आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चिनियाँ गलैँचा कारखानामा भेटिएका ८ भाई नेपाली

बुधबार, १३ असार २०७५, २० : १४
बुधबार, १३ असार २०७५

हङ्युन (चीन)– दाइहरु नेपाली हो ? 

एक अधवैशेंले नेपालीमा सोधे ! 

चीन भ्रमणका क्रममा रहेका १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको टोली सिचुवान प्रान्तको  विकट पहाडी इलाकामा पर्ने हङ्युन काउन्टीको एक गलैँचा कारखानाको अवलोकन भ्रमणका लागि अघि बढ्दै गर्दा गेटमै उभिएका ती अधवैशेँले सोध्दा हामी अलमलमा परेका थियौं ।  

१२ दिनको चीन यात्राका क्रममा ८ दिन बितिसक्दा पनि कतै नेपाली नभेटेका हामीलाई त्यो दुर्गम पहाडी इलाकामा नेपालीले यसरी सोधीखोजी गरेका थिए । 

हामीले नेपाली भएको जवाफ फर्काएसँगै उनी आफैंले परिचय दिइहाले– घर सिन्धुपाल्चाकेकको मेलम्ची । नाम नकुल खड्का । 

विकट पहाडी इलाकामा रहेको  उक्त गलैँचा कारखानामा उनी  दुई वर्षदेखि कार्यरत थिए ।  
 
चीनको यो ठाउँमा उनी कसरी आइपुगे त ? 

हामीलाई भेटेसँगै निकै खुसी भएका उनी यहाँसम्म आइपुग्नुको कारण पनि रोचक रहेछ । केहि वर्षअघिसम्म काठमाडौंमा गलैँचाको राम्रो व्यापार थियो । काठमाडौंमा व्यापार चम्किरहेको बेला उनी पनि ठमेलको कुनै साहुको कारखानामा गलैँचा बुन्ने काम गर्थे ।   

काठमाडौंमा वर्षौ गलैँचा बुन्ने काम गरेका उनीमा एक त कति नेपालमै बसेर काम गर्ने भन्ने परेका थियो भने अर्कोतिर काठमाडौंमा कयौं गलैँचा कारखाना बन्द भइरहेका थिए । 

नेपालमा गलैँचा व्यवसाय नफस्टाउने बुझेका उनीसँग अहिले काम गरिरहेको गलैंचा कारखानाका  मेनेजरसँग भेट भयो  । उनीसँग भेटपछि चीनमा ठूलो गलैँचा कारखाना रहेको र  काम गर्न अफर आएको उनले सुनाए ।  ‘काम गर्न मेनेजर पासाङ लामाले अनुरोध गरेपछि  उहाँ आएको हुँ’, उनले सुनाए, ‘हामी काम गर्नेलाई जहाँ राम्रो हुन्छ त्यही गर्ने त हो ।’

उनका अनुसार मेनेजर लामा सिन्धुपाल्चोककै हुन् तर उनी लामो समयदेखि चीनमै  गलैँचा उद्योगमा कार्यरत थिए । उनकै साथ लागेर हङ्युनस्थित आमचोक भन्ने स्थानको  गलैँचा कारखानामा काम  गर्न  खड्का आइपुगेका हुन् । 

खड्कामात्रै होइन विभिन्न समयमा मेनेजर लामाले ८ नेपाली कामदारलाई यहाँ ल्याएका छन् । 

यहाँ कार्यरतमध्ये २ जना सर्लाही, १ जना दोलखा र बाँकी ५ जना सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका नेपाली रहेका छन् । 

यहाँ कार्यरतमध्ये सिन्धुपाल्चोक मेलम्चीका नोर्पु तामाङले तीन वर्ष काम गरिसकेका छन् ।  सामान्य तिब्बतियन भाषा समेतमा दख्खल बनाइसकेका उनले यहाँ काम गरेर खुसी नै रहेको बताए । 

‘न्यूनतम तलब २५ हजार नेपाली रुपयाँ छ । ओभर टाइमसमेत गरी ३५ देखि ४० हजारसम्म कमाउने गरेको छु । पैसा मिलाएर मेनेजरले नै नेपालसम्म पुर्याइदिने गरेको छ’, तामाङले भने, ‘जे होस् यहाँ आएर काम गर्दा खुसी नै छु ।’

यहाँ कार्यरतमध्ये ३ जना नेपाली भने एक महिनामात्रै आएका थिए भने बाँकीले एक वर्षदेखि ३ वर्षसम्म काम गरिसकेका छन् ।

सर्लाहीका कृष्णबहादुर रानामगरले यो गलैंचा कारखानामा खान बस्न राम्रै व्यवस्था भएको बताए  । 

सर्लाहीका कृष्णबहादुर रानामगर ।

कृष्ण बहादुर बिहान ६ बजे नै उठ्छन् । ६ बजेदेखि काम सुरु गर्ने  उनी राती करीब ९ बजेसम्म गलैँचा बुन्नमै व्यस्त हुन्छन् ।  यही १५ घण्टासम्म काम गर्दा  तीन दिनमा एउटा गलैँचा तयार गर्न सकिने र यही काम गरेवापत तलब र ओभर टाइम गरी  ४० हजारसम्म आम्दानी गर्न सकिने उनको भनाई छ ।  

यसरी बुनेको गलैँचा चीनमै बिक्री हुने गरेको बताइएको छ  । सर्लाहीका कृसेन्स वाइबाले एउटा ठूलो साइजको गलैँचा  १२ हजार  चिनियाँ युआनसम्ममा बिक्री हुने गरेको सुनाए । 

सर्लाहीका कृसेन्स वाइबा ।

८ नेपालीसहित अरु चिनियाँ कामदारसमेत कार्यरत रहेको गलैचा कारखानामा कामदारलाई खाना बस्नको सुविधा प्रदान गरिएको छ भने आइतबार छुट्टीको पनि व्यवस्था गरिएको छ । 

आजभोलि खासै चिसो नभएपनि  हिँउदको समयमा बाक्लो हिमपात हुने सिन्धुपाल्चोक मेलम्चीका नारायण श्रेष्ठले जानकारी दिए । चिसो भएपनि भित्र हिटरको व्यवस्था गरिएको हुनाले काम गर्न खासै समस्या नहुने तर बाहिर भने निस्कन नसकिने उनले बताए । अहिले भने तापक्रम  १५ डिग्रि सेल्सियसको हाराहारीमा हुने गरेको छ । 

सिचुवान प्रान्तको राजधानी छेन्दुबाट करीब ९ घण्टाको सडक यात्रापछि विकट इकालामा पर्ने हङ्युन पुगिन्छ ।  मेलम्चीका खड्काले आफूहरु छेन्दु हुँदै आएको भएपनि त्यसपछि त्यहाँ नपुगेको बताए । 

सबै नेपाली कामदारको २ वर्षे वर्किङ भिसा रहेको छ  । कामदारको चाहना अनुसार क्रमशः भिषा थपिने गरिएको वाइवाले जानकारी दिए । 

नेपालमा पर्याप्त रोजगारीको अवसर नहुँदा थोरै श्रम मूल्यमा भएपनि चीनमा काम गर्न आउन बाध्य भएको उनीहरुको भनाई थियो । 

हङ्युन क्षेत्र  सिचुवान प्रदेशको विकट क्षेत्र भएपनि  चीनले पर्यटकीय क्षेत्रको रुपमा विकास गरेको छ । उक्त क्षेत्रको आकर्षण भनेकै सुन्दर पठार क्षेत्रको दृश्यावलोकन हो  ।     

तिब्बती समूदाय, संस्कृति र भाषाभाषीको बाहुल्य रहेको यस क्षेत्रमा रहेका विशाल पठारले जो कोहिलाई आकर्षित गर्छ । जहाँ  व्यावसायिक रुपमा चौरीलगायतको पशुपालन पनि  गरिएको छ । पछिल्लो समय यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप