बाबुरामलाई दोस्रो धोका भएकै हो त ?
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको केही दिन अगाडि ओली र प्रचण्डबीच देखिने गरी खटपट भएको थियो । यतिसम्म कि प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत प्रचण्डलाई लक्षित गर्दै आफ्नो असन्तुष्टि बाहिर ल्याएका थिए भने प्रचण्डले सीमित सञ्चारकर्मीमाझ असन्तुष्टि सुनाएका थिए ।
यो मोदीको भ्रमणभन्दा दुई चार दिन अगाडिसम्म ओली–प्रचण्डबीच दूरी बढेको संकेत थियो । यतिसम्म कि राजनीतिक वृतमा एकता भाँडिएको चर्चा पनि हुन थालेको थियो ।
ठीक त्यहीँ बेला नेपाली राजनीतिमा अरु संवाद चाहिँ बाक्ला भएका थिए ।
बालुवाटार र खुमलटारमा बाबुरामको दौडधूप
एमाले–माओवादी पार्टीको जेठ ३ मा भएको एकता अगाडि प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईसँग पालैपालो संवादमा थिए ।
बाबुराम कहिले ओलीसँग संवादका लागि बालुवाटार पुग्थे, कहिले प्रचण्डसँग कुरा गर्न खुमलटार ।
बाबुरामले ओली र प्रचण्डसँग भएको भेटवारे नयाँ शक्तिले विज्ञप्ति निकालेर नै जानकारी गराएको थियो । वैशाख २३ गते नयाँ शक्तिले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘राजनीति एक गतिशील प्रक्रिया हो । राजनीतिक दल र नेतृत्वबीच भेटघाट र छलफल हुनु स्वभाविक कुरा नै हो । यसबीच नयाँ शक्ति पार्टीकै पहल कदमीमा विभिन्न पक्षहरुसँग छलफल र भेटघाट भएको हो । तर त्यसको उद्देश्य बृहत्तर राजनीतिक परिदृष्यमा राष्ट्रिय राजनीतिको भावी कार्यदिशालाई निर्धारण गर्न एकअर्कालाई मद्दत गर्नु थियो ।’
ओली र प्रचण्ड दुवैको पहिलो प्राथमिकता एमाले–माओवादी एकतामै थियो ।
बाबुरामसँग ओली र प्रचण्डको संवाद चाहिँ दोस्रो विकल्प खुल्लै राख्ने ‘रणनीतिक’ पहल थियो ।
संघीय समाजवादी फोरम र नयाँ शक्तिलाई आफ्नो पक्षमा पार्न ओली र प्रचण्डको आ–आफ्नो कसरत थियो । यसको पनि आफ्नै कारण छ ।
नयाँ शक्तिका एक नेताको अनुसार ओली र प्रचण्डले एमाले–माओवादी एकता नहुँदाको अवस्थामा नयाँ शक्ति र फोरमलाई आफू नजिक राख्ने योजना अनुसार विकल्पमा संवाद गरेका थिए । अवस्था यस्तोसम्म थियो कि, ओली र प्रचण्डले बाबुराम र उपेन्द्रको हतियार देखाएर एक–अर्कालाई गलाउन चाहन्थे ।
प्रचण्डको चाहना बाबुरामलाई माओवादीमै भित्र्याउने थियो ।
ओली संघीय समाजवादी फोरम र नयाँ शक्तिलाई ‘कन्भिन्स’ पार्न सके माओवादीसँग बार्गेनिङ गर्न सजिलो हुन्छ भन्नेमा थिए ।
त्यसैले ओली र प्रचण्डबीच खटपट हुँदा बाबुराम र उपेन्द्रले पालैपालो ओली र प्रचण्डलाई भेट्थे ।
बैशाख तेस्रो साता बाबुराम र उपेन्द्रको बालुवाटार र खुमलटार आउजाउ बाक्लो भएको थियो ।
बाबुराम र उपेन्द्र सैद्धान्तिक रुपमा तत्कालिन दुई पार्टी एमाले वा माओवादी मध्ये जसले सहमति जनाउँछ उसैसँग मोर्चा बनाएर अघि बढ्ने सोचमा थिए ।
यसैका लागि ओली र प्रचण्डसँग बाबुरामको संवाद भएको नयाँ शक्ति पार्टीका नेता गंगा श्रेष्ठले बताए ।
तत्काल मोर्चा बनाउने र पछि पार्टी एकता गर्ने गरी संवाद अघि बढेको थियो । तर, अन्तिममा ओली र प्रचण्डले धोका दिएको नयाँ शक्तिका नेताहरुको दाबी छ ।
त्यसबीचमा मोदीको भ्रमण सकियो ।
फेरि राजनीतिमा नाटकीय मोड देखियो ।
प्रचण्डले बाबुराम र उपेन्द्रसँग संवाद गरिरहेका बेला प्रधानमन्त्री ओलीले प्रचण्डसँग फेरि संवाद अगाडि बढाए ।
मोदी फर्केको अर्कोदिन ओली र प्रचण्डबीच लामो संवाद भयो ।
त्यसपछि फेरि उनीहरुबीच जेठ २ मा निर्णायक संवाद भयो, जसले त्यसको अर्कोदिन अर्थात जेठ ३ गते पार्टी एकता गर्ने निर्णय गर्यो ।
त्यसपछि प्रचण्डले बाबुराम र उपेन्द्रसँग गरेको संवादमा पनि ब्रेक लाग्यो । बाबुरामसँगको कुराकानीले पनि निरन्तरता पाउन सकेन ।
प्रचण्ड–बाबुराम संवादबारे बुझेका तत्कालीन माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल भन्छन्, ‘प्रचण्ड–बाबुरामबीच एकता वा मोर्चा निर्माणबारे संवाद भएको थियो । तर, निचोडमा पुग्न सकेको थिएन ।’
नयाँ शक्तिले पनि बैशाख २३ गते जारी गरेको विज्ञप्तिमा मोर्चा निर्माणबारे भनेको थियो, ‘मुद्दा वा एजेण्डा मिल्नेहरुसँग कार्यगत एकता, सहकार्य गर्ने र विचार, लक्ष्य, नीति, कार्यक्रम, शैली मिल्नेसँग एकता, ध्रुवीकरण गर्ने नयॉ शक्ति पार्टी, नेपालको स्पष्ट र घोषित नीति रहेको कुरा हामी पुनः जोड दिन चाहन्छौं ।’
प्रचण्डसँगै ओलीसँग पनि बाक्लो संवादमा थिए बाबुराम
बैशाख पहिलो साता बाबुरामले परिवारसहित भारतको धार्मिक भ्रमण गरे । उनी चैत्र ३० गते भारत गएर वैशाख १० गते फर्केका थिए ।
उनी त्यहाँबाट फर्केपछि प्रधानमन्त्री ओलीलाई भेटे ।
हुन त त्यो भेट पहिलो थिएन । त्यसअघि पनि बाबुरामले प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए ।
बाबुराम भारतबाट फर्केपछि ओलीले नै भेट्न बोलाएको नयाँ शक्तिका एक नेताको दाबी छ । उनका अनुसार यसबेलासम्म प्रधानमन्त्री ओलीले बाबुरामलाई राम्रै ‘रेस्पोन्स’ गरेका थिए ।
स्रोतका अनुसार त्यसबेलाको भेटमा प्रधानमन्त्री ओलीले बाबुरामसमक्ष तीन प्रस्ताव अगाडि सारेका थिए ।
पहिलो विकल्प–एमालेमा प्रवेश गर्ने भन्ने थियो ।
दोस्रो विकल्प–माओवादीमा प्रवेश गर्ने थियो ।
र, तेस्रो विकल्प–पार्टी एकता संयोजन समितिमा सहभागी हुने ।
ओलीले बाबुरामसँग भेट गरेको सूचना प्रचण्डले पाए ।
त्यसपछि उनले बाबुरामलाई बोलाए संवाद शुरु गरे ।
त्यसपछि लगातार प्रचण्डले दुई–तीन दिन बाबुराम र उपेन्द्रसँग भेट गरे ।
प्रचण्ड ‘बाबुरामलाई सिधै एमालेकहाँ जान दिनुहुँदैन’ भन्नेमा थिए ।
बाबुराम पनि एमालमा भन्दा माओवादीमै बढी रेस्पोन्स पाउने आशामा थिए ।
त्यसैले उनले पनि प्रचण्डसँग संवाद अगाडि बढाए ।
माओवादीसँग एकता नभए जुनसुकै बेला पनि आफ्नो नेतृत्वको सरकार खतरामा पर्न सक्ने सजिलो हिसाबमा प्रधानमन्त्री ओली थिए ।
‘त्यसैले उनले संसदको बहुमत संख्या १३८ बनाइराख्ने सूत्रका रुपमा नयाँ शक्ति र फोरम नेपालसँग दोस्रो विकल्पका रुपमा संवाद अगाडि बढाएका थिए,’ नयाँ शक्ति निकट स्रोत भन्छ ।
ओली र प्रचण्ड दुवैले बाबुराम र उपेन्द्रसँग ‘रणनीतिक’ रुपमै संवाद गरेका थिए ।
जब ओली र प्रचण्ड एक ठाउँ भए ।
बाबुराम र उपेन्द्रसँगको संवादको कडी पनि टुट्यो ।
प्रचण्डको चाहना एकता
नयाँ शक्तिका केही नेताहरु माओवादीसँगै एकता गर्ने सोचमा थिए ।
त्यहिअनुसार उनीहरु प्रचण्ड र बाबुरामलाई कन्भिन्स पार्नमा व्यस्त थिए ।
यसमा माओवादीका केही नेताले सहजीकरण गर्दे थिए ।
बाबुरामका अगाडि केही नैतिक प्रश्न उठ्यो ।
प्रचण्ड–बाबुरामबीचको संवाद नजिकबाट हेरेका नयाँ शक्तिका एक नेताका अनुसार ‘तत्काल माओवादीसँग एकता गर्दा के भनेर फर्किने ? माओवादीमा फर्किँदा जवाफ के दिने ?’ भन्ने भय बाबुरामलाई थियो ।
सिधै एकता भन्यो भने अहिलेसम्मको साख गुम्ने डर बाबुरामलाई थियो ।
तर, प्रचण्डले ‘तत्काल एकता गर्ने गरी फर्केनुस्’ भन्ने प्रस्ताव गरेका थिए ।
त्यसपछि बाबुरामले नयाँ विकल्प अगाडि सारे ।
सिधै माओवादीमा फर्किदा दिने जवाफ नहुँदा फोरमलाई कन्भिन्स पारेर फोरमसहित तत्काल मोर्चा बनाएर जाने सोचमा थिए बाबुराम ।
त्यहि अुनरुप दुवै तिरका संवाद बाक्लिएको थियो ।
भेटघाट र संवाद चलिरहेकै थियो ।
तर, निष्कर्षमा भने पुगिसकेका थिएनन् ।
ओली र प्रचण्ड नयाँ शक्ति र फोरमलाई फकाउनमै व्यस्त थिए ।
यो हतियारमार्फत् एक अर्कालाई दबाबमा राख्न खोजेको देखिन्थ्यो ओली र प्रचण्डले ।
विकल्पमा राखेको बाबुरामको गुनासो
एमाले–माओवादी एकता प्रक्रियामा समस्या आएपछि दोस्रो विकल्पको रुपमा फोरम र नयाँ शक्तिसँग संवाद बढाएका थिए ओली र प्रचण्डले । प्रचण्डले सिधै एकतामा आउन गरेको आग्रह बाबुरामले स्वीकारेको भए प्रचण्ड–बाबुराम एकता पहिला हुन सक्थयो । तर, यो एकताले एमालेसँगको एकता प्रभावित नहोस् भन्नेमा चाहिँ प्रचण्ड सचेत थिए । प्रचण्ड–बाबुराम मिल्दा एमाले–माओवादी एकता के हुन्छ भन्ने विषय पनि ओलीकहाँ पुगेको थियो । यसले खासै असर नगर्ने बुझाईमा थिए ओली ।
तर, नयाँ शक्तिका एक नेता भन्छन्, ‘यति चाँडो एमाले–माओवादी एकता हुन्छ भन्ने लागेको थिएन ।’
अहिले बाबुरामले आफू निकटसँग भन्ने गर्छन्, ‘ओली र प्रचण्डले नयाँ शक्ति र फोरमलाई विकल्पका रुपमा संवाद गरे ।’
उपेन्द्र–बाबुरामको चाहना गठबन्धन
बाबुराम बामगठबन्धनसँग सहकार्य गर्न सकिने मूडमा छन् । संघीय समाजवादीका अध्यक्ष यादवको चर्चा यसअघि ओली नेतृत्वको सरकारमा सामेल हुने भन्नेनै थियो । मन्त्रालयको बाँडफाँडमा कुरा नमिल्दा सरकारमा सामेल हुने फोरमको चाहना पुरा भएको छैन ।
तर, नयाँ शक्तिले एकता वा मोर्चामा आफ्नो अडान कायमै रहेको विज्ञप्तिमा जनाएको थियो ।
यसबाहेक नयाँ शक्तिले पार्टी एकतावारे विज्ञप्तीमा ‘समानुपातिक–समावेशी सहभागितामूलक लोकतन्त्र’ र ‘समुन्नत समाजवाद’ लगायत ‘५स’ मा आधारित अग्रगामी, लोकतान्त्रिक, क्रान्तिकारी र वैकल्पिक प्रगतिशील पार्टी निर्माण गर्ने उद्देश्यलाई हानी पुग्ने गरी नयाँ शक्ति पार्टी, नेपालकुनै प्रकारको ध्रुविकरण, एकता वा विलयको प्रक्रियामा सामेल हुने छैन । यसबारे कसैले कुनै आशंका गरिरहन आवश्यक नभएको प्रष्ट पार्दछौँ,’ उल्लेख गरेको थियो ।
नयाँ शक्तिले विज्ञप्तिमार्फत् ‘नयाँ शक्ति पार्टी, नेपाल सबै पक्षहरुसँग राजनीतिक संवादका लागि तयार छ । तर वैकल्पिक, अग्रगामी, प्रगतिशील, क्रान्तिकारी, लोकतान्त्रिक, समाजवादी ‘तेस्रो धु्रव’ निर्माण गर्ने उद्देश्य त्यसको आधारभूत शर्त हो,’ भनेको थियो ।
एमाले–माओवादी एकताप्रति असन्तुष्ट बाबुराम
प्रचण्ड र ओलीसँग बाबुरामको नियमति संवाद भएकै बेला एमाले–माओवादीले एकता गरे ।
यो एकताप्रति बाबुरामको कठोर टिप्पणी छ ।
एमाले–माओवादी एकता पछि बाबुरामले सामाजिक सञ्जाल, सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्तामा टिप्पणी गरेका छन् ।
एकतापछि बाबुरामले पहिलो ट्वीटमा एमाले र माओवादी बीच एकता हुँदै गर्दा केहि प्रश्नहरु अनुत्तरित रहेको बताएका थिए ।
उनले दुई पार्टी एकताबारे ट्वीट गर्दै प्रश्न गरेका थिए, ‘के वानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ?’ एमाले र माओवादीले सर्वहारा अधिनायकत्व नै छाडेडिसकेकाले कम्युनिष्ट नाममा मोह दर्शाउनु बेकार भएको उनको तर्क थियो । उनले गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुई हुने भएपनि माइनस एकको मूल्य धेरै कि माइनस दुईको मूल्य धेरै हो भन्ने कुरा मुख्य भएको समेत बताएका थिए ।
त्यसपछि पार्टी एकता भएकै दिन गरेको अर्को ट्वीटमा बाबुरामले व्यंग्यात्मक शैलीमा लेखेका थिए, ‘विलयपश्चात गठित पार्टीका नेतृत्वदायी कमरेडहरूले सामूहिक सपथ लिँदा एउटा थप सपथ आजै लिए कसो होला ? त्यो हो, हामी पार्टीका कुनै पनि कार्यक्रम प्रम निवास बालुवाटारमा गर्ने छैनौँ र कहिल्यै सरकारी साधनश्रोतको दुरूपयोग गर्ने छैनौं ।’ नेपाल कम्युनिष्ट पार्टीको सिंगो केन्द्रीय समितिले संयुक्त रुपमा बालुवाटारमा सपथ खाएपछि नयाँ शक्ति पार्टीका संयोजक बाबुरामले तिखो व्यङ्ग्य गरेका थिए ।
त्यसपछि उनले फेसबुक पेजमा लामै स्टाटस लेखेर एकताबारे आफ्नो धारणा अगाडि सारेका थिए ।
एमाले-माके एकता अन्तत: सम्पन्न हुन लागेकोमा दुवैलाई वधाइ/शुभकामना! तर केही अनुत्तरित प्रश्न:के वानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन्?गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुइ हुन्छ;माइनस एकको मूल्य धेरै कि माइनस दुइको? सर्वहारा अधिनायकत्व छोडेपछि कम्युनिष्ट नाममा मोह किन?
— Baburam Bhattarai (@brb1954) May 16, 2018
बाबुरामले लेखेका थिए, ‘एउटै विचार, नीति, कार्यक्रम, संगठनात्मक प्रणाली, कार्यशैली अंगिकार गर्ने पार्टीहरूबीच एकता हुनु राम्रो कुरा हो । त्यस अर्थमा ‘कम्युनिष्ट’ शब्दप्रति ऐतिहासिक कारणले नेपाली जनता र कार्यकर्ताको ठूलो हिस्सामा आकर्षण बाँकी रहेकाले आफुलाई कम्युनिष्ट पार्टी भने पनि व्यवहारमा राज्य पुँजीवाद (क्रोनी क्यापिटालीज्म) लाई अपनाइसकेका ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी राजनीतिक वर्चस्वका लागि आपसमा विलय हुनु स्वाभाविक हो ।’
यसबाहेक उनले लेखेका थिए, ‘२०५२ साल अघिदेखि नै राजतन्त्र अन्तर्गत जबजको नाउँमा त्यो बाटो समातीसकेको एमाले र त्यसका विरूद्ध दशवर्षे जनयुद्ध सञ्चालन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न निर्णायक भूमिका खेल्ने माओवादीबीच अहिले मूलतः एमालेकै राजनीतिक कार्यदिशा र वर्चश्व अन्तर्गत एकीकरण हुनु चाहिँ विडम्बनापूर्ण कुरा हो । यसले मुख्यतः जनयुद्ध, मधेस–थारू आन्दोलन र जनजाति आन्दोलनको बलमा प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी र समानुपातिक लोकतन्त्रको रक्षा मर्जर पश्चात बनेको पार्टीले कसरी गर्ला भन्ने गम्भीर प्रश्न उठ्नेछ । ऐतिहासिक जनयुद्धको दश वर्षसम्म विपरित ध्रुवमा उभिएका र एकअर्कालाई सिध्याउने मनोविज्ञान बोकेका दुई पक्षका नेता–कार्यकर्ताको मिलन कसरी होला अर्को व्यवहारिक समस्या हुनेछ । कि त एमालेजनले जनयुद्धमा नलाग्नु र विरोध गर्नु गलत थियो भन्ने भित्री मनले स्वीकार्नु पर्यो कि प्रचण्ड माओवादीले जनयुद्ध गलत र अपराध थियो भनेर पश्चाताप गर्नुपर्यो । दुवै एकैसाथ सही कसरी हुन सक्छन् ?’
एकतामाथि बाबुरामको अर्को प्रश्न थियो, ‘वैचारिक रूपले सबभन्दा गम्भीर समस्या शास्त्रीय मार्कसवाद–लेनिनवाद–माओवादले परिभाषित गरेको दार्शनिक, राजनीतिक अर्थशास्त्रीय र वैज्ञानिक समाजवादका सिद्धान्त र मूल्यमान्यता परित्याग गर्ने तर ‘कम्युनिष्ट पार्टी’ को ब्यानर र ब्राण्ड चाहिँ समातिराख्ने कुराले ल्याउने असाध्य अन्तर्विरोध कसरी हल होला ?’
एकीकृत पार्टीको दस्तावेजमा जनयुद्ध शब्द स्वीकारेको विषयमा बाबुरामले एक अन्तर्वार्तामा टिप्पणी गरेका छन्, ‘त्यो त कागको पखेटामा मयूरको प्वाँख हालेजस्तै हो । एकाध शब्द घुसाइदिनु भनेको त केटाकेटीलाई फुल्याएजस्तै हो । सारमा चाहिँ जनयुद्धको जगमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता प्राप्त भएको थियो तिनलाई परित्याग गरेर त्यसको विरोध गरेर जुन एमालेको मूल नेतृत्वसँग प्रचण्डजी समाहित हुन जानु भनेको चाहिँ यथास्थितिवाद र प्रतिगमनतिरकै यात्रा हो । यसमा कुनै भ्रम पाल्नु आवश्यक छैन ।’
पहिलो पनि धोका भएको थियो
असोज १७ गते बामगठबन्धन बन्दा बाबुराम अन्तिम समयमा सहभागी भएका थिए ।
तर, गोरखा–२ को निर्वाचन क्षेत्रको विवादपछि बाबुराम गठबन्धनबाट बाहिरिए ।
यसलाई उनले ओली–प्रचण्डले धोका दिएको रुपमा बुुझेका थिए ।
पछि गोरखा–२ मा काँग्रेसको समर्थनमा बाबुराम र बामगठबन्धनबाट तत्कालीन माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चुनाव लडे ।
चुनाव बाबुरामले जिते ।