यस्तो रह्यो उपेन्द्र यादवको सत्ता यात्रा
-एसके यादव
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको सात वर्षपछि पुनः सत्तारोहण भएको छ ।
पहिलो सविधानसभा चुनावमा देशको चौथो ठूलो दलको रुपमा तत्कालिन संघीय समाजवादी फोरम नेपाल आएपछि उनी तत्कालिन माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा २०६५ भदौमा परराष्ट्रमन्त्रीमा नियुक्त भएका थिए ।
तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कट्वाल काण्ड भएपछि प्रचण्ड नेतृत्वको सरकार ढलेको थियो ।
त्यतिबेला उनले नौ महिनासम्म परराष्ट्रमन्त्रीको रुपमा काम गरेका थिए ।
प्रचण्ड नेतृत्वको सरकार ढलेको २० दिनपछि अर्थात २०६६ जेष्ठ ९ गते तत्कालिन एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन भएको थियो ।
त्यो सरकारमा जान उपेन्द्र यादवले पनि चाहना राखेका थिए ।
तर, तत्कालिन फोरमका नेता विजयकुमार गच्छदारले सरकारमा जान जिद्दी गरे । यादव र गच्छदारवीच विवाद भएको थियो ।
उपेन्द्र यादवले पार्टीमा आफ्नै नेतृत्वमा सरकारमा जाने नभए नजाने निर्णय गराउन खोजिरहेका थिए ।
तर, विजयकुमार गच्छदारले आफ्नो नेतृत्वमा सरकारमा जानुपर्ने अडान लिए । विवाद हल गर्न हप्तौसम्म पार्टीको बैठक चलेको थियो ।
कुरा नमिलेपछि गच्छदारले पार्टी फुटाए । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) गठन गरेर गच्छदार माधवकुमार नेतृत्वको सरकारमा सहभागी भए ।
गच्छदारले पार्टी फुटाएर सरकार सहभागी भएपछि उपेन्द्र यादव बाहिरै बसे ।
माधवकुमार नेपालले २०६७ असार १६ गते प्रधानमन्त्री पदबाट राजिनामा दिए । तर, नयाँ प्रधानमन्त्री नबनेसम्म लामो समयसम्म माधवकुमार नेपाल नै प्रधानमन्त्री रहे । महिनौ कामचलाउ प्रधानमन्त्री बने ।
माधवकुमार नेपालपछि को प्रधानमन्त्री हुने संसदमा लामो समयसम्म बहस चल्यो र पटक–पटक त्यसका लागि चुनाव पनि भयो । रामचन्द्र पौडेल, प्रचण्ड, विजयकुमार गच्छदार प्रधानमन्त्रीका उम्मेदवार थिए ।
प्रधानमन्त्रीका लागि रामचन्द्र पौडेलले १७ पटकसम्म प्रतिस्पर्धा गरे । तर, उनी प्रधानमन्त्री हुन सकेनन् ।
रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन छिमेकी भारतको पनि चाहना थियो ।
अन्त्यमा केही नचलेपछि तत्कालिन माओवादीले तत्कालिन एमालेका अध्यक्ष झलनाथ खनाललाई समर्थन गरे ।
खनाल प्रधानमन्त्री बने ।
खनाल नेतृत्वको सरकारमा चार बुँदे सम्झौता गरेर उपेन्द्र यादव पनि सहभागी भए ।
त्यो सरकारमा उनी उपप्रधान तथा पराराष्ट्रमन्त्री भएका थिए । तर, खनालको सरकार धेरै लामो समयसम्म टिकेन् । भारतको चलखेल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको रणनीतिका कारण ६ महिना नपुग्दै सरकार ढल्यो । र तत्कालिन माओवादीका नेता डा.बाबुराम भट्टराई प्रधानमन्त्री बने ।
दुईटा सरकारमा उनी १५ महिनासम्म परराष्ट्रमन्त्रीको रुपमा काम गरेका थिए ।
बाबुराम भट्टराई नेतृत्वको सरकारमा अन्य सबै मधेशवादी दल सहभागी भए, तर उपेन्द्र यादवको पार्टी सहभागी भएन ।
डा.भट्टराईको नेतृत्वमा सरकार गठन हुने बेला जयप्रकाश गुप्ताले पार्टी विभाजन गरे । गुप्ता सरकारमा सहभागी भएका थिए । झलनाथ खनाल नेतृत्वको सरकार ढाल्ने त्यतिबेला मुख्य योजनाकारमध्येकै जेपी गुप्ता मानिन्थे ।
त्यसपछि उपेन्द्र यादव लगातार आन्दोलनमा लागि रहे ।
२०७० मा पहिलो सविधानसभा विघटन भएपछि भएको दोस्रो सविधानसभा चुनावमा उपेन्द्र यादवको पार्टीले त्यति राम्रो उपलब्धी हाँसिल गर्न सकेन ।
प्रत्यक्षमा दुईटा र समानुपातिकमा आठ वटा सीट मात्र हात पार्न सफल भए उनी ।
त्यसपछि पनि उनी सरकारमा सहभागी भएनन् ।
सरकारमा सहभागीका लागि उनलाई पटक–पटक आग्रह गरिएको थियो । तर, उनी सविधान संशोधनको माग राख्दै सडकमा थिए ।
विरोधका वावजुद सविधानसभाबाट सविधान निर्माण भयो । तीनटै तहको चुनाव भयो ।
फोरम नेपाल सबै चुनावमा भाग लियो । देशैभरि उम्मेदवारी दिएपनि महत्वपूर्ण उपलब्धी दुई नम्बर प्रदेशमा मात्र भयो ।
त्यही उपलब्धीका करण उसले त्यहाँ राजपा नेपालसँग मिलेर सरकार बनाउन पनि सफल भयो ।
तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन गर्न लाग्दा सप्तरीमा रहेका उपेन्द्र यादवलाई काठमाडौं बोलाएर सरकारको विषयमा छलफल गरेका थिए । त्यतिबेला पनि उपेन्द्र यादवले सरकारका विषयमा सकारात्मक भएका थिए ।
तर, सविधान संशोधनको विषयमा केही न केही गर्नुपर्ने अडान लिएपछि शुरुकै चरणमा सरकारमा सहभागी उनका पार्टीले सकेन ।
दोस्रो चरणमा मन्त्रीपरिषद् विस्तार हुँदा उपेन्द्र यादव सहभागी हुने तय भइसकेको थियो । तर, मन्त्रीमा को–को जाने भन्ने तय हुन नसकेपछि विलम्ब भएको थियो । स्रोत भन्छ, ‘त्यतिबेला उपेन्द्र यादवले आफ्नो नेतृत्वमा सरकारमा जाने भनि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँग तीन बुँदे सहमति पनि गरेका थिए ।’
तर, पार्टीमा मन्त्रीको विषयमा विवाद भएपछि त्यतिबेला पनि सरकारमा सहभागी हुन सकेन । ओली नेतृत्वको सरकारमा सहभागी हुन उपेन्द्र यादवले तीन महिना कुर्नु पर्यो ।
अढाई महिनासम्म पार्टीमा कुरा मिलाउन समय लाग्यो । मन्त्रीका उम्मेदवार राजेन्द्र श्रेष्ठ, रेणु यादव, इस्तियार राइन, रामसहाय यादव, प्रदीप यादव, उमाशंकर अरगरिया, हरिनारायण रौनियारलगायतका नेताहरु दौडधुपमा थिए ।
जेठ १६ गते बसेको फोरम नेपाल संसदीय दलको बैठकले मन्त्री चयन गर्ने जिम्मेवारी उपेन्द्र यादवलाई दियो ।
उपेन्द्र यादवले जिम्मेवारी पाएपछि जेठ १७ गते सल्लाह गर्नका लागि पदाधिकारीको बैठक बोलाएका थिए ।
सो बैठकमा उनले सबैसँग सल्लाह लिएका थिए ।
हिजो दिनभरि स्वास्थ्यमन्त्रीमा राजेन्द्र श्रेष्ठ र शहरी विकास मन्त्रीमा उपेन्द्र यादव स्वयं जाने चर्चा चलेको थियो ।
तर, उपेन्द्र यादवले हिजो साँझ ६ वजे सुटुक्क प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य मन्त्रीमा आफ्नो र शहरी विकास मन्त्रीमा इस्तियाक राइनको नाम बुझाएका थिए ।
आज उनले स्वास्थ्य तथा जनसँख्या मन्त्रीमा सपथ लिएका छन् ।
उपेन्द्र यादवले परराष्ट्र मन्त्रीमा दावी गरेका थिए । तर, प्रधानमन्त्री अोलीको चीन भ्रमणको तयारी चलिरहेका बेला सो मन्त्रालय तत्काल हेरफेर नगर्ने भनेपछि उपेन्द्र स्वास्थ्यका लागि राजि भएका थिए ।
पछि मन्त्रालय हेरफेर हुनसक्ने फोरम नेपालका एक नेताले बताए ।
राजनीतिक यात्रा
सामाजिक संस्थाको रुपमा २०५४ सालमा मधेशी जनअधिकार फोरम नेपाल गठन गरी २०६३–०६४ मा मधेश आन्दोलन शुरु गरेपछि एका एक चर्चामा आएका उपेन्द्र यादव त्यसपछि उनको चर्चा कहिले सेलाएनन् ।
उनको राजनीतिक यात्रा २०३२ सालबाट नै शुरु भएको थियो । पुष्पलाल समूहको अनेरास्ववियुमा संलग्न भएका उपेन्द्र यादवले २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठबाट कम्युनिस्ट पार्टीको चौवन्नी सदस्यता लिएका थिए ।
विद्यार्थी राजनीति हुँदै उपेन्द्र यादवले यादव २०३६ सालको जनमतसँग्रहमा सक्रिय हुनुभएको थियो । अखिल विभाजित भएपछि उनी प्रगतिशील विद्यार्थी (युनियन) को दुई कार्यकाल उपाध्यक्ष पनि भएका थिए ।
काँग्रेसले शुरु गरेको सत्याग्रह आन्दोलनमा सामेल भए र काठमाडौमा उनलाई गिरफ्ताल गरी सेन्ट्रल जेलमा राखेको थियो ।
पछि पुष्पलाल समूहको अध्यक्ष साहना प्रधान र मनमोहन अधिकारीको पार्टी मिलेर नेकपा (माक्र्सवादी) बन्यो । सो पार्टीको कोशी अञ्चल कमिटीमा रहेर काम गर्न थालेका उपेन्द्र यादव २०४६ सालको जनआन्दोलनमा यादव विराटनगरमा गिरफ्तार भएका थिए ।
प्रजातन्त्र पुनस्थापना भएपछि मात्र उनी रिहाय भए । पछि माले र माक्र्सवादीबीच भएकता भएर एमाले बन्यो र उनी सो पार्टीबाट सुनसरी–४ बाट गच्छदारको प्रतिस्पर्धी चुनाव लडे तर उनी पराजित भए ।
पछि उनी माओवादीमा आवद्ध भएपछि मातृका यादव र सुरेश आले भारतको दिल्लीमा गिरफ्तार भएका थिए । तर, उनी तत्कालै रिहाय भएका थिए ।
मातृका र सुरेश आलेमगरलाई भारतले नेपाललाई सुपुर्दगी गरेपनि उनी रिहाय हुनुलाई तत्कालिन माओवादीले उपेन्द्र यादवलाई आशंकाको शंकाको घेरामा राखेका थिए ।
माओवादीले उनलाई गोप्य ढंगबाट खोजि गर्न थालेपछि उनी सो दलबाट टाढिएका थिए । र, मधेशी जनअधिधकार फोरम नेपाललाई सक्रिय गर्न थाले ।
भारतमा अर्धभूमिगत अवस्थामा रहेर उनले फोरम नेपालको संगठन विस्तार गर्न थाले ।
२०६४ माघ २ गते माइतीघर मण्डलका नेपालको अन्तिरम सविधान जलाएर आन्दोलनको घोषणा फोरम नेपालले गरेको थियो ।
त्यो बेला शुरु भएको आन्दोलन कुनै नकुनै रुपमा उपेन्द्र यादवले जिवित राखेका छन् । उनी भन्छन, ‘२०६४ सालमा जुन मुद्दा लिएर आन्दोलन शुरु गरेका थियौं त्यो अझै पुरा भएको छैन, केही पुरा भएपनि मुख्य मुद्दा सिमांकन अझै बाँकी छ ।’
को हुन् उपेन्द्र यादव ?
२०१६ सालमा सप्तरी जिल्लाको भागवतपुरमा जन्मेका उपेन्द्रको शिक्षादीक्षा र लालपालन सुनसरीमा भयो ।
धनीलाल यादव र फुलनीदेवी यादवका कान्छा छोरा उपेन्द्र यादवका दाइ डम्बर यादव खेतीपाती गर्छन ।
मधुवनको मोहन नि.मा.वि.मा उहाँले प्रारम्भिक शिक्षा प्राप्त गरेका उनी जनता मावि मधुवन र वनदहवाकट्टीमबाट २०३२ सालमा एसएलसी उत्तीर्ण गरे ।
त्यसपछि उनी धरानको हात्तीसार क्याम्पसमा भर्ना भए ।
त्यहाँबाट आईएस्सी गरेका उनी विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट स्नातक र स्नातकोत्तर गरे ।