राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जीवन : दुई बिहे गर्नु मेरो जिन्दगीको भूल
वाम गठवन्धनबाट राष्ट्रियसभा अध्यक्ष बनेका गणेशप्रसाद तिमिल्सिना हालै भएको गोलाप्रथामा उनको पदावधि ६ वर्ष भयो । लामो समय वाम राजनीति गरेका तिमिल्सिना राष्ट्रियसभा अध्यक्ष हुनेबेलासम्म एमाले पोलिटव्युरो सदस्य एवम् प्रदेश ४ को सहसंयोजक थिए । सांसद उनको पहिलो अनुभव हो ।
उनले पर्वतको जिविस सभापति भएर काम गरेका थिए । लामो समयपछि बनेको संघीय संसद्को पहिलो राष्ट्रियसभा अध्यक्ष बन्ने मौका पाएका तिमिल्सिना समृद्ध र विकसित नेपालको परिकल्पनाअनुसार राजनीतिमा लागेको बताउ“छन् ।
भाग्यमा विश्वास नगर्ने उनी गोलाप्रथाबाट चिट्ठा तान्दा उनको पदावधि ६ वर्ष पर्यो, त्यसलाई उनी संयोग मान्छन् । संघीय संसद् सदस्य हुने चाहना राखेका उनलाई संयोगले त्यसको नेतृत्व लिने मौका मिल्यो । उनै अध्यक्ष तिमिल्सिनास“ग रातोपाटीको ‘मेरो जीवन’ का लागि बबिता शर्माले गरेको कुराकानी ।
मेरो खाना
म सबैकुरा बडा मीठोस“ग खान्छु । मलाई कुनै पनि खाना मन नपर्ने भन्ने छैन । यो चीज मन परेन भनेर नखाने केही छैन । पहिला रेस्टुरेन्ट जान्थें । अध्यक्ष्ँ भएपछि रेस्टुरेन्ट जाने खासै मेसो परेको छैन । कहिलेकाहीं मिडियामा अरूको पनि हेर्छु । मलाई सबैभन्दा यो मन पर्छ, यो मन पर्दैन भन्ने आएको हुन्छ । स्न्याक्स वा अरू खानेकुरामा मेरो रोजाइ छैन । सबै मन पर्छ ।
कहिलेकाहीं घरपरिवारले कुनै चीज बनाएर यो मीठो छ या छैन विचार गर्न भन्यो भने त्योबाट अरूले थाहा पाउ“दैनन् । कहिलेकाहीं नुन कम भयो भने पनि, कम भयो भनेर नभन्ने । बढी भयो भनेर पनि नभन्ने । नमीठो भनेर फाल्ने पनि गर्दिन“ । मलाई सबै मीठो लाग्छ । मलाई खाना पकाउन मन पर्छ । पहिले पकाउ“थें अल्छी लाग्दैनथ्यो । अचेल पकाउन पर्दैन ।
मेरो पोसाक
पहिला सर्ट–पाइन्ट लगाउँथें । अहिले दौरासुरुवाल लगाउ“छु । धेरै महँगो लुगा लगाउँदिनँ । औसतकै खर्चभित्रको लुगा लगाउँछु । यही ब्राण्ड भनेर मेरो रोजाइ छैन । म पहिला प्रिपियर भएर यो लुगा किन्छु भनेर हिँड्दिनँ । बजारमा जाँदा जुन मन पर्छ, त्यही लिन्छु । किनकि एकपटक लगाउने हो । त्यसले जिन्दगी जाने पनि होइन । लुगामा मेरो ठ्याक्कै यति खर्च हुन्छ भन्ने यकिन छैन ।
कुन लुगा सस्तो छ, कुन महँगो छ भनेर पनि म हेर्दिनँ । झट्ट हेर्दा आफूलाई मन पर्यो भने लिने हो । तर, धेरै महँगो कपडा मसँग हँुदैन । मलाई टिपिकल्ली यो रङ मन पर्छ भन्ने पनि छैन । उत्ताउलो रङ मलाई मन पर्दैन । कहिले सेतो, कहिले नीलो पनि हुन्छ । रातो कलर खासै लगाउँदिनँ । प्रायः गमिलो कलर लगाउँछु । लुगा कहिलेकाहीं हतार हुँदा रेडिमेड किन्छु नत्र भने म धेरैजसो सिलाएर लगाउँछु । रेडिमेड शरीरमा नमिल्ने समस्या ज्यादा हुन्छ, त्यसैले सिलाएर प्रयोग गर्छु । सिलाउने निश्चित ठाउँ छैन, जता पनि सिलाउँछु ।
मेरो फिटनेश
बिहान मर्निङवाक जान्छु । मोटामोटी हिसाबले म एक घन्टा दौडिन्छु । कुनै कार्यक्रम परेर बाहिर जाँदा त्यो पनि रेगुलर हँुदैन । अहिले विश्वकप चलिरहेको छ । राति हेर्दा हेर्दै ढिला भयो भने बिहान कहिलेकाहीं मर्निङवाक छुट्छ । ट्रेडमिल राखेको छैन । योगा गर्दिनँ । डाइटिङ पनि छैन । तर, उमेरको हिसाबले सुगर नबढोस् भनेर कन्सियस छु । पहिले जसरी खाइन्थ्यो त्यसरी खान्न । भात र चिल्लो कम खान्छु ।
मेरो अध्ययन
हाल कुनै पुस्तक पढेको छैन । अहिले खासमा अलिबेसी ऐन–कानुन अध्ययनमा छु । आफ्नो जिम्मेवारीअन्तर्गतकै मुख्य विधेययक आउँछन् । तिनको प्रस्ताव के छ ? नियमावली के छ ? हेर्दै छु । साहित्य भनेर धेरै पनि लागिनँ तर केही अध्ययन गरें । चिनियाँ साहित्य, लुसन, गोर्कीका साहित्य पढ्ने गर्थें । मुख्यतः माक्र्सवादी दर्शन । जो राजनीतिमा प्रेरणा दिन्थे । राजनीतिक व्यक्तिका जीवनी अलि बढी अध्ययन गर्थें । प्रगतिशील साहित्यकारका किताब बढी अध्ययन गर्थें । मेरो किताबमा यति खर्च, खानामा यति खर्च, लुगामा यति खर्च भन्ने छैन । पढ्न लैजान्छु भन्नेले किताब फिर्ता गर्दैनन् । धेरै किताव त्यस्तै भए । आफूले माग्न पनि नमिल्ने । त्यसैले अलि अस्तव्यस्तजस्तो छ ।
मेरो घुमफिर
पहिला पार्टीका कामले धेरै ठाउँ घुमें । तर, कामले जाने हुँदा घुम्न, इन्जोए गर्ने भन्ने भएन । अहिले अलि पछुतो लाग्छ । त्यसरी जाँदा एक दिन समय निकालेर घुमेको भए हुने रै’छ भन्ने हुन्छ । अहिलेसम्म ६० जिल्लाभन्दा बढी पुगेको छु । विदेश भन्ने हो भने ५÷६ वटा देश पुगेको छु । नेपालमा घुमेकामध्ये धेरै ठाउँ मन परेका छन् । यो ठाउँ एकदम मन पर्यो भन्ने छैन । यो ठाउँ मन पर्यो भनेर भन्दा अर्को ठाउँलाई अन्याय हुन्छ । नेपालमा धेरै ठाउँ त्यस्ता सुन्दर छन् । तराईका जिल्लामा धेरैजसो पुगेकै हुन्छु । तर, मलाई विशेषतः उच्चपहाडी जिल्ला घुम्न मन पर्छ । रारा र गोसाईंकुण्ड पुगेको छैन । पुग्ने रहर छ ।
मेरो फुर्सद
फुर्सद धेरै हुँदैन । शनिबार फुर्सद भयो भने घरपरिवार, साथीभाइसँग बस्न पाए हुन्थ्यो भन्ने लाग्छ । त्यो पनि कुनै कार्यक्रम परेन भने । नत्र केही न केही कार्यक्रम, भेटघाट परिरहेका हुन्छन् । अहिलेसम्म पूरै परिवार मुभी हेर्न हलसम्म पुगेका छैनौं । कहिलेकाहीं छोरीहरू रेस्टुरेन्ट जाऊँ भन्छन् । तर, म अध्यक्ष भएपछि सेक्युरिटीदेखि धेरै ठूलो टिम भएर पनि होला आजकल त त्यो पनि भन्दैनन् । कामबाट थकाइ लागेर आराम गर्ने भन्दा पनि बरु कुनै नयाँ ठाउँ जान पाए हुन्थ्योजस्तो लाग्छ ।
मेरो खेलकुद
विद्यार्थीकालमा अलिअलि भलिबल खेल्या हो । गाउँमा जन्मेकाले त्यहाँ खेलमैदान थिएन । म कुनै जिल्लास्तरीय खेलाडी होइन । रहरले खेलिन्थ्यो । बल थिएन, कपडाको बल बनाएर पनि खेलिन्थ्यो । मलाई फुटबल र वान डे क्रिकेट हेर्न मन पर्छ । तर, हकीचाहिँ कस्तो–कस्तो लाग्छ । युवा खेलाडीमा विमल घर्तीमगर मन पर्छ । अन्तर्राष्ट्रिय फुटबल टिममा अर्जेन्टिना मन पर्छ । त्यसमा पनि मेसी मन पर्छ । तर, अहिले चलिरहेको विश्वकपमा आइसल्यान्डसँगको खेलमा मेस्सीले पेनाल्टी मिस गर्दा अलि दुःख लागेको थियो । पछि क्रोएसियासँगको खेलमा राम्रो खेल्दा खुसी छु ।
मेरो मोबाइल
अहिले सामसुङको मोबाइल छ । मलाई सकभर मोबाइल परिवर्तन गर्न नपरोस् भन्ने लाग्छ । मोबाइलमा गेम पटक्कै खेल्दिनँ । मोबाइलमा अनलाइन समाचार, फेसबुक, ट्वीटर चलाउँछु ।
मेरो टेलिभिज
टेलिभिजनमा बढी समाचार हेर्छु । कहिलेकाहीं हास्यव्यङ्ग्य टेलिशृंखला हेर्छु । पछिल्लो समय त्यति फुर्सद छैन । फुर्सद हुँदा बेलुका टीभी हेर्छु । अहिले क्वार्टरमा ३२ इन्चको टीभी छ ।
मेरो चलचित्र
जीवनमा मैले तीनवटा चलचित्र हेरेको छु । नाम के थियो बिर्सें । त्यो पनि १८/२० वर्ष पहिले हो । मैले हलमा गएर खासै चलचित्र हेरेको छैन । चलचित्र हेर्नतिर रुचि भएन । नेपाली कलाकारमा मलाई महजोडी असाध्यै मन पर्छ ।
मेरो रोग
सतप्रतिशत त स्वस्थ छैन । बिसन्चो पनि हैन । देखिने गरेर कुनै दीर्घरोग छैन । तर, उमेरअनुसार पनि होला कोलस्ट्रोल र प्रोस्टेटको औषधि खाने गरेको छु । बीपी अहिले लो भैरा’छ । मैले अहिलेसम्म होलबडी चेकअप गरेको छैन ।
मेरो मापसे
म मापसे एकदम कम गर्छु । पहिले गाउँतिर हुँदा लोकल खाइन्थ्यो । अहिले सुगर, रक्तचापले गर्दा कलरलेस रक्सी खानुपर्छ भनेर प्रायः भोड्का खान्छु । बढीमा २ पेगसम्म लिन्छु । तर, त्यति रुचि छैन । कहिलेकाहीं अरूको खुसीका लागि पनि खाने गर्छु । साथीभाइले दिएका हुन्छन् । होम बार छैन । पहिला–पहिला युवामा अलि खाइयो होला तर ह्याङ हुनेगरी खाएको छैन ।
मेरो संगीत
संगीतमा कुनै रुचि छैन । खासै सुन्ने बानी छैन । कहिलेकाहीं सुने भने नारायण गोपालको स्वर मन पर्छ । गीत नसुन्ने वानी भएपछि गुनगुनाउने बानी पनि छैन ।
मेरो भूल
सम्झेर त्यस्तो भूल गरे भन्ने केही छैन । त्यस्तो जानाजान गरेको भूल छैन । तर, मेरो दुई विवाह भएको हो । त्यसो नगरेको भए राम्रो हुन्थ्यो भन्ने लाग्छ । सानैमा बाबुआमाको डिसिजनले, आफ्नो इच्छा नहुँदानहँुदै बिहे भयो ।
स्कूल पढ्दा गल्ती नगरे पनि बेस्सरी कुटाइ खान्थें । एउटा सम्झना छ, त्यो मैले बिर्सेको छैन । म पाँच कक्षामा पढ्थें । विद्यालयमा खानेपानीको समस्या थियो । पालेदाइले कताबाट पानी बोकेर ल्याएर राख्नुभाथ्यो । मेरो कक्षामा पढाइ थिएन । मलाई तिर्खा लागेकाले पानी पिउने लाइनमा बसेको थिएँ । तर, लाइनमै बसेको बेला पछिबाट साइन्स पढाउने सरले गाईबस्तुलाई पिट्ने लौराजस्ताले मलाई खुट्टा–खुट्टामा पिटुनुभयो । म भुँइमा लडें । पछि पानी नपिईकन उठेर कक्षामा गएँ । त्यो कुटाइ विनागल्ती खाएको थिएँ ।
मेरो घर
गोरखा भूकम्प जाँदाताका घर बनाउँदै थिएँ । पोखरामा घर बनाएको छु । घर बनाउँदा झन्डै ७०/७५ लाख खर्च भयो होला ।
राशी
राशी कुम्भ भन्छन्, त्यही होला । मलाई ग्रहदशा, राशीप्रति विश्वास छैन । एकपटक श्रीमतीले भुक्काएर ग्रहशान्ति गराएकी रै’छन् । नत्र मलाई यता कुनै चासो छैन । म विश्वास गर्दिनँ ।
मेरो सौन्दर्य
कपालमा अहिलेसम्म जेल लगाएको छैन । मेहेन्दी पनि लगाएको छैन । सानोमा आमाले तेल लगाइदिनुभयो होला । फेसमा क्रिम लगाउँदिनँ । आजभोलि छोरीहरूले अलि फुस्रो देखियो भनेर आग्रह गरेर कहिलेकाहीं निभियाको क्रिम प्रयोग गर्छु । साथीहरूले कर गरेर एकपटक साउना पसेको छु । सौन्दर्यमा पनि खासै ध्यान दिन्न ।
मेरो प्रेम
प्रेम गर्ने बेला राजनीति गरेर हिँडिएछ । प्रेमतिर ध्यान गएन । अहिलेचाहिँ त्यतिबेला प्रेम गरेको भए हुँदोरै’छ भन्ने लाग्छ । मैले कसैलाई मनपराएर प्रेम प्रस्ताव गरिनँ । मलाई पनि प्रेम गर्छु भनेर भन्ने कोही निस्कनुभएन । अहिले विवाह भएपछि श्रीमतीसँग प्रेम भा’छ । विद्यार्थी जीवनमा त्यतातिर ध्यानै गएन छ । सांगठनिक काममा बढी ध्यान दिएँ ।
मेरो सपना
प्रकृतिले जे दिएको छ, त्यसले नेपाल एकदमै धनी छ । त्यसको समुचित सदुपयोग गर्न सकेका छैनौं । यसलाई प्रयोग गरे समृद्ध र विकसित नेपाल बनाई, दुःख, दर्दविहीन नेपाली भएको समाज निर्माण गर्न सकियोस् भन्ने सपना छ । त्यहीअनुसार राजनीतिमा लागें । मभन्दा पनि देशलाई कस्तो बनाउने भन्नेमा ध्यान छ ।
मेरो मृत्यु
मृत्यु प्रकृतिको नियम हो । सहज मृत्यु होस् भन्ने लाग्छ ।
यो जीवनकथा पनि पढ्नुहोस्