आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले–माओवादी एकतामा काँग्रेसको टिप्पणी : अहंकारको वृक्षमा विनाशको फल लाग्छ

शुक्रबार, ०४ जेठ २०७५, १० : २५
शुक्रबार, ०४ जेठ २०७५

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन हुन नपाउँदै नेपाली काँग्रेसले पार्टी एकता टिकिराख्नेमा आशंका व्यक्त गरेको छ । 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्ता बन्दाभन्दा बढी खतरा सत्ता बनिसकेपछि हुने भन्दै दुई विपरित आन्दोलनका धारबाट आएका पार्टीका नेताबीच भविष्यमा द्वन्द्व भई समस्या निम्तन सक्ने खतरा औँल्याए । 
‘कम्युनिष्ट आन्दोलनका विपरित धारहरुबाट आएका एमाले र माओवादीको बीचमा केन्द्रीय सत्तामा भविष्यमा को हाबी हुने भन्ने मनोविज्ञान रहन सक्छ,’ उनले रातोपाटीसँग भने, ‘पार्टी–पार्टीबीचको विगतको द्वन्द्व अन्त्य भएर एक ठाउँमा उभिँदै गर्दा त्यसले नयाँ ढंगको दम्भ सिर्जना गर्न सक्छ । त्यो लोकतन्त्रका लागि खतरनाक हुन सक्छ कि भन्ने कुरामा उहाँहरु सर्तक हुनुपर्छ ।’

यद्यपी उनले दुई पार्टीको एकताका लागि काँग्रेसले शुभकामना दिने भन्दै एकताले लोकतन्त्रलाई बलियो बनाउने पनि बताए । 

दुई पार्टीको एकताबारे शर्माले दिएको प्रतिक्रिया जस्ताको जस्तैः

स्वाभाविक रुपमा दलहरुको विभाजनले लोकतन्त्रलाई क्षति गर्छ । बलियो दलहरुबीच एकता भयो भने त्यस्ता दलको उपस्थितिले लोकतन्त्रलाई बलियो नै बनाउन मद्दत गर्छ  । त्यस हिसावले नेपाली काँग्रेस पार्टीले कुनै पनि दलको एकतालाई स्वागत गर्छ भने आफ्नो प्रतिस्पर्धामा रहेका मुख्य दलहरुबीचको एकतालाई पनि हामीले स्वागत नै गरेका छौं । यसमा हामीले शुभकामना पनि दिएका छौं । 

पहिलो कुरा, एकता हुँदैगर्दा केहि विषयमा चाहिँ हामीले उहाँहरुलाई सजग गराउने कर्तव्य ठानेका छौँ । प्रतिपक्षीको रुपमा पनि र एउटा पाको राजनीतिक दलको रुपमा पनि हाम्रो सजक गराउने हाम्रो कर्तव्य छ । 

सत्ता बन्दाभन्दा बढी खतरा सत्ता बनिसकेपछि हुन्छ । एमाले र माओवादीको बीचमा एकता हुनुअघिसम्म केन्द्रीय सत्तामा भविष्यमा को हाबी हुने भन्ने मनोविज्ञान थियो र त्यो सत्ता द्वन्द्व थियो । अब त्यो द्वन्द्व अन्त्य भई एक ठाउँमा उभिँदै गर्दा त्यसले नयाँ ढंगको दम्भ सिर्जना गर्न सक्छ । त्यो लोकतन्त्रका लागि खतरनाक हुन सक्छ कि भन्ने कुरामा उहाँहरु सर्तक हुनुपर्छ । 

किनभने महाभारतको लामो ब्याख्याको एक लाइन निश्कर्ष हुन्छ, अहंकारको वृक्षमा विनाशको फल लाग्छ । त्यसकारणले त्यो खालको दम्भ रह्यो भने लोकतन्त्र र उहाँहरु स्वयम्लाई पनि क्षति गर्छ । नेपालको अग्रगतिलाई क्षति गर्छ । 

दोस्रो कुरा, दुई पार्टी  क हुँदै हिँड्ने प्रक्रियाको बाटोका बारेमा उहाँहरुको गम्भीरताको पाटो हो । जस्तो कि प्रचण्ड वा केपी ओलीले राजनीतिका सुरुका दिनमा संसदीय व्यवस्थाको प्रधानमन्त्री हुँला भन्ने कल्पना गर्नुु भएको थिएन । बरु संसदीय व्यवस्थाको पार्थिव शरीरमाथि सर्वहाराको अधिनायकवाद स्थापना गर्ने भन्ने सपना र सपथ लिनुभएको थियो । आज त्योभन्दा विपरित ध्रुवमा गएर उहाँहरुले यसको नेतृत्व गर्दै हुनुहुन्छ । यसकारण परिस्थितिगत बाध्यताको बाटोभन्दा पनि अब उहाँहरुले मनस्थितिगत निष्ठाको बाटो बनाउन सक्ने कुराले यो एकता र लोकतन्त्रको भविष्य छ । 

तेस्रो, उहाँहरुले एकताबद्ध भइसकेपछि नेपालको संविधानमा उल्लेख भएको समाजवादउन्मुख ब्याख्यालाई अमूर्त राख्न हुँदैन । यसको सामूहिक ब्याख्यालाई उहाँहरुले सम्बोधन गर्नुपर्छ । किनभने समाजवाद भन्ने शब्द र अभ्यास कम्युनिष्ट दर्शन अनुसारको संसारमा जाला  । तर, त्यो अभ्यासको सुःखद अनुभव संसारले गरेको छैन । त्यसकारण नेपालको सन्दर्भमा समाजवादउन्मुखको के ब्याख्या हो भन्ने कुराको उहाँहरुको प्रष्टताको विषय अर्को पाटो हो । 

नेपालको राजनीति अगाडि बढ्दै गर्दा नेपालको राष्ट्रियतालाई हेर्ने सन्दर्भमा दुई मित्रराष्ट्रसँग द्वन्द्व या मित्रराष्ट्रसँगको एकता र  सहकार्य एउटा पाटो छ । तर, नेपाली समाजभित्र रहेका अन्तरविरोध हल, हिमाल पहाड तराई र मधेसमा उठेको आजावहरुलाई संविधानको संशोधनको प्रक्रियाबाट संविधानप्रतिको अपनत्वको दायरामा बढाउँदै गर्दा कसरी राष्ट्रियतालाई बलियो बनाउँछ भन्ने सन्दर्भमा उहाँहरुको प्रष्टता र एकताबद्धता अहिलेको सन्दर्भमा जरुरी छ  । 

किनभने तत्कालिन एमालेले काँग्रेसको नेतृत्वमा आएको संशोधन प्रस्तावलाई राष्ट्रघात भनेको थियो । माओवादी पार्टीले त्यो संशोधन प्रस्ताव आवश्यक भनेको थियो । आज वहाँहरु एक ठाउँमा हुनुहुन्छ । त्यो प्रस्तावलाई कसरी लिनुहुन्छ, त्यसले नेपालको आन्तरिक राष्ट्रवादलाई बलियो बनाउन भूमिका खेल्छ । 

उहाँहरुले भन्दै आएको समृद्धिको बाटोमा पनि प्रष्टताको जरुरी हुन्छ ।  विगतमा नेपाली काँग्रेसले लिएको अर्थनीति गलत छ भन्दै चुनावमा भन्ने अनि सरकारमा जाँदा त्यही अर्थनीति सही ठान्नु हुन्छ । यसमा पनि उहाँहरुको प्रष्टता जरुरी हुन्छ । 

उहाँहरुले माक्र्सवाद, लेनिनवाद, माओवाद मार्गदर्शक सिद्धान्त ठान्दै गर्दा जनताको बहुदलीय जनवाद प्रतिपादन गर्नुभएका मदन भण्डारीको सिद्दान्तलाई खोपाको भीमसेन जस्तो गरेर अगाडि जाने क्रममा लागेजस्तो  देखिन्छ । हुन त यो उहाँहरुको घरेलु मामिला हो, तर यही सबालले एकतालाई दुर्घटनामा पुर्याउन सक्छ  ।

एकतालाई हामीले शुभकामना दिइरहँदा उहाँहरुको अन्तरविरोधहरुको कारण भविष्यमा कुनै दुर्घटनामा नपर्नुहोस्, हामी त्यो पनि शुभकामना दिन्छौं । उहाँहरुको एकताबाट नेपालको लोकतान्त्रिक रुपान्तरणको बाटो संसदीय प्रक्रियाको बाटो हो भन्ने प्रभावचाहिँ संसदीय प्रक्रिया भन्दा बाहिर रहेका अन्य कम्युनिष्ट दलहरुलाई पनि पर्न सकोस्  ।सो सम्बन्धमा समन्वय गर्न सकून भन्ने सन्दर्भमा पनि हामी शुभकामना दिन्छौं । 

एकताले काँग्रेसलाई सकारात्मक प्रभाव पर्छ । कम्युनिष्टहरुले सार्वजनिक रुपमा विभिन्न आश्वासन दिनुभएको छ । नागरिकले त्यो आकांक्षा पूरा भएको हेर्न चाहने हुँदा त्यो उहाँहरुको लागि चुनौतिको विषय हुन्छ । जतिबेला उहाँहरु ती सपना पूरा गर्नबाट चुक्नुहुन्छ त्यस्तो अवस्थामा स्वाभाविक त काँग्रेसको अभावको महसुश जनतालाई हुने नै छ । 

एमाले र माओवादी मिले भन्दै गर्दा स्वाभाविक रुपमा काँग्रेस र एकीकृत पार्टीबीच एकल प्रतिस्पर्धा हुने हुँदा त्यसको नतिजा निकट भविष्यमा देखिनै नै छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप