सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज पहिलोपटक जहाज अवतरण

शुक्रबार, २५ जेठ २०७५, १९ : ११
शुक्रबार, २५ जेठ २०७५

गुल्मी– गुल्मीको रेसुङ्गा विमानस्थलमा आज पहिलोपटक जहाज अवतरण भएको छ ।  १८ सिट क्षमताको तारा एअरको जहाज परीक्षणस्वरुप आज दिउँसो ३ बजेर ५५ मिनेट जाँदा अवतरण भएको हो । 
जहाज उडानको शुभारम्भ नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले भव्य समारोहबीच गरेका हुन् । यसअघि २०६३ साल असार २५ गते पनि मन्त्री ज्ञवालीले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री छँदा शिलान्यास पनि आफैले गरेका थिए ।

उतिवेला मन्त्री भएको एक महिनामै  गुल्मीमा विमानस्थलको योजना पारेका मन्त्री ज्ञवालीले अहिले विमानस्थलको परीक्षण उडान पनि मन्त्रालय सम्हालेको छोटो समयमै गराउन सफल भएका छन् । समारोहलाई सम्वोधन गर्दै मन्त्री ज्ञवालीले आजको दिन आफ्नो मात्रै नभएर सबै गुल्मेली र यस आसपासका जिल्लावासीको खुशीको दिन भएको भन्दै बधाई दिए । मन्त्री ज्ञवालीले कालीगण्डकी कोरिडोर र मदन भण्डारी लोकमार्ग पनि गुल्मी हुँदै जाने भएकोले अव गुल्मीले विकासको बेग्लै गति लिने दावी गरे ।

देशभर ५२ औं विमानस्थलका रुपमा रेसुङ्गा विमानस्थल निर्माण भएको र सवैभन्दा छोटो समयमै परीक्षण उडान भएको नेपाल नागरिक उड्यन प्रधिकरणका महाप्रवन्धक समिर गौतमले बताए ।

उनले जति सक्दो छिटो ग्रावेलिङ्ग टावर लगायका वाँकी काम सकेर नियमित उडानको ब्यवस्था गरिने  प्रतिवद्धत्ता समेत जनाए । गुल्मीमै घर भएका सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले आफु अत्यन्तै हर्षित भएको बताए ।

त्यस्तै चन्द्रगिरी केवलकार सञ्चालक चन्द्र ढकालले रेसुङ्गा विमानस्थलसँगै गुल्मीको सदरमुकाम तम्घासबाट माथि प्रसिद्ध तपोमूमी रेसुङ्गा धार्मिक क्षेत्रमा केवलकार सञ्चालन गर्न मन्त्री ज्ञवालीको आग्रहमा आफु गुल्मी आएको र अव छिट्टै सम्भाव्यता अध्यान हुने जानकारी दिए ।

उनले केवुलकार सञ्चालनका लागि जमिन प्रशस्त चाहिने र त्यसमा स्थानियको सहयोग सम्वन्व्यको जरुरी हुने भएकोले त्यसमा रेसुङ्गा नगरपालिकाले पहल गर्न आग्रह गरेका छन् ।

पोखराबाट जहाज लिएर आएका क्याप्टेनहरु सन्तोश शाह , प्रभाकरण शाह लगायतको टोलीलाई विमान स्थल उपभोक्ता समितिले स्वागत सम्मान गरेका थिए । 

यस विमानस्थलमा नियमित सेवा सुरु भएपछि छिमेकी जिल्ला अर्घाखाँची, प्युठान, पाल्पा, वाग्लुङ्ग, पर्वत सम्मका जनताहरु लाभान्वित हुने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप