मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आयोगले मतदाता नामावली संकलन गर्दैै

आइतबार, २५ असार २०७४, १८ : ३४
आइतबार, २५ असार २०७४

काठमाडौं–  २ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन हुन बाँकी रहँदै निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावली संकलन गर्ने योजना बनाएको छ । आयोगले साउन पहिलो साताबाट ५ वटै प्रदेशमा जिल्ला निर्वाचन कार्यालयमार्फत नामावली संकलन गर्ने योजना बनाएको हो । 

आयोगले साउन पहिलो हप्ताबाट अघिल्लो मतदाता नामावली संकलनकाबेला छुटेकाहरुको पुनः नाम संकलन गर्न लागेको हो ।  नेपाली नागरिकताको प्रमाणपत्र  बनाएका र १८ वर्ष उमेर पूरा गरेका नागरिकहरुले जिल्ला निर्वाचन कार्यालय मार्फत आफ्नो नाम दर्ता गर्न पाउने व्यवस्था गर्न लागेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार यसबारे आयोगले छिट्टै औपचारिक निर्णय गर्दैैछ । 

प्रवक्ता शर्माले भने–‘प्रदेशसभा र प्रतिनिधि सभा चुनावको प्रयोजनका लागि मतदाता नामावली संकलन गर्न लागिएको हो । यो स्थानीय तहको चुनावका लागि भने होइन,  यसबारे आयोगले छिट्टै निर्णय गर्दैछ ।’

आयोगले अघिल्लो पटकको जस्तो घर घरमा नामावली संकलन भने नगर्ने भएको छ । छुटेका मतदाता थोरै भएको र आयोगलाई स्थानीय तहमा पुगेर नामावली संकलन गर्न समय लाग्ने भएकोले जिल्ला निर्वाचन कार्यालय मार्फत संकलन गर्ने आयोगको तयारी छ । 

आयोगले २ नम्बर प्रदेशमा पनि प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावली संकलन गर्ने भएको छ । यो प्रदेशमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा भने यसअघि मतदाता नामावलीमा नाम रहेकाहरुले मात्र मतदान गर्न पाउनेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप