सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वीपी राजमार्गमा ठूला सवारी : ५ मिटरको साँघुरो सडकमा सवारी पास हुनै समस्या, दुर्घटनाको जोखिम

मङ्गलबार, १५ जेठ २०७५, १६ : ३७
मङ्गलबार, १५ जेठ २०७५

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागले हालै एक सूचना प्रकाशन गरी वीपी राजमार्गमा चक्काका आधार ४ हजार २ सय एमएम भएको र ३२ सिट क्षमताको सबारी साधानलाई बिहान ५ बजेदेखि राती ८ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको छ । 

यस्तै, राती ९ बजेदेखि बिहान ५ बजेसम्म प्रति एक्सल भार १० दशमलव २ टन नबढ्ने गरी मालबाहक सवारी साधन सञ्चालन गर्न पाउने उल्लेख गरेको छ । यसअघि सो राजमार्गमा १६ सिट क्षमताका सवारी साधन मात्र सञ्चालन हुने गरेको थियो । 

खासगरी यात्रुवाहक साना सवारी टाटा सुमो र हायस गुड्ने गर्छ भने साना मालबाहक सवारी साधन पनि गुड्ने गरेको थियो । 

सरकारले ठूला सवारी साधन गुडाउन दिने भएपछि सडकमा त्यसको नकारात्मक असर पर्नेबारे बहस शूरु भएको छ ।  

घुम्तीमा सवारी पास हुन समस्या : इन्जिनियर 

वीपी राजमार्गमा सडकको चौडाई ५ मिटर मात्र छ । साथै धेरै घुम्तिहरु पनि छन् । यस्तो सडकमा ठूला सवारी साधन चलाउन हुन्छ कि हुन्न ? 

यातायात व्यवस्था विभागले जारी गरेको सूचना पछि हामीले उक्त सडकको क्षमताका बारेमा सडक विभागका इन्जिनियर एवं सहप्रवक्ता रमेश कुमार सिंहसँग जिज्ञासा राखेका थियौं । 

इन्जिनियर सिंहका अनुसार वीपी राजमार्गको सडक ५ मिटर चौडाईको छ भने सडकको क्षमता देशका अरु पक्की सडक जतिनै छ । यो सडकको चौडाई सानो भएका कारण ठूला सवारीसाधानलाई साइड दिन समस्या पर्छ भने घुम्तिमा सवारी पास गराउन पनि समस्या हुने गर्छ । यस्तो सडकमा ठूला सवारी साधन सञ्चालन गर्दा एक ठाउँमा रोकेर मात्र पास गर्नुपर्ने हुँदा जामको समस्या बढ्छ भने दुर्घटनाको जोखिम पनि हुने गर्छ । सडकको चौडाई र लम्बाईका दृष्टिले सो राजमार्गमा सवारी गुडाउनुपर्ने इन्जिनियर सिंहको तर्क छ । 

सडकमा गुड्ने सवारी साधनको अवस्था र प्रकारका आधारमा सडकको डिजाइन गरिएको हुन्छ । ५ मिटर मात्र चौडाई भएको सडकमा ठूला सवारी साधन सञ्चालन जोखिमपूर्ण हुन्छ । बढी भार बोकेका सबारी सधानले भने सोही अनुसारको एक्सेल थप गर्नुपर्ने हुन्छ । १० दशमलव २ टन भार भएका सबारीमा एक एक्सल र सो भन्दा बढी २० टन सम्मका लागि दुई एक्सल थप्नुपर्ने हुन्छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठको निर्देशनमा यो सडकमा सवारीमा भएका एक्सलका आधारमा मालबाहक र यात्रुबाहक सबारी सञ्चालन गर्न खुला गरिएको छ ।  

इन्जिनियर सिंह भन्छन्–‘नेपाल अधिराज्यका सम्पूर्ण सडकको क्षमता सवारी साधनको एक एक्सल बराबर १० दशमलव २ टन रहेको छ । सवारीको भार अनुसार एक्सल भएन भने सडक भत्किने हुन्छ ।

त्यसकारण सबारी साधानको तौल अनुुसार एक्सल थप्ने हो भने सडकलाई असर हुँदैन । तर साँघुरो सडकमा ठूला सबारी एक्कै साथ गुडाँउदा घुम्तिमा तथा साइड दिने बेलामा भने समस्या हुन्छ ।’

वीपी राजमार्गमा पनि सडकको गुणस्तर, मापदण्ड उपयुक्त भएपनि सडकको चौडाईका आधारमा ठूला सवारी साधान सञ्चालन गर्नु जोखिमपूर्ण हुने इन्जिनियरहरुको ठहर छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप