अभिनेता दयाहाङ राईको जीवन : चार वर्ष भयो घरमा टेलिभिजन नभएको
चलचित्र ‘कान्छी’ को गीत सार्वजनिक कार्यक्रममा अभिनेता नीर शाहले भने, ‘दयाहाङ राईजस्ता अभिनेता ५० वर्षमा एकपटक जन्मन्छन् ।’
अभिनेता दयाहाङ राईले प्रतिउत्तर दिए, ‘मेरो मूल्यांकन यसरी पनि गरिएको रहेछ । अभिनेता शाहको मूल्यांकनले भावुक बनाएको छ ।’
अभिनेता नीर शाहले समेत पत्याएका राई नेपाली दर्शकले सर्वाधिक रुचाएका अभिनेता हुन् । रंगमञ्च र सिनेमा दुवैमा त्यत्तिकै जमेका छन् । मानिस अनुशासित होऊन् । जोकोही नेपालीले म ‘क्लीन’ छु भनेर
शिर ठाडो पारेर गौरवसाथ हिँड्न सकून् । मुलुक प्राकृतिक र सामाजिक सुन्दरताले भरिपूर्ण छ । यसलाई सजाउनमात्रै सके देशको मुहार फेरिन्थ्यो भन्ने अभिनेता दयाहाङ राईसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
सामान्यतः दालभात, तरकारी र ‘पोर्क’ मन पर्छ । त्यसो भन्दा अन्य खानेकुरा खान्न भनेको होइन । खाजा खान रेष्टुरेन्ट पुग्छु । घरमा रहँदा बिहान खाजा खाने चलन छैन । बिहान खाना खान्छु । रेष्टुरेन्ट पुगिहाल्दा मःमः, चाउमिन मगाउँछु । पकाउन पटक्कै जान्दिनँ ।
मेरो पोसाक
आफूलाई जे सजिलो लाग्छ, त्यही लगाउँछु । जिन्स पाइन्ट र टी–सर्ट लगाउन सजिलो लाग्छ । कपडामा वार्षिक खर्च यति नै हुन्छ भनेर हिसाब–किताब राखेको छैन । मान्छेको काम, सोच परिवर्तन हुँदै गएपछि कपडाको रङ पनि फरक–फरक मन पर्दै जाँदोरहेछ । प्रायः रेडिमेड कपडा लगाउँछु । कपडाको ब्रान्डबारे त्यति जानकार छुइनँ । हिजोआज पनि क्याप लगाउँछु ।
मेरो फिटनेस
शारीरिक कसरत गर्न मानसिक रूपमा समेत फुर्सद हुनुपर्छ । म ८० प्रतिशत शारीरिक कसरत गर्दिनँ । कहिलेकाहीं १० बजेसम्म पनि काम पर्छ । कामले लखतरान बनाउँछ । समय पाउँदा दौडिन्छु । योगासमेत गर्छु । डाइटिङ छैन । चलचित्र छायांकनका बेला तौल घटाउनुपरे खाना कम खान्छु । रोटी र फलफूल धेरै खाने गर्छु ।
मेरो अध्ययन
हिजोआज ‘काठमाडौंमा एक दिन’ पढिरहेको छु । पहिले–पहिले फिक्सन पढ्न मन पथ्र्यो । हिजोआज ननफिक्सन पढ्न जाँगर चलिरहेको छ । अहिले लेखिरहेका सबै लेखक मन पर्छन् । अग्रजदेखि समकालीन लेखकसँग बाक्लै भेटघाट हुन्छ । उनीहरूको आनीबानी पनि मन पर्छ । लेख्ने बानी छुट्दै गएको छ । वर्ष दिनअघिसम्म नाटकका लागि गीत लेख्थें । मेरो संकलनमा तीन हजारजति किताब होलान् । लेखक, प्रकाशकले उपहारस्वरूप किताब दिन्छन् । र पनि, सालिन्दा २०÷२५ हजार रुपैयाँको किताब किन्ने गरेको छु ।
मेरो घुमफिर
घुमफिरमा रुचि भएकै मानिस हुँ । घुमफिर पनि गरेको छु । जति घुमेको छु, कामकै सिलसिलामा घुमेको छु । घुम्नकै लागि भनेर निस्केको छैन । जहाँ–जहाँ पुगेको छु, कामकै सन्दर्भमा पुगेको हुँ । स्वतन्त्र तरिकाले घुमेको छैन । नेपालका ४० जिल्ला पुगेको छु । कतिपय जिल्ला दोहोरिएका छन् । युरोपका चार देश गएको थिएँ । एसियामा जापान, कोरिया, हङकङ, मलेसिया, बेलायत र अस्ट्रेलिया पुगेको छु ।
मेरो फुर्सद
फुर्सद निकाल्न गाह्रै हुन्छ । नाटक र चलचित्र दुवैमा समय दिँदै आएको छु । एउटा न एउटा कामले समातेकै हुन्छ । एकप्रकारको दौडधुप छ । दौडधुप भएपछि थकाइ लाग्ने नै भयो । थकाइ लागेपछि आराम गर्नैपर्यो ।
मुलुकबाहिर रहँदा सम्बन्धित देशको सिमकार्ड लिने गरेको छैन । त्यतिबेला मज्जाले आराम गर्छु । फुर्सद हुँदा एक्लै भए किताब पढ्छु । चलचित्र हेर्छु । साथीभाइसँग भेटघाट गर्छु । परिवारलाई भनेजस्तो समय दिन सकेको छैन । दिने प्रयास गर्छु । परिवारसहित घुम्न, चलचित्र हेर्न नगए पनि खानचाहिँ कहिलेकाहीं गइन्छ ।
मेरो खेलकुद
मलाई फुटबल मन पर्छ । फुटबल सजिलै बुझ्न सकिन्छ । १५ वर्षको हुँदासम्म फुटबल खेलेको थिएँ ।
मेरो मोबाइल
आइफोन सिक्स एस प्रयोग गर्दै आएको छु । यसको ९० हजारजति परेको थियो । मोबाइल फेरी–फेरी बोक्ने बानी छैन । मोबाइलका एप्लिकेसनमध्ये सामाजिक सञ्जाल फेसबुक, गुगल, ट्वीटर प्रयोग गर्छु । कहिलेकाहीं गेम खेल्छु ।
मेरो टेलिभिजन
कोठामा टीभी नभएको चार वर्ष भयो । त्यतिबेला कोठा सर्दै थिएँ । कोठाअनुसारको नयाँ टीभी किन्न बजार गएँ । तर, किनिनँ । त्यसपछि नकिनेको नकिनेकै भयो । टीभी हुँदा समाचार हेर्थें । रियालिटी शो पनि हेरें । डेक लगाएर चलचित्र हेर्न पछि परिनँ ।
मेरो चलचित्र
पछिल्लोपटक भारतको कालेम्पोङमा चलचित्र ‘एभेन्जर’ हेरें । पहिले–पहिले चलचित्र धेरै हेर्थें । दैनिक दुई चलचित्र हेरिन्थ्यो । पछिल्लो समय कम हेर्छु । पुराना ‘एक्टर’ मा डेनियल डेलिस, इरफान खान, नसुरद्दीन मन पर्छ भने सौगात, खगेन्द्र र विपिन पनि त्यत्तिकै मन पर्छ । गोङ्लीको अभिनय लोभलाग्दो छ । कल्की पनि मन पर्छ ।
मेरो स्वास्थ्य
स्वस्थ छु । दीर्घरोगले समातेको छैन । अहिलेसम्म ६ पटक ‘होलबडी चेकअप’ गराएको छु । रक्तचाप ठीकठाक छ । स्वस्थ रहन पूर्ण रूपमा आराम गर्नुपर्छ । जेसुकै खाए पनि एउटै समय हुनुपर्छ ।
मेरो भाषणशैली
अभिनेता भएपछि भाषण गर्नैपर्छ । भाषण गर्दा विषयवस्तुमा केन्द्रित हुन गाह्रो हुन्छजस्तो लाग्छ । आफ्नो भोगाइ एकातिर, ‘मास’ अर्कोतिर हुँदारहेछन् । उनीहरू मेरो ‘क्यारेक्टर’ बारे जान्न चाहँदारहेछन् । त्यतिबेला ‘मास कन्ट्रोल’ गर्न सक्दिनँ । भाषण गर्दा नजानिदोपाराले थेगो प्रयोग गर्ने गर्छु । अहिलेसम्म आक्रामक भाषण गरेको छैन । भाषण गरेकै आधारमा विवादमा नतानिए पनि भन्न खोजेको प्रस्ट्याउन नसक्दो श्रोतालाई भ्रम हुँदोरहेछ ।
मेरो मापसे
महिना, दुई महिनाको अन्तरालमा मादक पदार्थ खान्छु । खाँदा राम्रै खाइन्छ । ह्वीस्की खान मन पर्छ । दसैं तिहारबाहेक घर र मण्डला थिएटरबाहिर मादक पदार्थ खान मन पर्दैन ।
मेरो संगीत
पछिल्लो समय गीत–संगीत सुन्न कम हुँदै गएको छ । ‘मेलोडी’ ले तान्छ । ‘सिङगिङ’ पनि ठीक लाग्छ । नेपाली संगीत कमजोर बन्दै गएकोचाहिँ एरेन्जले हो । सधैं त्यही मादल, बाँसुरी, गितार, भ्वाइलिन आदिमात्रै दोहोरिन थाल्यो । दीप श्रेष्ठका गीत मन पर्छ । राजेशपायल राईको रेकर्डिङभन्दा लाइभ गाएको मन पर्छ । समकालीन गायिका सबै मन पर्छ । गुनगुनाउने प्रयास गरे पनि जान्दिनँ ।
मेरो भूल
मानिस भएपछि जान–अन्जानमा जोकोहीबाट गल्ती हुन्छ । त्यो अस्वाभाविक होइन । मैले क्षमा नै नपाउनेगरी गल्तीचाहिँ गरेको छैन । यति हो, बाध्यताले कसैलाई ढाँटेको छु । मैले जसलाई ढाँटे उसलाई वास्तविकता सुनाएको छु ।
म कक्षा आठमा पढ्थें । सहपाठीहरू शिक्षकका छोराछोरी थिए । मेरो बडा पनि शिक्षक थिए । हामीले एक दिन सलाई किन्यौं । सलाई किन किन्यौं त्यो पनि थाहा छैन । सलाई किनेपछि बाल्यौं । सलाई बाल्दाबाल्दै पात बेरेर चुरोट खाएको नक्कल गर्यौं । त्यस्तो दृश्य देखेपछि शिक्षकले पिटेका थिए ।
मेरो साथीको महाँकाल तीनचुलीमा फोटो स्टुडियो थियो । फुर्सदमा त्यता जान्थें । मलाई फोटोग्राफी मन पथ्र्यो । स्टुडियोबाट फर्कंदा हट लेमन खान मन लाग्यो । एक कफीसप पसें । त्यति नै बेला कफीसपमा भएका सबैलाई प्रहरीले उठाएर लग्यो । संकटकाल थियो । सुरक्षाकर्मीले घर कहाँ हो ? कहाँ बस्छस् भनेर मलाई सोधे । मैले नढाँटी उत्तर दिएँ । म तँलाई अहिले नै प्रहरी भ्यानमा बुद्धनगर पुर्याइदिन्छु, फर्कंदा भ्यानमा केही भयो भने तेरो जिम्मा भने । जोखिम लिन सक्दिनँ भनेर जवाफ फर्काएँ ।
सुरक्षाकर्मीले मेरो गोजी छाम्यो । साथमा २५ वा ३५ रुपैयाँ थियो । तेरो आफन्त बोला भनेर सुरक्षाकर्मीले फेरि धम्क्याए । मलाई समात्नुका कारण भनेपछि मात्रै आफन्त बोलाउँछु भनें । तँ अहिले जा, मैले कल गरेको पाँच मिनेटमा आइज भन्दा मलाई आधा घन्टा समय दिनुभयो भनेमात्रै आइपुग्छु भन्दिएँ । त्यसपछि म एकरात बौद्ध प्रहरीमा बसें । हामीलाई किन प्रहरी हिरासतमा राखियो भनेर आजसम्म थाहा पाउन सकेको छैन ।
मेरो घर
म जन्मेको घर छैन । हुर्केको घर जिजुबुवाले बनाएका हुन् । संवत् १९८१ मा बनाइएको घर अहिले पनि छँदै छ । घर इँटाले बनाइएको छ । झ्याल बुट्टेदार छन् । भक्तपुरबाट कर्मी लगेर घर बनाइएको थियो ।
मेरो राशी
मेरो राशी मीन हो । ग्रहदशा हेराउँदिनँ । हेराएपछि अनेक कुरा आउँछ । नराम्रो छ भन्दिए तनावमा परिन्छ । ग्रहशान्ति भन्दा पनि कहिलेकाहीं चिन्ता बस्ने चलन छ । नाक्छोङले यस्तो–यस्तो समस्या छ भन्दिएपछि चिन्ता बसाइन्छ ।
मेरो सौन्दर्य
कपालमा क्रिम लगाउँछु । अहिलेसम्म दुईपटक फेसियल गरेको छु । अनुहारमा नर्मल क्रिम लगाउँछु । पफ्र्युम हल्का प्रयोग गर्छु ।
मेरो प्रेम
हाम्रो बिहे प्रेमपछि मागी हो । प्रेम प्रस्ताव मैले राखेको हुँ । प्रस्ताव राखेको पाँच घन्टापछि स्वीकार भयो । बेनुका राईसँग बिहे गर्नअघि मैले कसैलाई एकतर्फी मन पराएको थिएँ ।
मेरो सपना
मानिस अनुशासित होऊन् । जोकोही नेपालीले म ‘क्लीन’ छु भनेर शिर ठाडो पारेर गौरवसाथ हिँड्न सकून् । मुलुक प्राकृतिक र सामाजिक सुन्दरताले भरिपूर्ण छ । यसलाई सजाउनमात्रै सके देशको मुहार फेरिन्थ्यो । हिजो त्यत्रो सपना देखेको थिएँ, न आज देखेको छु । अहिले आफूले गरेको भन्दा राम्रो गर्न पाए हुन्थ्यो भन्ने लोभ छ ।
मेरो मृत्यु
मानिस जन्मेपछि मर्नुपर्छ । यो अकाट्य छ । जन्मेपछि मर्नु भनेको विश्राम लिनु हो । मृत्युसँग डर लाग्छ । पूरा आयु बाँच्न पाए हुन्थ्यो भन्नु पनि त मृत्युसँग डराउनु नै हो । १२ वर्षको उमेरमा बिरामी हुँदा तीन महिना बेहोश भएको थिएँ रे । मृत्यु सहज होस् भन्ने चाहना राख्नु अस्वाभाविक होइन ।