आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्यान्सर रोगीको लागि भक्तपुरमा शुरु भयो सर्भाइभर क्लब (फोटोफिचर)

शनिबार, ०९ असार २०७५, १५ : ३८
शनिबार, ०९ असार २०७५

काठमाडौं–क्यान्सर अस्पताल भक्तपुरले क्यान्सर रोगीको लागि सर्भाइभर क्लब संचालन गरेको छ ।

आज अस्पतालको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले क्लबको उद्घाटन गरेका थिए । 

क्यान्सर अस्पतालको सर्भाइभर क्लब उद्घाटनको लागि पुगेका बरिष्ठ कलाकार मदनकृष्णले भावुक हुँदै परिवारमा क्यान्सर लाग्दाको पीडा व्यक्त गरे । केही समय पहिला क्यान्सर रोगबाटनै मदनकृष्णको श्रीमतीको पनि मृत्यु भएको थियो । 

प्रमुख अतिथि श्रेष्ठले फलफूल, माछा, मासुमा विभिन्न विषादी मिसावट हुने गरेको तर नेपालीले त्यही ढुक्क भएर खाने गरेका कारण स्वास्थ्यमा समस्या देखिने गरेको बताए । 

उनले हास्यब्यङ्ग्यशैलीमै भने, ‘पछिल्लो समय अत्याधि औषधि प्रयोग गरेको कारण अमला कागती जत्रो देखिन्छ । कागती सुन्तला जत्रो देखिन्छ । अनि सुन्तला भोगटे जत्रो देखिन्छ । तर, भोगटे चै फेरि सुन्तला जत्रो देखिन्छ । दैनिक सेवन गर्ने खाद्य समानमा बढी औषधि प्रयोग गर्दा नेपालीहरु रोगको सिकार हुनु परेको छ ।’

मोटरसाईकलको लाईसेन्स रिन्यू गरेको जस्तै वर्षैनी विदेशी नागरिकले स्वास्थ्य परिक्षण गराउदै आएको उदाहरणदिदै नेपाली पनि अब स्वस्थ्य रहन अनिवार्य वर्षमा एक पटक स्वास्थ्य जाच गर्न आग्रह गरे । 

क्यान्सर सुरुको अवस्थामा थाहा हुने हो भने निको हुने तर आफ्नो श्रीमतीको स्वास्थ्यमा खासै चाँसो नदिदा गुमाउनु परेको पीडा ब्यक्त गरे । 

‘मेरो श्रीमतीको उपचारको लागि धेरै पटक डाक्टरले मलाई बोलाएका थिएँ । तर म आफ्नै कार्य व्यस्तताले गर्दा जान सकिनँ अस्पताल जादा निकै ढिलो भईसकेको थियो’ भावुक हँुदै श्रेष्ठले थपे ‘आफ्नो परिवारलाई क्यान्सर लाग्दा कति पीडा हुन्छ भन्ने कुरा जसलाई पर्र्याे उसैलाई मात्रै थाहा हुन्छ । एकदम छटपटी हुन्छ । छागाबाट मात्रै होईन, हवाईजहाँजबाट खसे जस्तै हुन्छ ।’ 

परिवारमा क्यान्सर रोग लागेपछि छाँगाबाट मात्रै होईन उडिरहेको हवाईजहाजबाट खसे जस्तो लाग्दोरैछ भन्ने भनाईबाट कुरा सुरु गरेका मदनकृष्णको भनाईले स्टेज अगाडि बसेका क्यान्सर पीडितको आखाँ रसाईरहे ।  

नेपालमा उपचार गर्दा सस्तो सुलभ,प्लेन खर्च होटल खर्च देखि अर्काको देशमा असुरक्षित महशुस आफ्नो देशमा नहँुने हँुदा आफ्नै देशमा उपचार गर्न आग्रह गरे । 

के हो सर्भाइभर क्लब ? 

डाक्टर रोशन प्रजापतिको संयोजनमा संचालन गरिएको क्लबमा क्यान्सर बिरामीलाई क्यारिङबोट,लुडो,लगुरबुर्जा लगायत मनोरञ्जन प्रदान गर्ने खेलको पनि ब्यवस्था गरिएको छ । 

उपचार पछि पनि क्यान्सर रोगीमा मानसिक र शारिरीक चुनौतीहरु धेरै हुने भएको हुदाँ यस्तो अवस्थामा बिरामीलाई उपचारको क्रममा वा उपचारगरीसके पछि  क्यान्सर रोगीहरु निरन्तर आफ्नो काममा फर्कन सक्दछन् । त्यसैले बिरामीको आत्मबल बढाउन र बिरामीको सकारात्मक सोचको लागि सभाइइभर क्लब संचालन गरेको डाक्टर प्रजापतिले बताए । 

क्लबमा कुनै पनि क्यान्सर बिरामीले आफ्नो रोगको बारेमा अर्काे क्यान्सर रोगीसंग खुलेर कुरा गर्न सकोस् र एक क्यान्सर रोगीले अर्काे रोगीलाई उपचारको बारेमा सहजता प्रदान गरोस भन्ने लक्ष्यका साथ क्लब संचालन गरेको बताए । 

क्लब अब सधै शनिबार बिहानदेखि दिउसोसम्म संचालन गरिने छ । 

२०५१ सालमा सुरुवात भई हालसम्म लाखौ बिरामीहरुले क्यान्सर अस्पतालबाट सेवा लिईसकेका छन् ।  

क्लबको उदेश्यबारे बताउदै डा.प्रजापतिले क्यान्सर रोगलाई लुकाउनु भन्दा पनि आत्मबलका साथ अगाडि बढ्न जरुरी रहेको बताए ।  

नेपाली समाजमा क्यान्सर भयावहक रोग हो लागे पछि उपचार हुन्न,भए पनि  यसको उपचारले झनै गाह्रो हुन्छ भन्ने जस्ता विभिन्न भ्रमहरु भएको कारण अझै पनि क्यान्सर रोगी अस्पताल आउन नसकेको भनाई छ ।

क्यान्सर लागे पछि कुनै न कुनै अङगको अप्रेसन हुन्छ त्यस पछि बिरामीलाई केही असहज  हुने हुदाँ रोगीहरु अस्पतालमा आउन नमान्ने गरेको डा प्रजापतिले उल्लेख गरे । 

कार्यक्रममा अस्पतालका निर्वतमान अध्यक्ष दिवाकर राजकर्णिकारले क्यान्सर ह्याज नो एन्सर भन्ने चलन अब हटेको भन्दै क्यान्सर लागे पछि निको हुन्न अन्तिम  अवस्था मृत्यूनै हो भन्ने कुरालाई उपचारले गलत सावित गरिदिएको बताए । 

नेपालमै क्यान्सरको उपचारको लागि विश्व स्तरिय चिकित्सक छन् तर धुम्रपान पुरुषमा लाग्ने क्यान्सरको मुख्य कारण भएको हुदाँ यो विषयमा सरकारले चासो दिन जरुरी रहेको उनको ठम्याई  छ ।   
यस्तै अस्पतालका मेडिकल डाइरेक्टर प्रोफेसर डाक्टर ऋषिकेश नारायण श्रेष्ठका अनुसार विश्वमा एक करोड ४० लाख मानिस विभिन्न क्यान्सर रोगबाट पिडित रहेका छन् । विश्वमा क्यान्सर रोगबाट करिब ८० लाख मानिसहरुले ज्यान गुमाईसकेको बताए ।

सन् २०१५ सम्ममा २३ सय ८० जना क्यान्सरको बिरामी दर्ता भएको मा २०१७ सम्ममा ३४ सय क्यान्सर बिरामीहरुले उपचार लिईसकेको डाइरेक्टर श्रेष्ठले बताए । 

अस्पतालमा प्रत्येक दिन ९ जना क्यान्सर बिरामीहरु भर्ना हुने गरेका छन् । पुरुषमा फोक्सो र महिलामा स्तन क्यान्सर र महिलाको पाठेघरको मुखको क्यान्सर बढी देखा परेको अस्पतालको तथ्याङमा उल्लेख गरिएको छ । 

यस्तै डाइरेक्टर श्रेष्ठले अस्पताल आउनेमध्ये धेरै बिरामी निकै ढिला आउने गरेको कारण उपचारमा खासै राम्रो नतिजा पाउन नसकेको बताए । 

क्यान्सर लागेपछि नेपालमा भन्दा पनि विदेशमा उपचार गर्न सकिन्छ भन्ने नेपालीको बुझाई अब त्याग्नु पर्ने भन्दै उनले भक्तपुर अस्पताल अन्तराष्ट्रियस्तरको सेवा दिन तयार रहेको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप