सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय सरकारकै सामु दलित महिलालाई ‘सजाय’ कालोमोसो

बुधबार, ०६ असार २०७५, १३ : ०९
बुधबार, ०६ असार २०७५

गुल्मी– बाग्लुङको एक वडामा जनप्रतिनिधि सामु एक दलित महिलालाई दण्डित गरिएको छ । जसले आधुनिक समाजलाई फेरि लज्जित बनाएको छ । 

आर्थिक लेनदेनका विवादमा एक पक्षले अर्को पक्षमाथि कालोमोसो गरेको आरोप लागेको छ । यो गल्कोट नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयमा २०७४ को हो ।

साविकको रिघा गाविस वडा नम्बर ४ की दिलमाया विकलाई वडा नम्बर ५ निवासी खगी विक र उनका श्रीमानले कालोमोसो दलेको हुन् । घटना पुरानो हो तर विवाद बढ्दै गएपछि अहिले सतहमा आएको हो । 
दिलमाया विक भाइबुहारी हुन् भने खगी विक नाताले अमाजू हुन् । 

माघ  २८ गते आइतबार राति उनीहरूबीच विवाद भएको थियो । त्यसपछि दुवै पक्षलाई जुटाएर वडा कार्यालयमा मिलापत्र गराइएको थियो  । त्यहीबेला कालोमोसो दल्ने कार्य भएको हो । 

खगी  विक र उनका श्रीमान श्यामबहादुर विकले भने खुट्टा ढोग्न नमानेपछि कालोमोसो दलेको स्वीकार गरे ।

उनले आफूले दिएको पैसा उठाउनसमेत  गाह्रो परेको गुनासो गर्दै भने– ‘मुख छाडेपछि कालोमोसो दलेको हो ।’

मेलमिलाप पत्रमा जनप्रतिनिधिले भने हस्ताक्षर गरेका छैनन् । 

दिलमायाका श्रीमान यमबहादुर विक वैदेशिक रोजगारका लागि कतारमा छन् । 

वडा कार्यालयका जिम्मेवार जनप्रतिनिधि र मेलमिलापकर्ताले गरेको कागजमा २३ वर्षअघिदेखिको सयकडा दुईका दरले ब्याज जोडिएको छ । 

२०५१ सालमा ४ हजार ८ सय  लिएको भन्दै २३ वर्षको ब्याज २६ हजार ४ सय ९६ बनाइएको छ । सोही सालमा फेरि ३ सय ८० को ब्याज १९ सय ३२ रुपियाँ बनाइएको छ । 

२०६७ सालमा लिएको भनिएको १ हजार ५० रुपियाँको ब्याज १६ सय ८० बनाइएको छ । 

 अन्य सबै लेनदेन विवरणमध्ये कतिपय कहिले काहीँ  आवतजावत गर्दा पाहुना हुन आउँदा काटेर खुवाइएका  कुखरा र राजीखुशी दिइको घाँस र खरको समेत जोडेर नगदमा परिणत  गरिएको छ । 

सबै जोडेर उनीहरूले दिलमायाबाट खगी विकलाई साँवा १ लाख १४ हजार ७ सय ३० रुपियाँ बनाएका छन् भने ब्याज १ लाख ८२ हजार ३ सय ६८ बनाएका छन् ।

 साँवा ब्याज गरेर २ लाख ९७ हजार ९८ रुपियाँ दिलमायाबाट असार मसान्तभित्र असुल्ने कबुलियत बनाइको छ । 

पीडित दिलमाया भन्छिन्
सबैै आएर घर घेरे ।  छोराछोरी पनि आत्तिए । धेरैका सामु केही लाग्दो रहेनछ । छोराछोरीसहित म वडा कार्यलय गयौँ । वडा कार्यालयभित्र दिनभरी राखेर अमाजू र उहाँका श्रीमान अमाजू दाइले हुक्नु हुके । छोराछोरी माथि हातपात भयो । मुखमा थुकियो । कालोमोसो लगाउँदै जुत्ताको माला लगाउँदै गाउँ घुमाउँछौँ भने । त्यहाँ त्यसो गर्न हुँदैन भनेर मेरो पक्षमा बोलि दिने वडाध्यक्ष डम्मर सर, रिमे बाजे र मेरी सम्दिना मात्रै हुनुहुन्थ्यो । मैले के नै गल्ती गरेकी छु र भने । अमाजु दिदी र दाजु, उहाँका छोराछोरीले समेत हातपात गर्न खोजे ।

मलाई खुट्टा ढोगाउन लगाइयो । म बाहिर निस्केँ । त्यही बेलामा अमाजू दाइले मलाई पछाडिबाट  समात्नुभयो । त्यही बेलामा अमाजूले कालोमोसो दल्न सुरु गर्नुभयो ।  साँझ परिसकेको थियो । मैले कसैबाट गुहार पाइनँ ।  त्यहाँ वडा सदस्य रूपा विक, डम्मर श्रीस पनि थिए । त्यसअघि मलाई तेरो श्रीमानले लगेको ऋण भन्दै कागजमा सइन (हस्ताक्षर) गर्न लगाए ।

उहाँले ऋण लिएको भए उहाँ आएरै हिसाब किताब गर्नुस् भन्दा पनि मेरो कुरा सुन्ने वडाध्यक्ष, रिमेबाजे बाहेक अरू कोही भएनन्  । मलाई कालोमोसो दलेर पनि जुत्ताको माला लगाइदिन खोजेका थिए  ।  त्यही बेलामा एक जनाले त्यो जुत्ताको माला थुतेर फालिदिए । मेरी छोरी र छोरालाई पनि  कालोमोसो लगाउन खोजियो । मैले  तीन दिनसम्म आँखा हेर्न  सकिनँ । आत्महत्या गरेर मरुँ कि जस्तो लाग्यो । म अहिले पनि रोएर बसेकी छु ।  मैले न्याय पाउन सकिनँ ।

विदेशमा रहेका दिलमाया श्रीमान यमबहादुर विकले भने
मैले दिदी भेनाबाट एक चोटि ४६ हजार अर्को चोटि बुटवल जाँदा ३ हजार लिएको सत्य हो । तर मेरी श्रीमतीलाई एक्लो पारेर दुई लाखभन्दा बढीको कागज गराएका छन् रे । कालोमोसो दलेदेखि श्रीमती रुँदै फोन गर्छिन् । अर्काको देशमा छु भनेको बेला आउन पनि नसकिने । वडाबाट न्याय नपाएपछि सञ्चार माध्यम गुहारेको हुँ ।

पञ्चायत कालदेखि समाज सेवा गर्दै आएका  रिघाका रिमेवाजे अर्थात ७८ वर्षीय रिमबहादुर पुन भन्छन्–
यति वर्ष समाज सेवा गरियो । पञ्चायत कालमा पनि यस्तो कसै  माथि दुव्र्यवहार भएन । मैले  त राणाकालमा समेत यस्तो गरिएको सुनिनँ । म दिनैभर त्यस छलफलमा थिएँ ।  मैले भनेको थिएँ खाएको पैसा तिर्नैपर्छ तर उनका श्रीमानले लिएको ऋण उनी नआई हिसब किताब गर्न हुन्न भनेकै हो ।  म साँझ पर्न थालेपछि घर आएँ । कालोमोसो दल्ने भन्दै थिए, मैले त्यसो गर्न हुन्न भन्दै उठेर घर आएँ ।  पछि कालोमोसो दलिएछ । त्यो सुनेर म फेरि जाँदा रातपरेकाले मुहार देख्न सकिन तर उनको लुगामा कालोमोसो थियो । के गरम गर्नै नहुने काम गरे । उनीमाथि साह्रै अन्याय भएको छ ।

दलित समुदायका तर्फबाट वडा सदस्य हुँदै जिल्ला समन्वय समितिको सदस्यसमेत रेहेकी रूपा विक भन्छिन्– 

दुवै पक्षलाई राखेर मेलमिलाप गरिएको हो । दिलमायासँगै उनकी छोरीलाई समेत कालोमोसो दल्न खोज्दा  बचाएकी हुँ । हिसाब किताब गर्ने बेलामा दुवै पक्ष राजी भएरै कागज गरिएको छ ।  घर घेर्ने, जनप्रतिनिधिहरूले दबाब दिने भनिएको आरोप झुट हो । लेनदेनको कुरा जुन लेखियो, त्यो चाहिँ  आफूहरू पनि स्थानीय तह सञ्चालनको अभ्यासमा भएकाले कमीकमजोरी भएको हुनसक्छ ।

गलकोट नगरपालिका उपमेयर रेनुका काउछा 
यस विषयमा फेरि दुवै पक्षलाई राखेर छलफल हुन्छ । त्यो परिवारले तपाईं सञ्चारकर्मीलाई जस्तै मसँग गुनासो गर्दै आएका छन् । म पनि पुनः छलफल गरेर मेलमिलाप गराउने पक्षमा छु । छिट्टै यसबारे पहल गरिनेछ । 

त्यस दिनको छलफलमा दिलमायालाई खगी विक र उनका सबै परिवारले  पटक पटक गाली गलौज गर्दा त्यस वडाका वडा सचिव कर्मप्रसाद गौतम भने दिलमायाका पक्षमा बोलेको थिए ।  उनले भनेका थिए, तपाईंहरू मात्रै बोलेको बेलै र उनका बोल्ने मान्छे छैनन् भन्दैमा जथाभावी धेरै गाली गलौज नगर्नुहोस् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप