्वसेनापति रुक्मांगद कटवाल अहिले पनि भन्छन्, ‘किशोर श्रेष्ठ मरेर बाँचेको मानिस हुन् । उनलाई दुर्घटना गराएर मार्ने कोसिस भइरहेको थियो ।’
अमेरिकानिवासी पुरुषोत्तम ढकाल त्यसै भन्छन् । ढकाल पूर्वपत्रकार र लोकदोहोरी गायक हुन् । उनले भन्थे, ‘दाइ तपाईंलाई मार्न डीएमआईले मानिस खटाएका थिए । ती सबै नुवाकोटे थिए । म सबैलाई चिन्छु ।’
प्रज्ज्वलशमशेरका छोरा प्रभासशमशेरले मलाई मार्न पेस्तोल बोकेर हिँडेका थिए । त्यस्ता–त्यस्ता खड्गो पार गरेका आएको छु ।
अन्नपूर्ण मिडिया नेटवर्कका रामेश्वर थापालाई पनि मसँग सम्बन्धित एक घटना थाहा छ । मलाई मार्न झन्डै–झन्डै आईजी भइसकेका पनि जुर्मुराएर हिँडेका थिए । तर, पूर्वाग्रह र वैरभाव राखेर बदला लिन्छु भनेर कहिल्यै भनिनँ । सोचिनँ । पत्रकारिता गर्दागर्दै मर्न पाऊँ । रोगव्याधि लागेर डल्लिनु नपरोस् । म मर्नेबेला कसैलाई दुःख नहोस् । तर, मेरो शव बेवारिसे नहोस् । सिनु हुन नपरोस् । सम्मानजनक हिसाबले मर्न पाऊँ । जल्न पाऊँ ।