सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकारी पैसाबाट यसरी करोडपति बन्छन् राजनीतिक दलहरू

बुधबार, ०९ साउन २०७५, १४ : ००
बुधबार, ०९ साउन २०७५

काठमाडौँ– राजनीतिक दलहरू कुनै ठूला उद्योगजस्ता छन् । उनीहरूसँग आफ्नै जग्गाजमिन छ, पार्टी कार्यालयका लागि आफ्नै भवन छन्, जिन्सी सामान छन्, आर्थिक रूपमा पनि त्यतिकै सम्पन्न छन् । 

नेपालमा क्रियाशील विभिन्न राजनीतिक दलहरूले विभिन्न स्रोतबाट आर्थिक लाभ पाउने गरेका छन् ।

व्यक्ति तथा संस्थाबाट प्राप्त हुने दान चन्दाका साथै उनीहरूले सरकारी नियुक्ति दिइएका कर्मचारी, पदाधिकारी तथा सांसदहरूबाट मनग्गे आर्थिक सहयोग हासिल गर्ने गरेका छन् । 

केन्द्र तथा प्रदेशमा गरी सांसदको सङ्ख्या बढेसँगै राजनीतिक दलको लेबी रकममा पनि वृद्धि भएको छ ।

प्रतिनिधि सभामा २ सय ७५ र राष्ट्रिय सभामा ५६ गरी अहिले केन्द्रमा ३ सय ३१ सांसद छन् । 

केन्द्रीय सांसदले तलब र भत्ता गरी एक लाख माथिको रकम पाउँछन् ।

उनीहरूले मासिक पारिश्रमिक ५५ हजार २ सय ३०, घरभाडा १८ हजार, सञ्चार खर्च ३ हजार, बिजुली धारा २ हजार, दैनिक भ्रमण भत्ता २५ सय, विशेष भत्ता १ हजार, अतिथि सत्कार १ हजार, दैनिक यातायात सुविधा १ हजार गरी १ लाख १० हजार बढी रकम बुझ्ने गरेका छन् । 

सो रकमबाट उनीहरूले आफ्नो पार्टीलाई केही रकम लेबीका रूपमा बुझाउने गरेका छन् ।   

प्रदेशसभामा ३ सय ३० जना प्रत्यक्ष निर्वाचित र समानुपातिक प्रणालीबाट २ सय २० जना गरी ५ सय ५० जना सांसद छन् । 

प्रदेश सांसदहरूको प्रदेश सरकारले तलब सुविधा तोक्ने व्यवस्था छ । 

यसरी केन्द्र र प्रदेशमा गरी ८ सय ८१ सांसद छन् । यी सांसदहरूले राज्यकोषबाट मासिक रूपमा तलब भक्ता तथा अन्य सुविधाहरू पाउने गरेका छन् । त्यसमार्फत उनीहरूले आफ्ना राजनीतिक दललाई मासिक रूपमा लेबी दिने गरेका छन् । 

कुन कुन दलले कति कति लेबी उठाउने गरेका छन् ? 

हामीले यसबारेमा विभिन्न बुझ्ने प्रयास गरेका छौँ । 

नेपाली काङ्ग्रेसले केन्द्र र प्रदेश दुवैतर्फका सांसदका लागि लेबी रकम तोकेको छ भने नेकपामा भने दुईथरी दरमा सांसदहरूले लेबी रकम बुझाउने गरेका छन् । 

पूर्व माओवादीबाट आएका सांसदले १२ हजार बुझाउने गरेका छन् भने पूर्व एमालेबाट आउने सांसदले १३ हजार बुझाउने गरेका छन् । 

नेकपाले प्रदेश सांसदका लागि लेबी रकम ताकेको छैन । त्यसको जिम्मा पार्टीको प्रदेश संरचनालाई नै जिम्मा दिएको छ । 

यस्तै राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले भने सांसदको पूरै तलब लेबीका रूपमा लिने गरेको छ भने विवेकशील साझा दलले भने लेबी नलिने गरेको छ ।  

कति कमाउँछ नेकपाले सांसद लेबीबाट ? 

यतिबेला संसदको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ । नेकपासँग सङ्घीय संसदमा प्रतिनिधि सभामा १ सय ७४ र राष्ट्रिय सभामा ३८ गरी कूल २ सय १२ सांसद छन् । 

सातवटै प्रदेशमा पूर्व माओवादी केन्द्रका १ सय ९ र पूर्व एमालेको १ सय ४९ गरी नेकपाका २ सय ५८ प्रदेश सांसद छन् । 

पार्टी एकीकरण भए पनि पूर्वएमाले र पूर्व माओवादी केन्द्रका सांसदले पूर्वपार्टीले निर्धारण गरेकै दरमा लेबी बुझाइरहेका छन् । 

पूर्वएमाले केन्द्रीय सांसदले मासिक १३ हजार बुझाउने गरेका छन् भने पूर्व माओवादीका केन्द्रीय सांसदले १२ हजार लेबी बुझाउने गरेका छन् । 

पूर्वएमाले तर्फका नेकपाका सांसद भानुभक्त ढकालले १३ हजार लेबी बुझाउने गरेको रातोपाटीलाई जानकारी दिए भने पूर्वमाओवादी केन्द्रका अर्का सांसद पम्फा भुसालले १२ हजार लेबी काटेर पार्टीले खातामा पैसा हालिदिने गरेको बताइन् । 

पार्टी एकीकरण भएर एउटै पार्टी बनेको ३ महिना बिते पनि नेकपाका सांसदहरूले आफ्नो पूर्वपार्टीको निर्णय अनुसारको लेबी बुझाइरहेका छन् । 

यसबारेमा नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग बुझ्दा उनले मासिक १३ हजार लेबी बुझाउने पार्टीको निर्णय रहेको उल्लेख गरे । 

उनले भने– ‘पार्टीले संसद सचिवालयलाई लेबीको १३ हजार कटाएर मात्र तलब दिन भनेको हुन्छ, पार्टीलाई लेबी कटाएर नै हामीलाई तलब आउँछ ।’ 

पूर्वमाओवादी केन्द्रका सांसदको र पूर्वएमालेका सांसदको लेबी रकम फरक भएको बारे प्रश्न गर्दा यो विषयलाई छलफल गरेर टुङ्ग्याउने नेता नेम्वाङले जानकारी दिए ।

यता प्रदेश सांसदको लेबी तोक्ने जिम्मा भने प्रदेशका संसदीय दलको नेतालाई जिम्मा दिएको उनले बताए । 

नेकपा राजनीतिक पार्टी कि ‘कम्पनी’ ?

प्रदेश नम्बर ४ का नेकपाका सांसद एवम् कानुन तथा आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमानले प्रदेश सांसदहरूको लेबी नतोकिएको जानकारी दिए । 

यदि नेकपाले केन्द्रीय सांसदको १५ र प्रदेश सांसदको १० हजार लेबी लियो भने ? 

पूर्वमाओवादी केन्द्रका केन्द्रीय संसदमा ६५ सदस्य छन् । 

६५ सदस्यको मासिक १२ हजारको दरले ७ लाख ८० हजार लेबी उठ्छ भने वार्षिक रूपमा यो ९३ लाख ६० हजार हुन्छ । 

पूर्वमाओवादी केन्द्रले प्रदेश सांसदको लेबी तोकेको थिएन । यता पूर्वएमाले सांसदहरूले आफ्नो तलबबाट १३ हजार लेबी बुझाउने गरेका छन् । 

पूर्वएमालेमा केन्द्रमा १ सय ४८ सांसद छन् । उनीहरूले मासिक १९ लाख २४ हजार लेबी बुझाउँछन्, जुन वार्षिक २ करोड ३० लाख ८८ हजार हुन्छ । 

यो हिसाबमा अहिले नेकपाका केन्द्रीय सांसदले मासिक २७ लाख लेबी बुझाउँछन् । यो रकम वर्षमा ३ करोड २४ लाख ४८ हजार हुन आउँछ । अझ यहाँ प्रदेश सांसदको हिसाब जोडिएको छैन । 

मानाँै नेकपाका २ सय ५८ प्रदेश सांसदको लेबी मासिक १० हजार ताकियो भने मासिक २५ लाख ८० हजार हुन्छ र वार्षिक रूपमा यो रकम ३ करोड, ९ लाख ६० हजार हुन्छ । 

पार्टी एकतापछि पनि लेबी उठाउने बारेमा दुई पार्टी बीच छलफल भएको छैन । पुरानै पार्टीको निर्णयअनुसार छुट्टाछुट्टै रूपमा लेबी उठाउने गरिएको छ । 

पूर्वमाओवादी केन्द्रबाट आएका नेकपाका कार्यकर्ता श्रीराम ढकालले सांसदको तलबबाट १२ हजार लेबी काट्ने, त्यसमध्ये २ हजार सहिद प्रतिष्ठानमा जाने र १० हजार कार्यालयले राख्ने बताए । 

नेपाली काङ्ग्रेस : वार्षिक लेबी झन्डै २ करोड

संसदको प्रमुख प्रतिपक्षी एवम् दोस्रो ठूलो दल नेपाली काङ्ग्रेसले केन्द्रीय सांसदका लागि १० हजार र प्रदेश सांसदका लागि ८ हजार लेबी तोकेको छ । 

केन्द्र र प्रदेशका सांसदले पार्टीले तोकेको दर अनुसारको लेबी तिरिरहेको नेपाली काङ्ग्रेसका मुख्य सचिव कृष्ण पौडेलले रातोपाटीलाई जानकारी दिए । 

काङ्ग्रेसको प्रतिनिधि सभा ६३ र राष्ट्रिय सभामा १३ गरी केन्द्रीय संसदमा ७६ सदस्य छन् । यी सदस्यबाट काङ्ग्रेसले मासिक ७ लाख ६० हजार लेबी उठाउँछ । वार्षिक रूपमा यो ९१ लाख २० हजार हुन आउँछ । 

यस्तै नेपाली काङ्ग्रेससँग १ सय १३ जना प्रदेश सांसद छन् । प्रदेश सांसदबाट मासिक ८ हजारका दरले ९ लाख ४ हजार लेबी उठाउँछ । प्रदेश सांसदबाट काङ्ग्रेसले वार्षिक १ करोड ८ लाख ४८ हजार लेबी उठाउँछ । 

यो हिसाबअनुसार नेपाली काङ्ग्रेसले दुवै सदनबाट मासिक कूल १६ लाख ६४ हजार आम्दानी गर्छ । 

वार्षिक १ करोड ९९ लाख ६८ हजार अर्थात् झन्डै २ करोड नेपाली काङ्ग्रेसले आम्दानी गर्छ । 

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिबाट लेबी उठाउने विषयमा भने छलफल नभएको काङ्ग्रेसका मुख्यसचिव पौडेलले जानकारी दिए । 

राष्ट्रिय जनता पार्टी : वार्षिक लेबी ४६ लाख ८० हजार 

राष्ट्रिय जनता पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई प्रतिसंसाद १० हजार लेबी तोकेको छ । यस्तै प्रदेश सांसदको लेबी ५ देखि ७ हजार तोक्ने प्रस्ताव भएको तर यसबारेमा प्रदेश सांसदसँग छलफल गरेर राय लिन बाँकी रहेको राजपाका सांसद बृषेशचन्द्र लालले जानकारी दिए । 

यस्तै राजपाबाट विजयी स्थानीय तहका जनप्रतिनिधिबाट पनि लेबी उठाउनेबारेमा छलफल भइरहेको उनले बताए । 

प्रतिनिधि सभामा राजपाका सांसद १७ छन् भने राष्ट्रिय सभामा २ गरी १९ जना छन् । 

दुई सदनबाट राजपाले प्रतिमहिना १ लाख ९० हजार राजस्व पाउँछ । केन्द्रीय सदनबाट वार्षिक रूपमा राजपाले २२ लाख ८० हजार उठाउँछ । प्रदेशसभामा राजपाका २५ सांसद छन् । 

प्रदेश सांसदबाट कति लेबी उठाउने भन्नेबारेमा छलफल भइरहेको राजपाका नेता बृषेशचन्द्र लालले जानकारी दिए । यदि प्रदेश सांसदबाट राजपाले तलबको १५ प्रतिशत लेबी लिने भयो भने एक सांसद बराबर  झन्डै ८ हजार हुन्छ । 

२५ सांसदबाट यो दलको मासिक २ लाख हुन्छ भने वार्षिक २४ लाख । केन्द्र र प्रदेशबाट वार्षिक ४६ लाख ८० हजार लेबी रकम हुन जान्छ । राजपाले यसबारेमा छिट्टै निर्णय लिने नेता बृषेशचन्द्र लालले बताएका छन् । 

सङ्घीय समाजवादी फोरम नेपाल : वार्षिक लेबी ६७ लाख ६८ हजार 

सङ्घीय समाजवादी फोरम नेपालले सबैभन्दा चर्को लेबी उठाउने गरेको छ । 

सो दलले सङ्घीय संसदका सदस्यहरूबाट मासिक १८ हजारका दरले लेबी लिने गरेको छ । फोरमको प्रतिनिधि साभामा १६ र राष्ट्रिय सभामा २ गरी सङ्घीय संसदमा १८ जना सांसद रहेका छन् । फोरम नेपालले सङ्घीय संसदबाट मासिक ३ लाख २४ हजार वर्षमा ३८ लाख ८८ हजार हुन्छ । 

फोरम नेपालका प्रमुख सचेतक उमाशंकर अरगरियाका अनुसार पार्टी कार्यालय सञ्चालपनमा सो रकम खर्च हुने गरेको छ । 

यस्तै सो पार्टीका प्रदेश नम्बर २ को प्रदेश संसदका प्रमुख सचेतक शैलेन्द्र यादवका अनुसार प्रदेश सांसदहरूले कूल तलबको १५ प्रतिशत रकम पार्टीलाई लेबीका रूपमा बुझाउनुपर्छ । फोरम नेपालको ३० जना प्रदेश सांसद छन् । 

प्रदेश सांसदको तलब ५२ हजार ६ सय छ भने मन्त्री बनेकाहरूको ५७ हजार तलब छ । उनीहरूले पाउने तलबको १५ प्रतिशतले हिसाब गर्दा ८ हजार रुपियाँ हाराहारी लेबीका रूपमा पार्टीलाई बुझाउनुपर्छ । 
यसरी हेर्दा सङ्घीय समाजवादी फोरमले प्रदेश सांसदबाट मासिक २ लाख ४० हजार आम्दानी गर्छ । दुवै सदनबाट सो दलले मासिक ५ लाख ६४ हजार तलब प्राप्त गर्छ । वार्षिक रूपमा ६७ लाख ६८ हजार रुपियाँ फोरमले सांसदको लेबीबाट आम्दानी गर्छ ।  

नेपाल मजदुर किसान पार्टी : सांसदको सबै तलब पार्टीको खातामा 

नेपाल मजदुर किसान पार्टीले भने केन्द्र तथा प्रदेश सांसदको सम्पूर्ण तलब पार्टीको खातामा दाखिला गर्नुपर्ने नियम बनाएको छ । 
सांसदले तलब बुझेपछि पार्टीको खातामा हालिदिन्छन्् । तर त्यसको बदलमा पार्टीले सांसदलाई अधिकृत स्तरको तलब दिने गरेको सो दलका एक मात्र केन्द्रीय सांसद प्रेम सुवालले रातोपाटीलाई जानकारी दिए । 
नेमकिपाका १ केन्द्रीय सांसद र २ प्रदेश सांसद रहेका छन् । 

सो दलका सांसद सुवालले भने– ‘हामी अर्को वर्गका हैनौँ, हामी पनि नेपाली आम नेपाली जनताभन्दा फरक छैनौँ । हामीले पाउने जति रकम उनीहरूले दिनभरी दुःख गर्दा पनि पाएका छैनन् । दिनमा तीन चार करोड कमाउने सांसद पनि होलान् । हामी जनता बराबर छौँ ।’ 

नेमकिपाले मासिक झन्डै २ लाख हाराहारी सांसदको तलब लेबीका रूपमा लिने गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी  ः वार्षिक लेबी ७ लाख ८० हजार 

राप्रपाका १ केन्द्रीय सांसद र ३ प्रदेश सांसद छन् । 

राप्रपाले केन्द्रीय सांसदलाई मासिक २० हजार र प्रदेश सांसदलाई १० देखि १५ हजार लेबी तोकेको छ । प्रदेश सांसदको क्षमताअनुसार सो लेबी तोकिएको राप्रपाका सांसद राजेन्द्रप्रसाद लिङ्देनले बताए । 
यो लेबी अनुसार राप्रपाले मासिक ६५ हजार आम्दानी गर्छ भने वार्षिक ७ लाख ८० हजार आम्दानी गर्छ । 

प्रतिनिधि सभामा कूल २ सय ७५ मध्ये नेकपाका १ सय ७४ सांसद छन् । नेपाली काङ्ग्रेसका ६३ सदस्य छन् । राष्ट्रिय जनता पार्टीका १७ छन् । सङ्घीय समाजवादी फोरम १६ छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी १, मजदुर किसान पार्टी १, राष्ट्रिय जनमोर्चा १, नयाँ शक्ति पार्टी १, स्वतन्त्र १ छन् । 

यस्तै राष्ट्रिय सभामा ५८ सांसद छन् । जसमा नेकपाका ३८, काङ्ग्रेसका १३, राष्ट्रिय जनता पार्टीका २, सङ्घीय समाजवादी फोरमका २, मनोनित ३ सांसद रहेका छन् । 

महानगरपालिका ६, उपहानगरपालिका ११, नगरपालिका २७६ गरी ७ सय ५३ स्थानीय तह छन् । यी स्थानीय तहमा ६ हजार ७ सय ४३ वडा कार्यालय रहेका छन् । यी निकायहरूमा राजनीतिक दलमा ३५ हजार जनप्रतिनिधि निर्वाचित छन् ।

सङ्घीय समाजवादी फोरमका प्रदेशमा ३० सांसद छन् । उनीहरूले आफ्नो तलबको १५ प्रतिशत लेबी पार्टीलाई बुझाउने निर्णय भएको सो दलका प्रदेश २ का प्रमुख सचेतक शैलेन्द्रकुमार यादवले जानकारी दिए । प्रदेश २ का मन्त्रीहरूको तलब ५७ हजार रुपियाँ रहेको छ भने प्रदेश सांसदको ५२ हजार ६ सय रुपियाँ रहेको छ । 

नयाँ शक्ति पार्टी नेपाल : वार्षिक लेबी ५ लाख ४० हजार 

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग केन्द्रीय सांसद १ जना र प्रदेश सांसद ३ जना गरी ४ सांसद रहेका छन् । 

सो पार्टीको सचिवालयका अनुसार केन्द्रीय सांसदले आफ्नो तलबबाट १५ हजार र प्रदेश सांसदले १० हजार बुझाउनुपर्ने नियम छ । सो अनुसार नयाँ शक्ति पार्टीले सांसदहरूबाट मासिक ४५ हजार र वार्षिक ५ लाख ४० हजार आम्दानी गर्छ । 

राष्ट्रिय जनमोर्चा : तलब पार्टीको खातामा, पार्टीको तलब ३६ हजार 

यता राष्ट्रिय जनमोर्चाका १ केन्द्रीय सांसद र ४ प्रदेश सांसदले सम्पूर्ण तलब पार्टीको खातामा दाखिला गर्ने गरेका छन् । पार्टीले केन्द्रीय सांसदलाई ३६ हजार ५ सय र प्रदेश सांसदलाई ३५ हजार ५ सय तलब तोकेको प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेले रातोपाटीलाई जानकारी दिइन् । 

यति तलबले काम गर्न पैसा पुग्छ भन्ने प्रश्नमा उनले भनिन्– ‘पुग्नु नपुग्नु आफ्नो ठाउँमा छ, कहिले आफ्नै खर्च पनि हुन्छ, कहिले कार्यक्रममा जाँदाको खर्च पार्टीले पनि बेहोर्छ ।’

विवेकशील साझा दल  ः पार्टीलाई लेबी बुझाउनुपर्दैन 

प्रदेशसभामा ३ सिट पाएको विवेकशील साझा पार्टीले भने सांसदहरूबाट लेबी नलिने नीति लिएको छ । सो पार्टीका एक अध्यक्ष रवीन्द्र मिश्रले परम्परागत तौरतरिकामा चल्दै आएका राजनीतिक पार्टीले जस्तो आफ्नो पार्टीले लेबी नलिने बताए । सो पार्टीका संसदीय दलका नेता रमेश पौडेलले राज्यले काम गर्नलाई दिएको पैसा पार्टीलाई दिन उचित नहुने आफ्नो पार्टीको धारणा रहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप