सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गाँसका लागि सधैं बास छोड्न बाध्य मजदूरहरु, जाे कहिल्यै  नफर्किने गरी बिदा भए

शनिबार, २३ असार २०७५, १४ : ३०
शनिबार, २३ असार २०७५

गुल्मी–बिहानभरी सडकमा काम गर्दाको थकान सदाझैं खाना खाने बेलामा हाँसोठट्टा गरेर मेटाउँथे, पश्चिम नेपालबाट पूर्वी हिमाली जिल्ला मुस्ताङ्गमा काम गर्न पुगेका मजदुरहरु । शुक्रबार दिउँसो करिब १ बजेको समयमा खाना खाँदा पनि उनीहरु बीच हाँसोठट्टा भइरहेको थियो । सदाझै एउटै मेसको खाना खाएर रमाउँदै थिए, उनीहरु  ।

दाङकी शान्ति थापा उनका श्रीमान गुरुदत्त थापा र अन्दाजी वर्ष १७ की उनकी छोरीसँगै खान खाँदै घरयासी कुराहरु पनि गर्दै थिए । त्यही वेलामा उनीहरुले घरमा रहेका आफन्तजनसँग फोनमा कुराकानी पनि गरे । 

कामदारलाई समयको पावन्दी ।  हतार हतार खाना खाएर फेरि असिनपसिन हुँदै त्यही ढुङ्गो माटोसंग लड्न जानु पर्ने । त्यसैले त थापापरिवारसहित   अरु मजदूर  चढे त्यही , ट्रिपरमा ।

एकले अर्कोलाई ट्रिपरमा तान्दै र कोचिदै उनीहरु  काममा फर्किदै थिए ।

कालिगण्डकी कोरिडोर निर्माण कम्पनी मुस्ताङ्गका सहायक साइड इञ्चार्ज सीताराम खड्का भन्छन, ‘कोरिडोरको पुरानो ट्याक हुँदै ती कामदारहरुलाई ट्रिपरमा ल्याइँदै थियो । काम गर्ने ठाउँ र त्यो खाना खाने मेस करीब ४ किलो मिटरको दुरीमा थियो ।’

जहाँ उनीहरु दिनहुँ यसैगरी खाना खाएर आउजाउ गर्थे । 

त्यही काम गर्ने ठाउँ नजिकै पनि उनीहरुलाई मेस सञ्चालन गर्न सकिन्थ्यो तर दिसा पिसाव गर्ने ठाउँको अभावमा उता मेस सञ्चालन गरिएको थियो ।

दुर्भाग्य, काम गर्ने स्थानमा आइपुग्नु नजिकै पुरानो ट्र्याकबाट तल नयाँ ट्र्याकको घुम्तीबाट एक्कासी ट्रिपर खस्यो ।

सबै जोडले चिच्चाए ।

आफू भन्दा पनि आफ्नो आफन्त बचाउन एकले अर्कोलाई समाउँदै झरे करिव ५० मिटर तलसम्म । 

हृदयदारक दृश्य

 खसेकाहरुलाई  माथि सडकमा ल्याउँदै राख्न थालियो ।  

गम्भीर घाइतेहरुको  कारुणिक अवस्था देख्दा बरु मृत्यु निको महशुस हुन्थ्यो ।

कसैको ढुकढुकी मात्रै थियो त कोही मुस्किलले बोल्न सक्थे   ।

बोल्ने सक्नेहरुको मुखबाट ‘हे...आमा...., हे.. बा....’बाक्य फुटिरहेको थियो ।

दाङ्गको  राप्ती गाउँपालिका ९ की ४३ वर्षिया शान्ति थापा र उनका ५० वर्षिय श्रीमान ४०  गुरुदत्त थापालाई माथी ल्याएर सडकमा ल्याइएको  थियो ।

त्यसको बीचमा  उनकी  छोरीरुँदै फोन गर्दै थिइन् ।

त्यतीबेलासम्म उनकी आमाको निधन भइसकेको थियो ।  

उनले हारगुहार गर्दै गरेको दृश्य कोहीले मन थाम्न सकिने अवस्था थिएन ।

उनी भने टिप्परमा चढेपनि भाग्यले बाँच्न सफल भइन् । 

छोरीले आमा..आमा... भन्दा भन्दै र अन्तिम सासमा छोरीलाई आमाले चिन्दा चिन्दै आमाको मृत्यु भइसकेको थियो ।

अब उनको अन्तिम आशा भनेका घाइते बाबु थिए ।

घटनास्थलमा पुगेका उपल्लो मुस्ताङ्ग घमी प्रहरीचौकीका हवल्दार कृष्ण गोपाल परियार भन्छन–‘थापाकी छोरी बाबु आमालाई हेलिकप्टरमा राख्ने बेला सम्म आमा गुमाए पनि बाबु बाँच्ने आशा राख्दै थिइन् ।’

उनले थपे,‘ उनका अरु सन्तान कति थिए र बाँचेकी ती छोरीको नाम के थियो थाह भएन  जेहोस उनको उमेर १७ वर्षको अनुमान गर्न सकिन्थ्यो, उनको चित्कारले मन थाप्न गाह्रो थियो ।’

मृतकका अरु स–साना बालालिकालाई पालमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।

कतिपय वालवालिकाहरुलाई त बाबु आमाको मृत्यु भएको थाह छैन ।

उनीहरु सदा झै के ल्याई दिएर वावु आमा कति वेला आउने हुन भनेर बाटो कुरे बसेका छन् ।

त्यहाँ कार्यरत कतिपय मजदूरले सन्तानलाई पनि सँगै लगेका थिए । 

 मृतकका आफन्त र काम गर्ने साथीहरुको  चिच्चाहटले घटना स्थलमा सन्नाटा छाएको थियो  ।

 दुर्भाग्य बाँच्ने आशा राखिएका ती युवतीका  वावुको पनि उपचार्थ लैजाने क्रममा गएराती  मृत्यु भयो ।

थापासहित दाङ्गका मजदुरहरुको मृत्यु संख्या ६ पुगेको छ ।

राप्ती–१ का वालकुमार घर्ती मगर, वडा नम्वर–२ की कविता घर्ती मगर , वडा नम्वर ३ का सुमेर चौथरी, वडा नम्वर–९  का थापा दम्पत्ति, राजपुर–१ कमल बुढा सहित सबै जना विकट गाउँ र विपन्न परिवारका थिए ।

राप्ती गाउँपालिका प्रमुख लुमानन्द सुवेदीसँग राती अवेर सम्म सम्पर्क राख्दा दुर्घनामा त्यस गाउँपालिकाका मानिसहरुको मृत्यु भएको यस समाचारदाताले भनेर मात्रै थाहा भएको बताउँदै थिए ।

शनिबार बिहान चाहिँ  उनले राताीपाटीसँगको सम्पर्कमा भने– ‘उनीहरुको घर फोन सम्पर्क समेत नहुने विकट गाउँमा छ । उनीहरु दशै तिहार मानेर त्यसतर्फ काम खोज्न हिँडेका रहेछन् । वर्षमा एकचोटी दशै तिहार मान्न आउने, अरु समय सधै बाहिर काम खोज्न जाने पाइएको छ । उनीहरुको शव यहि गाउँमा ल्याउने व्यवस्था मिलाउन आज यहाँबाट केहि जनप्रतिनिधिहरु पठाईँदै छ ।’

उनका अनुसार प्रत्येक वडाका वडाध्यक्ष सहितका जनप्रतिनिधीहरु कसैको फोन नलागे पछि घरघरमा पुग्दै छन् ।

जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रमुख डिएसपी रामप्रसाद घर्ती मगरले पनि  मुस्ताङ्गका डिएसपीसंग रोल्पा र दाङ्गको शव गृह जिल्ला ल्याउने विषयमा समन्वय गरिरहेको बताए ।

दाङ्गका ६ वटा शवहरु मध्ये दुई वटा घटना स्थल नजिकै राखिएको र अरु  शव जिल्ला अस्पताल मुस्ताङ्गमा रहेको बताइएको छ  ।

मुस्ताङ्गका प्रहरी प्रमुख डिएसपी महेन्द्र खड्काले  ५ वटा शव जिल्ला अस्पताल मुस्ताङ्गमा रहेको र १५ वटा शव घटना स्थलमा रहेको जानकारी दिए ।

 उनले गम्भीर घाईतेहरुको पोखरास्थि मणिपाल अस्पतालमा उपचार भई रहेको बताए ।

रोल्पाका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फँुयालसंग सम्पर्क राख्दा त्यस जिल्लाका मृतक ९ जनाको शव ल्याउने प्रकृया अगाडी बढाइको र पोखरामा  रोल्पाका ८ जना घाइतको उपचार भई रहेको जानकारी दिए ।

उनले अत्यन्तै विकट गाउँ भएकोले फोन  मार्फत परिवारजनलाई जानकारी गराउन नसकेर प्रहरीलाई गाउँगाउँमा परिचालन गरिएको पनि बताए ।

गाँसका लागि सधै बास छोड्न बाध्यहरुको कथा  

हरेक आन्दोलनदेखि जनयुद्ध सम्म थुप्रै रोल्पालीहरुले रगत बगाए ।  

विभिन्न राजनैतिक दलहरुले थुप्रै खाले सपना देखाए ।

तर विपनामा उनीहरु सधै त्यही लेक, त्यही झुपडीमा बस्न बाध्य हुँदै आएका छन् ।

थवाङ्ग गाउँपालिका प्रमुख विरबहादुर घर्तीले आफ्नो गाउँपालिकामा पर्ने वडा नम्वर ४ र ५ का ६ जनाको मुस्ताङ दुर्घटनामा मृत्यु भएको खुलेको बताए ।

एक जना मौसम रोका मृतकको वडा नम्वर नखुलेको तर वडा नम्वर ४ हो कि भन्ने लागेको उनको ठम्याई छ ।

उनका अनुसार थवाङ्ग–४ र ५ रोल्पाको सबैभन्दा विकट थलो हो ।

सदरमुकामबाट  हिँडेर एक दिन लाग्ने कम्पु र कुसुवाङ्ग लेक मानव वस्ती भन्नु मात्रै हो ।  

मानिसलाई चाँहिने न्युनतम आधारभूत कुराहरु छैन।  

त्यही मानव वस्तीमा खेतीपाती खासै हुँदैन परम्परादेखि नै उनीहरुको जिविका उपार्जनको मुख्य श्रोत भनेकै भेडा पालन हो ।

 राज्य पक्षबाट  विकासका नाममा मोटरबाट त्यहाँ सम्म खनिए पनि अहिले वर्षायाममा गाडी जान नसकेर सदरमुकामबाट प्रहरी आज विहान हिँडेर पुग्दै छ ।

कसैको फोन लाग्दैन ।

यहाँ सम्मकी त्यहाँ रहेको  उवाँ इलाका प्रहरी कार्यालयमा समेत फोन सम्पर्क हुन नसकेर मृतकका परिवारजनलाई खवर गर्न मुस्किल परेको छ ।

 थवाङ्ग गाउँपलिका प्रमुख घर्ती भन्छन्–‘ हिँडेर एक दिन लाग्छ त्यहाँ पुग्न । कसैसँग फोन सम्पर्क पनि हुन सक्दैन । अहिले सम्म मृतकका कुनै परिवार सम्पर्कमा आएका छैनन् । अत्यन्तै विकट गाउँ हो । त्यहाँका कतिपय परिवार त घरमा ताला नै ठोकेर शहरतिर काम खोज्न जान्छन् ।’

‘वर्षमा एक चोटी दशैं तिहारमा घर आउँछन् । हिजो  मृत्यु भएका र घाइतेहरु पनि दशैं तिहार मानेर पोखरातिर काम खोज्न हिडेको बुझिएको छ । त्यहाँका वासिन्दाहरु परनिर्भर छन् । घरको रोजीरोटी चलाउनका लागि बृद्धबृद्धा वाहेक हुर्केका जति सवै घर छाड्न बाध्य छन्’, उनले थपे ।

एकै परिवारका चार जना

 गाउँपालिका प्रमुख घर्तीका अनुसार मुस्ताङ्ग दुर्घटनामा रोल्पा कुशुवाङ्गका एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् ।

बृद्धबाबु आमालाई घर छाडेर काम खोज्न हिँडेका राष्टे रोका र महेश रोका दाजु भाई हुन् ।

साथमा उनकी अविवाहित वहिनी सिर्जना रोका र विवाहित दिदी जितमाया घर्तीको पनि त्यस दुर्घटनामा एकै साथ मृत्यु भएको छ ।

थवाङ्ग गाउँपालिका प्रमुख घर्तीले जितमायाका श्रीमान रिशम घर्ती, दिपक पुन, डिलक पुनको अवस्था गम्भीर रहेको जानकारी पाएको बताए ।  

जिल्ला प्रहरी कार्यालय   मुस्ताङ्गका अनुसार घाइतेहरुमा  रोल्पाका माथि उल्लेखित बाहेक विमल घर्ती कुमिर पुन, सूर्यबहादुर बुढा , रिस्चा घर्ती र किशोर पुन  रहेका छन् ।

त्यस्तै धादिङ्गका सागर पुन, दाङ्गका च्यामी बुढा मगर, निरज पुन र झापाका दिपेश रायमाझी सहित १२ जनाको  पोखरास्थित मणीपाल अस्पतालमा उपचार भइरहेको छ । 

अहिले सम्म मृत्युको संख्या २० पुगेको छ ।

३ जनाको अवस्था चिन्ताजनक छ ।

दाङ्ग र रोल्पाका मृतकका बृद्ध वावुआमाहरु ‘दशैंमा पैसा लिएर आउँछु, ऋण–धन गरेर चलउनु भन्थौ’....भन्दै–रुँदै छोरा छोरीहरुको शव कुरेर बसेको वडाध्यक्षहरु बताउँछन् ।

घटना स्थलमा मुस्ताङ्गका प्रहरी निरीक्षक  राजेन्द्र रेग्मी सहितको टोली  हिजो दिउँसोदेखि  अहिलेसम्म तैनाथ छन् ।
   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप