आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कस्तो छ डा. केसीको स्वास्थ्य अवस्था ? प्रत्यक्ष भेट्दा हुनसक्छ यस्तो सङ्क्रमण

सोमबार, ०७ साउन २०७५, १४ : ३१
सोमबार, ०७ साउन २०७५

काठमाडौँ – २४ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीलाई सरकारले उपचारका लागि भन्दै जुम्लाबाट काठमाडौँ ल्याएपनि उपचार हुन सकेको छैन । 

  केसीले आफ्नो स्वास्थ्य परीक्षण गराउन अस्वीकार गरेपछि कुनै किसिमको उपचार हुन नसकेको हो । 

केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै ४ दिनअघि सरकारले काठमाडौं ल्याएको थियो । 

तर, केसीले माग पूरा नभएसम्म उपचार नगराउने भन्दै  सामान्य रक्तचापसमेत परीक्षण गर्न अस्वीकार गर्दै आएका छन् । 

जुम्लामा हुँदा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्टमा रगतमा पोटासियम, म्यागनेजियम, क्याल्सियम लगायतका इलेक्ट्रोलाइट्स निकै कम भएको जनाइएको थियो । 

 केसीको स्वास्थ्य अवस्था 
डाक्टर बिसद दाहालले केसीको स्वास्थ्यमा सेतो रक्तकोषिका कम भएको पाइएको बताए ।  रक्तकोषिका कम हुँदा उनलाई सामान्य भन्दा सामान्य रोग सर्न सक्ने धेरैै सम्भावना रहेको उनको भनाई छ । अस्पतालमा उनलाई भेट्न पुगेकाहरुको भीडभाडले पनि सङ्क्रमणको खतरा रहने चिकित्सकहरुको भनाई छ । 

यद्यपि, डाक्टर दाहालका अनुसार केसीलाई भेट्न जाने शीर्ष व्यक्तिबाहेक अन्यलाई नजिक जान दिइएको छैन । जानेहरूलाई माक्स र हेन्ड वास प्रयोगपछि मात्रै पठाउने गरिएको छ ।  

अन्य भेट्न जाने समर्थकहरूलाई २, ३ मिटर पर नै रहन सचेत गराइएको छ ।

डाक्टर दाहालका अनुसार केसीको शरीरमा सेतो रक्तकोषिका निकै कम भएको छ । यसले शरीरमा रोग लाग्नबाट बचाउने काम गर्छ । उनले भने, ‘उहाँले अक्सिजन र स्लाइन पानीबाहेक कुनै किसिमको स्वास्थ्य परीक्षण गर्न मान्नु भएको छैन । अहिले स्वास्थ्य अवस्था कस्तो छ भन्ने बारेमा यकिन गरेर भन्न सकिन्न ।’

उनले थपे– ‘आईसीयूमा राख्नुपर्ने अवस्था छ । बोल्न सक्नु हुन्न । कहिलेकाहीँ छाती दुखेको हातको इसाराबाट थाहा हुन्छ । अक्सिजन २४सै घण्टा लगाउनुपर्ने अवस्था छ, यस्तै रहिरहने हो भन्ने जे पनि हुन सक्छ ।’

उनका अनुसार केसीको मुटुको चालमा गडबडी भएको ठानिए पनि ईसीजी गरेर मुटुको अवस्थाबारे जानकारी लिन सकिएको छैन । काठमाडौँ आएकै दिन मुटुको अवस्था बारे जाँच गरी सीसीयूमा लाने तयारी थियो तर जाँच गर्न नै अस्वीकार गरेपछि स्वास्थ्य अवस्थाबारे बुझ्न नसकिएको उनका सहयोगीहरुले बताएका छन् । 

यता सरकारले भने डाक्टर केसीलाई सुविधा सम्पन्न ठाउँमा ल्याएको भन्दै ढुक्क भएर बसिरहेको छ । अहिलेसम्म केसीको मागबारे ठोस वार्ता हुन सकेको छैन । 

 
को—को गए भेट्न ?
सरकारले काठमाडौं ल्याएसँगै स्वास्थ्य अवस्था बुझ्न अनसनरत त्रिवि शिक्षण अस्पतालमा पुग्नेहरुको क्रम बाक्लिएको छ ।  विभिन्न दलका नेतादेखि, समर्थक, अभियन्ता र सम्पादकसम्म उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका छन् ।

केसीलाई १५औँ अनशनका क्रममा हालसम्म ४ सयभन्दा धेरैले भेटिसकेको बताइएको छ । 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको नाक, कान, घाँटी विभागमा अनशन बसेका डाक्टर केसीलाई पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसी, नेकपा क्रान्तिकारी माओवादीका नेता मोहन वैद्य किरण, नायिका मनिषा कोइराला, नयाँ शक्ति पार्टीकी नेतृ करिश्मा मानन्धर, राजपा अध्यक्ष मण्डलका नेताहरू, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा, राप्रपा राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीलगायतले केसीलाई भेटेर उनका मागप्रति समर्थन जनाएका छन् ।
 

कहाँ अड्कियो वार्ता ?
सरकारी वार्ता टोली र आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्षबीच अनौपचारिक वार्ता जारी रहे पनि डा केसी पक्षको अडानका कारण औपचारिक वार्ता हुन  सकेको छैन ।

प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान केसी पक्षले राखेका कारण वार्ता हुन नसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक खगराज बरालले बताए ।  

‘हामीले उहाँहरुलाई निःशर्त वार्तामा आउन औपचारिक आग्रह गरेका छौँ तर केसी पक्षबाट वार्ताका लागि ठोस पहल भएको छैन’, सचिव बरालले भने, ‘वार्ताबाट निकास निकाल्न सरकार तयार छ तर संसद्मा पुगेको विधेयक फिर्ताको अधिकार हामीसँग छैन ।’ 

डा केसीले १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेज स्थापना हुन नहुने अडान राख्दै आएका छन्  भने सांसद र कानूनविद् एवं विज्ञहरुले यसको निरुपण सार्वभौम संसद्बाट हुनुपर्नेमा जोड दिँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप