६ महिनामा भरिँदैछ सिसडोल, अनि के गर्ने ?
काठमाडौं– काठमाडौँ उपत्यकाको फोहोर नउठेको २ साता पूरा भयो ।
लगातार परेको वर्षा र सिसडोल डम्पिङ साइटमा गएको पहिरोका कारण काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको फोहोर व्यक्तिको घर र सडकमै थन्किएको छ ।
केही फोहोर फोहोर फाल्ने ट्रिपरमा राखिएका छन् ।
जसको कारण व्यक्तिको घर मात्रै होइन पूरै उपत्यका दुर्गन्धित बनेको छ ।
काठमाडौं महानगरपालिकासहित पूरै काठमाडौं, ललितपुर र भक्तपुरको फोहोर पनि पछिल्लो समय नुवाकोटको ओखरपौवास्थित सिसडोलमा फाल्ने गरिएको छ ।
सुरुवाती समयमा काठमाडौँ महानगरपालिकाले मात्रै सिसडालेमा फोहोर फाल्ने गरेको थियो ।
तर अन्यत्र फोहोर फाल्ने स्थान नभएपछि काठमाडौंका अन्य सबै स्थानीय तह तथा ललितपुर र भक्तपुर जिल्लाको फोहोर पनि यतिबेला सिसडोलमै फाल्ने गरिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।
लामो समयदेखि तीनै जिल्लाको फोहोर फालिएपछि यतिबेला सिसडोलमा थप फोहोर फाल्नका लागि फोहोरको डुङ्गुरमाथिबाट फोहोरका गाडी गुड्नुपर्छ ।
फोहोरको थुप्रोमाथि केही माटो भरेर सवारीसाधन गुड्ने स्थान बनाइएको थियो ।
असारको दोस्रो साता लगातार परेको पानीका कारणले फोहोरको डुङ्गुरमाथि भरिएको माटो बगायो ।
त्यसबाहेक सिसडोल क्षेत्रमा जाने दुई स्थानमा पहिरो गयो र सवारीसाधन जान पाएन ।
जसका कारण असारको २१ गतेदेखि उपत्यकाको अधिकांश स्थानको फोहोर उठ्न सकेको छैन र पूरै उपत्यका दुर्गन्धित बनिरहेको छ ।
कहिले उठ्छ काठमाडौँको फोहोर ?
काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार बिहीबार केही स्थानको फोहोर सङ्कलन गरिएको छ र १ सय ५० टन फोहोर फालिएको छ ।
बिहीबार दिनभर घाम लागेको कारण फोहोर फाल्न सहज भएको थियो ।
शुक्रबार पनि बिहानैबाट फोहोर सङ्कलनको काम भइरहेको प्रवक्ता कार्कीले बताए ।
तर फोहोर उठ्नका लागि मौसम सफा हुनुपर्छ र पानी पर्नु हुँदैन ।
यदि फेरि पानी परेको खण्डमा फेरि पनि फोहोर उठ्न नसक्ने प्रवक्ता कार्की बताउँछन् ।
निजी संस्थाले जिम्मा लिएका स्थानको फोहोर मौसम सफा भएमा दुई सिफ्टमा उठाउन निर्देशनसमेत दिइएको कार्की बताउँछन् ।
यद्यपि काठमाडौँ महानगरपालिकाले उठाउने वा उठाएको सबै फोहोर व्यवस्थापन हुन अझै एक साता लाग्ने कार्की बताउँछन् ।
उनी भन्छन्, मौसम सफा भएमा हामी एक साताभित्र सबै फोहोर व्यवस्थापन गरिसक्छौँ ।
काठमाडौँको अधिकांश फोहोर सङ्कलन निजी संस्थाको जिम्मामा
काठमाडौँ जिल्लाको अधिकांश स्थानको फोहोर सङ्कलनको काम निजी संस्थालाई जिम्मा दिइएको छ ।
काठमाडौं महानगरपालिका आफैले पनि फोहोर सङ्कलन गर्ने भए पनि अधिकांश स्थानको फोहोर सङ्कलन तथा व्यवस्थापनको जिम्मा निजी संस्थाहरूलाई दिइएको छ ।
निजी संस्थाहरूले प्रत्येक घर वा व्यापारिक फर्मसँग निश्चित रकम लिएर फोहोर सङ्कलन तथा त्यसको व्यवस्थापनको काम गरिरहेका छन् ।
काठमाडौँ महानगरपालिका आफैले सङ्कलन गरेको फोहोर प्रशोधन तथा स्टोर गर्न टेकुमा स्थान भए पनि निजी संस्थाले सङ्कलन गरेको फोहोर भण्डारण गर्ने कुनै स्थान छैन ।
निजी संस्थाले व्यक्तिको घरबाट उठाएको फोहोर सोझै सिसडोलमा लगेर फाल्ने गरेका छन् ।
तर सिसडोल बन्द भएपछि लामो समयदेखि निजी संस्थाले जिम्मा लिएको स्थानको फोहोर उठ्न नसकेको हो ।
६ महिनामा भरिन्छ सिसडोल अनि आउँछ विकराल समस्या
विगत लामो समयदेखि फोहोर फाल्ने गरिएको सिसडोलमा फोहोरको डुङ्गुरले एउटा पहाड नै बनेको छ ।
सिसडोलमा अबको केही समयपछि फोहोर फाल्ने स्थान नै हुनेछैन । उपत्यकाको फोहोर फाल्ने एक मात्र स्थान सिसडोल भरिएपछि के हुन्छ ? हामीले यही प्रश्न काठमाडौं महानगरपालिकका प्रवक्ता ज्ञानेन्द्र कार्कीलाई सोध्यौँ ।
कार्कीले यो ज्यादै पेचिलो समस्या र प्रश्न भएको बताए ।
कार्कीका अनुसार अबको ५ देखि ६ महिनापिछि सिसडोलमा फोहोर फाल्ने कुनै स्थान रहने छैन ।
फोहोरको डुङ्गुरले बनेको पहाडमा अब माटो भर्ने स्थान पनि छैन । जसका कारण सो स्थानमा अबको ६ महिनापछि फोहोर फाल्ने स्थान रहने छैन ।
सिसडलोबासीले विगत लामो समयदेखि फोहोर फाल्न बन्द गर्न भन्दै आन्दोलन गरिरहेका कारण त्यही स्थान नजिकै अर्को डम्पिङ साइट बनाउने सम्भावना पनि ज्यादै न्यून छ ।
सिसडोल डम्पिङ साइट भरिएर फोहोर फाल्ने अर्को डम्पिङ साइट नभएपछि त्यसपछिको समस्या भने ज्यादै विकराल र भयङ्कर हुने प्रवक्ता कार्की बताउँछन् ।
हुन त सरकारले लामो समयसम्म फोहोर फाल्न मिल्ने भन्दै नुवाकोटकै बन्चरे डाँडालाई डम्पिङ साइट बनाउने यसअघि नै निर्णय गरिसकेको छ ।
हालको डम्पिङ साइट सिसडोलबाट दुई किलोमिटर टाढा रहेको बन्चरे डाँडामा ल्यान्डफिल साइट बनाउन भन्दै सरकारले निर्णय गरिसकेको छ । यद्यपि बन्चरे डाँडामा पूर्वाधार निर्माणको काम भने केही भएको छैन ।
बन्चरे डाँडा १ सय वर्षका लागि
सरकारले करिब १ सय वर्षसम्म उपत्यकाको फोहोर फाल्न मिल्ने भन्दै नुवाकोटको बन्चरे डाँडालाई डम्पिङ साइट बनाउने निर्णय करिब १ वर्ष अगाडि नै गरेको थियो ।
तर १ वर्षअगाडि निर्णय गरेपछि बन्चरे डाँडामा पूर्वाधार निर्माणको कुनै काम गरेको छैन । बन्चरे डाँडा जाने स्थानमा एउटा पुल हालिएको छ । यद्यपि त्यो पुलको पनि निर्माण सम्पन्न भइसकेको छैन । त्यसबाहेक अन्य पूर्वाधार निर्माणको कुनै काम हुन सकेको छैन ।
केही समय अगाडि मात्रै सरकारले फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरेको छ ।
फोहोर व्यवस्थापन केन्द्र भने सरकारले नै उपलब्ध गराउनुपर्ने हुन्छ र त्यसका लागि एक मात्र विकल्प नुवाकोटको बन्चरे डाँडा नै हो ।
सरकारले बन्चरे डाँडा वरिपरिको जग्गा अधिग्रहण गरे पनि मुआब्जा भने अझै वितरण गरेको छैन ।
जग्गा अधिग्रहणपछि मुआब्जा वितरण गर्नुपर्ने भए पनि अझै मुआब्जा वितरण नभएकाले बन्चरे डाँडा पनि चाँडै ल्यान्डफिल साइट बन्छ भन्नेमा शङ्का नै छ ।
किनभने पहिले मुआब्जा वितरण गरिसकेपछि पूर्वाधार निर्माणमा लागि टेन्डर आह्वान गर्नुपर्ने हुन्छ ।
टेन्डरका लागि ३५ दिनको समयसीमा दिई सूचना प्रकाशन गर्नुपर्छ । त्यसपछि आशय पत्र मागी ठेक्का दिने प्रक्रियासम्म करिब ६ महिना पूरा हुन्छ ।
डम्पिङ साइट बनाउन ६ महिनामै काम पूरा गरे पनि प्रक्रिया सुरु भएको कम्तीमा १ वर्ष पूर्वाधार निर्माणमै खर्च हुन्छ । तर हालसम्म पनि न काठमाडौं महानगरपालिकाले बन्चरे डाँडाबारे सोचेको छ, न त सरकारले नै ।
जसका कारण अहिले माबै होइन, सिसडोल भरिँदा अबको ६ महिनापछि महिनौं दिनसम्म उपत्यकाको फोहोर नउठ्ने सम्भावना रहन्छ ।
फोहोरको चिन्ता लिलामणिलाई मात्रै !
फोहोर व्यवस्थापनका लागि सबैभन्दा बढी खटेका व्यक्ति भने पूर्व मुख्यसचिव लिलामणी पौडेल मात्रै हुन् ।
त्यसपछिका कुनै पनि मुख्य सचिवलाई यसबारे कुनै चिन्ता नै छैन ।
राजनीतिक नेतृत्वले पनि यसबारे चासो नराख्दा अबको ६ महिनापछि फोहोर व्यवस्थापनका लागि ज्यादै कठिन दिन आउने निश्चित छ ।
हुन त आफ्नो क्षेत्रभित्रको फोहोर स्थानीय निकायले नै व्यवस्थापन गर्नुपर्ने हो । तर काठमाडौं उपत्यकामा यस्तो फोहोर व्यवस्थापन गर्ने जग्गा नै छैन ।
जसका कारण उपत्यकाको सबै फोहोर सिसडोल नै पुग्ने गरेको छ ।
अहिलेसम्म फोहोर फलिरहे पनि कुनै पनि स्थानीय तहले अबको ६ महिनापछि के गर्ने भनेर छलफलसमेत गरेका छैनन् ।
ओखरपौवास्थित सिसडोल डम्पिङ साइट भरिएपछि आगामी पुस महिनादेखि स्थिति ज्यादै विकराल र भयङ्कर बन्दैछ ।