सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘सम्हालिन्छ कहिले मन’ गीतसँग मेरो जीवनकथा मिल्छ : पूजा शर्मा

बिहीबार, २९ असार २०७४, ११ : ०५
बिहीबार, २९ असार २०७४

करिब दस वर्ष अगाडि । पूजा शर्मा भर्खर एसएलसी दिएर बसेकी थिइन् । गायक सुगम पोखरेलकी फ्यान थिइन् उनी । जसरी पनि सुगमको भिडियो अभिनय गर्ने उनको ठूलो धोको थियो । भिडियो अभिनय व्यवस्था मिलाइदिन घरमा उनी आग्रह गर्थिन् । रुन्थिन्, चिच्याउथिन्, घर छोडेर हिँड्ने, अध्यायन अगाडि नबढाउने जस्ता कुराले धम्क्याउँथिन् । पूजाले अभिनय यात्राको सुरुवात सम्झिइन्– ‘मेरो कुराले आमालाई टेन्सन भएछ । उहाँले राजेश वंशल मार्फत भिडियो अभिनय व्यवस्था मिलाइ दिनुभयो ।’


राजेश वंशल म्युजिक डटकमका मालिक थिए । त्यति बेलाको टप थ्री म्युजिक कम्पनीमध्ये यो एक थियो । उनकी आमालाई राजेशसँग पूजाको म्युजिक भिडियो अभिनय चहाना राख्न कुनै कठिनाइ परेन । ‘राजेश नाताले मेरो कजन थिए’– उनले भनिन्– ‘पुरै फ्यामिली मिलेर राजेशलाई सुगमको भिडियो खेलाउन प्रेसरसमेत दियौँ ।’


पूजाको परिवारको पे्रसरका अगाडि राजेशको केही चलेन । राजेशले  उनलाई भिडियो अभिनय गराउनका लागि गायक सुगमका अगाडि राखिदिए । उनी त्यतिबेला बलिउड कलाकार शाहरुख खानकी फ्यानसमेत थिइन् । ब्वाइज कट बनाएकी उनी कुनै एङ्गलबाट पनि केटा जस्तो देखिँदैन थिइन् । ‘जब म भिडियो अभिनयको सिलसिलामा सुगमका अगाडि परेँ । मलाई देखेर सुगम तर्सिनुभयो’– उनले सुनाइन् ।


सुगम तर्सिनुको पनि कारण रहेछ । उनी त्यति बेला हिपअप पाइन्ट लाउँथिन् । हेरस्टाइल पनि केटाकै थियो । मेकअप त परै जाहोस् उनलाई नेल पालिससमेत लगाउन आउँदैन थियो । उनी बिनामेकअपमा सुगमको अगाडि उभिएकी थिइन् । त्यतिबेला उनी केटा जस्तो देखिन्थिन् । भिडियोमा राख्नुपर्ने प्रेसरका कारण सुगमले केही बोलेनन् । बोलुन् पनि कसरी ? एक त म्युजिक कम्पनीको दबाब, अर्काे कुराकानीको क्रममा सुगमले गीत सुन्दै उनले हात काटेको यर्थाथ थाहा पाइसकेका थिए ।


सुगमले मौन रहेर स्विकृति दिए । उनले पनि आफ्नो हेयर स्टाइल चेन्ज गरेर केटी देखिने गेटअप बनाइन् । अन्य सबै व्यवस्था राजेशले मिलाइदिए । उनी म्युजिक भिडियो मार्फत अभिनयमा डेब्यु गर्न सफल भइन् । ‘केटा बनेर हिँड्ने म केटी बनेर म्युजिक भिडियो अभिनय गरेँ’ पूजा गफिँदै थिइन् ।


म्युजिक भिडियो अभिनयपछि केही टेलिचलचित्र खेल्ने अवसर पाएकी उनले हिमालय टेलिभिजनमा काम गर्ने अवसरसमेत पाइन् । टेलिभिजनका सीईओ नारायण पुरीले उनलाई ‘रोड सो’ कार्यक्रम निर्माण सञ्चालन जिम्मा लगाए । विभिन्न विदेशी टेलिभिजनको ‘रोड सो’ हेरेर उनले कार्यक्रम बनाइन् । कार्यक्रमले छिट्टै चर्चा पायो । सँगै उनले टेलिभिजनबाट चलचित्र रिपोर्टिङ्को थप जिम्मेवारी पाइन् । ‘रिपोर्टिङमा जाने क्रममा निर्देशक सुदर्शन थापासँग भेटे भयो ।’ उनले ती दिन सम्झिइन्, ‘भेट बाक्लिदै जाँदा सुदर्शनले म नयाँ चलचित्र ‘मधुमास’ बनाउँदैछु भन्नुभयो । त्यतिबेला निर्देशक थापाले मेरो चलचित्र अभिनय चाहाना थाहा पाइसक्नु भएको रहेछ ।’


चलचित्रको अफर आउँदासमेत उनी अभिनयको विषयमा केही जानकार थिइन् । रहरले एक म्युजिक भिडियो खेलेको बाहेक अन्य अनुभव पनि उनीसँग थिएन । न त टेलिभिजनमा काम गर्ने सिलसिलामा चलचित्र अभिनय अफर आउँछ भनेर सोचेकी नै थिइन् । भनिन्– ‘अभिनय मेरो बसमा पनि थिएन । जानेको र पढेको पनि थिइन ।’


टेलिभिजन रिपोर्टिङका क्रममा निर्देशक सुदर्शन थापासँगको उनको भेट बाक्लिँदै गयो । भेटमा चलचित्रको गफ हुन थाल्यो । ‘गफैगफले ममा अभिनय मोह पलायो । अभिनयका लागि म रेडी भएँ ।’ उनी भन्दै थिइन् ‘निर्देशक थापाले पनि मलाई अभिनय कक्षामा हालिदिनुभयो । ‘मधुमास’ बाट मेरो चलचित्र यात्रा सुरु भयो ।’


‘मधुमास’मा उनले अभिनेता आर्यन सिग्देलसँग स्क्रिन सेयर गर्ने अवसर पाइन् । ‘मधुमास’ अभिनय गर्दा म एकदैम एक्साइटेट थिए । किनभने आर्यन मलाई मनपर्ने हिरो थियो’– उनले थपिन् ‘ एक्साइटेट हुँदैहुँदै चलचित्र अभिनय गरेकी थिएँ । बेष्ट डेब्यु अभिनेत्रीको अवार्डसमेत हात पारेँ ।’


अवार्डले उनलाई तुरुन्तै अर्काे चलचित्र दिलायो । चलचित्र थियो ‘अझै पनि’ । निर्देशक सुदर्शन थापा र आलोक नेम्वाङले उनलाई यो चलचित्रका लागि पत्याए थिए । ‘पत्याउनुको कारण ‘मधुमास’मा मैले गरेको राम्रो अभिनय थियोे’, उनले भनिन् ।


‘अझै पनि’ अभिनय उनका लागि त्यति सहज भने थिएन । यसका निर्देशक आलोक नेवाङ निकै ट्यालेन्ट थिए । डरैडरममा उनी अभिनयमा होमिइन् । चलचित्रका लागि उनले धेरै दुःखसमेत गर्नुपर्यो । एक एक पेजको संवाद बोल्नेदेखि एक महिना वर्कसपसम्मको मिहिनेत उनले गरिन् । ‘आफूलाई भाग्यमानी मान्छु । मैले आलोक नेम्वाङसँग काम गर्ने अवसर पाएँ ।’ उनले गर्व गरिन् ।


‘अझै पनि’ निर्देशक आलोकको तेस्रो चलचित्र थियो । कलाकारलाई हसाएर काम गर्ने शैलीका अलोकको यो बानी उनले अहिलेसम्म पनि भुल्न सकेकी छैनन् । ‘मलाई धेरै माया गर्नुहुन्थ्यो । हाम्रो झगडा हुन्थ्यो । माया हुन्थ्यो । आलोक दाइसँग अर्कै अट्याचमेन्ट थियो ।’ स्वर्गीय निर्देशक आलोकको कुरा गर्दै जाँदा पूजाका आँखा रसाए । ‘एक सातादेखि आलोक दाइले मेरो फोन उठाउनुभएको थिएन ।’ उनी त्यो दिन सम्झँदै थिइन्– ‘म उहाँले किन फोन उठेन भेनर हैरान थिए । सोधखोज गर्दा उहाँले आत्महत्या गरेको थाहा पाए । सुन्ने बित्तिकै छाँगाबाट खसेजस्तो भएँ । तुरुन्त उहाँको घर गएँ ।’ उनले थपिन्– ‘भित्र जान कसैले दिएन । उहाँको मृत्यले सारै मन दुख्यो । रोएँ । आफ्नो चलचित्रका बाउ हुनुहुन्थ्यो । उहाँको मृत्युले चलचित्रको व्यवसाय पनि राम्रो भएन ।’


‘अझै पनि’पछि उनले ‘चङ्खे शङ्खे पङ्खे’ अभिनय अवसर पाइन् । सुदर्शन थापा निर्देशक रहेको यो चलचित्रका निर्माता सन्तोष सेन थिए । सन्तोष सेनले चलचित्रका लागि एक हिरो ल्याएका थिए । उक्त हिरो राख्नुपर्ने प्रेसरले चलचित्रको कथा नयाँ बनाइयो । तीन हिरो र तीन हिरोइन रहने कथा बन्यो । यसमा उनी रिपोर्टरको भूमिकामा थिइन् । ‘चलचित्रको छायाङ्कन सिलसिलामा मेरो अभिनय निर्माता सन्तोष दाइलाई चित्त बुझेछ क्यार । चलचित्र नसकिँदै नयाँ चलचित्र ‘प्रेम गीत’का लागि फाइनल गर्नुभयो ।’ पूजाले सुनाउँदै थिइन् ‘नायिका म छनौट भएपछि निर्देशक ‘सुदर्नजी’ले मेरो हाउभाउ अनुसारकै कथा ‘चङ्खे शङ्खे पङ्खे’को सुटिङ सेटमै तयार गर्नुभयो ।’


‘प्रेम गीत’ले उनको अभिनय करियरमा हाइट दिलायो । ‘प्रेमगीत मेरो अभिनय जीवनकै टर्निङ प्वाइन्ट हो । दर्शकले मलाई पूजा शर्मा भनेर यसै चलचित्रबाट चिनेका हुन्’– उनले भनिन् ‘यो चलचित्रकबाट मैले पाएको जस्तो चर्चा र सफलता सायद कुनै कलाकार पाउँदैन होला ।’
‘प्रेम गीत’मा उनी गीतको चरित्रमा थिइन् । प्रेमको भूमिकामा अभिनेता प्रदीप खड्का थिए । चलचित्रको दोस्रो हाफमा उनको छायाँ नामको अर्काे चरित्र पनि थियो । 


उनी अहिले ‘म यस्तो गीत गाउँछु’को कारणले चर्चामा छिन् । शुक्रबारबाट प्रदर्शनमा आउने यो चलचित्रको विषय पनि पे्रमकथा नै छ । प्रेमगीतभन्दा फरक कथा यसले बुनेको प्रचार गरिएको छ । प्रेम गीत हेरेर चलचित्र यस्तो हुनुपर्ने भन्ने दर्शकबाट आएको सुझावसमेत चलचित्रमा समेटिएको उनले बताइन् ।


उनले अहिलेसम्म जति चलचित्र अभिनय गरेकी छन्, ती चलचित्रमा निर्देशक सुदर्शन पनि जोडिएका छन् । बाहिरी हल्ला पत्याउने हो भने उनी सुदर्शनकी प्रेमीका पनि हुन् । तर यो उनी नकार्छिन् । भन्छिन् ‘हामी एक अर्कालाई सपोर्ट गर्छाैं । राम्रो ट्युनिङ मिल्छ । हामी दुबै एकै टिमसँग काम गर्न रुचाउछौ ।’ थपिन् ‘मैले अर्काे चलचित्र बनाए भने सुदर्शनलाई नै निर्देशक लिन्छु ।’


फेसनको मावलमा सामान्य रहेकी उनी ‘पाइट र टिसर्ट बढी लगाउँछिन् । एक्लै चलचित्रको निर्माण गर्ने अहिले पलाएको उनको सपना हो । मुड अनुसारको सङ्गीत सुन्न मन पराउने उनी खुसीमा ‘लभ सङ’ र रिसमा ‘स्याड सङ’ रुचाउँछिन् । अन्जु पन्त र सुगम पोखरेल उनका मनपर्ने गायका गायिका हुन् । गीत भने उनले गायक सुगमको ‘सम्हालिन्छ कहिले मन’ मन पराउँछिन् । भनिन् ‘यो गीतसँग आफ्नो जीवनकथा मिल्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप