आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यो सरकारले नेपालमा समृद्धि होइन गरिबी मात्रै बढाउँछ : सीपी गजुरेल

आइतबार, २७ जेठ २०७५, ०८ : १२
आइतबार, २७ जेठ २०७५

‘समृद्ध नेपाल, सुखी नेपाली’ तत्कालीन एमालेको चुनावी नारा हो । चुनावमा यो आर्कषक नारा बन्यो । यो नाराले एमालेलाई धेरै सिट जित्न महत्वपूर्ण भूमिका खेल्यो तर नाराले मात्रै समृद्धि आउने त होइन । जहाँसम्म एमालेको नीति, विचार र सिद्धान्त छ, त्यसले समृद्धि ल्याउन सम्भव छैन । 

समृद्धि कसरी ल्याउन सकिन्छ भने नेपालमा विदेशीहरूको हस्तक्षेप छ । पहिलो कुरा त समृद्ध देश बनाउन हाम्रा प्राकृतिक स्रोतसाधनलाई विदेशीहरूको कब्जाबाट मुक्त बनाउन प¥यो । तर ओलीजीले नेतृत्व गर्नुभएको सरकारले हाम्रा पाकृतिक स्रोतसाधनलाई कहिल्यै मुक्त गराउँदैन । हाम्रा सम्पत्तिलाई विदेशीको अधीनमै रहने गराउँछ । भर्खरै भारतीय प्रधानमन्त्री मोदी नेपाल आएको समय ओलीजीले मिलेर अरूण तेस्रोको शिलान्यास गर्नुभयो । यो एउटा जल्दोबल्दो उदाहरण हो । अर्को कुरा, ओलीजी भारत भ्रमण गएको बेला गोप्य किसिमका समझदारी भएका छन् भन्ने चर्चा चलिरहेको थियो । 

त्यो गोप्य समझदारी कोसी हाई ड्याम हो भन्ने धेरैको अनुमान छ । नेपालमा कोसी हाई ड्याम बनाएर भारतका सबै नदीहरू कोसीमा जोड्ने योजनामा भारत छ । त्यसमा ओलीले भित्री रूपमा सहमति जनाएका छन् भन्ने छ । भारतको गुरुयोजना भारतमा भएका नदीहरू सबै जोडेर भारतभरी सिंचाइ पु¥याउने योजनामा छ । त्यसमा कोसी थप्ने योजना मोदीको छ । कोसी भारतको सिंचाइको ठूलो योजनामा छ । त्यसकारण हाम्रा प्राकृतिक स्रोतसाधन सबै विदेशीलाई बुझाउने । हाम्रा नदीनाला विदेशीलाई दिएर हाम्रो देशमा भएको जमिनको सिंचाइ गर्ने योजना छैन । नदीनाला बिक्री गर्ने अनि हाम्रो उत्पादकत्व कसरी बढ्छ ? अहिले नेपालमा उत्पादकत्व नबढ्नुको एउटा कारण के हो भने तराई क्षेत्रमा सिंचाइ छैन । मुख्य खाद्यान्न उत्पादन हुने क्षेत्र तराई हो । त्यहाँ नै सिंचाइको व्यवस्था छैन । 

नदीनाला र पानी सबै विदेशीलाई दिने । त्यहाँबाट विद्युत उत्पादन गरेको विदेशीले कब्जा गर्दिने अनि हामीलाई सधँै विद्युत अभाव भइरहने हुन्छ । यस्तो अवस्थामा नेपालको समृद्धिको सम्भावना छैन । हाम्रा जति पनि प्राकृतिक स्रोत साधन छन्, ती समृद्धिका आधार हुन् । अब तिनै स्रोतसाधन अर्काले कब्जा गरिदिएपछि कसैले भनेकै भरमा कसरी समृद्धि आउँछ ? 

अर्को कुरा नेपालको समृद्धिका लागि आर्थिक विकास चाहियो । सरकारले अहिले ल्याएको बजेटमा आर्थिक विकास हुने ठोस योजना छैन । त्यहाँ के हुनुपथ्र्यो भने विकास गर्न पुँजीगत खर्च वृद्धि हुनुपथ्र्यो । अनि विकास दर बढ्ने थियो । अहिले पुँजीगत खर्च विगतको भन्दा माथि उठेको छैन । त्यसैले विकास सम्भव छैन । राष्ट्रिय पुँजी अभाव छ । किनभने हामीसँग व्यापार घाटा यति डरलाग्दो छ कि निर्यात ७ प्रतिशत आयात ९३ प्रतिशत भइसकेको छ । अनि हामी कहिले समृद्ध हुन सक्छौँ ? यो असम्भव हो । त्यसैले यो सरकारले जुन प्रकारको नीति अवलम्बन गरेको छ, त्यसले नेपालमा कुनै समृद्धि ल्याउन सम्भव छैन । 

नदीनाला र पानी सबै विदेशीलाई दिने । त्यहाँबाट विद्युत उत्पादन गरेको विदेशीले कब्जा गर्दिने अनि हामीलाई सधँै विद्युत अभाव भइरहने हुन्छ । यस्तो अवस्थामा नेपालको समृद्धिको सम्भावना छैन । हाम्रा जति पनि प्राकृतिक स्रोत साधन छन्, ती समृद्धिका आधार हुन् । अब तिनै स्रोतसाधन अर्काले कब्जा गरिदिएपछि कसैले भनेकै भरमा कसरी समृद्धि आउँछ ? 

समृद्धिका लागि उद्योगधन्दाको विकास हुनु प¥यो । सरकारले रोजगारीको कुरा गरिराखेको छ, त्यसको लागि त उद्योग धन्दाको विकास हुनु प¥यो । त्यसैले यहाँ यसको सभ्भव छैन । किनभने ओली, शेरबहादुर, गिरिजाप्रसाद नेतृत्वको जति पनि सरकार बने यिनीहरूले देशमा उद्योगधन्दा खोलेनन् । बरु राजाको पालामा खोलेका उद्योग धन्दाहरू कौडीको मूल्यमा बिक्री गरे । हेटाँैडा कपडा उद्योग, चिनी कारखाना, कृषिऔजार कारखाना, चाइनाले खोलिदिएको भृकुटी कागज कारखाना, चीनले नै बनाइदिएको छालाजुत्ता कारखाना, रुसले खोलिदिएको जनकपुर चुरोट कारखाना आदि सबै कारखाना कौडीको मूल्यमा बिक्री गरिदिए । यसले देशमा भएको औद्योगिकीकरणलाई खत्तम पारे । ओली सरकारले पनि त्यही गर्दैछ । 

यो सरकारले दलाल पुँजीपतिको प्रतिनिधित्व गरेको छ । औद्योगिक विकास भयो भने दलाल पुँजीपतिले पैसा कमाउन पाउँदैनन् । विदेशबाट सामान ल्याएर त्यहीँबाट कमिसन खाने हुन् । त्यहीँबाट पैसा कमाउने हुन् । जब देश नै सम्पन्न भयो भने त्यो पुँजी पनि आउँदैन । त्यसपछि उनीहरूलाई कमिसन खाने ठाउँनै बन्द हुन्छ । त्यसकारण यो सरकारले कदापि उद्योगधन्दाको विकास गर्दैनन् । देशमा समृद्धि ल्याउनै सक्दैनन् । अहिलेकै बजेट हेर्दा यो कुरा प्रष्ट हुन्छ । यो बजेटले नेपालमा न त औद्योगिकीकरण गर्न सक्छ  न जलस्रोतलाई सञ्चालन गर्न सक्छ । न त बेरोजगारीलाई रोजगार दिन सक्छ । कोरा नाराले मात्रै समृद्धि आउँदैन । त्यसकारण कुनै पनि तरिकारले समृद्धिको सम्भावना देख्दिनँ । 

अहिले, जनजीविका झन््झन् जटिल बन्दै गएको छ । हरेक हप्तामा भाउ बढेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा सबैतिरको मूल्य बढ्छ । सरकारकै भर्सनअनुसार भारतले मूल्य बढाइदियो, त्यसकारण यता मूल्य बढायौँ । यो बढेको मूल्य भारतले लिन्छ । जति मूल्य बढ्यो त्यति घाटा नेपाललाई हो । भारतलाई बिक्री गर्ने सामानमा मूल्य वृद्धि गरे नेपाललाई फाइदा हुन्थ्यो । भारतबाट किन्ने सामानमा मूल्य जति बढ्यो त्यति नेपालीलाई घाटा हो । 

नेपालमा जस्तो सङ्गठित भ्रष्टाचार संसारमा कतै नहोला । ओलीजीले भाषणमा भ्रष्टाचारमा शून्य सहनशीलता भन्नुहुन्छ तर अहिलेसम्म एक जनालाई कारबाही गर्न सक्नुभएको छैन । देश यस्तो अवस्थाबाट गुज्रिरहेको हुनाले जनजीविकाको समस्या झनझन नाजुक बन्दै गएका छन् । त्यसैले अहिलेको अवस्था हेर्दा यो सरकारले नेपालमा समृद्धि होइन गरिबी मात्रै बढाउँछ । 

यो सरकारले त खाली समृद्धिका कुरा गरेर  जनतालाई आकर्षित गर्दै झुक्याउने काम गर्दैछ । अब पछि गएर विकास भएन भने, जस्तोकी चुनावका बेला वृद्धभत्ता महिनाको ५ हजार बनाउने भन्दै प्रचार गरे । त्यो दिन त सम्भव भएन तर अहिले आएर ओलीले राजनीतिक कारणले गर्दा दिन सकिएन भन्दिए । उनले एउटा कारण बताइदिए । हो भोलि गएर समृद्धि किन भएनभन्दा एउटा यिनीहरूले त्यस्तै केही कारण बताइदिन्छन् । त्यतिन्जेल जनतालाई ठग्न पाउने भए । समृद्धि गर्न सकिएन भनेपछि जनताले विश्वास गर्दैनन् । फेरि यिनीहरू के गर्छन् भने जनता ठग्न अर्कै नारा बनाउँछन् । 

तर समृद्धि ल्याउनै नसकिने भन्ने हैन, सम्भव छ । समृद्धिका आधार निश्चित छन् । नेपालमा नयाँ जनवादी व्यवस्था ल्याइयो भने छिटै समृद्धि ल्याउन सक्छौँ । त्यसको आधार छ । जस्तो नेपालमा जलस्रोतको भण्डार छ । यी सबै विदेशी कम्पनीलाई नदिएर नेपाल आफैले उत्पादन गर्ने हो भने समृद्धिको आधार त यही हो नि । सिंचाइको व्यवस्था गर्दे उत्पादकत्व बढाउने । नेपाल पर्यटकीय गन्तव्यका लागि निकै प्रसिद्ध देश हो । पर्यटकीय क्षेत्रमा राम्रो व्यवस्थापन गर्ने हो भने विदेशी मुद्रा धेरै भित्रिन्छ ।

समृद्धिको सम्भावना नभएको होइन । तर यो सरकारले किन गर्दैन भने यो सरकार दलाल पुजीँपतिहरूको हित गर्ने सरकार हो । उनीहरूबाटै चन्दा लिएर चुनाव जित्छन् । उनीहरूकै आफ्ना मान्छे दलाली गर्न लागेका छन् । नत्र यो सरकारले किन अस्पताल, शिक्षालगायतका क्षेत्रको निजीकरण रोक्न सक्दैनन् ? किनभने सरकारमै भएकाहरूका मान्छेनै सामेल छन् । त्यसैले केही गर्न सक्नेवाला छैनन् । नेपालमा समृद्धिको सम्भावना धेरै छ तर यो सरकारबाट सम्भव छैन । कसैले भनेकै भरमा कसरी समृद्धि आउँछ ? ओलीजीले नेतृत्व गरेको सरकारको ‘समृद्ध नेपाल, सुखी जनता’ भन्ने नारा बकवास सावित हुँदैछ भन्ने देखियो । 

(नेकपा क्रान्तिकारी माओवादीका नेता गजुरेलसँग बबिता शर्माले गरेको कुराकानीमा आधारित ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप