सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जब कांग्रेस नेताहरुले एउटै मञ्चबाट गोली बर्षाएको शैलीमा कम्युनिष्टमाथि हमला गरे

आइतबार, १३ जेठ २०७५, १९ : ०९
आइतबार, १३ जेठ २०७५

काठमाडौं– गत चुनावमा पार्टीले बेहोरेको हारको विषयलाई लिएर कांग्रेसभित्र एक नेताले अर्कोलाई छेडखान गर्ने र रक्षात्मक ढंगले जवाफ फर्काउने सिलसिला अझै टुङ्गिएको छैन् । पार्टीभित्रका गुट र नेतृत्वका बिषयमा एक अर्काको विरोध गरेका कांग्रेस नेताहरुले कम्युनिष्ट पार्टी र सरकारको भने एकजुट भएर विरोध गरेका छन् । 

सन्दर्भ हो नेपाली कांग्रेसको भातृसंगठन नेपाल प्रेस युनियनको २७ औं वार्षिकोत्सव समारोह । काठमाडौंको गौशालास्थित एक पार्टी प्यालेजमा आइतबार गरिएको सो कार्यक्रममा कांग्रेसका अधिकांश शीर्ष नेताहरु मञ्चमा थिए । 

प्रेस युनियन केन्द्रीय समितिले गरेको सो कार्यक्रममा कांग्रेसका नेताहरुले आफ्नो पार्टीभित्रका गुटको आलोचनामात्र गरेनन्, सरकार र नवगठित पार्टी नेकपाबिरुद्ध एक ठाँउ उभिएर आलोचना गरे । सरकारको सय दिन उपलब्धीबिहिन भएको र संघीयता, संविधान जस्ता विषयमा सिन्डिकेट लगाईको आरोप लगाए । 

पार्टीलाई ठीक ढंगबाट सञ्चालन नगरेको, पार्टीभित्र एकता हुन नसकेको र एमाले माओवादीको एकताबाट मुलुकमा लोकतन्त्र धरापमा परेको उनीहरुको भनाई थियो । उनीहरुले पार्टीको आन्तरिक विषयलाई कम र सरकारको कार्यशैलीबिरुद्ध कडा आलोचना गरे । 

महामन्त्री कोइराला: कम्युनिष्ट एक भए हाम्रो पार्टी कहिले ? 
कार्यक्रममा छोटो समय बोलेका कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेतृत्वको आलोचना गर्दै दुई पार्टी एकजुट हुन सक्ने तर एउटै पार्टीभित्र भने किन एकता हुन नसकेको भनेर प्रश्न गरे । उनले पार्टीभित्रको गुट उपगुटले कांग्रेसलाई कमजोर रहेको बताए । कोइरालाले भने–‘कांग्रेस आजपनि एक हुन सकिरहेको छैन, गुट–उपगुट अझै सकिएन् । अहिले वामपन्थी एकता भइसके, हाम्रो पार्टीमा अझै किन भेदभाव छ ? किन हाम्रो पार्टी एकता भइरहेको छैन ?’

उनले नेपाली कांग्रेस १४ औ महाधिवेशनमा जान लागेको बताउँदै संगठनलाई कसले मजबुद बनाउने भन्दै प्रश्न गरे ।  देउवाले भनेः माओवादी र एमाले एक हुन सक्ने हामी किन नसक्ने ?  

महामन्त्री कोइराला पछि बोलेका पार्टी सभापति देउवाले शूरुमा कांग्रेस प्रेस स्वतन्त्रता रक्षाका लागि ७ सालदेखि लड्दै आएको बताउँदै महामन्त्रीलाई जवाफ फर्काए । उनले पार्टी सभापतिको स्वार्थ भनेकै पार्टी एकीकरण गराउनु रहेको उल्लेख गर्दै पार्टीमा हार बेहोर्नु आफ्नो मात्र जिम्मेवारी नभएको बताए ।

उनले यसअघि पनि धेरै पटक कांग्रेसले चुनाव हारेको बताउँदै भने– ‘चुनावको बारेमा कुरा गर्दा हामीले धेरै पटक चुनाव हारेका छौँ । दुई पार्टी मिल्दाखेरी हामी पहिला पनि चुनाव हारेका छौँ, अहिले संविधान कार्यान्वयन गर्नुपर्ने चुनौति पनि थियो । चुनाव नगरेको भए संविधान कार्यान्वयन पनि हुने थिएन । अहिले संविधान कार्यान्वयन भएको छ ।’

उनले आगामी पाँच बर्षका लागि अहिलेदेखि चुनावी तयारी गर्न पनि आग्रह गरे । पार्टीको महाधिवेशन आउन लागेकोले फेरि पार्टीलाई बलियो बनाएर अघि बढ्न उनले आग्रह गरे । उनले भने– ‘यसका लागि हामी एक भएर जानुपर्छ । माओवादी र एमाले एक हुन सक्ने हामी किन नसक्ने ?’  

देउवा गएपछि रामचन्द्रको झटारोः

दुई कम्युनिष्ट मिले भनेर हल्का रुपमा लिनुहुँदैन  संसदमा जानुपर्ने भएकोले आफ्नो भनाई राखेर देउवा बाहिरिएपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको बोल्ने पालो आयो । पौडेलले देउवालाई उनकै अघि आफ्नो कुरा सुनाउन त पाएनन् तर उनी नभएपनि आफ्ना असन्तोष भने पोखे । उनले गएको चुनावमा दुई पार्टीका कारण चुनाव हारिएको नभई कम्युनिष्ट र कांग्रेसबीच भएको चुनावमा किन हारियो भन्दै प्रश्न गरे । पौडेलले कम्युनिष्टसँग चुनाव हार्न किन कमजोर बन्यो भन्दै प्रश्न गरेका थिए । 

उनले पार्टीमा एकता भनेर मात्र नहुने भन्दै सार्थक एकता हुनुपर्नेमा जोड दिए । उनले त्यसका लागि पार्टीले ठोस आधार तयार गर्नुपर्ने, पार्टीमा गरेको योगदानलाई मुल्याङ्कन गरिनुपर्नेमा जोड दिए ।  उनले भने– ‘पार्टीमा न्याय, निष्पक्षता र पारदर्शी मुल्याङ्कन भयो भने मात्र एकताको भावना आँउछ, अन्यथा एकता भनेर मात्र हुँदैन ।’

उनले दुई कम्युनिष्ट पार्टी मिले भनेर हल्का रुपमा लिन नहुने पनि बताए । गत चुनावमा कांग्रेस र कम्युनिष्ट लडाई भएपनि लोकतन्त्र, संघीयता जस्ता कांग्रेसको एजेन्डाको जित भएको र कांग्रेस संगठनको हार भएको उल्लेख गरे । ७० बर्षदेखि संसदीय व्यवस्थाको बिरुद्धमा धुप हाल्दै एका कम्युनिष्ट पार्टीलाई कांग्रेसले संसदीय ब्यवस्था, लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धाको बाटोमा ल्याएको भन्दै गएको चुनावमा कांग्रेसको सिद्धान्तले जितेको भन्दै संगठन पक्ष किन पराजित भयो ? भन्दै प्रश्न समेत गरे । 

उनले भने– ‘हामी कांगे्रस नेता कार्यकर्ता कांग्रेसको सिद्धान्त आचरण अनुसार हिँड्यौँ कि हिँडेनौँ ?’ उनले सरकारको सय दिन हुने बिरुवाको चिल्लो पात भनेजस्तो हुने बिरुवा जस्तो नदेखिएको बताए । कम्युनिष्टहरुले विपक्षमा हुँदा जस्तो नारा लगाउँथे त्यस्तै गर्न खोजेको उनले आरोप लगाए । 

उनले माओवादी एमालेले आफ्नो सिद्धान्त छोडिसकेको भन्दै कम्युनिष्ट नाम राखेर जनता र विदेशीलाई भ्रममा पारेको बताए । बिदेशीलाई आफुहरु त अब सोसियल एक्टिभिष्ट भयौँ भनेर पैसा माग्ने, यता जनतालाई कम्युनिष्ट भयौं भनेर उनीहरुले झुक्याउने गरेको आरोप समेत उनले लगाए । उनले संविधान, संघीयता अझै कार्यान्वयन नभएको बताउँदै लोकतन्त्रको बारेमा ‘लिप सर्भिस’ गर्नेहरु मात्र सत्तामा पुगेको बताए । 

संघीयता लागू भएपनि अहिलेको सरकारले विकास निर्माणको बजेटलाई केन्द्रीकरण गरेको भन्दै आलोचना गरे । उनले भने– ‘पहिले राजाको हुकुमी शैलीजस्तै तँलाई यो योजनाका लागि यति पैसा दिए भन्ने हुकुमी शैलीमा सांसदबाट पैसा बाँड्ने व्यवस्था गर्न खोजिदैछ, हामी यो व्यवस्थाको विरोधी हौँ ।’

उनले विकास निर्माणका लागि स्थानीय स्तरबाटै योजना बनाएर बजेट परिचालन गरिनुपर्ने कुरामा जोड दिए । 

विमलेन्द्र निधिको ३ आरोपः सरकारको सय दिन, १ पछाडि दुईटा लडडु
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको सय दिनको आलोचना गरेका छन् । उनले सरकारको कार्यशैलीको विरोध गर्दै ३ वटा आरोप लगाए । साथै पत्रकारिता क्षेत्र राज्यको चौथो अंग भएकोले सरकारका ३ अंग अधिनायकवादी बाटोमा गएकोले चौथो अंगले ३ अंगमाथि स्ट्राइकरको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

उनले सरकारका सय दिन उपलब्धीहिन भन्दै यस्ता आरोप लगाएः

 पहिलो आरोपः संघीयता र संविधानमा कम्युनिष्टको सिन्डिकेट
उपसभापति निधिले सरकारले सय दिन संघीयता, समावेशी र संविधानमाथि सिन्डिकेट लगाउन खर्च गरेको दावी गरे । उनले चुनावपछि सरकारले संविधान कार्यान्वयनका लागि एक दिन पनि खर्च नगरेको दावी गरे । सरकारी कामका लागि पनि एक दिन खर्च नगरी दलीय काममा समय बिताएको नेता निधिको आरोप थियो । उनले सरकारले ३ महिना अन्डरलाईन कम्युनिष्ट पार्टी बनाउन खर्च गरेको उल्लेख गरे । संघीयता र संविधानमा कम्युनिष्ट पार्टीले सिन्डिकेट लगाएर अधिनायकवादी शासनको अभ्यास थालेको उनको आरोप थियो । 

दोश्रो आरोपः उत्तर र दक्षिणको चाकरी 
नेता निधिले सरकारले देशको स्वाभिमानलाई बिर्सिएर दुई छिमेकी देशको पाउ मोलेको आरोप लगाएका छन् । जनताका समस्या समाधान गर्न भन्दा पनि कहिले भारत र कहिले  चीनलाई रिझाउनका लागि सरकारलाई फुर्सद नभएको उनको भनाई थियो । दक्षिणतिर धाएर सरकारले लम्पसारवादी चरित्रलाई उदाङ्गो पारेको भन्दै उनले सरकार चाकरी गर्न व्यस्त भएको बताए । 
उनले भने– ‘सरकार दक्षिणतिर गएर पनि म त तपाईहरुकै मान्छे, उत्तरको हैन भन्छ, उता उत्तरतिर गएर म त तपाईहरुकै हो, उता त छिमेकीको धर्म निभाएको मात्र भन्छ, जता गयो चाकरीका लागि समय खर्च गरेको छ ।’

तेश्रो आरोपः आत्मप्रशंसामा मग्न 
सरकारको काम जनताको पक्षमा भन्दा पनि आत्मप्रशंसामा केन्द्रीत भएको उनको अर्को आरोप थियो । उनले भने– ‘सरकारले आत्मप्रशंसामा जति खर्च गरेको, देशको पक्षमा, संघीयताको पक्षमा, जनताको पक्षमा खर्च गरेन ।’
उनले सरकारको सयदिन गफै गफमा बितेको भन्दै उपलब्धीविहिन भएको बताए । उनले पत्रिकामा आएको कार्टून जस्तै सरकारको सय दिन– ‘एक पछाडिको दुईवटा लड्डु जस्तो’ भएको बताए ।

 मिनेन्द्र रिजालको प्रश्नः प्रतिपक्षी दल निषेध गरेर अधिनायकवाद ल्याउने ? 
पूर्वसञ्चारमन्त्री समेत रहेका कांग्रेसका अर्का नेता डा.मिनेन्द्र रिजालले सरकारले प्रतिपक्षीलाई निषेध गरेर अभिनायकवादको अभ्यास गर्न खोजेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने क्षण बोलेको कुरा स्मरण गरे र भने–‘विश्वासको मत लिने बेला प्रधानमन्त्रीले प्रतिपक्षीलाई भनेका थिए, मलाई तपाईहरुले विश्वासको मत नदिए तपाईको ड्राइभरले के भन्ला, घरमा श्रीमतीले के भन्लिन, भनेर संसदमा प्रतिपक्षी दलनै नचाहिने संकेत गरे । विपक्षमा को बस्ने को नबस्ने भनेर सत्तापक्षले छान्ने यो प्रवृत्तिनै अधिनायकवादी अभ्यास हो ।’

उनले प्रदेश नम्बर २ मा सरकारलाई पनि समर्थन गर्ने र प्रतिपक्षमा पनि बस्ने अधिनायकवादी चिन्तन भएको दावी गरे ।  उनले आफूले मन्त्रिपदमा वहाल रहँदा आफ्नो बारेमा तथानाम लेख्ने अनलाइनलाई केही पनि नगरेको भन्दै आफ्नो विरोधमा लेख्यो भन्दैमा प्रेसमाथि बन्देज गर्न नहुने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप