नेपालीका १२ बानी !
हाम्रो समाज अर्काको आलोचना गर्न र सुन्न रमाउने समाज हो । हरेक चोक, गल्ली, चिया पसल, रेस्टुराँ, भट्टी पसल, पनेरो, सरकारी अफिस, मेलापात, अस्पताल, विद्यालयलगायत जहीँ तहीँ अरुको कुरा काटेको सुन्न पाइन्छ । सबैभन्दा बढी सरकार र नेताको आलोचना गरिन्छ, कुरा काटिन्छ ।
सरकारले गरेको कमजोरीको संसदमा वा जनताको लेभलमा आलोचना त संसारभरीकै प्रचलन हो तर यहाँ अचाक्ली नै हुने गरेको छ । आलोचना गर्नुभन्दा आत्माआलोचना गर्नु निक्कै कठिन छ । आज सबै नेता कार्यकर्ता र जनताले आफूले परम्परागत रूपमा गर्दै आएको कमजोरीको आत्मअनुभूति गरेपछि मात्र सही ठाउँमा पुग्न सकिन्छ ।
नेपाली जनता, जसले देशको इतिहासको निर्माण गरेका छन्, नेता र नेतृत्वको निर्माण गरेका छन्, गम्भीर परम्परागत गल्ती दोहोर्याउँदै आएका छन् । अरूलाई चोर औँला ठड्याउँदा आफूतिर तीन औँला फर्किएका हुन्छन् भनिन्छ । जनतातिर ठडिएका औँलाको चर्चा किन नगर्ने ?
१. हामी आश्वासनको आधारमा नेता र पार्टीलाई भोट हाल्छौँ, आश्वासनलाई यथार्थतामा खोज्दैनौँ । अर्को चुनाबमा नयाँ नयाँ गुलिया आश्वासन पछि पछि दगुर्छौं । देशको नीतिगत र संरचनागत परिवर्तन गर्न योगदान गर्ने, सही राजनीतिक सिद्धान्तको पक्ष पोषण गर्नेलाई भन्दा कालो धन खर्चिएर डन, गुण्डा अगाडि पछाडि लगाएर हिँड्नेलाई नेता मान्छौँ । वाह वाह गर्छौं ।
२. चुनावमा बढी पैसा गर्न सक्ने उम्मेदवारलाई राम्रो उम्मेदवार ठान्छौँ । पैसा खर्च गर्न नसक्नेले राजनीतिमा नआए हुन्छ भनेर निम्न वर्गबाट राजनीतिमा आएका वा आउन चाहनेलाई पटक—पटक निरास पार्छौं । सर्वहाराको राजनीतिमा सर्वहाराचाहिँ पस्नै नपाउने पसेका पनि बस्नै नपाउने परिस्थितिको टुलुटुलु हेरिहन्छौँ !
३. एउटा सामान्य हैसियत भएको नेता शक्तिमा पुग्ने वित्तिकै करोडौँ सम्पत्तिको मालिक भएको देख्दा उसको सम्पत्तिको स्रोत के हो भनेर खोजीनीति गर्दैनौँ बरु ‘मौकामा चौका हानेछ’ भनेर उसैको तारिफ गर्छौं । आलोचनात्मक चेतलाई लुकाएर चाप्लुसी चेत प्रदर्शन गछौँ ।
४. कम्तीमा पाँच वर्ष चल्ने स्थिर सरकार बनाउन भोट माग्छौँ, भोट हाल्छौँ । तर सरकार बनेको पाँच महिना पनि नपुग्दै सरकारको उछित्तो काढ्न थाल्छौँ । ताल परे विभिन्न बहानामा सरकारको विरोधमा सडकमा निस्कन्छौँ । पाँच महिनाअघि महान मानिएको अमुक नेतालाई उसको कुनै ब्लन्डरविना तारो हान्ने साधन बनाउछौँ ।
५. हामी बागमती नदी सफाइ अभियान, हनुमन्ते सफाइ अभियान, नगर सफाइ अभियानलगायतका अभियानमा सरिक हुन्छौँ, नेताहरूसँग सेल्फी खिच्छौँ तर आफ्नो घरबाट निस्कने फोहोर सुटुक्क तिनै खोला वा राजमार्ग वा सार्वजनिक स्थानमा यत्रतत्र फालिदिन्छौँ ।
६. हामी उही किसिमको निर्माण सामग्री प्रयोग गरेर आफ्नो घर पचास वर्ष टिक्ने बनाउछौँ । तर आफू उपभोक्ता समितिको अध्यक्ष वा ठेकेदार भएर सरकारी बजेट खर्च गरेर आफ्नो घर अगाडिको सार्वजनिक बाटो चाहिँ पचास दिन पनि नटिक्ने बनाउँछौँ ।
७. हामी ‘सरकारले राम्रो नियम कानुन बनाउन सकेन’भनेर खुब आलोचना गर्छौं तर हामी बनेका नियम कानुनको पालना गर्नुपरे आफूलाई निम्छरो भएको महसुस गर्छौं । मापदण्ड मिचेर घर बनाउँछौँ र नगरपालिकाको कुनै पदाधिकारीले घुस खाएर नक्सा पास गराउन सके गौरवान्वित हुने र मापदण्ड विपरीत नक्सा पास नगर्ने पदाधिकारीलाई ‘चोर डाका’ भन्दै सराप्छौँ ।
८. हामी आफ्ना बालबच्चालाई महँगा निजी स्कुलमा पढाउछौँ र सरकारी स्कुलको व्यवस्थापन समितिमा पदाधिकारी वा सदस्यमा बस्न मरिहत्ते गर्छौं ।
९. हामी आफूलाई सर्वश्रेष्ठ ठान्दछौँ । सरकार, संसदभन्दा ठूलो ठान्दछौँ । ‘मेरो कुरा लागू भएन भने मरिदिन्छु’ भनेर अड्डी कस्छौँ, अनसन बस्छौँ ।
१०. हामी कुनै सार्वजनिक वा सामाजिक काम गर्नु परेमा ‘यसबाट मलाई के कति फाइदा हुन्छ’ बाट सोच्न थाल्छौँ । सकेसम्म आफ्नो भाग पहिल्यै छुट्याएर मात्र काम सुरु गर्छौं ।
११. हामी ट्राफिक जाम भएको मन पराउँदैनौँ । आफू जाममा परे खुइय, खुइय गर्छौं तर ट्राफिक नियम र सडक नियम उलङ्घन गरेर आफैँ ट्राफिक जाम गराइरहेका हुन्छौँ ।
कमजोरी नगर्ने असल नागरिक उल्लिखित ‘हामी’भित्र पर्दैनन् । यहाँ त केही आम मनोवृत्तिको मात्र चर्चा गरिएको हो ।
जनताको तहमा देखिने यस्ता कमजोरी नहटेसम्म समाजको अग्रगामी रूपान्तरण केवल प्राज्ञिक बहस मात्र हुनेछ ।
आर्थिक समृद्धिको नाराको विचल्ली हुनेछ । जनताको मनोवृत्तिमा परिवर्तन नआए जुनसुकै सिद्धान्त बोकेको, जतिसुकै स्थिर र प्रतिबद्ध सरकार आए पनि देशको मुहार तत्काल फेरिने कल्पना गर्न सकिँदैन । किनभने नेता जनताले बनाउने हो, गड्यौला बर्सेजस्तो नेता आकासबाट बर्सने होइन ।