आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीन वर्ष वित्दा पनि किन निर्माण सम्पन्न भएनन् सरकारी स्वास्थ्य संस्था ?

सोमबार, २४ वैशाख २०७५, १४ : १०
सोमबार, २४ वैशाख २०७५

काठमाडौ–२०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पबाट भत्किएका सरकारी स्वास्थ्य संस्थाको तथ्यांक मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणमा फरक–फरक रहेको पाइएको छ । 
मन्त्रालयले ५ सय ४४ सरकारी स्वास्थ्य संस्थाहरु भत्किएको जनाएको छ भने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जम्मा ३७९ वटा मात्रै रहेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको पुननिर्माण इकाई शाखाका मुख्य जनस्वास्थ्य अधिकृत रमेश अधिकारीले भुकम्पबाट भत्किएका एउटै सरकारी स्वास्थ्य सस्था पनि निर्माण सम्पन्न नभएको बताएका छन् भने राष्ट्रिय पुननिर्माण प्राधिकरणका उपसचिव तथा सूचना अधिकारी मनोहर घिमिरेले ३७९ वटा स्वास्थ्य संस्थामध्ये ६ वटा निर्माण सम्पन्न भइसकेको बताएका छन् ।

‘१२६ वटा नयाँ बनाउनुपर्ने र २५३ वटा मर्मत गर्नुपर्ने छन् ति मध्ये ६ वटा नयाँ निर्माण भइसकेका छन् भने १२० वटा निर्माण प्रकृयामा गइसकेका छन्’ सुचना अधिकारी घिमिरेले रातोपाटीलाई बताए ।  
यता, मन्त्रालयले भने कहाँ कति सरकारी स्वास्थ्य संस्था निर्माण हुँदैछन् भन्ने समेत स्पष्ट पार्न सकेको छैन ।
जसले गर्दा भूकम्पबाट भत्किएका स्वास्थ्य संस्थाको संरचना निर्माण मन्त्रालयले यो कामलाई प्राथमकितामा नराखेको गुनासो समेत बढ्न थालेको छ । 

अस्थायी काम 
३०५ वटा प्राविधिक भवन निर्माणको काम त सकियो तर त्यो स्थायी भने होईन । प्रमुख अधिकारी भन्छन् ‘कोही टेण्डरमा पर्दैछन् कुनैको प्रकृया हुदैछ ।’ ३७३ अस्थाई संरचनामध्ये ३ सय ५ वटा निर्माण भईसकेका छन् । स्थाई संरचना अहिलेसम्म कुनै पनि निर्माण सम्पन्न भईसकेको छैन ।  अधिकारीका अनुसार २९ वटा स्वास्थ्य संस्था निर्माणको काम भईरहेको छ ।  

यस्तो छ निर्माणको अवस्था 
२९ वटा मध्ये काठमाडौको वीर अस्पताल ,प्रसूतिगृहसहित अन्य ४ जिल्लाका सरकारी स्वास्थ्य संस्थाको निर्माणको काम भैरहेको छ । जापान सरकारको सहयोगमा वीर अस्पतालको भवन पछाडि नयाँ अस्पताल निर्माणको काम भईरहेको छ । जापान सरकारको सहयोगमा निर्माण भईरहेको उक्त भवनमा एक सय वेड राखिने छ । ४० वर्ष देखि वीर अस्पतालको भौतीक पूर्वधार विकासको काम हुन सकेको थिएन । यो भवन अबको अढाई वर्षमा काम सम्पन्न हुने अस्पताल प्रशासनले जनाएको छ ।   

प्रसूति गृह
यस्तै भूकम्पले भत्किएपछि नेपालकै पहिलो प्रसूतिगृहको नयाँ भवन निर्माणको काम भईरहेको छ ।   प्रसूतिगृहको नयाँ भवन ३ तल्लाको रहने छ । जसको लागि जापान सरकारको १ अबर २३ करोड अनुदान रहेको अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतमले रातोपाटीलाई बताए ।

२०७२ वैशाख १२ को महाभूकम्पले अस्पतालको २ सय ७० वेड रहेको भवनमा क्षति पुगेको थियो । हाल निर्माणको क्रम चलिरहेको नयाँ भवनमा भने १ सय ७० वटा वेड मात्रै राखिने छ । जाइकाको सहयोगमा विगत ४ महिनादेखि भवन निर्माणको काम सुरु गरिएको हो । अवको १५ महिना सम्मको निर्माणको काम सम्पन्न गरिसक्ने जनाईएको छ । नयाँ निर्माण भवनमा पहिलाकै भवनमा भएको सुविधालाई निरन्तरताई दिईने निर्देशक गौतमले बताए ।

नयाँ भवनमा आकस्मीक कक्ष, इन्टीनेटल वार्ड (डेलिभरी हुनु भन्दा पहिला विरामी राख्ने ठाँउ),लेवर रुम (बढी जोखिम भएको महिलालाई सुत्केरी गराउने),बर्थिङ सेन्टर ,पोस्ट अपरेटीभ वार्ड,अप्रेशन थ्रिएटर,एन.आई.सि.यू ४० वेड (शिशु वेर्ड),एम.आई.सि.यू १२ वेड (आमाको लागि वेड) ,ब्लड बैंक,फ्याकल्टी रुम,एम.डि लेवलको अध्यय्न पनि सोही भवनमा रहने जनाईएको छ । अस्पतालको नयाँ भवन निर्माण भएपछि अब प्रसूति र स्त्री रोगको विभाग पनि छुट्टै —छुट्टै रहनेछ ।

प्रसूति र स्त्री रोग फरक—फरक विभाग भएपनि भवन अभावको कारण अहिलेसम्म एकै ठाँउबाट सेवा प्रदान गरिएको छ । यि दुई अस्पताल निर्माणका लागि २ अर्ब जापनिज मुद्रा छुट्याईएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको पुन निर्माण ईकाई शाखाले जनाएको छ । 

चार जिल्लामा निर्माण हुँदै 
यस्तै जिल्लागत रुपमा भूकम्पले क्षति भएका जिल्लाहरु गोरखा,रामेछाप,रसुवा र दोलखाको जिरी अस्पताल गरी ४ अस्पताल निर्माणको लागि जर्मन विकास बैँकले सहयोग गरेको छ । यि जिल्ला अस्पतालको भवन निर्माणको लागि १० मिलियन यूरो सहयोग प्राप्त भएको बताइएको छ ।

यस्तै चीन सरकार र नेपाल सरकारबीच सिन्धुपाल्चोकको जिल्ला अस्पताल निर्माण गर्ने बारेमा भर्खरै सम्झौता भएको अधिकारीले बताए ।  सिन्धुपाल्चोकको अस्पताल निर्माण नभएसम्म सेवा संचालनको लागि अमेरिकन संस्था एन.एम.एसको सहयोगमा बनेको भवनबाट सेवा सुरु गरिने  छ ।  
भूकम्पले ११ जिल्लाको स्वास्थ्य संस्थामा धेरै क्षति पुर्याएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप