माले महासचिव सीपी मैनालीको जीवन : नेताचाहिँ अगतिला भयौं
‘नेपाल आफैंमा सुन्दर छ । स्रोत, साधनसम्पन्न छ,’ नेकपा माले महासचिव सीपी मैनालीको भनाइ छ, ‘मानिस असल छन् । नेताचाहिँ अगतिला भयौं । हामी देश नबुझ्ने, कम पढ्ने, बहस नगर्ने, नीति, सिद्धान्त खोज्न लाग्नेभन्दा सत्ता मुठ्याउन र शक्तिमा पुगेपछि सबैलाई दल्न उद्यत छौं ।’
नेकपा माले महासचिव मैनाली स्वतन्त्र, सार्वभौम, निश्चिन्त, जीवित र सुरक्षित नेपालका पक्षपाती हुन् । माक्र्सवाद अगतिलो भएर होइन, नेपालको परिस्थितिअनुसार माक्र्सवाद नवप्रवद्र्धकारी रूपले प्रयोग गर्न सकिएन भन्ने नेकपा माले महासचिव सीपी मैनालीसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
नेपाली खाना दालभात, तरकारी नै स्वादिष्ट लाग्छ । पछिल्लो समय रोटी पनि खान थालेको छु । युरिक एसिड भएकाले बिसाउने खानेकुराबाट टाढै छु । खानकै लागि रेष्टुरेन्ट कहिल्यै गएको छैन । तर, कामविशेषले पुगिरहन्छु । रेष्टुरेन्ट पुग्दा चिकेन वा भेज मःमः माग्छु । परिहाल्दामात्रै पकाउँछु ।
मेरो पोसाक
सामान्यतः ‘क्याजुयल’ पोसाक लगाउँछु । औपचारिक कार्यक्रममा जाँदा दौरासुरुवाल लगाउने गरेको छु । आवश्यक पर्दा वर्षमा दुई जोरसम्म पोसाक किन्छु । पहिल्यै बनाइएका र प्रयोग गर्न सम्भव पोसाक सदुपयोग गरेकै छु । रेडिमेड र कपडा किनेर सिलाउने दुवै गर्छु । कपडा सिलाउँदा श्रेष्ठ टेलरिङ पुग्छु । आफूसँग कपडा हुँदा ब्रान्डेडभन्दा सामान्य टेलरिङमा सिलाउन सहज हुन्छ । १०–१५ वर्षयता ढाकाटोपी लगाउँदै आएको छु । भादगाउँले टोपी पनि लगाउँछु । सालिन्दा २० देखि २५ हजार रुपैयाँसम्मको पोसाक खरिद गर्छु ।
मेरो फिटनेस
घाम लागिसकेपछि ‘वाक’ मा निस्कन्छु । घाम लागिसकेपछि ‘वाक’ गर्दा थोरै हिँडे पनि पसिना आउँछ । ‘वाक’ गर्दा चंगा अनुभूति हुन्छ । एकताका ट्रेडमिलमा दौडन्थे । अहिले छैन ।
मेरो अध्ययन
माक्र्सवाद प्रयोगमा विविधता आएको छ । माक्र्सवादको स्थानीयकरण विषय उठेको छ । नेपालमै माक्र्सवादको प्रयोग कत्तिको सटिक ढंगले प्रयोग भएको छ भनेर अध्ययन गरिरहेको छु । माक्र्सवादका शास्त्रीय किताब पढ्न जाँगर चल्छ । यही विषयमा लेखिएका नाम चलेका, नचलेका लेखकका किताब पढ्ने गरेको छु । मेरो निजी पुस्तकालयमा दुई हजारभन्दा बढी किताब होलान् । व्यवस्थित गर्न सकेको छैन । आवश्यकताअनुसार किताब किन्ने गरेको छु । सालिन्दा २५ देखि ३० हजार रुपैयाँको किताब किन्ने गरेको छु ।
मेरो घुमफिर
रहर भए पनि योजनाबद्ध घुमफिरमा निस्कन पाएको छैन । पार्टी कामको सिलसिलमा मुलुकको अधिकांश जिल्ला पुगेको छु । १० जिल्ला पुग्न बाँकी होलान् । चीन, उत्तर कोरियालगायत थुप्रै देश पुगेको छु । नेपाल आफैंमा सुन्दर छ । स्रोत, साधनसम्पन्न छ । मानिस असल छन् । नेताचाहिँ अगतिला भयौं । हामी देश नबुझ्ने, कम पढ्ने, बहस नगर्ने, नीति, सिद्धान्त खोज्न लाग्नेभन्दा सत्ता मुठ्याउन र शक्तिमा पुगेपछि सबैलाई दल्न उद्यत छौं ।
मेरो फुर्सद
राजनीतिक नेता भएकाले फुर्सद हुँदैन । म समय व्यवस्थापन गर्न जान्दिनँ । बेफुर्सद भएपछि मानसिकमात्रै होइन शारीरिक थकाइ लागे पनि मोबाइल स्वीचअफ गरेरै आराम गरौं भन्ने कहिल्यै लागेन । फुर्सद भइहालेमा अध्ययन, साथीभाइसँग भेटघाट र छलफलमा रमाउँछु । घरपरिवारलाई त्यति समय दिन सकेको छैन ।
मेरो खेलकुद
खेलमध्ये फुटबल मन परे पनि खेलाडी भएर कहिल्यै खेलिनँ । तर, नियम बुझेर हेर्ने भनेको फुटबल र भलिबल नै हो ।
मेरो मोबाइल
सामसुङको मोबाइल सेट प्रयोग गर्दै आएको छु । त्यतिबेला १२ हजार रुपैयाँमा किनेको थिएँ । काम लागुन्जेल मोबाइल सेट प्रयोग गर्ने बानी छ । अन्य प्रयोग नगरे पनि ट्वीटर प्रयोग गरौं भन्ने लागेको छ ।
मेरो टेलिभिजन
टेलिभिजनमा समाचार, टक शो प्राथमिकतासाथ हेर्छु । थकाइ लागेको बेला चलचित्र हेर्न मन पर्छ । टेलिभिजन हेर्ने समय बेलुका जुर्छ । घरमा सामसुङको २४ इन्चको टेलिजिभन छ ।
मेरो चलचित्र
मैले चलचित्र खासै हेरेको छैन । निम्ता पाएपछि पछिल्लोपटक चलचित्र भीमदत्त र पलपल हेरेको थिएँ । दुवै चलचित्र हलसम्म पुगेर हेरेको हुँ । झलाकझुलुकबाहेक टेलिजिजन र भिसिडीमा पनि चलचित्र हेरेको छु । झलाकझुलुक हेर्दा नेपाली कलाकारको अभिनय प्रशंसायोग्य लाग्छ ।
मेरो स्वास्थ्य
युरिक एसिड र उच्च रक्तचापले समातेको छ । तर पनि नियन्त्रणमा राखेको छु । अहिलेसम्म ‘होलबडी चेकअप’ गराएको छैन ।
मेरो भाषणशैली
भाषण गरिसकेपछि म अझै सुधार्छु भन्ने प्रण गर्छु । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । परिस्थिति हेरेर भाषण गर्नुपर्छ । सबै भाषण एकैप्रकारका हुँदैनन् । एउटै भाषणसमेत एकै प्रकृतिको हुँदैन । भाषण गरेकै आधारमा विवादमा नतानिए पनि विरोधचाहिँ हुँदा हुन् । भाषण गर्नअघि तयारी गर्छु । भाषणको रूपरेखा तयार पार्छु । भाषण आलुको थुप्रोजस्तो नभएर लेखजस्तो अन्तर्सम्बन्धित हुनुपर्छ ।
मेरो मापसे
भूमिगत रहँदा मादक पदार्थ लिँदै लिन्नथें । खुला भएपछि लिन थालेको हुँ । पछिल्लो समय कम गर्दै लगेको छु । बियरसम्म नखाएको १० वर्ष भइसकेको छ । विभिन्न सभा–समारोहमा लहर मिलाउनबाहेक मादक पदार्थबाट टाढै छु ।
मेरो संगीत
गीत–संगीत सुन्न मन लाग्छ । ‘क्याजुअल’ गायक–गायिका त्यत्तिकै जन्मिरहेका छन् । ‘क्याजुअल’ देखि स्थापितसम्मको गीत–संगीत सुन्ने गरेको छु ।
मेरो भूल
मानिस भएपछि जान–अञ्जानमा जोकोहीबाट गल्ती हुनु अस्वाभाविक होइन । र पनि, पश्चाताप लाग्नेगरी गल्ती गरेजस्तो लाग्दैन । २७–२८ सालमा झापा आन्दोलनमा सैद्धान्तिक, नीति निर्धारणमा त्रुटि भएको अनुभूति भएको छ । निर्दलीय निरंकुश व्यवस्थाले नेपाली जनतालाई दुःख दिएको थियो । त्यतिबेला झापा विद्रोह आवश्यक थियो । विद्रोह शान्त र सौम्य हुन सक्दैनथ्यो । त्यो विद्रोह न्यायोचित थियो । तर, त्यसको कार्यनीतिक
(तत्काल गणतन्त्र नेपाल स्थापना) लक्ष्य मनोगतवादी रहेछ भन्ने लाग्छ । विद्रोहको मूल पाटो ठीक भए पनि डोर्याउने मामिलामा त्रुटि भएकै हो ।
मेरो घर
म बस्दै आएको घर ५६ सालमा बनाएको हुँ । घर बनाउँदा झापामा रहेको पैतृक सम्पत्ति बेचें । ऋणपान गरें । ११ आना जग्गा त्यतिबेला १२ लाखजतिमा किनेको हुँ । घर बनाउन ३५ देखि ४० लाख रुपैयाँ खर्च भएको थियो । ठेकेदारलाई दिएको भए त्यति खर्चले घर बनाउन सकिँदैनथ्यो ।
मेरो सौन्दर्य
अलि सुख्खा भएको बेला कपालमा नरिवलको तेल लगाउँछु । फेसियल गर्ने बानी छैन । सुख्खा हुँदा अनुहारमा क्रिम लगाउँछु । यदाकदा पफ्र्युम प्रयोग गर्छु । अहिलेसम्म साउना, स्टीमबाथमा बसेको छैन ।
मेरो प्रेम
हामीले प्रेमबिहे गरेका हौं । मैले नै प्रेमप्रस्ताव राखेको हुँ । परिपक्व उमेरमा प्रेमप्रस्ताव राखेकाले अस्वीकृत हुने कुरै थिएन ।
मेरो सपना
मैले परिकल्पना गरेको नेपाल स्वतन्त्र, सार्वभौम र निश्चिन्त हुनुपर्छ । त्यो जीवित र सुरक्षित हुनुपर्छ । त्यतिमात्रै होइन, यहाँ जनपक्षीय राजनीति होस् । यो अलिकति व्यावहारिक, विस्तारित लाग्छ । अमूर्त सपना मूर्त हुँदै गएका छन् । प्रधानमन्त्री, राष्ट्रपतिभन्दा मैले परिकल्पना गरेको र देखेको सपनाको मुलुक बनोस् भन्ने लागेको छ । देशलाई चिन्ने सिद्धान्तसहित त्यसलाई प्राप्त गर्न लागिपरेको छु ।
मेरो मृत्यु
मानिस जन्मेपछि मर्नुपर्छ । मृत्यु स्वाभाविक प्रक्रिया हो । मानिसले आफ्ना, आफन्तका लागि मात्रै नभएर समाज र राष्ट्रका लागि निम्ति केही गर्न सक्नुपर्छ । समाज चिन्ने, चिनाउने र परिवर्तन गर्ने सिद्धान्त नै मेरो अभीष्ट हो । मृत्युसँग डर लागेको छैन । तर, मृत्युसँग उछिनपाछिन सुरु भएको छ । कसैलाई दुःख नदिई फ्यास्सै जान पाए हुन्थ्यो ।