सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हाम्रो समाज–धामीले सबैको ‘मृत्यु’ तोकेपछि सिङ्गो बस्ती नै विस्थापित !

आइतबार, १७ असार २०७५, १० : ३३
आइतबार, १७ असार २०७५

गुल्मी– टिनले छाएका चिटिक्क परेका घरहरू ।

हराभरा जमिन ।

गाईगोठ पनि त्यस्तै राम्रा ।

सुधारिएको दलित बस्ती ।

एउटा नमुना बस्ती देखिने ।

र त अन्य समुदायले भन्थे, ‘यो त नमुना दलित बस्ती नै हो ।’

तर यो गत वर्षको कुरा थियो, त्यहाँका पत्रकार भरत चन्दले भन्दै थिए– ‘पारि हेर्नुस् ब्राह्मण समुदायको बस्ती । उनीहरूको तुलनामा उता फेरि हेर्नुस् । दलित बस्तीमा आएको सुधार, नमुना भएन र ?
उनीसँगै हालै त्यस बस्तीमा हामी पुग्यौँ ।

बस्ती भूकम्पले क्षतिग्रस्त पारेको जस्तै देखियो । 

८ घरमध्ये ७ घरको छाना छैन ।

भताभुङ्ग भएको छ ।  

एक  घर परिवारबाहेक हिजो देखिने मानिस भेटिएनन् ।

सोद्धै जाँदा २१आँै शताब्दीका मान्छेको ढुङ्गे युगको चेतना पाइयो ।

यो मदाने गाउँपालिका वडा नम्बर–२, साविकको बाँझकटेरी १, शुभे गाउँको वास्तविक कथा हो ।

२०७१ सालमा ६३ वर्षको उमेरमा त्यस गाउँका ६३ वर्षीय मनबहादुर परियारको मृत्यु भएको थियो । त्यसको ३ वर्षपछि २०७४ साल भदौ ६ गते उनका जेठा छोरा रने परियारको ३१ वर्षको उमेरमा मृत्यु भयो ।
यहाँको सामाजिक कथा पनि बडो अचम्मको छ ।

छिमेकी ब्राह्ण समुदायले पहिला आफूहरूले त्यस टोललाई चोख–निष्ठा राखेको बताएका थिए ।

पछि प्युठानबाट बसाइँ सराइ गरेर आएका दलित समुदायले पाडा–भैँसी काटेर चोखोनिष्ठा भङ्ग गरेको उनीहरूले सुनाए ।

त्यति मात्रै होइन, ब्राह्मण समुदायले ‘यहाँ मानिस र गाई भैंसी मरेको हुन सक्ने भन्दै माटो हेराउन’ सुझाव दिए ।

मृतकका छोरा दीपक परियारलगायत गुल्मी र प्युठानको सिमनाको पटौती भन्ने स्थानमा धामी झाँक्री गर्ने ‘देविनी’ कहाँ माटो लिएर हेराउन गए । 

ती देविनीले माटो हेरिन् । ती दुई जनाको मृत्यु सुरुवात मात्रै भएको, तीन वर्षमा सबैको मृत्यु हुने ठोकुवा गरिन् । यसबाट बच्न उनले बस्ती सार्नुपर्ने बताइन् ।

देवनीको यो कथावाचनपछि दीपक परियार, उनका भाइहरू रमेश, दिलीप, मृतक रने परियारकी श्रीमतीसहितका ६ सन्तान, उनकी आमाको बुढो घरसहित ५ घर त्यतिकै छाडे । अनि छिमेकी जिल्ला प्युठानको अर्घामा बसाइँ सरे ।

गत असोज महिनादेखि बसाइँ सराइ सुरु गरेका उनीहरूले अहिलेसम्म पनि त्यहाँका सरसामान ओसार्दै छन् ।

अर्का रनबहादुर परियार पनि बाँझकटेरीकै भेडिखोर भन्ने स्थानमा बसाइँ सराइ गरे । उनीसहित कुल ७ वटा घर, गोठ  र शौचालयहरू यति बेला भताभुङ्ग छ ।

 गत वर्षसम्म हराभरा खेतीपाती हुने उनीहरूका जमिनहरू यति बेला झाडीमा परिणत  भएका छन् ।

अहिले देउमती परियारका परिवारजन एक्लै बसेका छन् । त्रासमा मुस्किलले बसेका उनीहरू बताउँछन् ।

 

अरूलाई मर्छौं भनेकी देविनी नै पहिला मरेको दावी

बाँझकटेरीका त्यति राम्रा र ठूला–ठूला घर गोठ छाडेर अहिले प्युठान गई छाप्राहरूमा बसेका ती परिवारमध्येका दीपक परियार भन्छन्– ‘हामी सबैलाई तीन वर्षको अन्तरालमा मर्छौं भनेकी देवी नै पहिल्यै मरिसकिन भन्ने थाह पायौँ । उनको कुरा नसुनेको भए त्यस्ता घर गोठ र जमिनहरू छाड्न नपर्ने रहेनछ ।’

उनले मुटु भक्कानो बनाउँदै भने– ‘हामी आफै मिस्त्री भएकाले प्रत्येक घरहरू कम्तीमा तीन लाखमा बनाएका थियौँ । गोठ बङ्गला, ट्वाइलेटमा पनि लगभग त्यति नै खर्च लागेको थियो । भत्काएर टिन र  केही काठहरू लिएर आएका हौं । अरू सबै खेर गएको छ । त्यस बस्तीको झल्को आइरहन्छ । रुन मन लाग्छ, फेरि त्यही फर्कऔँ कि जस्तो पनि लाग्छ तर मरिन्छ कि भन्ने डरले केटाकेटी मान्दैनन् ।’

ती धामी काम गर्दै आएकी महिलाको मृत्यु भई सकेको उनीहरूले बताए पनि आधिकारिक निकायबाट पुष्टि हुन सकेको छैन । उनले धेरै वर्षदेखि हेरखोर गर्दै आएको जानकारी धेरैले दिए ।

यसरी धामी झाँक्रीका कारण धेरैको अकालमा ज्यान गएको सुनिदै आए पनि  सिङ्गो बस्ती नै छाड्नुपरेको घटना यस भेगमा यो पहिलो हो ।  


मदाने गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष माधव भुसाल भन्छन्, ‘उनीहरूमा जनचेतनाको कमी हो । उनीहरू फर्केर आउँछन् भने हामीले पुनस्र्थापित गर्न सहयोग गर्छाैं । बाख्रा पालन लगायत आय आर्जनमूलक कार्यक्रम पारेर उनीहरूको जीवन स्तर उकास्छौँ  । उनीहरू फर्केर आऊन्, हाम्रो अनुरोध छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप