मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘सुशीला कार्कीको अभिव्यक्ति कानुन र आचारसंहिता विपरीत’, हिंसा भड्किए जिम्मा कसले लिन्छ ?

आइतबार, ०६ साउन २०७५, ११ : ३८
आइतबार, ०६ साउन २०७५

काठमाडौं–२२ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा शनिबार बानेश्वरमा नागरिक समाजले र्याली र कोणसभा गर्यो ।

कोणसभामा पूर्व भीआईपीदेखि नागरिक समाजका अगुवाहरू बोले । 

गोविन्द केसीको पक्षमा सरकारविरुद्ध कडारूपमा प्रस्तुत भएका नागरिक समाज र संवैधानिक आयोगका पूर्व प्रमुखहरूले आगो मात्रै ओकलेनन्, हिंसात्मक अभिव्यक्ति पनि दिए । त्यसैबीच बानेश्वरमा प्रहरी र आन्दोलनकारीबीच झडप पनि भयो । 

गोविन्द केसीको पक्षमा आवाज उठाउने अधिकांश अगुवाहरू पूरानै अनुहारका थिए । 

तर शनिबारको आन्दोलनमा ब्यानर समाउँदै हिँड्ने नयाँ अगुवा देखा परिन् । 

तिनी थिइन्, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की । 

‘सोलिडारिटी फर डाक्टर केसी अलायन्स’ लेखिएको ब्यानर समातेर कार्की रवीन्द्र मिश्र र श्याम श्रेष्ठको बीचमा देखिइन् । 

रवीन्द्र मिश्र विवेकशील साझा पार्टीका संयोजक हुन् भने श्याम श्रेष्ठ वाम विश्लेषक तथा राष्ट्रिय शिक्षा आयोगको सदस्य छन् । 

उनीहरूसँगै आन्दोलनमा पूर्वप्रधानमनत्री डाक्टर बाबुराम भट्टराई, कृष्ण पहाडी, मनिषा कोइराला, खगेन्द्र सङ्ग्रौला लगायतका व्यक्तित्वहरू पनि देखियो । 

माइतीघरदेखि बानेश्वरसम्म र्याली गरी गरिएको कोणसभामा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले एउटा अभिव्यक्ति दिइन्, ‘देशमा अब आगो बल्छ ।’

शनिबार बानेश्वरमा भएको कोणसभामा कार्कीले यस्तो हिंसात्मक अभिव्यक्ति दिइरहँदा सोही क्षेत्रमा तरुण दल र प्रहरीबीच झडप भयो । 

झडपका क्रममा तरुणदलका अध्यक्षसहित प्रहरीहरू पनि घाइते भए । 

कार्कीले बानेश्वरमा के भनेकी थिइन् ? : सुशीला कार्कीको आक्रामक सम्बोधन : डा. केसीको माग पूरा नभए देशमा आगो बल्छ  (पूर्णपाठ)

‘स्वच्छ छवि’ बनाएकी पूर्व प्रधानन्यायाधीशको ‘आगो बल्ने’ अभिव्यक्ति र झडपबीचको सम्बन्ध नभएपनि कार्कीको आक्रामक अभिव्यक्तिलाई लिएर भने कतिपयले प्रश्न उठाएका छन् । 

के भन्छ आचारसंहिताले ?

प्रधानन्यायाधीशको शपथका क्रममा उसले के बाचा गरेको हुन्छ भने पदमा रहँदा वा पदबाट मुक्त भइसकेपछि म राज्यविरुद्धको काममा सरिक हुने छैन । 

सर्वोच्च अदालत ऐनको दफा ८ मा शपथको विषयमा बोलिएको छ । उक्त दफाअनुसार लिने शपथको अन्तमा भनिएको छ, 

‘म ... सत्य निष्ठापूर्वक प्रतीज्ञा गर्छु÷ईश्वरको नाममा शपथ लिन्छु कि नेपाली जनता, प्रचलित संविधान तथा अन्य कानुनप्रति पूर्ण निष्ठावान रही आपूmले ग्रहण गरेको... पदको जिम्मेवारी न्यायपालिकाको स्वच्छता र मर्यादा विपरीत नहुने गरी, कसैको डर, मोलाहिजा, पक्षपात, द्वेष वा लोभमा नपरी इमानदारिताका साथ पालना गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आपूmलाई ज्ञात हुन आएको कुरा प्रचलित कानुनको पालना गर्दाबाहेक म पदमा बहाल रहेको वा नरहेको कुनै पनि अवस्थामा प्रकट गर्ने छैन ।’

प्रधानन्यायाधीश भइसकेको व्यक्ति पदबाट मुक्त भइसकेपछि पनि उसले राज्यबाट पेन्सन, सवारीसाधन, पर्सनल सेक्युरिटी गार्ड आदि लिएको हुन्छ । 

यसको अर्थ पूर्व प्रधानन्यायाधीश अहिले पनि राज्यकै अङ्ग हो । 

तर शनिबार भएको नागरिक समाजको भीडमा राज्यकै तलब भत्ता खाएर, राज्यविरुद्ध विषवमन गर्न पुगिन्, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की । 

नेपाली सेनाको हतियारधारी बडी गार्ड लिएर उनी आन्दोलनमा उत्रिइन् र भनिन्– ‘केसीको माग पूरा नभए देशमा आगो बल्छ ।’

त्यहीबीचमा बानेश्वरमा झडप भयो । धन्न झडप नागरिक समाजको भीडतिर आएन । नत्र यदि झडप भएको भए ती सैनिकले के गर्थे होला ? प्रहरीविरुद्ध नै ढुङ्गा र गोली बर्साउँथे कि कार्कीलाई बचाउनतिर लाग्थे ?

संविधानविद् आचार्य भन्छन्ः पूर्व प्रधानन्यायाधीशको अभिव्यक्ति आपत्तिजनक

शनिबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशमा आगो बल्ने अभिव्यक्ति दिएपछि हामीले आइतबार संविधानविद् डाक्टर भीमार्जुन आचार्यसँग कुरा गर्यौँ । 

कार्कीको अभिव्यक्ति र सडकगमनलाई कसरी लिनुभएको छ ?

‘प्रधानन्यायाधीश भइसकेको एकजना व्यक्ति सडकमा आन्दोलनमा आउनु एकदम गलत विषय हो । हो, कानुनी राज्यको विरुद्धमा छ, आचारसंहितको उल्टो छ । प्रधानन्यायाधीश भइसकेको व्यक्ति पदमा रहँदा पनि वा नरहँदा पनि त्यो राज्यको व्यक्ति हो । उसले राज्यबाट पेन्सन, सेवा र सुविधा लिइरहेको हुन्छ । सेक्युरिटी अफिसरसमेत लिएर हिँडेको हुन्छ । तर त्यस्तो व्यक्तिले राज्यविरुद्धकै आन्दोलनमा सरिक हुनु भनेको कानुनसम्मत होइन । यो आचारसंहिता र नैतिकताले दिँदैन ।’ उनले भने ।

आचार्यले थपे, ‘जहाँसम्म शनिबारको अभिव्यक्तिको कुरा गर्नुभयो, पूर्व प्रधानन्यायाधीशले बोल्ने शब्द होइन त्यो । यसले हिंसालाई प्रोत्साहन गर्छ । एउटा जिम्मेवार व्यक्तिले त्यस्तो अभिव्यक्ति दिन मिल्दैन । राज्यबाट सेवा र सुविधा लिँदै राज्यविरुद्ध नै विषवमन गर्न मिल्दैन ।’

राजनीति गर्न मन लागे पहिले सुविधा छाड्नुपर्छ 

संविधानविद् आचार्यका अनुसार राज्यको तलब र भत्ता लिएर राज्यविरुद्ध नै आन्दोलन गर्नु अपराध हो । ‘यदि उहाँलाई (सुशीला कार्की) राजनीति गर्न मन लागेको भए पहिले राज्यबाट लिएका सबै सेवा र सुविधा फिर्ता गर्नुपर्छ । अनि मात्रै उहाँ स्वतन्त्र व्यक्ति बन्न पाउनुहुन्छ । होइन भने राज्यकै स्रोत र साधनको दुरुपयोग गरेर राज्यविरुद्ध बोल्दै हिँड्न पाइँदैन ।’ उनले भने ।  

राज्यले चाहेमा सुविधा खोस्न सक्छ

आचार्यका अनुसार यदि राज्यले चाहेमा कार्कीको सेवा र सुविधा खोस्न पनि सक्छ । राज्यको स्रोत र साधनको दुरूपयोग भएको आभाष भएमा त्यस्ता व्यक्तिलाई दिइएको सेवा र सुविधा राज्यले खोस्न सक्ने अधिकार छ ।

पूर्व एआईजी भन्छन् : यस्तो अभिव्यक्तिले नेगेटिभ सेन्टिमेन्ट ल्याउँछ

पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) अर्थात् सेक्युरिटी गार्ड लिएर सरकारविरुद्धको आन्दोलनमा जानु सही कि गलत भनेर हामीले नेपाल प्रहरीका एकजना पूर्व एआईजी विज्ञानराज शर्मालाई पनि सोध्यौँ । 
पूर्व प्रधानन्यायाधीशको अभिव्यक्ति र आन्दोलनमा पीएसओको प्रयोगलाई सुरक्षा दृष्टिकोणबाट कसरी हेर्न सकिन्छ ?

‘शनिबार पूर्वप्रधानन्यायाधीशको अभिव्यक्ति अलि जटिल प्रकृतिको छ । उहाँलाई स्वच्छ छवि र निष्ठावान व्यक्ति भनिन्छ । उहाँले सानो कुरा बोल्दा पनि यसले ठूलो प्रभाव पार्न सक्छ । उहाँको यो भनाइले साइलेन्ट बसेका व्यक्तिलाई पनि भ्वाइलेन्ट बनाइदिन सक्छ । उहाँ कमै बोल्ने व्यक्ति भएकाले तटस्थ बसेका व्यक्तिलाई पनि सरकारविरुद्ध नेगेटिभ सेन्टिमेन्ट पैदा गरिदिन सक्छ । जसको कारण आन्दोलनले हिंसाको रूप लिन सक्छ ।’ उनले भने ।  

त्यसो भए हिंसात्मक आन्दोलन वा झडप भए पीएसओले के गर्ने ?

पूर्व एआईजी शर्माका अनुसार झडप हुनसक्ने स्थानमा यस्ता भीआईपीहरू जानु नै हुँदैन । सुरक्षा अधिकारी लिएर हिँड्ने भीआईपीहरूले यस्ता भीडबाटबाट टाढै बस्नुपर्छ । अझ संवैधानिक आयोगका प्रमुख वा पूर्व प्रमुखहरू त यस्तो अवस्थामा साइलेन्ट नै बस्नुपर्छ । 

यदि कुनै भीआईपीले यस्तो स्थानमा जान खाजेमा जानबाटै रोक्नु वा सम्झाउनु पीएसओको काम हो । सम्झाउँदा पनि भीड वा आन्दोलनमा जान खोजेमा पीएसओले सोको जानकारी आफ्नो हेडक्वार्टरमा जानकारी गराउनुपर्छ । 

‘आन्दोलनमा हुलदङ्गा वा झडप भएमा पहिले उक्त भीआईपीलाई जोगाउने वा भगाउनेतिर पीएसओ लाग्नुपर्छ । ढुङ्गा हानाहान वा गोली चलेमा पीएसओले बचाउने भन्दै राज्यविरुद्ध नै गोली चलाउन सक्दैन, मिल्दैन ।’ उनले भने ।  

अभिव्यक्तिपछि हिंसा भड्किएमा दोषी को ?

शनिबार ‘देशमा आगो बल्ने’ पूर्व प्रधानन्यायाधीशको अभिव्यक्ति आएपछि झडप भयो । डाक्टर गोविन्द केसीको माग अझै पूरा भएको छैन र घटनाले बिस्तारै हिंसाका रूप लिन थालेको छ, झडप हुन थालेको छ ।
यदि आगामी दिनमा आन्दोलन अझै हिंसात्मक भएमा दोषी को हुन्छ त ? यस्तो प्रश्नमा यो कानुनी विषय भएको भन्दै धेरै बोल्न नमिल्ने बताए । तर कानुनले हिंसा भड्काउन प्रोत्साहित गर्नेलाई पनि दोषी मान्ने गरेको भने पूर्व एआईजी शर्माले बताए । 
 

वानेश्वरमा यसरी हुन पुग्यो झडप, १३ तस्बिरमा हेर्नुहोस्

वानेश्वर झडपमा तरुण दलका अध्यक्ष घाइते

शान्तिपूर्ण आन्दोलनमा तनाव : वानेश्वरमा प्रदर्शनकारीले ३ मन्त्रीका गाडी फुटाए

नयाँ वानेश्वर क्षेत्र तनावग्रस्त, तरुण दलको प्रदर्शनमा झडप प्रहरी इन्सपेक्टर घाइते

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप