पहाडको फेदीमा सुविधासम्पन्न विद्यालय, चीनले यसरी गर्दैछ विकट क्षेत्रको कायापलट
सिचुवान प्रान्तको राजधानी छेन्दुबाट करीब ४ घण्टाको यात्रापछि पुगिन्छ, जाङ्जा जिल्ला । तिब्बत नजिक पर्ने यो क्षेत्र चिनियाँ भूभागको विकट क्षेत्र मध्ये एक हो । तर, भौगोलिक बिकटताका बीच पनि यो क्षेत्रलाई चीन सरकारले लोभलाग्दो ढंगले पर्यटकीय क्षेत्रका रुपमा विकास गरेको छ । यही क्षेत्रमा वर्षेनी लाखौंको संख्यामा पर्यटकहरु आउने गरेका छन् भने स्थानीयले आयआर्जनको माध्यम बलियो बनाएका छन् ।
मुलत तिब्बती संस्कृति रहेको यो भूगोलमा ऐतिहासिक सम्पदा, बौद्ध स्तुपादेखि केबलकार, हाइकिङ र विभिन्न सामाजिक–सांस्कृतिक वस्तुस्थितिको मज्जा लिन सकिन्छ ।
यसो त सन् २००८ र गतवर्षमात्रै भएको विनाशकारी भूकम्पपछि मानिसहरु कसरी फेरि सामान्य अवस्थामा फर्किन सफल भएका छन् भन्ने पनि जानकारी हासिल गर्न सकिन्छ । नेपाल जस्तो भूकम्पपछि तंग्रिदै गरेको देशका लागि यो एक उदाहरण पनि बन्न सक्छ ।
भूकम्पको एक वर्षमै विद्यालयको पुर्ननिर्माण
सन् २००८ मा गएको विनाशकारी भूकम्पको पीडा बिर्सन नपाउँदै जाङजा क्षेत्रमा गत वर्ष पनि ७ रेक्टर स्केलको भूकम्प गयो । सोहि भूकम्पका कारण स्थानीय जाङजा प्राथमिक विद्यालय गल्र्यामगुर्लम भएर ढल्यो ।
साँझको समयमा भूकम्प आएकाले सबै विद्यार्थी आ–आफ्नो घर फर्किसकेका कारण विद्यालय ध्वस्त हुनुबाहेक अन्य मानविय क्षति हुन पाएन । तर, गाउँभरीका विद्यार्थी पढ्ने विद्यालय ध्वस्त हुँदा करीब १४ सय विद्यार्थी अध्ययन गर्ने स्थानको अभाव हुन पुग्यो ।
विद्यालयका प्रधानाध्यापक जु लाउ भन्छन्– ‘हामीले अहिले पहिलेको भन्दा व्यवस्थित ढंगले विद्यालय चलाउन पुर्ननिर्माण थालिसकेका छौं ।’ उनका अनुसार अहिले विद्यालय पुनर्निर्माणको काम करीब ४० प्रतिशत सम्पन्न भएको छ र सोहि विद्यालयमा इच्छुक विद्यार्थीलाई आवासको व्यवस्थासहित अरु अत्याधुनिक सुविधा प्रदान गरिनेछ । विद्यार्थीको चाहना र रुची अनुसारको शिक्षा प्रदान गरिने पनि उनको भनाई छ ।
अहिले विद्यालय पुर्ननिर्माणको क्रममा रहेकाले अरु वैकल्पिक स्थानमा लगेर विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाइएको पनि उनले बताए ।
अर्को रोचक कुरा त के छ भने विद्यालय पुर्ननिर्माण हुँदै गरेको नजिकै विशाल पहाड छ भने पहाडको नजिकै विद्यालय निर्माणको काम चल्दैछ । पहाडको बनोट यस्तो छ कि सामान्य वर्षा हुँदा पनि ढुंगाहरु खस्ने र पहिरो जाने खालको छ र गइरहने पनि गरेको छ । तर, चिनियाँ पक्षले पहाडको फेदीमा भएपनि सम्पूर्ण सुरक्षा र सावधानी अपनाइएको रहेछ । पहाडबाट पहिरो र ढुंगाहरु खसेर विद्यालयसम्म नआउन् भन्नको लागि पहाडका भित्ताहरुमा ग्याबिन जालि भरिसकिएको प्रधानाध्यापक लाउले बताए ।
यस्तै विद्यालयको जग भएको केहि मिटर परबाट विशाल पर्खाल लगाएर पहिरोका साथै पहाडबाट खस्नसक्ने ढुंगाहरुलाई पूर्ण रुपमा रोकिने पनि उनको भनाई थियो । भौगोलिक रुपमा विकट र निकै खतरनाक भएपनि विद्यालयमा कुनै भय नरहने सो क्षेत्रको अवलोकन–भ्रमणका क्रममा पुगेका नेपाली पत्रकारहरुलाई उनीहरुले जानकारी गराएका थिए ।
साँघुरो सडक, चारैतिर विशाल पहाड । ठ्याक्कै भन्ने हो भने नेपाल पहाडी क्षेत्रको भूबनोवटसँग ठ्याक्कै मेल खानेखालको भू–बनोट यस क्षेत्रमा रहेको छ ।
यही भौगोलिक बनोवटमा चीनले स्थानीयलाई पर्यटन, कृषिलगायतका क्षेत्रमा आकर्षिक गरेर आत्मनिर्भर मात्रै बनाएको छैन आधुनिक शिक्षादेखि अन्य आवश्यक पूर्वाधारको विकास गरेर स्थानीयको मन पनि जितेको छ ।
भूकम्प पीडितको घाउमा मह्लमपट्टी
८ हजार बढी सर्वसाधारणको ज्यान जाने गरी गएको भूकम्पको ३ वर्ष बितिसकेपनि नेपालमा पुननिर्माणको प्रगति सन्तोषजनक छैन । अझैंपनि भूकम्प पीडितहरु टहरामा दैनिकी गुजार्न बाध्य छन् । सरकारी ढिलासुस्ती, कामदारको अभाव, आर्थिक अभाव जस्ता समस्याले अझैं पनि प्रभावितहरु टहरामै दैनिकी गुजार्न बाध्य भएका हुन् ।
तर, गत वर्ष (८ अगष्ट, २०१७) जाङजा जिल्लामा गएको बिनाशकारी भूकम्पबाट ध्वस्त बनेका अधिकांश घरहरु पुर्ननिर्माण सम्पन्न भइसकेका छन् ।
७ म्याग्निच्यूडको भूकम्पले हजारौं घरहरु ध्वस्त भएको स्थानीय चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुले जनाएका छन् ।
स्थानीय चिनियाँ कम्युनिष्ट पार्टीका समन्वय र सरकारको सक्रियतामा अहिले प्रभावित क्षेत्रका अधिकांश घरहरु निर्माण सम्पन्न भइसकेका छन् भने केहि निर्माणका क्रममा रहेका छन् ।
सबै घरहरु भूकम्प प्रतिरोधी हुनुका साथै आकर्षक समेत रहेका छन् ।
रेज जाई जुओ जाङजा काउन्टिकी कृषक हुन् । सन् २००८ को भूकम्प नराम्ररी भोगेर तंग्रिदै गर्दा गत वर्ष फेरि भूकम्प आयो । गतवर्षको भूकम्पका कारण उनको घर पूर्ण रुपमा ध्वस्त भयो । भूकम्पबाट घर भत्किएपनि कुनै मानवीय क्षति नभोगेको उनको परिवारले अहिले घर निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ ।
इट्टा, सिमेन्ट र रडलगायतका कच्चा पदार्थको प्रयोगबाट बन्न लागेको उनको पक्की घर चार तल्लाको रहेको छ । सरकारको ४० प्रतिशत अनुदानमा बनाइन लागेको उक्त घर भूकम्प प्रतिरोधी रहेको उनले बताइन् । कूल लागत १ लाख ४० हजार चिनियाँ युआन रहेको उक्त घर निर्माणमा सरकारी अनुदानका साथै सहुलियत ऋणबाट बनाइन लागेको उनले बताइन् ।
‘भूकम्पपछि मेरो घर बनाउने हैसियत थिएन । तर सरकारी अनुदान र सहुलियत ऋणको व्यवस्था गर्दा अहिले घर निर्माणको अन्तिम चरणमा पुगेको छु’, उनले भनिन् । भूकम्पले घर ध्वस्त बनेपछि निराश बनेकी उनी, उनको परिवार र स्थानीय सरकारको यथेष्ठ सहयोगका कारण अहिले खुसी मात्रै भएका छैनन् भूकम्पको पीडा पछि भुलेका छन् ।
स्थानीयका अनुसार सरकारले आयआर्जनका लागि कृषि कर्ममा पनि सहयोग गरिरहेको छ । यो गाउँका ९३ परिवारमध्ये जुओ ८२ परिवारको घर भूकम्पले ध्वस्त हुन पुगेको थियो । जसमा ७९ परिवारले घर निर्माण काम सम्पन्न गरिसकेका छन् भने जुओ र अरु २ परिवारको पुनर्निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी गराइयो ।
पब्लिक स्कुलमा जोड
यो क्षेत्रको अर्को विशेषता के हो भने पब्लिक स्कुल । जिउजाईगोउ काउन्टीमा रहेका योङफेङ प्राइमरी स्कुल सन् २००८ को भूकम्पपछि चीन सरकारले ३८.२७ आरएमबी खर्च गरेर पुननिर्माण सम्पन्न गरिसकेको छ ।
सन् २०१० मै निर्माण सम्पन्न भएको विद्यालयमा अहिले अंग्रेजीसमेतको अध्यापनसहित विविध व्यवहारिक सिकाई प्रदान गर्ने गरिएको सो विद्यालयका प्रधानाध्यापक लि जी पिङले जानकारी गराए । उनका अनुसार तिब्बतियन, हाङ, हुई तथा क्वाङ सम्प्रदायका बालबालिकाले पढ्ने उक्त विद्यालयमा १४सय २७ विद्यार्थी अध्ययनरत छन् ।
उनी भन्छन्, ‘हामीलाई चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले विद्यालय सञ्चालनका लागि सबै सहयोग प्रदान गरेको छ । विद्यार्थीलाई सबै सेवा बाहेक प्रतिदिन अतिरिक्त ४ आरएमबी समेत प्रदान गर्ने गरेका छौं । यहाँका विद्यार्थी अति नै खुसी छन् र सिकाई स्तरपनि उत्कृष्ट छ ।’
चीनमा नेपालमा जस्तै निजी र सरकारी गरी दुई खालका विद्यालय हुन्छन् । तर, विद्यार्थीहरु निजी स्कुलभन्दा पनि सरकारी स्कुलमै पढ्न रुचाउने उनको भनाई थियो ।
चन्द्रागिरीको झल्को दिने केबलकार
सोङपाङ काउन्टीमा रहेको छ– होङलाङ टाउनसिप सोहि क्षेत्रमा निकै आकर्षक हाइकिङ रुटको विकास गरिरहेको छ । नेपालको चन्द्रागिरीको जस्तै केबलकारमा यात्रा गरेजस्तैबाट सुरु हुन्छ –होङलाङ हाइकिङ ।
चन्द्रागिरीमा केवल निजी क्षेत्रले व्यावसाय गरेको छ भने यहाँ भने चिनियाँ कम्युनिष्ट पार्टी र स्थानीय समेत सहभागितामा ८ किलोमिटरको हाइकिङ रुटको विकास गरिएको छ । हाइकिङ रुटको विकास निकै व्यवस्थित र योजनाबद्ध रुपमा बनाइएको छ भने यसबाट करोडौं आर्थिक उपार्जन हुने गरेको छ । चीनले होङलाङ हाइकिङ रुटको विकास गरेजस्तै नेपालले पनि योजना बनाउने हो भने राज्यले आर्थिक कायापलट गर्न सक्नेमा कुनै दुई मत छैन ।
होम स्टे, स्थानीय उत्पादन र जीवनशैलीका साथै कला–संकृति र सभ्यता देखाएर चीनले भौगोलिक रुपमा विकट भएपनि यो क्षेत्रलाई आत्मनिर्भर बनाएको छ । यही क्षेत्रको थप विकास र विस्तारका लागि अर्बौंको लगानी पनि गरिरहेको छ ।
कृषिलाई आधुनिकीकरण
चीनले यस क्षेत्रको परम्परागत कृषिलाई आधुनिकीकरणमा जोड दिएको छ । यस क्षेत्र मध्येको एक होङलाङस्थित डावन गाउँ अहिले चिनियाँ कम्युनिष्ट पार्टीको अगुवाईमा परम्परागत कृषिकर्मलाई आधुनिकीकरण गरिएको छ ।
यसबाट यो क्षेत्रका कृषकले उल्लेख्य आम्दानी त गरेकै छन् न्यून आज भएका अन्य भूभागका समूदायलाई नाफाको निश्चित रकम प्रदान गर्ने गरिएको डावनकी चिनियाँ कम्युनिष्ट पार्टीकी उपप्रमुखले जानकारी दिइन् । उनका अनुसार कृषि, पशुपालन र पर्यटनबाट स्थानीयको जीवनस्तर मजबुत बनेको छ ।