यी आठ महिना जहाँ देखिए इतिहास रच्ने यस्ता घटनाक्रम
काठमाडौँ । फरक–फरक धारको राजनीतिक अभ्यासबाट उदाएका एमाले र माओवादी केन्द्र अब एउटै पार्टी भएका छन् ।
सात महिना लामो बहस, छलफल र विवादलाई साम्य पार्दै दुई पार्टीबीच एकताको कोर्स टुंगिएको हो ।
पछिल्लो सातमहिनामा यी दुई पार्टीबीच बेला–बेलासहमति र बेलाबेला विवाद भयो, अन्तिममा दुई पार्टीबीच एकता भयो ।
नेपालको इतिहासमा भएका एकताका प्रयास हेर्दा यी दुई पार्टीको छोटो अभ्यासले सम्भव एकता आफैमा सुखद् छ ।
तर निरन्तरता भने चुनौतिपूर्ण छ ।
एकताका लागि जेठ २ मा भएको दुई अध्यक्ष केपी ओली र प्रचण्डबीचको वार्ता निर्यायक तहमा पुग्यो ।
केपी ओलीले प्रधानमन्त्रीको पद समाले पश्चात दुई पार्टीबीच दुरी बढेका घटना बाहिर आएका थिए ।
जसले एकतामा अन्यौलता पैदा गरेको थियो ।
नेपालका कम्युनिष्ट पार्टीको विशेषता ‘फुट’ लाई जोड्दै दुई ठुला कम्युनिष्ट एक हुने ठाँउमा पुगेका हुन् ।
एक अर्काका कट्टर विरोधिका रुपमा चिनिएका दुई पार्टी, आफ्ना मनमुटाव र स्वार्थ तोड्दै एकै धारको राजनीतिमा जोडिन आए ।
पार्टी एकताको लागि असोज १७ को सुरुवात ‘लक्की’ सावित भयो ।
त्यसदिन यता एकताका लागि भएका छलफल शृंखला जेठ २ सम्म आउँदा निर्णायक बने ।
यो बीचमा दुई पार्टीबीच एकताका धेरै प्रयास भए ।
जसले एकता सम्भव तुल्लायो ।
असोज १७ बाट शुरु भएको एकताको कोर्स जेठ ३ मा आएर टुंगियो ।
१७ असोज–चुनावी गठबन्धन र एकता घोषणा
एमाले र माओवादी केन्द्रले गत असोज १७ गते चुनावी गठबन्धन र वाम एकता अभियान घोषणा गरेका थिए ।
त्यो पनि आफैंमा अप्रत्याशित थियो ।
चुनाव गठबन्धन बनाउनेसहितको ६ बुँदे सहमतिमै चुनापछि पार्टी एकताको परिकल्पना गरिएको थियो ।
निकै उत्साहपूर्व सभागृहमा भएको चुनावी गठबन्धन घोषणा कार्यक्रममा दुई अध्यक्ष ओली र प्रचण्ड हसिलो मुद्रामा थिए ।
अन्य नेता कार्यकर्तामा पनि उत्साह थियो ।
त्यहि दिन फरक सैद्धान्तिक धरातलका दुई ठुला कम्युनिष्ट एउटै धारमा आउने प्रतिबद्धता जाहेर गरेका थिए ।
पार्टी एकताको लागि एकता संयोजन समिति गठन पनि त्यसै दिन भएको थियो ।
१८ असोज
गठबन्धन घोषणाको दोस्रो दिन दुई पार्टीबीच चुनावी क्षेत्र र सिट बाँडफाँड गरे ।
६०–४० को अनुपातमा क्षेत्र र सिट बाँडफाँड भयो ।
त्यहिदिन चुनावी घोषणा पत्र मस्यौदा बनाउन समिति गठन भयो ।
२१ कात्तिक– संयुक्त चुनावी घोषणापत्र सार्वजनिक
दुवै पार्टीका शीर्ष नेताको उपस्थितिमा कात्तिक २१ मा संयुक्त घोषणापत्र सार्वजनिक गरे ।
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका थिए ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले घोषणापत्र एमाले र माओवादीको साझा अवधारणा भएको भन्दै कार्यन्वयन गरेरै छाड्ने बताएका थिए ।
प्रचण्डले मुलुकको विकास र स्थायित्वलाई आधार बनाएर घोषणापत्र तयार गरिएको बताएका थिए ।
दुवै अक्ष्यक्षले पार्टीको घोषणापत्र मात्र नभएर राष्ट्रको घोषणापत्र भनेर बुझ्न आग्रह गरेका थिए ।
मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तय भएको थियो ।
दुवै दल स्थिर सरकार बनाउने र पार्टी एकता गर्ने प्रतिबद्धताका साथ निर्वाचनमा होमिए ।
जसअनुसार जनताले वाम गठबन्धनलाई बलियो बहुमत दिए ।
२ पुस –देउवाको राजीनामाको आग्रह
दुवै तहका निर्वाचनको परिणाममा वामगठबन्धनलाई बलियो बहुमत प्राप्त भयो ।
तर, पनि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका थिएनन् ।
एमाले अध्यक्ष समेत रहेका ओली प्रधानमन्त्री हुने निश्चित जस्तो थियो ।
देउवालाई दवाव दिन पनि पुस २ गते संयुक्त पत्रकार सम्मेलन गरेका थिए ।
उक्त कार्यक्रममा दुवै अध्यक्षले देउवाको राजीनामा माग गरेका थिए ।
तर देउवाले फागुन ३ गते राजीनामा दिएका थिए ।
२५ पुस– कार्यदल गठन
प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका परिणामले बाम गठबन्धनलाई बहुमत प्राप्त भयो ।
केन्द्र र ६ वटा प्रदेशमा बाम गठबन्धनको सरकार सजिलै बन्न सक्ने परिणाम थियो ।
राष्ट्रिय सभा, प्रदेश सभा र प्रदेश सरकार लागि कार्यदल गठन भयो ।
१८ माघ – सिट बाँडफाँडका लागि कार्यदलको प्रतिवेदन अनुमोदन
एमाले माओवादी एकता संयोजन समितिको वैठकले राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी कार्यदलको प्रतिवेदन अनुमोदन गरेको थियो ।
ओली निवास बालकोटमा भएको वैठकले सुवास नेम्वाङ नेतृत्वको कार्यदलको राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँड सम्बन्धी प्रतिवेदन अनुमोदन गरेको थियो ।
नेम्वाङ नेतृत्वको कार्यदलले राष्ट्यि सभाका ५६ सिट मध्य ४३ सिटमा गठबन्धनले उमेद्वारी दिने निर्णय गर्दे एमाले २९ माओवादी १४ उमेद्वार उठाउने निर्णय गरेको थियो ।
२ फागुन–एकता संयोजन समितिको वैठक
दुवै पार्टीको आन्तरिक बैठकपछि बसेको एकता संयोजन समिति बैठक चार घण्टा चलेको थियो ।
निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीकोे ललितपुर मानवभवन स्थित घरमा वैठक बसेको थियो ।
त्यसअघि पार्टीको आन्तरिक बैठकमा दुवै पार्टीका अध्यक्षले एकताको मोडालिटीमा जुटेको समझदारीको ब्रिफिङ गरेक थिए ।
दुवै अध्यक्ष सह-अध्यक्ष हुने र आलोपालो सरकारको नेतृत्व गर्ने समझदारीको ब्रिफिङ बैठकमा नेताहरुले गरेका थिए ।
एकता प्रक्रियालाई निष्कर्षमा र्पुयाउन बसेको बैठक सैद्धान्तिक सहमति जुट्न नसक्दा विवादको सुरुवात भएको थियो ।
फागुन ३ –बामगठबन्धनबाट केपी ओली प्रधानमन्त्रीमा नियुक्त
फागुन २ गते ललितपुरको मानभवनमा बसेको एकता संयोजन समितिको बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने सहमति गरेको थियो ।
त्यहि वैठकमा ओली प्रधानमन्त्री बन्ने निर्णय भएको थियो ।
त्यो बैठकमा जवज विवादले माओवादी सरकारमा सामेल नहुने निर्णइ ग¥यो ।
तर, ३ गते माओवादीले ओलीलाई प्रधानमन्त्रीमा सहयोग गर्ने पत्र राष्ट्रपतिलाई दियो ।
ओली त्यसै दिन प्रधानमन्त्रीमा नियुक्त भए ।
तर माओवादी सरकारमा सहभागी भएन ।
फागुन ७ – सातबुँदे सहमति
फागुन ७ को मध्यरातमा भएको निर्णयले एकता हुनेमा बिस्वास पैदा भयो ।
दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे सहमतिमा हस्ताक्षर गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई दलको एकता संयोजक समितिको बैठकले नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको थियो ।
एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र माक्र्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको थियो ।
त्यहिदिन दुईजना अध्यक्ष रहने सहमति भएको थियो ।
एमालेले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने सहमति भएको थियो ।
महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरुको अध्यक्षता दुबै पार्टीका वर्तमान अध्यक्षद्वारा आलोपालो प्रणालीबाट गर्ने साथै सरकारको नेतृत्वमा समेत सोही आलोपालो प्रणाली अपनाउने लगाएतका निर्णय भएका थियो ।
२२ चैत कार्यदलको राजनीतिक र संगठनात्मक प्रतिवेदन संयोजन समितिलाई पेश भएको थियो ।
जेठ २ गते सवै कुरा मिले
ओली र प्रचण्डबीच वान टू वान कुरा भयो ।
यही नै पार्टी एकता गर्ने अनितम सहमति बन्यो ।
त्यसपछि आजको दिन पार्टी एकताका लागि गर्ने कामको कार्यसूचि तय भयो ।
संगठनात्मक भागबन्डाको काम सकियो ।
एमाले स्थायी समिति र माओवादी केन्द्रीय सचिवालयको बैठक बस्यो ।
जेठ ३ गते एकता कोर्स सकियो
विहान मदन दिवस मनाए ।
एमाले–माओवादी पार्टीबीच एकता भयो । बिहीबार अपरान्ह राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा दुवै पार्टी एकीकरण गरी नयाँ ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा गरिएको थियो ।
एकतापछि नयाँ पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ ।
त्यस्तै ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय समिति चयन भएको छ ।
पार्टी एकता घोषणाका लागि बुधबार बिहानैबाट दुवै दलले तीव्र गृहकार्य गरेका थिए ।
‘नेपाल कम्युनिष्ट पार्टी’ ले माक्र्सवाद लेनिनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्ने लगायत विषयमा सहमति भएपछि पार्टी एकता घोषणा गरिएको हो ।
असोज १७ गते सभागृहबाटै पार्टी एकता गर्ने घोषणा गरेका दुई दलले आठ महिनापछि सभागृहबाटै एकताको कोर्स टुंगाए ।