सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

त्रिकोणीय ‘प्रेम’ ले निम्त्याएको दुर्घटना !

बुधबार, १३ असार २०७५, १० : २७
बुधबार, १३ असार २०७५

गुल्मी– केही दिनअघि विवाहको दोस्रो दिन रूपन्देहीको एक होटलमा मृत फेला परेका युवाको घटना पछ्याउँदै जाँदा थप रहस्य फेला परेको छ । 

जेठ २४ गते बुटवलको एक होटलमा सुहागरातका रूपमा नव दुलहीसहित बसेका रूपन्देही सियारी गाउँपालिका वडा नम्बर ७ अमुवा हिरागञ्जका ३२ वर्षीय कर्णबहादुर बुढाथोकी २५ गते होटलको काठोमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

उनले झण्डै १५ वर्षदेखि स्थानीय थारु समुदायकी एक युवतीसँग प्रेम सम्बन्ध राख्दै आएको युवतीको दाबी छ । तर बुढाथोकी उनीबाट पन्छिन चाहन्थे ।

बुढाथोकीलाई गत कात्तिक महिनामा ती युवतीका परिवारजन र आफन्तले जुटाएर मेलमिलाप गराउने प्रयास गरेका थिए ।

स्थानीय समाजसेवी तथा उनै बुढाथोकीका मिल्ने साथी कमल भट्टराईका अनुसार बुढाथोकी कात्तिक महिनाको छलफलमा  बुढाथोकीले बाबुको मृत्यु भएको एक वर्ष पूरा नभएकाले ६ महिनापछि विवाह गर्छु भनेका थिए ।

तर  जेठ २३ गतेका दिन त्यहाँका वडाध्यक्ष सहितका जनप्रतिनिधिबीच भएको छलफलमा बुढाथोकीले ती युवतीलाई विवाह गर्न अस्वीकार गरेका थिए । 

त्यसपछि ती युवतीले गाउँपालिका उपाध्यक्षकहाँ पुगेर बुढाथोकीले आफूसँग पटक पटक गरी ६ लाख रुपियाँ लिएको भन्दै उक्त रकम असुल गरी पाऊँ भनी उजुरी दिइन् ।

फेरि जेठ २४ गते बुढाथोकीलाई एक्लै पारेर जबरजस्ती विवाह गराएर यस्तो घटना घटेको उनका परिवारजनको आरोप छ । उक्त आरोप झुट भएको ती युवती र उनका पक्षधरहरूको भनाइ छ ।

के भएको थियो त त्यस रात ?   

त्यसरी गाउँबाट श्रीमान श्रीमती बनेर बस्ने भन्दै बुढाथोकीले ती युवतीलाई बाइकमा राखेर हाँस्दै र बाई बाईको हात हल्लाउँदै हिँडेका थिए । 

बुटवल पुगेपछि शिद्धबाबातिर घुम्न गए । त्यहाँ पुगेपछि एउटी महिलाको फोन आयो । म्यासेजहरू पनि आउन थाले ।  उनले विवाह गरेर ल्याएकी उनलाई ढाँट्न चाहेनन् ।

उनले भनेका थिए–‘मलाई एउटी महिलाले  मेरो छ महिनाको गर्भ रहेको छ भनेर तनाव दिएकी छ ।  अहिले नै भेट्न आउँछु भनेर फोन गरेकी छ ।’

त्यसपछि उनीहरू साँझ ६ बजेतिर त्यस होटलमा आए । १०८ नम्बर कोठा बुक गरे । उनले कमल भट्टराईलगायतका साथीहरूलाई पनि बोलाए । गोलो राउन्ड टेबुलमा बस्ने क्रममा ती युवती नर्जिक टाँसिदै, ‘तनाव नलिनु अब’ भनिन् ।

 त्यही बेलामा फेरि तिनै महिलाको फोन आयो ।  पटक पटकको फोनपछि उनी ती महिलालाई लिन गए । 

केहीबेरपछि होटलको छतमा ती महिला आइन् । महिलाले बुढाथोकीलाई ‘उसलाई विवाह गर्छस् भने मलाई पनि स्वीकार, नत्र छतबाट हामफालेर मर्छु’ भनेर दबाब दिन थालिन् । अर्की पनि त्यसै गर्न थालिन् । कमल भट्टराई लगायतले  ती महिलालाई झपारेर पठाए ।

त्यसपछि बुढाथोकीले विवाह पार्टीका रूपमा साथीहरूलाई वियर र नास्ता गराए । त्यहाँ हाँसो ठट्टा पनि चल्यो । ती साथीहरू करिब साढे दश बजेतिर त्यहाँबाट हिँडेको होटलवालाको भनाइ छ । 

उनी दुई जना सोही कोठामा सुत्न गए ।  बिहान करिब ५ बजेको समयमा  सेन्डो मैलो भयो, धोई देऊ त भनेर बुढाथोकीले दिएका थिए । करिब ६ बजेतिर साबुनलगायतका सरसमान किन्न पठाए ।

ढोका नखोलेको देखेपछि दुवै जना तल झरेर होटलवालाई आग्रह गरे । स्टाफले ढोका खोले पछि ती युवती बाहिर निस्किइन् । बुढाथोकी कोठामै गए । 

होटलवालाको शब्दमा २० मिनेटपछि उनी समानहरू किनेर आइन । भित्र ढोका खोल्दा चुकुल लगाएको पाएपछि अत्तालिँदै ती महिला तल चक्कु  माग्न आइन् । 

ढोका खोल्न एक्लै हरप्रयास गरिन् । अन्ततः ढोका खोलेर हेर्दा झुण्डिएको अवस्थामा देखिन् ।

बहिनी थिइन् जो अर्की श्रीमती बनेर आइन्

बुढाथोकीको विवाहकै दिन अर्की श्रीमती बनेर आउने महिलाको कथा बेग्लै छ । उनका श्रीमान विदेशमा थिए । 

बुटवल नजिकैको एक सहरमा डेरा गरेर बसेकी उनी गत वर्ष बुटवलको एक अस्पतालमा छोराको उपचार गर्न पुगेकी थिइन् ।

सोही अस्पतालमा  बुढाथोकीका पिता पनि बिरामी परेर भर्ना भएका थिए । जहाँ बुढाथोकी र उनकी दिदीसँग चिनजान भयो । 

उनले आफ्नै बुबाका रूपमा स्याहारसुसार पनि गरिन् । अस्पतालबाट रिफर भएपछि सिकिस्त परेका बुढाथोकीका पिताले ऊ मेरी छोरी नै हो बोलाइदेउ भनेर बोलाइयो ।

उनी आइन् । घरको सबै कामदेखि छोरीका रूपमा भूमिका निभाइन् । यहाँसम्म कि उनी मलामीसमेत गएकी थिइन् । त्यसपछि पनि आउने  जाने र घरका सबै काम दाजु बहिनी  मिलेर गर्ने गर्थे । 

दाजु बहिनीको सम्बन्धमाथि उनकी प्रेमीका बनेकी ती थारु सामुदायकी महिलाले आशङ्का गर्न थालिन् ।   उनीहरू बढी नै नजिकिन थालेको र आफूसँग टाढिँदै जान थालेपछि उनले ती दुई जनाको हर्कतबारे  विदेशमा रहेका उनका श्रीमानलाई केही कुरासहित तस्बिर पठाइन् । 

त्यसले उनीहरू बीचको दाम्पत्य जीवनमा असर पर्दै गयो । त्यही रिस साँधेर बसेकी तिनै बहिनी बनेकी महिला त्यसरी ६ महिनाको गर्भसहित श्रीमती बन्न आएकी थिइन् । 

कमल भट्टराई भन्छन्– ‘कर्णकै आग्रहमा घटना भएको १५ दिनअघि बुटवलमा ती महिलालाई भेट गराइएको थियो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप