आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसका चार भाइको निष्कर्षः वामले देश र शेरबहादुरले पार्टी कब्जा गर्न खोजे !

आइतबार, २३ वैशाख २०७५, १७ : २०
आइतबार, २३ वैशाख २०७५

काठमाडौं–   सभापति शेरबहादुर देउवाले सहमति बिनै पदाधिकारी मनोनयन गरेको असन्तुष्ट बनेका कांग्रेसका चार शीर्ष नेताको बैठक बसेको छ । 

वरिष्ठ नेता रामचन्द्र पौडेल,  नेताहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी र नवीन्द्रराज जोशीबीच आइतबार अपरान्ह छलफल भएको हो ।  

नेता प्रकाशमान सिंहको निवास ठमेलमा भएको करीब २ घण्टा लामो छलफलमा  देउवाविरुद्ध कसरी एकताबद्ध भएर अघि बढ्ने भन्ने विषयमा छलफल  केन्द्रीत भएको बताइएको छ । 

सभापति देउवा पार्टी कब्जा गर्ने दिशातर्फ उन्मुख भएको निश्कर्षसहित त्यसविरुद्ध एकताबद्ध भएर अघि बढ्ने विषयमा चार नेता सहमत भएका छन् । 

 बैठकमा वाम गठबन्धन देश कब्जा गर्ने बाटोमा उन्मुख भएको र देउवाचाहिँ पार्टी कब्जा गर्ने बाटोमा लागेको  निष्कर्ष समेत निकालिएको बैठकमा सहभागि एक नेताले रातोपाटीलाई बताए ।  

‘कांग्रेस पदाधिकारी चयन विधिसम्मत गरिएन । न कुनै सहमति नै गरियो ।  पार्टी कब्जागर्ने रणनीति देखियो । यो पार्टीलाई विभाजनतिर लाने खालको भयो ।’ बैठकमा सहभागि ती नेताले रातोपाटीसँग भने, ‘वाम गठबन्धन देश कब्जा गर्न र शेरबहादुर देउवा पार्टी कब्जा गर्न तिर लागे । त्यसविरुद्ध एक भएर अघि बढ्ने निष्कर्ष निकालिएको छ ।’

अब देउवासँग मिलेर जान सक्ने अवस्था नै नरहेको भन्दै उनले देउवाको निरंकुशतावादी प्रबृत्तिविरुद्ध बृहद छलफल गरेर अघि बढ्ने निष्कर्ष निकालिएको पनि उनको भनाई थियो । 

बैठकमा कांग्रेस नेता  रामचन्द्र पौडेलले बारम्बार देउवालाई  मनपरि गर्न सचेत गराउँदा गराउँदै पनि कुनै सुनुवाई नभएको भन्दै उनको कदम घातक भएको बताएका थिए । 

यस्तै नेता अर्जुन नरसिंह केसीले देउवा पार्टी  कब्जाकै बाटोमा उन्मुख भएको भन्दै एकजुट भएर अघिको विकल्प नभएको धारणा राखेका थिए । 

उनले  देउवाको गलत निर्णय रोक्न आफूले हरसम्भव प्रयास गर्दा पनि त्यो सम्भव हुन नसकेको धारणा समेत राखेको बताइएको छ । 

बैठकपछि नेता नविन्द्रराज जोशीले आफूसहित चार नेताबीच समसामयिक विषयमा छलफल भएपनि त्यसलाई सामान्य रुपमा लिनुपर्ने बताए । 

पार्टीको विधानविपरित देउवाले शुक्रबार उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गरेको भन्दै पार्टीभित्र तीब्र असन्तुष्टि बढिरहेको बेला चार शीर्ष नेताबीचको छलफललाई अर्थपूर्ण  रुपमा हेरिएको छ । 
 देउवाको निर्णयको  नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र देउवा पक्षकै कतिपय नेताले समेत असन्तुष्टि जनाउँदै आएका छन् । 

देउवाको निर्णयमा असन्तुष्टि जनाउँदै नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षीय सदस्यहरूले विधान र परम्पराको प्रश्न उठाउँदै शुक्रबारको मनोनयन प्रक्रिया नै बहिष्कार गरेका थिए । 

देउवाले पार्टी विधानको धारा २१ को (घ) र तथा नियमावलीको १२ (१) बमोजिम उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशरण महतलाई मनोनयन गरेका थिए  । 
तर, असन्तुष्ट समूहले विधानअनुरुप महाधिवेशन भएको २ महिनाभित्रै पदाधिकारी मनोनयन गर्नुपर्नेमा  दुई वर्षपछि  त्यो पनि सहमति बिनै गरिएको भन्दै तीब्र असन्तुष्टि जनाउँदै आएका छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप