सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पहाड बनाउँदै मधेसी युवा

मङ्गलबार, १५ जेठ २०७५, १४ : ०५
मङ्गलबार, १५ जेठ २०७५

बारा हेगौलिया, गडहलका उमेश पासवानले घर निर्माणको काम थालेको ८ वर्ष पुग्यो । १५ वर्षको उमेरदेखि घर बनाउने ज्यामीका रूपमा काम थालेका उनी २ वर्षदेखि काठमाडौँ आसपासका पहाडी भूभागमा भूकम्प प्रभावितहरूको घर निर्माणमा व्यस्त छन् । यो अवधिमा १ दर्जनभन्दा बढी घर निर्माण गरेको उनले बताए । 

२३ वर्षका पासवान पहिले काठमाडौं सहरमा घर बनाउने काम गर्थे । भूकम्प प्रभावितहरूले घर बनाउन थालेपछि उनका ठेकेदारले गाउँमा ल्याए । अहिले उनी र उनका ९ जना साथीहरूको समूह काठमाडौंको शङ्खरापुरमा घर बनाइरहेका छन् । सिन्धुपाल्चोकको मेलम्चीसम्म पुगेर उनले घर निर्माण गरिसकेका छन् । पहाडको हावापानी राम्रो भएकाले घर बनाउन रमाइलो लाग्ने उनले बताए । 

उनले यसअघि पाल्पा, जनकपुर, पोखरालगायतका ठाउँमा गएर उनले घर बनाइसकेका सुनाए । तराईमा धेरै गर्मी तर पहाडका शितल हुने भएकाले काम गर्न सजिलो । 

उनले काम गरेअनुसार कमाइ राम्रो भएको बताए । महिनामा खाना खाएर २५ देखि ३० हजार बचत हुने गरेको छ । यसरी कमाएको पैसाले उनले गाउँमा १ कठ्ठा जग्गासमेत किनेका छन् । 

उनको परिवारमा आमाबुबा, दाइभाउजु, बहिनीदिदी छन् । एक छोरा र एक छोरी पनि छन् । 

पासवानले भने– ‘४ वर्षकी छोरी भर्खर स्कुल जान थालेकी छिन् । छोरा १ वर्षका छन् । बूढीसँग कहिलेकाहीँ फोनमा कुरा गर्छु ।’

घरमा पैसा आवश्यक परेको बेला उनले आईएमई मार्फत पठाउने गरेका उनी तीन चार महिनाको बीचमा घर जाने गरेका छन् । 

वैदेशिक रोजगारीमा जाने सोचसमेत बनाएका उनले अहिले यतै कामको मारामार भएकाले विदेश जाने सोच त्यागेको बताए । 

उनी जस्तै सर्लाही मलङ्गवाका विवेककुमार महतो पनि भूकम्प प्रभावितहरूको घर बनाउन व्यस्त छन् ।  उनले पनि पहाडको गाउँमा आएर घर बनाउन थालेको दुई वर्ष भयो । 

१९ वर्षका महतो घर तयार पार्नका लागि आवश्यक पर्ने सबै काम गर्छन् । उनको टोलीले भूकम्प प्रभावितका १० घर निर्माण गरे । 

उनका बुबा ठेकेदारसमेत भएकाले कमाइ राम्रो रहेको उनले सुनाए । महतोले भने– ‘जस्तो काम ग¥यो, त्यस्तै कमाइ पनि छ, कामको अभाव छैन ।’  तराईको भन्दा राम्रो कमाइ हुने उनको अनुभव छ । पहाडमा चिसो हावापानी भएकाले तराईमा भन्दा पहाडमा काम गर्न र बस्न सजिलो भएको उनले बताए ।  

दुबईबाट दुई साताअघि नेपाल आइपुगेका सर्लाहीका दीपककुमार यादवले पनि अहिले घर बनाउने पेसा सुरु गरेका छन् । २२ वर्ष दीपकले दुबईमा कामदारलाई खाना बनाएर खुवाउने काम गरेका थिए । अब उनले पनि घर बनाउने डकर्मी पेसा अँगाल्ने सोच बनाएका छन् । 

यी तीन युवाजस्तै अहिले भूकम्प प्रभावित जिल्लाहरूमा घर बनाउने कामदारका रूपमा मधेसी समूहको बाक्लो उपस्थिति छ । २०७२ सालको भूकम्पपछि प्रभावित जिल्लाहरूमा यतिबेला धमाधम घर निर्माणको काम चलिरहेको छ । यी क्षेत्रमा घर निर्माणका लागि खासगरी तराई क्षेत्रका डकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ ।

तराईदेखि मात्र नभएर सीमावर्ती भारत सीतामढीदेखिका डकर्मीहरूले अहिले पहाडमा घर बनाइरहेका छन् । तराईमा जन्मे हुर्केका उनीहरूले पहाडमा श्रम गरेर पहाडी संस्कृति र सुखदुःख बुझिरहेका छन् भने अर्कोतिर पहाडी समुदायले पनि मधेसीको श्रम र सीपलाई आत्मसात गरिरहेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप