मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

१५ नेतालाई मन पर्ने गायिका

शुक्रबार, ०४ जेठ २०७५, १० : ४४
शुक्रबार, ०४ जेठ २०७५

गीत–संगीत मन नपराउने मानिस सायदै भेटिएलान् । भनिन्छ, ‘संगीत मानिसको निस्सा नै हो । संगीतले पशुपक्षीलाई समेत मन्त्रमुग्ध बनाउँछ ।’ तसर्थ, मानिसको मन नपग्लने कुरै भएन । त्यसो भए हाम्रा नेतालाई को–कसको आवाजले मन्त्रमुग्ध बनाएको होला ?

सूचना तथा सञ्चारमन्त्री र वन तथा भूसंरक्षणमन्त्रीको भूमिका निर्वाह गरिसकेका माओवादी केन्द्र नेता अग्नि सापकोटा भन्छन्, ‘अञ्जु पन्तको आवाज श्रवणीय लाग्छ ।’ त्यसो भन्दैमा अन्य गायिकाको आवाज मन नपर्ने भनेकोचाहिँ होइन ।

संघीय समाजवादी फोरम नेपाल वरिष्ठ नेता अशोक राईलाई समेत गायिकामा अञ्जु पन्तको आवाज कर्णप्रिय लाग्छ । रंगमञ्चको नभए पनि म ‘बाथरुम सिंगर’ हुँ भन्ने नेता राईले भने, ‘कुन्ति मोक्तानको आवाज पनि त्यत्तिकै मन पर्छ । पन्त र मोक्तानको गीत विशेष सुन्छु । सुन्दै आएको छु ।’ 

त्यसो त कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ लाई कसको आवाज कर्णप्रिय लाग्ला ? प्रतिउत्तरमा कृषिमन्त्री खनालले भनिहाले, ‘लतामंगेशकरको आवाज सुमधुर लाग्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी नेता दिलनाथ गिरीलाई समेत गायिका लतामंगेशकर नै मन पर्दोरहेछ । मन्त्रीको भूमिकासमेत निर्वाह गरिसकेका गिरीले थपे, ‘मलाई स्वदेशी गायिकामा तारादेवीको आवाजले छुन्छ । तान्छ ।’ 

पूर्वखानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीलाई समेत गायिका तारादेवीको आवाज असाध्यै मन पर्छ । पूर्वमन्त्री शाहीले सुनाए, ‘अरुणा लामाका गीत झन् बेजोड छन् । सुनुँसुनुँ लागिरहन्छ ।’

धेरैजसो नेताले गायिका अञ्जु पन्तका नाम लिएका थिए् । माओवादी केन्द्र नेता लीलामणि पोखरेललाई समेत गायिका पन्त पनि मन पर्छ । नेता पोखरेलको भनाइ छ, ‘पन्तको आवाजमा ‘थ्रिलिङ भ्वाइस’ छ ।’ तारादेवीको आवाज त्यत्तिकै दमदार रहेको उनको भनाइ छ । 

पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले समेत गायिकाद्वय तारादेवी र अञ्जु पन्तको गायन क्षमताको प्रशंसा गरेकी थिइन् । प्रायः नेता गायिका पन्तको आवाजको फ्यान रहेछन् । तपाईंलाई मन पर्ने गायिका को हुन् ? भन्नासाथ अञ्जु पन्त भनिहाल्छन् । 

पूर्वउद्योगमन्त्री सुनील थापालाई तारादेवीको आवाज प्रिय लाग्छ । पूर्वमन्त्री थापा गीतकारसमेत हुन् । 

१ नम्बर प्रदेश मुख्यमन्त्री शेरधन राईलाई कुन्ती मोक्तान र मिलन अमात्यको आवाज विशेष लाग्छ । मुख्यमन्त्री राईले भने, ‘म आफैं पनि गुनगुनाउँछु । गीत गाउनैपर्ने भयो भने हात उठाउँदिनँ ।’ 

मसाल महामन्त्री मोहनविक्रम सिंहले गीत–संगीत सुन्लान् ? गायिका कुन्ति मोक्तानको नाम लिएपछि मसाल महामन्त्री सिंहले गीत–संगीत सुन्दैनन् भन्न सकिँदैन । नेता सिंहका अनुसार, गायिका मोक्तानको आवाजमा जादु छ ।

सन् १९७० देखि ८० सम्म भारतमा रहँदा नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छे गीत–संगीत सुनेका थिए । ‘भारतमा रहँदा उषा मंगेशकरले गाएको नेपाली गीत सुनाउँदा बंगालीले ऊ त बंगाली हुन् भने,’ नेमकिपा अध्यक्ष बिजुक्छेले अतीत सम्झे, ‘कसरी नेपाली गाइन् भन्दा हामी दुवै हाँसेका थियौं ।’

सांसद सुदन किराती फुर्सदको समय सदुपयोग गर्न गीत–संगीत सुन्छन् । सांसद किरातीलाई अरुणा लामाका गीत सुनिरहुँजस्तो लाग्छ ।

सांसद अञ्जना विशंखेलाई अञ्जु पन्त र नेहा ककर (भारतीय गायिका) को आवाजले मन्त्रमुग्ध बनाएको छ । त्यही भएर पन्त र ककरलाई सुन्दै आएकी छन् । 

सांसद नवीना लामालाई भने गायिका कोमल वली र सुनिता दुलाल मन पर्छ । गाउन नआए पनि सांसद लामा कहिलेकाहीं गुनगुनाउने गर्छिन् ।

आफूलाई बाथरुम सिंगर भनेर चिनाउने पूर्वसांसद डा. खिमलाल देवकोटालाई भने आशाभोसलेको आवाज बेजोड लाग्छ । पूर्वसांसद डा. देवकोटाको बुझाइ छ, ‘नेपालीमा तारादेवीको आवाज मन नपराउने को होलान् र ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप