आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टिचिङमा अराजकताः बिरामीलाई तनाव

शुक्रबार, १५ असार २०७५, १२ : ५०
शुक्रबार, १५ असार २०७५

काठमाडौँ । मिना खड्का भक्तपुरदेखि ट्याक्सीमा उपचारका लागि त्रि.वि. शिक्षण अस्पताल टिचिङमा आइन् । नेफ्रोको बिरामी उनी सकेसम्म चिकित्सकलाई छिट्टै भेट्ने पाए हुन्थ्यो भन्दै हतारिँदै थिइन् । तर टिकट काट्ने काउन्टर नै बन्द थियो ।

किन काउन्टर बन्द भएको भन्दै वरपर बसिरहका अन्य बिरामीहरूसँग बुझिन् तर धेरैजसो यो विषयमा अनविज्ञ भएको कारण उनलाई सही जवाफ कसैले दिन सकेनन् ।  हस्पिटलमा आउँदा टिकट नपाएपछि यसरी हस्पिटलको भित्तामा टाँसेको विज्ञप्ती हेर्दै निरास भएर फर्किनेहरूको सङ्ख्या धेरै छन् । 

हस्पिटलमा आइतबारदेखि ५० प्रतिशत सेवामा सुरु हुँदै आइरहेको छ । कारण नेपाल सरकार स्वास्थ्य मन्त्रालयले छात्रवृत्ति परिचालन निर्देशिका २०७५ पारित गर्न लागेको प्रति नेसनल रेसिडेन्ट डाक्टर एसोसिएसनले विरोध जनाएका हुन् । 

यसका कारण नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गर्दै टिचिङमा स्वास्थ्य सेवा दिइरहेका चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि हस्पिटलको सेवामा समस्या उत्पन्न भएको हो । हस्पिटलमा सेवा दिने चिकित्सक आन्दोलनमा उत्रिएपछि टिचिङको सबै विभागका ५० प्रतिशम मात्रै सेवा सुचारु गरिएको हस्पिटल प्रशासन प्रमुख मानबहादुर भट्टले रातोपाटीलाई बताए । 

गएको आइतबार विज्ञप्ती जारी गर्दै छात्रवृत्ति पाएर स्नातकोतर तह अध्ययन गर्दै आएका एमबीबीएस,एमडी/एमएस र डीएम/एमसीएच अध्ययनसँगै सेवा सुरु गरेका सबै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् ।  स्वास्थ्य मन्त्रालयले छात्रवृत्ति परिचालन निर्देशिका २०७५ मा छात्रवृत्तिमा अध्ययनरत चिकित्सकहरूले ग्रामीण क्षेत्रमा ५ वर्ष सेवा गर्नुपर्ने सरकारको नियम छ । यता नेसनल रेसिडेन्ट डाक्टर एसोसिएसनले भने छात्रवृत्तिमा अध्ययन गर्ने चिकित्सको समय ५ वर्षबाट २ वर्षमा झार्नुपर्ने माग राखेका छन् ।

 यो विषयलाई सरकारले सम्बोधन नगर्दा आन्दोलनमा उत्रिएको बुझिएको छ । टिचिङमा दैनिक १६ सयदेखि २ हजार नागरिकले सेवा लिँदै आएकोमा अहिले ५० प्रतिशत मात्रै स्वास्थ्य सेवा पाएका छन् ।
चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि हस्पिटलमा आउने बिरामीको अवस्था हेरेर युरो, नेफ्रो, गर्भवती महिलालाई जस्ता बिरामीलाई प्राथमिकता दिएको टिकट काउन्टरका गोविन्द थापाले बताए । 

अस्पताल प्रशासन 
नयाँ चिकित्सकहरूले आन्दोलन गरे पनि सिनियर चिकित्सकहरू नागरिकको सेवामा निकै खटेको हस्पिटल प्रशासन प्रमुख मानबहादुर भट्टले बताए । हस्पिटल प्रशासनले विशेष कारणबस ५० प्रतिशत मात्रै सेवा सञ्चालन गरेको बारेमा नागरिकलाई ठाउँठाउँमा सूचना टाँस गरेर जानकारी गराएको छ । डाक्टर एसोसिएसनसँग नगारिकको स्वास्थ्य जस्तो महत्वपूर्ण कुरामा चिकित्सकले खेलबार्ड गर्न नहुने भन्दै  काममा फर्किनका लागि २, ३ चोटि प्रशासनले चिठी काटिसकेको जनाइएको छ । प्रमुख भट्ट भन्छन् ‘आफ्नो माग सम्बोधन नभएसम्म काममा नआउने चिकित्सकहरूको भनाइ बुझिएको छ, जसले गर्दा आजकाल टिचिङको सेवा लिनुमा अमेरिकाको डीबी पर्नु जतिकै भएको छ ।’

 के भन्छन् एसोसिएसनका अध्यक्ष 
नेसनल रेसिडेन्ट डाक्टर एसोसिएसका अध्यक्ष डाक्टर सुमित पाण्डेले भने चिकित्सकको कुनै पनि माग सम्बोधन गर्ने पक्षमा मन्त्रालय नभएको हुँदा अन्तिम विकल्पमा आन्दोलन गर्नुपरेको बताए ।  
स्वास्थ्य मन्त्रालयले छात्रवृत्ति परिचालन निर्देशिका २०७५ पारित गर्नुपूर्व चिकित्सकको केही कुरा सरकारले समेट्नुपर्ने बारेमा विगत ३ महिनादेखि सरकारलाई जानकारी गराउँदै आए पनि अहिलेसम्म कुनै निचोड नआउँदा आन्दोलनमा आएको अध्यक्ष पाण्डेको भनाइ छ । 

अध्यक्ष पाण्डे भन्छन्– ‘ठोस निचोडतर्फ स्वास्थ्य मन्त्रालय नलागेको र एकतर्फी अगाडि बढिरहेको हुँदा आवाशीय चिकित्सकहरू आन्दोलित हुन बाध्य भएको हौं ।’ साथै एसोसिएसनले छात्रवृत्तिमा अध्ययन गर्दै आएका चिकित्सकहरूलाई आकस्मिकबाहेकका सेवामा भाग नलिन पनि अनुरोध गरेको छ । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप