सांसद पुष्पा भुसालको जीवन : आफूलाई क्षमतावान् बनाउँदै लगे प्रधानमन्त्री बन्ने निश्चित
राजनीतिक नेताले प्रधानमन्त्री बन्ने सपना देख्नु अस्वाभाविक होइन । सपना पूरा गर्न सम्बन्धित नेताले आफूलाई क्षमतावान् बनाउँदै लैजानुपर्छ । सांसद पुष्पा भुसालले पनि त्यसै गर्दै रहेकी छन् । सांसद भुसाल काँग्रेस केन्द्रीय सदस्यमात्रै नभएर पार्टी सचेतक पनि हुन् ।
‘नेतासँग मिसन र गोल हुनुपर्छ । काँग्रेसको पदाधिकारीमा रहेर पार्टी बलियो बनाउने उद्देश्य छँदै छ,’ उनको मान्यता छ, ‘पार्टीभित्रको आन्तरिक लोकतान्त्रीकरण अझै बलियो बनाउने अभिलाषा छ ।’ २१औं शताब्दीको लोकतन्त्रसँग जोडेर काँग्रेसलाई बलशाली बनाउने जिम्मेवारी खोजीमा लागेकी छु भन्ने सांसद पुष्पा भुसालसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी ः
मेरो खाना
विशेषतः रोटी, दूध, दही, सिन्की र मस्यौरा खाने गरेकी छु । रुचि कम भए पनि खाना खानैपर्ने बाध्यता छ । मासुमा पनि त्यति रुचि छैन । कहिलेकाहीं खाने गर्छु । राजनीतिक नेता भएकाले रेष्टुरेन्ट बाक्लै पुग्छु । भेटघाटको थलो नै रेष्टुरेन्ट भएको छ । रेष्टुरेन्ट पुग्दा आलु साँधेको, पपकर्न, आलुचिप्स र बदाम साँधेको माग्न बिर्सन्न । पकाउने रुचि भए पनि समय नभएकाले भान्छा पस्न त्यति भ्याउँदिनँ ।
मेरो पोसाक
अनौपचारिक पोसाक मन पर्छ । लङ टी–सर्ट, प्यारलर पाइन्ट मन परे पनि कुर्तासुरुवाल र सारी लगाउँछु । राजनीति गर्ने भएकाले व्यक्तित्वमा ध्यान दिनुपर्छ । सुन्दर देखिन पोसाकमा खर्च गर्नैपर्छ । पोसाकमा मासिक पाँच हजारजति खर्च हुन्छ । कालो, हरियो र सेतो रङका पोसाक रोजाइमा पर्छन् । रेडिमेडभन्दा धेरैजसो कपडा किनेरै सिलाउँछु । काठमाडौंको न्युरोडमा रहेको निनाजमा कपडा सिलाउँदै आएकी छु ।
मेरो फिटनेस
बिहान–बिहान हल्का शारीरिक अभ्यास गर्छु । ट्रेडमिलमा दौडिन्छु । समय हुँदा साइक्लिङ गर्छु । सुत्नेबेला थोरै समय हल्का ध्यान गर्छु ।
मेरो अध्ययन
नेपाली काँग्रेसबारे लेखिएका किताब र नेपाल महिला संघद्वारा प्रकाशित बुलेटिन अध्ययन गर्दै छु । कसैका जीवनीबारे लेखिएका किताब पढ्न जाँगर चल्छ । बीपी कोइराला, नेल्सन मन्डेला, आङ सान सुुकीबारे लेखिएको जीवनी पढ्न त्यत्तिकै आनन्द लाग्छ । कम्युनिस्ट दर्शन र प्रजातन्त्रबीच भिन्नताबारे अध्ययन थालेकी छु । नेपाली काँग्रेससम्बद्ध महिला नेतृले महिला आन्दोलनमा खेलेको भूमिकाबारे ‘पेपर’ तयार पार्दै छु ।
मेरो घरमा पुस्तकालय छ । तात्कालिक संविधानसभा सदस्य रहँदा आयस्रोतको १० प्रतिशत किताबमा खर्चेकी थिएँ । मसँग सबै किसिमको किताब संकलन छ ।
मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । नेपालका ४० भन्दा बढी जिल्ला पुगेकी छु । २५ देश टेकेकी छु । घुमेकामध्ये इलाम र पाल्पा सुन्दर लाग्यो । इलाम र पाल्पा सधैं जाउँजाउँ लाग्छ । दक्षिण अफ्रिका, स्वीट्जरल्यान्ड, सोभियत संघ, रूस, बेलायत घुमाइ अविस्मरणीय लाग्यो । कर्णालीप्रदेशका विकट गाउँठाउँ जीवनमा एकपटक घुम्ने रहर छ ।
मेरो फुर्सद
राजनीतिक नेता भएकाले फुर्सद निकाल्न गाह्रो हुन्छ । घर–व्यवहारको धेर–थोर जिम्मेवारी छँदै छ । दौडधुप भए पनि आज यतिसम्म उपलब्धि गर्न सकें भनेर थकाइ अनुभूति हुँदैन । फुर्सद पाइहालेमा किताब पढेर सदुपयोग गर्छु ।
परिवारसहित रेष्टुरेन्ट र सपिङ गर्न नियमित जान्छु । तर, हलसम्म पुगेर चलचित्र हेर्ने बानी छैन । परिवारसहित टेलिशृंखला हेरेर हाँस्ने गर्छौं ।
मेरो खेलकुद
ब्याडमिन्ट मन पर्छ । आफैं पनि हल्का खेल्थें । हिजोआज छुटेको छ ।
मेरो मोबाइल
सामसुङको मोबाइल प्रयोग गर्दै आएकी छु । मोबाइल फेरी–फेरी बोक्ने बानी छैन । मोबाइलका एप्लिकेसनमध्ये फेसबुक, ट्वीटर प्रयोग गर्छु ।
मेरो टेलिभिजन
टेलिभिजनमा समाचार प्राथमिकसाथ हेर्छु । विभिन्न विषयविज्ञको अन्तर्वार्तासमेत ध्यानपूर्वक हेर्छु । सुन्छु । बिहान एक र साँझ दुई घन्टाजति टेलिभिजन हेर्ने गरेकी छु । घरमा सामसुङको ठूलो टेलिभिजन छ ।
मेरो चलचित्र
हलसम्म पुगेर चलचित्र नहेरेको धेरै भयो । विदेश जाँदा विमानमा हेरिन्छ । विद्यार्थी छँदा नेपाली हलसम्म पुगेर चलचित्र हेरेकी थिएँ । हेरेकामध्ये ‘फेरि भेटौंला’, र ‘जुली’ मन पर्यो ।
मेरो स्वास्थ्य
अहिलेसम्म स्वस्थ छु । टाउको दुख्यो वा ग्यास्ट्रिकले सताए पनि सकेसम्म औषधि सेवन गर्दिनँ । बरु ध्यान गर्छु । खानपिनमा ध्यान दिन्छु । अहिलेसम्म ‘होलबडी चेकअप’ एकदमै कम गराएकी छु । आफूलाई सधैं खुसी राख्न सकेमात्रै पनि स्वस्थ रहन सकिन्छ । आपतविपत पर्दा सहजै व्यवस्थापन गर्न जान्नुपर्छ । त्यति गर्न सके सुखी र खुसी रहन सकिन्छ ।
मेरो भाषणशैली
राजनीतिक नेता भएपछि भाषण गरिरहनुपर्छ । भाषण गर्नअघि तयारी धेरै गर्छु । तर, व्यवस्थापन गर्न जरुरी छ । धेरै ज्ञान भए पनि भाषणमा व्यवस्थापन गर्न अप्ठ्यारो हुँदोरहेछ । शुभचिन्तकले समेत त्यस्तै सुझाएका छन् । निर्वाचनताका आक्रामक भाषण गरे पनि अन्य समय बौद्धिक भाषण गर्छु ।
मेरो मापसे
मादक पदार्थ लिनुहुँदैन भन्ने मान्यता राख्दिनँ । वाइन पिउनु स्वास्थ्यलाई राम्रो हुन्छ भन्ने थाहा छ । तर, आफैंचाहिँ त्यति पिउँदिनँ । अहिलेसम्म एक÷दुईपटक लिएकी छु ।
मेरो संगीत
आफूलाई स्वस्थ राख्न गीत–संगीतले सघाउँछ । तर, गीत–संगीत सकारात्मक हुनुपर्छ । अरूणा लामाको आवाज कर्णप्रिय लाग्छ । लोकगायिका पनि त्यत्तिकै मन पर्छन् । लोकदोहोरी गीत श्रवणीय लाग्छ । गुनगुनाउनुमात्रै होइन, क्याम्पस पढ्दा गीतसमेत गाउँथें । विश्वविद्यालय पढ्दासम्म पनि सांस्कृतिक कार्यक्रममा भाग लिन्थें ।
मेरो भूल
जान–अन्जानमा जोकोहीबाट गल्ती हुन्छ । तर, पश्चाताप लाग्नेगरी गल्ती गरेकी छैन । कहिलेकाहीं भन्नै नहुने कुरा भनें भन्ने लाग्यो भने आत्मालोचना गरिहाल्छु ।
त्यतिबेला ६÷७ कक्षामा पढ्थें । कक्षा छाडेर चलचित्र ‘जुली’ हेर्न गएकी थिएँ । जुलीले लगाउने पोसाक लगाएर चलचित्र हेर्न गएको पिताजीले थाहा पाउनुभयो । उहाँले यसो गर्न हुँदैन भनेर गाली गर्नुभएको आजसम्म बिर्सेको छैन ।
मेरो घर
अहिले बस्दै आएको घर तीन वर्षअघि बनाएकी हुँ । मेरो बिहेमा आमाले जग्गा दिनुभएको थियो । घर बनाउँदा त्यो जग्गा बेचें । त्यतिले नपुगेर आफैंले किनेको तीन ठाउँको जग्गासमेत बेच्नुपर्यो । घर बंगला स्टाइलको छ । घर बनाउँदा ७० लाखजति खर्च भएको थियो ।
मेरो राशी
मेरो राशी धनु हो । कहिलेकाहीं ग्रहदशा हेराउँछु । संवत् २०७० को संविधानसभा निर्वाचनका लागि टिकट पाइसकेकी थिएँ । ज्योतिषीले राम्रो नभए पनि पूजा गरिदिन्छु भने । मन चसक्कै भए पनि निर्वाचनमा होमिएँ । तर, निर्वाचनमा हारें । त्यसैले ग्रहदशाप्रति हल्का विश्वास गर्छु ।
मेरो सौन्दर्य
कपालमा ‘प्यालेट कलर युज’ गर्छु । महिनामा एकपटक गार्नियरको नम्बर फोर प्रयोग गर्दै आएकी छु । मन परे पनि वर्षौं भयो फेसियल गर्न नपाएको । अनुहारमा क्रिम प्रयोग गर्छु । पर्फ्युम पनि प्रयोग गरेकै छु ।
मेरो प्रेम
मेरो मागीबिहे भएको हो ।
मेरो सपना
राजनीतिक नेता कहिले सत्तामा हुन्छ भने कहिले सत्ताबाहिर । तर, समृद्ध मुलुकको जोकोहीले चाहना राख्छन् । त्यही मुलुकभित्र जीवन बिताउने भएकाले मुलुक समृद्ध भएको देख्न नचाहने सायदै भेटिएलान् । मुलुकका समृद्धि सम्बन्धित मुलुकका नागरिक र राजनीतिक नेतासँग जोडिएको हुन्छ । मुलुक समृद्ध भए सम्बन्धित देशवासी सशक्त हुन्छन् ।
म सांसदमात्रै नभएर काँग्रेस केन्द्रीय सदस्यसमेत हुँ । जोकोहीसँग ‘मिसन’ र ‘गोल’ हुनुपर्छ । काँग्रेसको पदाधिकारीमा रहेर पार्टी बलियो बनाउने उद्देश्य छँदै छ । पार्टीभित्रको आन्तरिक लोकतान्त्रीकरण अझै बलियो बनाउने अभिलाषा छ । २१औं शताब्दीको लोकतन्त्रसँग जोडेर काँग्रेसको शक्तिलाई बलशाली बनाउने जिम्मेवारी खोजीमा लागेकी छु । लाग्नेछु । अहिले सांसद छु । पार्टीले पत्याएर सचेतकको भूमिका दिएको छ । यसैगरी, मन्त्री हुँदै प्रधानमन्त्री बन्न आफूलाई क्षमतावान् बनाउँदै लैजानेछु । क्षमतावान् बनियो भने प्रधानमन्त्रीको भूमिका पाउन गाह्रो छैन । भोलि प्रधानमन्त्री बन्छु भन्ने सपना देखेकी छु ।
मेरो मृत्यु
मानिस जन्मेपछि मर्नुपर्छ । यो स्वाभाविक प्रक्रिया हो । तसर्थ, बाँचुन्जेलको समय सदुपयोग गर्न जान्नुपर्छ भने व्यक्तिको सम्मान गर्नसमेत आवश्यक छ । मृत्युसँग डर लाग्दैन । मृत्यु सहज होस् भन्ने मेरो पनि लोभ छ । मृत्यु आकस्मिक भएकै जाती ।
यो जीवनकथा पनि पढ्नुहोस्
पत्रकार किशोर श्रेष्ठको जीवन : मलाई मार्न पेस्तोल बोकेरै हिँड्ने पनि थिए