आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

समयमै उपचार गरे निको हुन्छ क्यान्सर

मङ्गलबार, ०८ साउन २०७५, ०८ : ४४
मङ्गलबार, ०८ साउन २०७५

 पछिल्लो समय नेपालमा क्यान्सर रोगले भयाभहरूप लिन थालेको छ । क्यान्सरको विषयमा विभिन्न सङ्घ संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा वार्षिक १५ हजारको मृत्यु भइरहेको छ । ४० हजार नयाँ बिरामी पनि थपिने गरेका छन् । नेपालमा क्यान्सर रोगको सिनारिओ हेर्ने हो भने पहिलो नम्बरमा फोक्सोको क्यान्सर अनि क्रमशः मुख, नाक, कान, घाटी, आमाशयको क्यान्सर पनि समस्याका रूपमा देखापरेको छ । महिलाको कुरा गर्ने हो भने पाठेघरको मुखको क्यान्सर पहिलो नम्बर छ । स्तन क्यान्सर दोस्रो नम्बरमा परेको देखिन्छ ।

नेपालमा क्यान्सर रोगका बारेमा जनचेतना,उपचार गर्ने नयाँ प्रविधि भित्रिएपनि रोगीको सङ्ख्यामा कमी आउन सकेको छैनन् । 

 देशमा क्यान्सर विषयमा अध्ययन गर्नेको सङ्ख्या पनि बढ्दै गइरहेको छ ।  यता सरकारले क्यान्सर कम गर्नकै लागि धूमपान न्यूनीकरणसम्बन्धी विभिन्न जनचेतना र अभियानहरू पनि सञ्चालन गर्दै आइरहेका छ । तर पनि बर्सेनि क्यान्सर रोगको बिरामी बढ्दै गइरहेको छ ।

बर्सेनि क्यान्सरका रोगीको सङ्ख्या बढ्दै जानुको मुख्य कारण, उपचार पाए कति प्रतिशत क्यान्सर निको हुनसक्छ, नेपालमा उपचार सम्भव छ कि छैन्, उपचार शुल्क विपन्न नागरिकलेतिर्न सक्छन् छ सक्दैनन् ?   क्यान्सर रोगको उपचारमा नेपालमा आएको परिवर्तन,  यसबाट बच्न के गर्ने ? लगायतका विषयमा भक्तपुर क्यान्सर अस्पतालका डाक्टर रोशन प्रजापतिसँग अञ्जु तामाङले गरेको कुराकानीः

नागरिकले क्यान्सर रोगलाई कसरी बुझ्ने ?
क्यान्सर भनेको शरीरको कुनै पनि कोषिकाहरू अनियन्त्रित रूपमा वृद्धिहुनु हो । यो शरीरको जुनसुकै भागमा पनि हुन सक्छ । त्यो अनियन्त्रित कोषिकाहरूलाई हामीले समयमानै रोक्न सकेनौँ भने मानिसको मृत्यु पनि हुन सक्छ । अनियन्त्रित कोषिकालाईनै क्यान्सर भन्ने गरिन्छ । क्यान्सरे समयमानै पत्ता लगाएर उपचार गर्ने हो भने पूर्णरूपमा निको हुन्छ । निरन्तर खोकी लाग्यो, शरीरको कुनै पनि भागमा गिर्खा आएको छ भने यो क्यान्सरको लक्षण हुन सक्छ तर यो समस्या देखिँदा पनि उपचार गर्न जाने चलन हामीमा छैन । क्यान्सर अन्य रोग जस्तै हो यसलाई सामान्य रोग जस्तै ठानेर समयमै औषधि उपचार गर्ने हो भने निको हुन्छ ।  

नेपालमा कुन क्यान्सर बढी देखिन्छन् र उपचार गरे कति प्रतिशत निको हुने सम्भावना हुन्छ ?
नेपालमा क्यान्सरको रोगको अवस्था हेर्ने हो भने पहिलो नम्बरमा फोक्साको क्यान्सर रहेको छ । यो क्यान्सर महिला, पुरुष दुवैमा हुन्छ । फोक्सोको क्यान्सर धूमपान, धुवाँ,धुलो र सवारी साधनको धुवाँबाट बढी हुन्छ । तर धूमपान गर्नेलाई मात्रै क्यान्सर हुन्छ भन्ने चाहिँ होइन  । धूमपान गर्ने व्यक्तिसँगै व्यक्तिलाई पनि धुवाँको असर भइरहेको हुन्छ ।  त्यस्ता व्यक्तिलाई पनि क्यान्सर हुने सम्भावना हुन्छ ।  त्यसपछि क्रमशः नाक,कान, घाटी,पेट र खाना नलीको क्यान्सर पर्ने गरेको छ । 

यता महिला सवालमा कुरा गर्ने हो भने पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा रहेको छ भने स्तन क्यान्सर दोस्रो नम्बरमा छ ।  

नेपाली समाजमा अझैसम्म पनि क्यान्सर लागेपछि अब उपचार हुन्न मृत्युबाहेक अन्य कुनै विकल्पनै छैन भन्नेहरू धेरै छन् । त्यस्ता व्यक्ति समयमा अस्पताल आउनु हुन्न । आएपनि गाउँमा धामी झाँक्री लगाउने उपचारको समय बितेपछि निको नहुने अन्तिम अवस्थामा मात्रै स्वास्थ्य संस्था आउँछन् । बचाउन मुस्किल पर्छ भने कतिको त मृत्युनै हुने गरेको छ ।  क्यान्सर निको हुन्छ भन्दासम्म पत्याउनु हुन्न । क्यान्सर निको हँदैन । धेरै खर्च हुन्छ भन्ने भ्रम अझै पनि कायमै छ, जसले गर्दा क्यान्सर लागेपछि उपचारभन्दा पनि मृत्युलाई कुरेर बस्नेहरू धेरै छन् । 

क्यान्सरको उपचार महँगो हुन्छ ।सामान्य परिवारले उपचार गर्न सक्दैनन् भन्छन्न, के क्यान्सर उपचार महँगोनै हुन्छ त ?
  क्यान्सर सुरुवातीको अवस्थामा छ भने झण्डै ८ हजार खर्च गर्दा निको हुन्छ । यो पैसा भनेको खासै धेरै पैसा हो जस्तो मलाई लाग्दैन । क्यान्सरको उपचारमा खर्चै लाग्ने बारेमा कसलाई कुन क्यान्सर लागेको छ र कुन चरणमा स्वास्थ्य संस्था आइपुग्नु भएको छ, त्यसमा भर पर्ने हो । 

पहिलो र दोस्रो चरणमा क्यान्सर पत्ता लाग्यो भने निको हुने सम्भावना पनि धेरै हुन्छ  र खर्च पनि कम लाग्छ । तेस्रो चरणपछि मात्रै केही बढी लाग्छ । समयमानै थाहापाएको अवस्थामा कतिलाई तसरकारले क्यान्सर रोगीहरूका लागि छुट्याएको १ लाखलेनै पुग्ने गरेको छ ।  सुरुवातीको अवस्थामा रोग पत्ता लागउने हो भने १ लाख प्रयाप्तछ । धेरै क्यान्सर रोगीले सरकारको सहयोगबाटनै पूर्ण रूपमा क्यान्सर रोगको उपचार गराएका छन् । केही क्यान्सरको उपचारमा लाखौँ रुपियाँ तिर्नुपर्ने पनि हुन्छ तर सबै क्यान्सर महँगो हुन्न । त्यो क्यान्सरको प्रकृति हेरेर खर्च लाग्ने हो ।  

अर्काे कुरा क्यान्सरको उपचार नेपालमा हुन्न भन्ने पनि चलन छ । क्यान्सर लागेपछि उपचारका लागि बाहिर जानुपर्छ भन्ने भ्रम रहेको छ । म के भन्न चाहान्छु भने क्यान्सरको निदान पनि हाम्रो देशमा हुन्छ । उपचार पनि हाम्रै देशमा हुन्छ । खाली के चाहियो भने नागरिकले हामीलाई विश्वास गर्नुपर्यो । सहज र चेतना भयो भने सुरुमै पत्तालाग्यो भने क्यान्सरसँग डराउनुपर्छ भन्ने पनि छैन् । सबै क्यान्सर खर्चिलो हुँदैनन् ।  

  क्यान्सर उपचारका लागि कस्ताकस्ता प्रविधि भित्रिए नेपालमा ?
पहिला हामीसँग पेटस्क्यान,रेडियोथेरापी जस्ता मेसिनहरू थिएनन् । क्यान्सर लागेको हो कि होइन, लागेको हो भने कुन क्यान्सर हो भन्ने बारेमा जाँच्ने मेसिन पनि थिएन । अहिले यस्ता सबै प्रकारका मेसिनहरू छन् । क्यान्सर लागे पछि धनी होस् या गरिब सबै वर्ग विदेशमा गएर उपचार गराउनु पर्ने बाध्ययता थियो । अहिले यो हट्दै गइरहेको छ । नेपालमा क्यान्सर रोगको उपचारमा नयाँ प्रविधि भित्रिएको धेरै भएको छैन । अझै पनि जनशक्ति कम छ तर हामी सक्षम छौँ । 

झण्डै ८, १०वर्ष भयो होला क्यान्सरको क्षेत्रमा विकास भएको । क्यान्सरको विभिन्न पाटोमा चिकित्सकहरू छन् । रोगअनुसार फरक फरक विभागमा रहेका छन् । अन्क्लोलोजिकन सर्जन,स्त्री रोग विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञहरू पनि छन् । 

क्यान्सर न्यूनीकरणका लागि को बढी जिम्मेवार हुनुपर्छ ?
सरकारले क्यान्सर रोगलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा प्राथमिकताको साथ काम गरिरहेको छ । तर सबै काम सरकारले गरेर मात्रै हुन्न । सरकारले नीति नियम बनाएको छ भने पूर्ण रूपमा हामी नागरिकले पालना गर्नुपर्र्याे । अर्काे कार्यान्वयन भएको छ कि छैन् भन्ने कुराको बारेमा पनि सरकारले अनुगमन गर्न जरुरी छ । 

सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ खानहुन्न भन्ने नियम आइरसकेको छ तर कार्यान्वयन भएको छैन ।  अघिल्लो वर्षको भन्दा डबल कर लगाएको छ । यो सरकारको तर्फबाट गर्ने प्रयास हो तर हामी नागरिकले नमानेको हो कि जस्तो लाग्छ ।  सरकारले जति ट्याक्स उठाएको छ त्यति क्यान्सरको क्षेत्रमा खर्च गर्न सकेको छैन । बर्सेनिरोगीको सङ्ख्या बढ्नुको कारण जनचेतनाको अभावहो । गाउँगाउँमा क्यान्सर लागेको छ कि छैन भन्ने विषयमा स्क्रिनिङ गर्न जरुरी छ । खुशीजीवनशैली,मोबाइल,सवारी साधनबाट निस्कने धुँवा, रेस्टुरेन्टको खाना, जङ्गफुडहरू धेरै खाने भएको हुँदा पनि क्यान्सर रोगीको सङ्ख्या बढ्दै गएको हो भन्ने मलाई लाग्छ । 

मोटो मान्छेमा बढी हुने सम्भावना हुन्छ । सकेसम्म फाइबर युक्त खानेकुरा जस्तै, साँग, सब्जीखाने मद्यपान धूमपान नगर्ने, आनिबानीमा परिवर्तन गर्ने हो भने एक तिहाई क्यान्सरलाई रोक्न सक्छौँ । यस्तै सुरुको अवस्थामा पत्ता लगाउने हो भने अर्काे फेरि अर्काे एक तिहाई क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सक्छौँ  भने बाँकी एक तिहाई क्यान्सरलाई उपचार गर्न सक्दैनौँ उसको बाँकी जीवनशैलीलाई सरल बनाउन सक्छौँ । 

रोग लागेको कति समयमा बिरामी अस्पताल आउँछन् ?
पहिलो र दोस्रो बढीमा क्यान्सर थाहा पाउने भनेको महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर हो । तर अन्य क्यान्सर त्यसपछिको स्टेजमा मात्रै थाहा हुन्छ । उपचार लाग्ने समय कटिसकेपछि मात्रै अस्पताल आउने गरेका छन् ।  

केही प्रतिशत अर्थात भक्तपुर क्यान्सर अस्पतालको कुरा गर्ने  हो भने १० देखि १५ प्रतिशत मात्रै सुरुवातको अवस्थामा आउँछन् । त्यस्ता बिरामीलाई पूर्ण रूपमा निको पनि पार्न सकेका छौँ । फोक्सोको क्यान्सर अधिकांश तेस्रो स्टेजदेखि माथि आउँछन् भने केही प्रतिशत चाहिँ सुरुको अवस्थामा आउँछन् । जो औँलामा गन्न मिल्न सकिन्छ । त्यसमा पनि आउनेहरू भनेको विदेश जाने बेलामा स्वास्थ्य परीक्षण गर्ने व्यक्तिहरू बढी मात्रमा पर्छन् । विदेश जाने बेलामा स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ, त्यो बेलामा फोक्सोको क्यान्सर भएको भेटेका छौँ । त्यसैले नियमित स्वास्थ्यजाँच गर्नु अतिनै आवश्यक हुन्छ । क्यान्सर अस्पतालमा आउने ५० प्रतिशतभन्दा बढीनै शल्यक्रिया गर्न नमिल्ने अवस्था या अन्तिम अवस्थामा आउँछन् । 

क्यान्सर सुरुको अवस्थामा पत्ता लगाउनै नसकेको हो कि बिरामी अस्पताल आउन ढिला गरेको हो ?
क्यान्सरकै लागि भनेर छुट्टै परीक्षण गर्नुभएको छ भने ८० प्रतिशत क्यान्सर सुरुकै अवस्थामा पत्ता लाग्छ । तर स्वास्थ्य परीक्षण गर्योभन्दैमा क्यान्सर पत्ता लाग्छ भन्ने पनि छैन । जसका लागि छुट्टै क्यान्सरको परीक्षण हुनुपर्छ । क्यान्सरको लक्षण भनेको तेस्रो स्टेज नाघिसकेपछि मात्रै बाहिर देखिन्छ । त्यो भनेको रोग कडा अवस्थामा पुगिसकेको अवस्था हो ।

डाक्टर उपेन्द्र देवकोटाको क्यान्सरकै कारण मृत्यु भयो, डाक्टरलाई त क्यान्सर भएको थाहा पाउन गाह्रो हुन्छ भने सर्वसाधरण नागरिकले कसरी थाहा पाउने होला ?
चिकित्सकले पनि नियमित रूपमा स्वास्थ्य जाँच गराउँदैनन् । हरेक मान्छेलाई जबसम्म लक्षण देखापर्दैन तबसम्म थाहा पाउँदैनन् । थाहा पाउँदा उपचार नहुने अवस्थासम्म पनि पुगेको हुनसक्छ । डाक्टर देवकोटा गोर्खा जाँदा बाटोमा वान्ता भयो अनि स्वास्थ्यको सबै परीक्षण गर्दा क्यान्सर भएको थाहा भयो । उहाँले पनि लक्षण देखा परेपछि मात्रै थाहा पाउनुभयो । त्यो बेलामा उहाँको पित्तनलीको क्यान्सर निको नहुने अवस्थामा थियो । हामीले पनि पित्तनलीको क्यान्सर भएका ४,५ जनालाई पूर्ण रूपमा निको पारेका छौँ । पेट फुल्ने,जन्डिस हुनु पित्तनलीको क्यान्सरको प्रमुख लक्षण हुन । हामी अझै पनि झारफुक आयुर्वेदिकतिर लाग्ने चलन रहेको छ । तर क्यान्सरको जन्डिस कुनै पनि आयुर्वेदिकले निको हुँदैन । समयमा उपचार गर्ने हो भने शल्यक्रियामार्फत पनि निको पार्न सकिन्छ ।  

क्यान्सरबाट कसरी बच्ने ?
बच्नका लागि क्यान्सरको लक्षणको बारेमा जानकारी हुनुपर्छ । कुनै पनि रोग हप्ता दुई हप्तासम्म उपचार गरेपछि पनि निको भएन भने क्यान्सर हो कि भनेर स्वास्थ्य परीक्षण गर्नुपर्छ । जस्तै खोकी लागेको छ, छालाका घाउहरू निको भएनन्, दिसापिसाबमा परिवर्तन आएको छ भने, शरीरको भागमा गिर्खाहरू आउने विनाकारण तौल घट्ने, कोठीमा परिवर्तन आउने,स्वरमा परिवर्तन आउने, यदि लामो समयसम्म यो समस्या रहिरह्यो भने कतै क्यान्सर होकि भनेर परीक्षण गर्नुपर्ने हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप